सस्मिता खत्री
विश्वभर फैलिएको कोभिड–१९ (कोरोना भाइरस) सन् १९१८ मा फैलिएको एच१एन१ स्पानिस फ्लुपछिको ठूलो महामारी हो। सन् २०१९ डिसेम्बरको अन्तिम साता चीनको हुबेई प्रान्तबाट सुरु भएको कोभिड–१९ को संक्रमण हालसम्म विश्वका २१३ देशमा फैलिसकेको छ।
कोभिड–१९ श्वासप्रश्वास र व्यक्तिगत सम्पर्कबाट एक संक्रमित व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा सर्ने सरुवा रोग हो। विश्व स्वास्थ्य संगठनले यो रोगलाई ११ मार्च २०२० का दिन विश्व महामारीको (पान्डेमिक) घोषणा गरिसकेको छ र अधिकांश मुलुकहरु आंशिक वा पूर्ण लकडाउनको अवस्थामा छन्, जसले आम मानिसको बीचमा भौतिक दूरी कायम गरी रोगको संक्रमण नियन्त्रणमा राख्न सहयोग गरेको छ।
कोभिड–१९ बाट सबैभन्दा बढी अमेरिका र युरोपेली देशहरु प्रभावित छन्। नेपालमा भने यो रोग १३ जनबरी २०२० मा चीनबाट नेपाल आएका १ जना पुरुषमा पहिलो पटक देखिएको थियो। २६ अप्रिल २०२० सम्म नेपालमा ५२ जना संक्रमित भएका छन्। तीमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।
संसारभरका संक्रमित व्यक्ति र उनीहरुको स्थितिलाई अध्ययन गर्दा ८० प्रतिशत संक्रमितहरू लक्षणरहित वा न्यून वा सामान्य लक्षणयुक्त पाइएको छ भने १५ प्रतिशतमा मध्यम लक्षण र ५ प्रतिशतमा कडा लक्षण र मृत्युदर लगभग ३ प्रतिशत पाइएको छ।
कोभिड–१९ को युद्धमा अनेक व्यवधान र स्रोत–साधनको कमीका बाबजुद पनि स्वास्थ्यकर्मीहरु युद्धभूमिमा लडिरहेका छन्, जुन स्वास्थ्यकर्मीको पेसागत दायित्व र केही मात्रामा कहर पनि हो। कोरोना संक्रमणको कारण आममानिस घरमा सीमित रहँदा अन्य स्वास्थ्यकर्मीसँगै नर्सहरु संक्रमित बिरामीको सेवामा दिनरात खटिएका छन्। यस क्रममा हजारौं स्वास्थ्यकर्मीसँगै नर्सहरु पनि संक्रमित भएका छन् भने सयौंले ज्यान गुमाएका छन्।
छिमेकी देश भारतमा स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण जस्तो दुखद घटना भएको छ। २२ अप्रिल २०२० मा प्रकाशित बेलायतको एक अध्ययन अनुसार त्यहाँ अप्रिल १२ सम्म ११९ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ, जसमा नर्स ३३ प्रतिशत, अन्य स्वास्थ्यकर्मीहरु २५ प्रतिशत र चिकित्सक १७ प्रतिशत छन्। केही समयपूर्व नेपालमा पनि २ जना नर्सको आरडिटी परीक्षण पोजिटिभ पाइएको समाचार प्रकाशित भएको थियो]।
यस तथ्यांकले स्वास्थ्य सेवा प्रदायकहरुमध्ये नर्स सबैभन्दा बढी संक्रमणको जोखिममा रहेको देखाउँछ। हुन त नर्सिंङ पेसाको इतिहास हेर्ने हो भने आजको आधुनिक नर्सिंङ पेसाको जन्मदाता फोलोरेंस नाइटिंगेलले युद्धमा घाइते भएका ब्रिटिस आर्मीहरुको उपचारमा खटिएको र नर्सिंङ स्याहार, अस्पतालको व्यवस्थापन, स्वास्थ्यमैत्री वातावारणको सिर्जना गरी घाइतेहरुको मृत्युदर घटाउन सफल बनाई सुरु भएको] कुरा सर्वविदित नै छ।
पछिल्लो दशकमा नर्सिंग पेसालाई अभिभावकहरुले आफ्ना छोरीहरुको लागि सुरक्षित, सिपमूलक, जीविकोपार्जन तथा व्यक्तित्व विकासका लागि सजिलो र वैदेशिक रोजगार तथा अध्यनको लागि आकर्षक पेसाको रुपमा लिएको पाइन्छ। तथापि स्वास्थ्य क्षेत्रमा आइपर्ने विभिन्न खालका महामारीको सामना गर्ने क्रममा पहिलो पंक्तिमा खटिने नर्सहरु जोखिममा रहेका हुन्छन्।
