डा राजेन्द्र खनाल
मानव जातिलाई चुनौती दिइरहेको नोबेल कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न अहिले विश्वका थुप्रै मुलुक लकडाउनमा छन्। लकडाउनका कारण नेपाल पनि ठप्प जस्तै भएको छ। आज ब्रह्माण्ड, जल, थल, वायु, सबै रोकिएको जस्तै भएको छ।
हालसम्म नेपालमा कोरोना भाइरसबाट ९ जना सक्रंमित भएका छन्। सरकारी आधिकारिक जानकारी अनुसार विदेशबाट आएका ७ जना र एक जना स्थानीय नेपाली उपचारका क्रममा रहेका छन्। एकजना बाहेक उनीहरु सबै विदेशबाटै कोरोना संक्रमित भएर आएकोले त्यति आतंकित भइहाल्नुपर्ने अवस्था भने होइन।
जब विदेशतिर नगएका धेरै व्यक्तिहरुमा यो रोगको संक्रमण भएको प्रयोगशालाबाट प्रमाणित हुन थाल्छ तब डरलाग्दो अवस्थाको सुरुवात हुने छ। यो स्टेज २ देखि ३ को अवस्था हो। यो समस्या झांगिदै गयो भने चीन, इटाली, स्पेन तथा अमेरिका लगायतका देशले झेलेको अवस्थाकै जस्तो विकराल रुपमा लिनुपर्ने हुन्छ।
केही दिन अगाडिको कुरा हो। सामाजिक सञ्जाल फेसबुकमा कसैले अभिव्यक्त गरेको कुराले मन छोएको छ। कसलाई के थाहा? “तेस्रो विश्वयुद्ध डाक्टर र नर्सहरुले लड्दैछन् भनेर।” हुन पनि यो लेख लेखिराख्दासम्मको घडीमा संसारका २०० भन्दा बढी देश/क्षेत्रहरुमा फैलिएको कोरोना भाइरस ले दस लाखभन्दा बढीलाई संक्रमण गरेको पुष्टि भएको छ। जसको उत्पत्ति चीनको वुहान प्रान्तमा भएको थियो।
विश्वभरमा यसले अहिलेसम्म ८३ हजारभन्दा बढीको ज्यान लिइसकेको छ। तथ्यांक हेर्दा यो भाइरसले एकअर्कामा सत्रुको जस्तै व्यवहार गर्दै आएका अमेरिका होस या इरान, निकै राम्रो हेल्थ सिस्टम भएको देश होस या गरिब राष्ट्र एसिया, अथवा अफ्रिकानै किन नहोस, कसैलाई पनि छोडेको छैन।
अति सूक्ष्म भाइरस जो मान्छेले बोल्दा, खोक्दा वा हाच्छियँु गर्दा नदेखिने र्याल तथा थुकका छिटाहरु (जसको साइज) एउटा रौंको मोटाइको कैयौं गुना सानो हाम्रो आँखाले देख्नै नसकिने हुन्छ, या जो सक्रंमित छ उसको वरिपरिको हावामा ३ घन्टासम्म बसेर बाँच्न सक्ने क्षमता राख्छ। मानौं ती छिटाहरु कुनै सतह जस्तै कागज, प्लास्टिक, काठ इत्यादिमा परे भने ३ दिनसम्म बाँच्न सक्ने भनी वैज्ञानिक रुपमा प्रमाणित भएको छ।
२०१९ को अन्तिम दिन चीनमा पत्ता लागेको यो भाइरसले गत ३ महिनादेखि संसारभरि सन्त्रास फैलाएर हमला गरिराखेको छ। जसलाई काबुमा राख्न युरोपको इटाली, स्पेनदेखि अमेरिका जस्ता समृद्ध देशहरुलाई हम्मेहम्मे परेको छ। न त योसँग लड्न आणविक हतियार, मिसाइल चलाएर हुन्छ, न त कुनै व्यक्ति विशेष वा क्षेत्रलाई ध्वस्त बनाएर हुन्छ। यसबाट जोगिन उपायहरु नै सबैभन्दा महत्वपूर्ण कडीको रुपमा देखिएको छ।
