“तिमीले किन नर्सिङ पढ्यौ?”
यो प्रश्न म बारम्बार सुन्छु।
कसैले हाँसोमा भन्छ, “छोरी बिग्रिए नर्स, छोरा बिग्रिए कमर्स"|
कोही त झन् सल्लाह दिन्छन, “तिमी त राम्री छ्यौ, night ड्युटी कसरी गर्छ्यौ ?”
अरूले भन्छन्, “तिमी राम्रै घरकी छोरी, नर्सिङमा किन दुःख गर्यौ?”
कहिलेकाहीँ त अझ भन्छन् “डाक्टर पढ्नुपर्थ्यो नि, नर्स बन्नु त के नै छ र।”
यी शब्दहरू सुन्दा हृदय भित्र कतै पोल्छ,
तर त्यही पोलाइले मेरो अडानलाई अझ बलियो बनाउँछ।
किनकि मलाई थाहा छ
नर्सिङ मेरो लागि केवल पेशा होइन,
यो त मेरो आत्माको आह्वान हो।
पढाइको यात्रामा सजिलो केही थिएन।
आफ्ना सपनासँग लड्नुपर्यो, समाजलाई बुझाउनुपर्यो।
तर जब मैले पहिलो पटक बिरामीको हात समाएँ,
उनको आँखामा आशा र आभारको झिल्को देखें
त्यो क्षणमा सबै आलोचना हराए।
त्यो मुस्कानले मलाई सम्झायो
म सही बाटोमा छु।
नर्सिङले मलाई सिकायो,
सहानुभूति नै सबैभन्दा ठूलो औषधि हो।
यो पेशाले मलाई अनुशासन सिकायो, धैर्य सिकायो, अनि जीवनको अर्थ बुझायो।
थकाइ र आँसुबीच पनि म हरेक दिन नयाँ उमंगका साथ उठ्छु,
किनकि म जान्दछु
मेरो सानो सेवा कसैको जीवनमा उज्यालो बन्न सक्छ।
सेतो पोसाक मेरो लागि केवल ड्रेस होइन,
यो मेरो श्रद्धा हो, मेरो पहिचान हो।
मेरो नाम होइन, मेरो पहिचान सेतो पोसाक हो,
मेरो प्राथमिकता होइन, मेरो प्राण नर्सिङ हो।
यसले मलाई सम्झाउँछ
म मानवताको सेवामा समर्पित छु।
र जब समाज अझै पनि सोध्छ
“किन नर्सिङ?”
म शान्त मुस्कानसहित उत्तर दिन्छु
“किनकि यो मेरो आत्माको आवाज हो, मेरो अस्तित्व हो मेरो रोजाई हो l”
मलाई गर्व छ कि म नर्स हुँ।
सेवामा मेरो श्रद्धा छ, करुणामा मेरो शक्ति म सन्तुष्ट छु।
मैले यो बाटो रोजेँ प्रेमका कारण, र निरन्तरता दिइरहेकी छु आत्माको सन्तुष्टिका कारण।
हो, समाजका ती कठोर शब्दहरू अझै सुन्छु म,
तर अब तिनीहरूले मलाई रोक्दैनन्
बरु ती नै मेरा हौसला बनेका छन्।
किनकि म जान्दछु
नर्सिङ केवल जागिर होइन, यो त मानवताको प्रतिज्ञा हो।
र म गर्वका साथ भन्छु
म नर्स हुँ,
र यही मेरो पहिचान, मेरो गर्व, मेरो अस्तित्व हो।