नेपालमा पछिल्लो समय दाँत किराले खाने समस्या बढ्दै गएको छ। मुख तथा दाँतसँग सम्बन्धित विषयमा जनचेतना बढ्दै गए पनि खस्रो तथा रेशादार खाद्यपदार्थको सेवन कम र गुलियोजन्य खाद्यपदार्थको सेवन बढी भएका कारण यो समस्या बढ्दै गएको पाइन्छ।
दाँतमा जम्मा भएको गुलियोजन्य प्रदार्थसँग मुखमा भएका किटाणुले अन्तक्र्रिया गरी उत्पादन भएको अम्ल लामो समयसम्म दाँतमा रह्यो भने दाँतमा प्वाल पर्न थाल्छ। जसलाई सामान्य भाषामा दाँत किराले खाएको भन्ने गरिन्छ। समयमै समस्याको उपचार भएन भने दाँतमा देखा पर्ने खाल्डो गहिरिएर भित्री नशालाई छुन थाल्छ। जसबाट नशा रहेको तन्तुको संक्रमण भई दाँतमा प्रचण्ड दुखाइ हुन्छ। यो नै दाँत दुखाइको प्रमुख कारक तत्व हो।
दाँतको भित्री भागमा अवस्थित नरम तन्तु (पल्प)को संक्रमण हुने क्रममा यो तन्तु फुल्ने वा सुन्निने प्रक्रियामा जान्छ। तर यसबाहिर निकै कडा भाग (डेन्टिन तथा सिमेन्टम) भएकाले सुन्निन पाउँदैन। फलस्वरुप यस भित्रको स्वायु तन्तुहरु अँट्ठिएर निकै दुखाइ हुन्छ र मसिना रक्तनलीहरु च्यापिएर रक्तसञ्चार अवरुद्ध हुन गई सो तन्तु मर्न जान्छ।
यस प्रकारबाट सिर्जना भएको दाँतको दुखाइ अक्सर गरी अनुहारको एकापटि पूरै फैलिन सक्छ र कतिपय अवस्थामा बिरामीले कुन दाँतबाट दुखाइ सुरु भएको हो भन्ने पनि ठम्याउन गाह्रो पर्छ।
दाँत दुखाइका प्रमुख कारण
हाम्रो दैनिक ओपिडी अभ्यासको विवरण हेर्दा कतिपय बिरामी दाँत दुखाइले गर्दा रातभर सुत्न नपाएको गुनासो गर्ने गर्छन्। कतिपय विद्यालय तथा आफ्नो ड्युटी छाडेर आउनुहुन्छ। कतिपय दाँत दुखाइसँगै अनुहार समेत सुन्निएको अवस्थामा आउनुहुन्छ। दाँत किराले खाएर भित्री पल्पको संक्रमण हुनु नै हो। अन्य कारणहरुमा दाँत वरिपरि पिप जम्मा हुनु, दाँतलाई अँड्याएर राखेको तन्तुको संक्रमण हुनु, दुई वटा दाँतहरुको बीचमा खाना अल्झनु, बुद्धिबंगारा वरिपरिको तन्तुको संक्रमण हुनु तथा दाँतहरुमा कुनै प्रकारको चोटपटक लाग्नु आदि पर्दछन्।
कहिलेकाहीँ दाँतभन्दा बाहिरी भागको समस्यामा पनि दाँत दुखाइको जस्तै लक्षणहरु देखा पर्छन्। जस्तैः स्नायुको रोग (न्युराल्जिया), मुटुको रोग, पिनासको रोग, अनुहारका मासंपेसी तथा जोर्नीको रोग इत्यादि। तसर्थ सम्पूर्ण शरीरको परीक्षण गरी दाँत दुखाइको यथार्थ कारण पहिचान गरेर मात्र उपचार गर्न जरुरी मानिन्छ।
दाँत दुखाइबाट बच्ने उपाय
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस हुन्छ भनेझैं दाँतको दुखाइबाट बच्नका लागि माथि उल्लेखित कारक तत्वबाट जोगिनु पर्छ। यसको लागि दाँत तथा मुख स्वास्थ्य (ओरल हाइजिन)लाई विशेष जोड दिनुपर्छ।
बिहान खानापछि र राति सुत्नुअघि अनिवार्य रुपमा दिनको दुई पटक फ्लोराइडयुक्त टुथपेष्टले दाँत ब्रस गर्नुका साथै जिब्रो पनि सफा गर्नुपर्छ। दाँतमा टाँसिने खालका गुलियोजन्य पदार्थको सेवन न्यूनीकरण गर्नुका साथै सेवनपश्चात् तुरुन्त मुख कुल्ला गर्ने बानी गर्नुपर्छ। दुई वटा दाँतको बीचमा अड्किने खानेकुरा सफा गर्न दन्त चिकित्सकको सल्लाहअनुसार डेन्टल फ्लस लगायत अन्य विधिहरुको प्रयोग गर्न सकिन्छ।