यो भाइरसबाट जोगिन मान्छे मान्छेबीचको दूरी बढाउनु परेको छ। भीड हुने काम बन्द र सकेसम्म कम भेटघाटको स्थिति बनाउनु परेको छ। जसमा मान्छेले बोल्दा, खोक्दा, र हाच्छियुँ गर्दा छिटाहरु नाक मुख र आँखामा नपरोस् भनेर सजग हुनु परेको छ। कथंकदाचित संक्रमितका थुकका छिटा सतहमा परेका रहेछन् भने त्यसको संसर्गमा आउने हाम्रा हातको सरसफाइ स्यानिटाइजर प्रयोग गरी वा साबुनपानीले राम्ररी धोएर सरसफाइमा विशेष ध्यान दिनु परेको छ।
स्वास्थ्यकर्मी यसमा पनि बिरामीको बढी ख्याल गर्ने नर्स, प्यारामेडिक्स, डाक्टरहरुले मास्क प्रयोग गरेर मात्र बिरामीलाई हेर्ने तथा जाँच गर्नुपर्ने हुन्छ। ताकी कुनै हिसाबले पनि हावामा भएका सूक्ष्म छिटाको प्रवेश शरीरमा श्वासको माध्यमबाट शरीरभित्र प्रवेश नहोस। त्यसरी नै हातलाई स्यानिटाइज अथवा राम्ररी धोएर नाक, मुख, आँखा मिच्न पूरै बन्देज लगाएर आफ्नो ज्यान जोखिमबाट जोगाउनु पर्छ।
हो, हामी युद्धमा छौं, जहाँ अन्य विषयका मान्छेहरुको सहयोग त होला, तर प्रत्यक्ष संलग्नता हुने छैन। शंकास्पद बिरामी राखेका आइसोलेसन कक्षमा व्यवस्थापनमा प्राविधिक या अन्य समस्यामा गर्न सकिने सहयोगको बारेमा प्रत्यक्ष संलग्न हुने अस्पताल प्रमुख, विशेषज्ञ डाक्टर, नर्सिङ सेवाका बारेमा सोधिने कुरा त परै जाओस्, त्यतातिर नजर लगाउँदा पनि कोरोनाले सक्रंमण गर्छ कि भनेर समाजका अन्य तप्का त्रसित छ।
निजी स्तरका अस्पतालहरुले हामी सहयोग गर्छौं भनेर मुखले भने पनि शंकास्पद ज्वरोका बिरामीहरुको लागि ढोका बन्द गरे जस्तै अवस्था छ। छेउछाउका जिल्ला अस्पताल लगायतका साना सरकारी स्वास्थ्य प्रदायक संस्थाहरुले पनि योे क्षेत्रका बिरामीहरुको बढ्दो चापलाई थेगी नथेगी सेवा दिँदै गरेको लुम्बिनी प्रादेशिक अस्पतालमै ज्वरो र अन्य लक्षणको आधारमा शंका लागेका बिरामीहरुलाई रिफर गर्ने बानी बसेको छ। हुँदाहुँदा भारत लगायत अन्य मुलुकबाट आएका नागरिकलाई क्वारेन्टाइनमा अस्पताल भित्रै राखिदिनु प¥यो भनेर ठाउँठाउँका जनप्रतिनिधिबाट प्रादेशिक अस्पतालको मेसुसँग अनुरोध आउने गरेको छ।
क्वारेन्टाइन भनेको संक्रमण देखिएको देशबाट आएकालाई, जसको कुनै लक्षण देखिएको अवस्था हुँदैन त्यस्तो व्यक्तिलाई १४ दिनसम्म निगरानीमा राख्ने व्यवस्था हो भने अस्पतालमा त लक्षण देखिएपछि जाँचबुझ र उपचारको लागि आइसोलेसनमा राख्ने व्यवस्थापनको लागि ल्याउने हो भनेर बुझाउनै गाह्रो परिराखेको छ।
क्वारेन्टाइनको व्यवस्था कुनै सामुदायिक भवन अथवा अनुशासित, बुझेको जिम्मेवार व्यक्तिलाई आफ्नै घरमा छुट्टै बस्ने गरी व्यवस्थापन गर्नु जनप्रतिनिधि लगायतका सामाजिक संस्थाको जिम्मेवारी हो। त्यो अस्पतालको प्रत्यक्षत जिम्मेवारी होइन।
सुरुका दिनमा अस्पतालमै रहेका क्याबिनलाई आइसोलेसनको रुपमा प्रयोग गर्दा मिडियाबाट भएको सञ्चारले होला, विदेशबाट आएका सबैलाई र शंकास्पद बिरामीको सम्पर्कमा भएका परिवारजन सहितलाई एउटै गाडीमा ल्याएर अस्पतालसम्म ल्याउने काम भयो, सायद अज्ञानताले होला भनौं।
यस क्षेत्रको सबैभन्दा बढी चाप थेगिराखेको सरकारी अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना भाइरसको संक्रमणको शंका भएका बिरामीहरुको स्क्रिनिङ्ग गर्ने, आइसोलेसनमा राख्ने गरेको छ। कोरोनाको संक्रमण हो वा होइन भनी पत्ता लगाउन बिरामीको घाँटीभित्रबाट रसाएको तरलजन्य नमुना लाई थ्रोट स्वाबको रुपमा निकालेर देशमा रहेको एउटै मात्र केन्द्रीय प्रयोगशालामा पठाउने र रिपोर्ट नआउन्जेलसम्म कडासम्मको निमोनियाको उपचारमा सहयोग हुने एन्टिबायोटिक लगायतका औषधिहरु चलाउने गरिएको छ। सँगसँगै बिरामीलाई हुनसक्नेसम्मको निगरानी (मोनिटरिङ्ग) मा राख्ने अभ्यासमा धेरै खालको अनुभव प्राप्त भएको छ।
पहिलो केसलाई शंका गरेर आइसोलेसन कक्षमा के राख्न भ्याइएको थियो, मिडिया जगतले कोरोनाको बिरामी भेटेजस्तै सनसनी मच्याइदियो। स्वास्थ्यकर्मीहरु पनि भयभित हुने अवस्था आयो। निजबाट जाँचको लागि नमुना निकाल्ने र उक्त नमुनालाई सुरक्षित ढंगले काठमाडौंसम्म पठाउने कुरा नै चुनौतीपूर्ण रह्यो।
प्रदेश प्रयोगशाला र विश्व स्वास्थ्य संगठनको समन्वयमा हवाइजहाजमा पठाउने क्रममा जहाजका कर्मचारीले स्वाब राखिएको बक्स छुन डराउने र नलैजानेसम्मका कुरा आए। मिडियामा आएको खबरले यहाँका एक जिम्मेवार जनप्रतिनिधिले त्यो बिरामीलाई रातारात अन्यत्र ट्रान्सफर गर्न भन्नुभयो। तर मैलै उक्त कुरा ठाडै नकारें। उहाँलाई आफ्नो कर्तव्य र अन्य यस सम्बन्धी कुराहरु बुझाएँ। निजको रिपोर्ट नेगेटिभ आएपछि अन्य जाँचबुझपछि चलेको औषधिले स्वास्थ्य सुधार हँुदै क्याबिनमै बसिराखेको बेला एक मुर्खले निजको बिमार अस्पतालले लुकाएको र निजको कोरोनाकै कारण मृत्यु भएको काठमाडौंको एक अस्पतालले पुष्टि गरेको अफवाह फेसबुकबाट फैलाएछ। निजलाई कारबाही भएको अहिलेसम्म मैले थाहा पाएको छैन।
यसरी नै मुम्बईबाट आएको दोस्रो शंकास्पद बिरामीलाई इमर्जेन्सीबाट श्वासप्रश्वासमा समस्या भएको कारणले भुलवस इकोकार्डियोग्राफी गर्न अस्पतालको कार्डियोलोजिस्टसँग पठाइएको रहेछ। त्यहाँ इको गर्ने डाक्टरले सोधपुछ गर्दा शंकास्पद ठान्नुभयो र त्यहाँ रिफर गरिनुले आफूलाई डर लागेको कुरा गर्न आउनु भयो। बिरामीलाई आइसोलेसनमा राखी जाँचबुझ चल्दै गरेको अवस्थामा उहाँलाई रिङ्गटा चलेकोले रिपोर्ट नआउन्जेल हस्पिटल आउन नसक्ने भनी खबर गर्नुभयो।
गाउँबाट जबरजस्ती भारत लगायतका मुलुकबाट आएका मान्छेलाई हस्पिटल लैजानुपर्ने दबाबका साथ हल्का समस्या भएका बिरामीका साथ एउटै एम्बुलेन्समा राखेर जनप्रतिनिधि र अन्य प्रशासनबाट बवुझपनाको कारणले पठाउने कामले इमर्जेन्सीमा काम गर्ने स्वास्थ्यकर्मीलाई भयभित बनाउने काम भयो।