नियमअनुसार ओरल हाइजिन कायम गर्दागर्दै पनि दाँत किन किराले खान्छ त? दाँतको बनोट हेर्ने हो भने यसमा विभिन्न छिद्र तथा चरहरु हुन्छन्। जसमा खाएका खाद्यपदार्थको रसायन छिर्न गई, ब्रस गर्दा पनि सफा हुँदैन। तसर्थ कुनै समस्या नभए पनि नियमित रुपमा दन्त चिकित्सकसँग परीक्षण तथा परामर्श गर्नुपर्छ।
आवश्यकताअनुसार दाँतमा टोपकल फ्लोराइड लगाउने, छिद्र र चरहरुलाई पुर्ने, हटाउने तथा दाँत भर्ने खालका रोकथाममूलक उपचार गरी दाँत किराले खाने समस्याको सुरुवातमै रोक्न सकिन्छ। यी प्रयासका वावजुद पनि दाँतमा कालो दाग देखा परेमा दाँत किराले खाने समस्याको प्रारम्भिक लक्षण हुनसक्ने हुँदा तुरुन्त परीक्षण गराई दाँत भर्न जरुरी हुन्छ।
हाम्रो समाजमा दाँतमा खाल्डो भएर दुखाइ नहुन्जेलसम्म बिरामीहरु उपचार गर्न नजाने चलन छ। प्रारम्भिक अवस्थामा गरिने उपचार निकै साधारण, सहज, कम खर्चिलो र उपचारको नतिजा पनि राम्रो र दीर्घकालीन हुने हुँदा उपचारको लागि दुखाइ पर्खेर बस्ने चलनको अन्त्य गर्नुपर्छ।
वयस्क जस्तै बच्चाको दाँतको हेरचाह पनि उत्तिकै महत्वपूर्ण हुन्छ। दाँतको दुखाइबाट बच्नको लागि माथि उल्लेखित विभिन्न उपाय अबलम्वन गर्नुका साथै बच्चाको दाँत तथा मुखमा समस्या देखापर्ने वित्तिकै अविभावकले नरम ब्रस प्रयोग गरी दाँत सफा गरिदिनुपर्छ।
दूध खाँदाखाँदै बच्चा निदायो भने यसबाट पनि दन्त सडनको प्रक्रिया सुरु हुने हुँदा सफा कपडा वा नरम कागजले दाँत तथा मुख सफा गरिदिनुपर्छ। बच्चाको उमेर ३, ४ वर्ष भएपछि अभिभावकले उनीहरुलाई आफ्नो निगरानीमा ब्रस गराउनु पर्छ। यसका साथै खानेकुरामा खस्रा रेशादार पदार्थको सेवन ज्यादा र गुलियो र टाँसिने खालका पदार्थको सेवन कम गर्न जरुरी हुन्छ। बच्चाको दाँतले स्थायी दाँतलाई भिन्न तथा पंक्तिवद्ध हुन निर्देशित गर्ने भएकाले कुनै समस्या देखा परे पनि निर्दिष्ट समयसम्म उपचार गरेर राख्नुपर्ने हुन्छ।
वयस्क तथा बच्चामा कुनै समस्या बिना दाँत दुखाइ कदापी हुँदैन। यो समस्याका कयौँ कारक तत्वहरु भएको हँुदा रोगलाई पालेर बस्नुभन्दा समस्याको सही पहिचान गरी उपचार गर्नु अपरिहार्य हुन्छ। कतिपय अवस्थामा मुटुरोग हँुदा दाँतको दुखाइसम्म मिल्दोजुल्दो पीडा अनुहारका हड्डीहरुमा फैलिएको हुन्छ। यसका अतिरिक्त पिनास तथा स्नायु सम्बन्धित रोगहरु पनि दाँत दुखाइसँग सम्बन्धित भएको हुँदा यसलाई कदापी बेवास्था गर्नु हुँदैन।
अन्त्यमा दाँत दुखाइले हाम्रो शरीरको केही कुरा गलत भइरहेको छ भन्ने सन्देश दिने हुँदा रोकथाममूलक उपायहरु अबलम्वन गर्नुका साथै आवश्यक परेको खण्डमा उपचार गर्नुपर्छ। आपतकालीन अवस्थामा बाहेक घरमै बसीबसी डाक्टरको सल्लाह विपरीत दुखाइ कम गर्न औषधि सेवन गर्नु हुँदैन। जसको दीर्घकालीन र अनुचित सेवनबाट पेटमा असर पर्नुका साथै शरीरमा अन्य नकरात्मक असर देखा पर्छन्।
डेन्टल उपचार सुरु गरेपछि दुखाइ कम हुन गई बिरामीले अधुरो उपचार गराएर बस्दा समस्या बल्झिने भएकोले सुरु गरेको उपचार समाप्त गर्नुपर्ने हुन्छ।
(खनाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेन्टल विभाग प्रमुख हुन्)