नवलपरासीको सीमा क्षेत्रमा ड्राइभरको काम गर्ने सामान्य आर्थिक अवस्थाका एक चौधरीलाई कोरोना शंकाकै कारण परासीको अस्पतालमा राखेको आइसोलेशनमा राखेर जाँचबुझ अगाडि बढाउनुपर्नेमा आइसियु सुविधा छैन भन्ने निहुँमा कोरोनाको बिरामी हेर्न डाक्टरबाटै यही अस्पतालमा पठाउने काम भयो। जब कि अस्पतालले छुट्याएका आइसोलेसन कक्षहरु भरिएकोले यहाँबाट अन्यत्र भरतपुर रिफर गरेको बुझियो। उक्त बिरामी त्यहाँबाट पनि भर्ना नलिई टेकु अस्पतालमा रिफर गरेको त्यसपछि काठमाडौंका कुनै पनि अस्पतालले भर्ना नलिएकोले घर फर्कन बाध्य भएको कुरा बिबिसी लगायतका मिडियामा सनसनी फैलियो।
यता हाम्रोमा आइसोलेसन कक्षहरु खाली नभएको अवस्थामा एउटा बिरामीको रिपोर्ट नेगेटिभ आएपछि गाउँमा पुगेको उक्त बिरामीलाई बोलाई खाली भएको आइसोलेसनमा व्यवस्थापन गरियो। निजको रिपोर्ट पनि नेगेटिभ आएको र निजको स्वास्थ्य सुधार भई घर फर्केको अवस्था छ।
दिनानुदिन आइसोलेसनमा बिरामीहरुको चाप बढ्दै गएको र यहाँका प्राइभेट लगायत मेडिकल कलेजसम्मले ज्वरोका बिरामीहरुलाई पिपिई छैन भन्दै प्रादेशिक अस्पताल पठाउनुले हामीसँगको मौजुदा अस्पतालमा राख्न सक्ने ठाउँ भएन। त्यसपछि बुटवल उप–महानगरपालिकाको सहकार्यमा वर्षौंदेखि बन्द धागो कारखानाको भवनहरुमा हाम्रै जनशक्तिको सहयोगमा चल्ने गरी आइसोलेसन एक्सटेन्सन जहाँ ४० देखी ५० जना अट्ने कम समयमै कम्पार्टमेन्टलाइज्ड कक्षहरु बनाइएको छ। यो छुट्टै ठाउँमा भएको र सुरक्षा दृष्टिकोणले पनि ठिकै रहेको अस्पतालमा आउने अरु बिरामीहरुलाई पनि जोखिम नहुने देखिएकोले उपयुक्त लागेको हो।
कुनै पनि महामारी या भवितव्य सूचना दिएर आउने पनि होइन। झन् यो भाइरसको संक्रमणको बारेमा संसारका विकसित भन्ने देशलाई पनि नयाँ अनुभव छ भने पूरै अभावको परिस्थितिमा उपलब्ध भएको केही सुविधामा सम्झौता त हुन्छ नै। सम्पूर्ण कुरा हुने नै भएन। विस्तारै सुधार गर्दै जाने हो। यसमा समाजका सबै जिम्मेवार पक्षहरुको सहयोग अपेक्षित छ।
कोरोनाको शंका गरेर आइसोलेसनमा राखिएका बिरामीमा कुनै पनि बेला श्वासप्रश्वासमा क्रिटिकल अवस्था आउन सक्छ। त्यस्तो अवस्थालाई मेडिकल भाषामा एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम भनिन्छ। यस्तोमा कोरोनाको संक्रमण हो कि होइन भनेर पक्का नहुन्जेल बिरामीको उपचार व्यवस्थापनमा गाह्रो हुन्छ। रिपोर्ट नेगेटिभ भएमा आइसियु/भेन्टिलेटर चाहिने अवस्था आयो भने सुविधा भएको ठाउँमा ट्रान्सफर गरेर डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीले भ्याएसम्मको ढुक्कसँग उपचार गर्न सकिन्छ। अलिक धेरै शंकास्पद बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मीहरु पनि जोगिएर गर्नुपर्ने हुन्छ, रिपोर्ट नआउन्जेल।
अहिलेको जोखिमपुर्ण विश्व परिवेशमा स्वास्थ्यकर्मीहरुले आफ्नो कर्तव्य भुल्न हुँदैन। आफू पनि जोगिएर, अरुलाई बचाउन सक्ने काममा दत्तचित्त भएर लाग्नुपर्छ। अहिले बिरामीको उपचारमा प्रत्यक्ष संलग्न हुने नर्सिङ्ग स्टाफ, प्यारामेडिक्स डाक्टर र सहयोगी कर्मचारीहरु एकदमै मानसिक तनाव तथा सामाजिक दबाबमा रहेको पाइएको छ। त्यसमा पनि हाम्रो जस्तो सरकारी अस्पतालमा काम गर्नेहरुलाई निकै समस्या छ।
कति करारमा काम गर्ने डाक्टर लगायत ज्यालादारीमा काम गर्ने कर्मचारीहरु सेवामा हाजिर छैनन्। कतिलाई यो वा त्यो समस्या देखाएर अस्पताल आउन नपरोस् भन्ने छ। कतिले काम गर्न सुरक्षित र राम्रो वातावरण भएन भनेर झुण्डझुण्ड बनाएर अस्पताल प्रमुखलाई सिकायत गर्न आउने गरेका छन्। तर पनि लागे पुगेसम्म सबैलाई सम्झाइबुझाई दायित्वबोध गराई काममा सीमित साधन, स्रोत सुविधाका बाबजुद प्रोत्साहन गरेको छु। सबैसँग साथमा रहेर काम गर्ने बाचा गरेको छु।
अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरु संक्रमित बिरामीको संसर्गमा हुने हुँदा घरमा नआइदिए हुन्थ्यो भन्ने घरका मान्छेहरुको चाहना हुने गरेको छ। डेरा गर्ने भए घरबेटीले पनि घरभित्र पस्न नदिएका सूचनाहरु आइरहेका छन्। सबै मान्छेको उत्तिकै वैज्ञानिक चेतना पनि छैन। समाजमा डर आफू कसरी बाँच्ने भन्ने छ।
मेरै सवालमा पनि म अस्पतालबाट घर जाँदा डर लाग्छ किनभने मेरी श्रीमती पनि इन्सिुलिन सुई चाहिने डाइबिटिजबाट पीडित छन्, बच्चाहरु छन्। गाउँमा, बुबा ८७ बर्षको वृद्ध हुनुहुन्छ। अस्ति गएर टाढैबाट भेटेर आएँ। समस्या सबैको छ। स्वास्थ्य सेवामा रहेर काम गर्ने इच्छा अनुसार यो पेसा अँगालेका सरकारी अस्पतालमा अहिले काम गर्दै रहेका हामी बाहेक पनि बाहिर प्राइभेटमा वा एकल हिसाबले स्वास्थ्य सेवा दिइरहनुभएका जसमा विभिन्न ठाउँमा सेवा निवृत्त डाक्टर तथा नर्सिङ्ग साथीहरु पनि हुनुहुन्छ। उहाँहरु सबै जनाले यो कोरोनाको महासंकटबाट पार लगाउन स्वयंसेवाको भावना अँगालेर हामीसँगै काँधमा काँध मिलाएर सहयोग गरिदिँदा यो पेसाप्रतिको सम्मान अझ उच्च हुन्थ्यो कि जस्तो लाग्छ।
समग्र स्वास्थ्यकर्मीको यो रोग निदान र उपचार व्यवस्थापन गर्नुपर्दाको जोखिमपूर्ण अवस्थामा रहँदा पनि विभिन्न स्वार्थबाट प्रेरित समूहले गैरजिम्मेवारी पूर्वक सूचना प्रवाह गरिरहेका छन्। यस्तो संवेदनहीनता र स्वास्थ्यकर्मीप्रति लाञ्छित आरोपहरुले हाम्रो समाजको नैतिक चरित्र कतै कुरुप त बन्दै गएको होइन भनेर झस्किनुपर्ने अवस्था आएको छ। त्यसैले यो संवेदनशील समयमा समाजले जिम्मेवार स्वास्थ्यकर्मीहरुलाई काममा उत्प्रेरित गर्ने, सुरक्षित बनाउने र प्रत्यक्ष रुपमा हामीसँगै रहेर बाहिरबाट हुनसक्ने सहयोग गरोस्–हामी सबैको चाहना हो।
(लेखक लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट हुन्)