– बिरामीको सिधै सम्पर्कमा रहनुपर्ने
– धेरै समय बिरामीसँग बिताउनुपर्ने
– बिरामीका आफन्तहरुको सम्पर्कमा जानुपर्ने
– व्यक्तिगत सुरक्षाका साधन प्राप्त गर्न प्राथमिकतामा नपर्ने आदि प्रमुख कारणले गर्दा जोखिम अझै बढ्ने हुन्छ।
विश्वका धेरै मुलुकमा हाल फैलिरहेको कोरोनाको महामारीसँगको लडाईंमा पनि यस्तै आवाज आइरहेको छ। पिपिईको माग गर्दा जागिरबाट निष्कासित हुनुपर्ने, गर्भवती, सुत्केरी वा स्तनपान गराउनुपर्ने नर्सले समेत उच्च जोखिममा रही काम गर्नुपर्ने, सामान्य अवस्थामा भन्दा लामो समय ड्युटी गर्नुपर्ने, दबाबमा काम गर्नुपर्ने, अस्पताल वा क्वारेन्टाइन होममा नै बसेर काम गर्नुपर्ने, केही प्राइभेट अस्पतालहरुले त जागिरबाट निष्काशन गरेको वा बेतलबी बिदामा जबर्जस्ती बस्न बाध्य पारेको गुनासा समेत आइरहेका छन् भने नर्सिंङ कर्मचारी बसोबास गर्ने समुदायमा मानिसहरुले संक्रमणको सन्त्रासका कारण दुर्ब्यवहारमा परेका जस्ता बिडम्वनापूर्ण घटनाहरु घटेका छन्।
एकातिर यस्तो खालका परिस्थितिको सामना गर्नुपर्ने छ भने अर्कातिर आफूलाई नै कोरोनाको संक्रमण हुन्छ कि भन्ने वा आफूबाट परिवार तथा बालबच्चालाई सर्छ कि? भन्ने त्रासमा रहनुपर्ने कारणले गर्दा नर्सहरुको मानसिक स्वास्थ्यमा असर पर्नु स्वभाविकै हो। नियमित रुपमा लामो समयसम्म मानसिक तनाव हुनु, चिन्ता पर्नु, असहाय तथा एक्लोपनको महसुस गर्नु आदिले गर्दा दीर्घकालीन मानसिक समस्या समेत निम्त्याउन सक्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्यकर्मीहरुमा मानसिक तनाव उत्पन्न भएमा कार्य क्षमता दर्शाउन सक्दैनन्। त्यसैले यस्ता खालका विषम परिस्थितिमा मानसिक रुपमा स्वस्थ र तन्दुरुस्त रहनको लागि विभिन्न खालका उपाय अबलम्वन गर्न सकिन्छ, जसले गर्दा हालको अवस्थामा सहज रुपमा कार्य सम्पादन गर्न सहयोग पुग्छ भने दीर्घकालीन रुपमा मानसिक रुपमा स्वस्थ रहन मद्दत मिल्छ।
कोरोनाको महामारी फैलिरहेको समयमा निम्न उपायबाट आफूलाई मानसिक रुपमा तन्दुरुस्त राख्न सहयोग पुग्छ:
– यस्ता खालका महामारी वा विपत्तिको बेला एक खालको डर हुनु सामान्य हो र यसलाई सामान्य नै मान्नुपर्छ।
– महामारीसँग सम्बन्धित समाचार वा तथ्यांक दिनमा एक वा दुई पटक मात्र विश्वासिला माध्यममार्फत हेर्ने।
– योग, प्राणायाम, ध्यान एवं शारीरिक अभ्यास गर्ने।
– परिवारसँग टाढा रहेको खण्डमा समयसमयमा भिडियो कल वा टेलिफोन मार्फत कुराकानी गरिरहने वा नियमित सम्पर्कमा रहने।
– आफ्नो प्रियजनलाई मनमा लागेका कुराहरु सुनाउने।
– हसाउने खालका भिडियो र चलचित्र हेर्ने
– महामारीसँग सम्बन्धित धेरै कुराहरु साथीभाइसँग नगर्ने।
– ड्युटी अफ भएपछि बिरामीको वा अस्पतालमा भएका घटनाक्रमको बारेमा मनमा कुरा नखेलाउने।
– निन्द्रा पुग्ने गरी कम्तीमा ६-८ घण्टा सुत्ने।
– पोषिला खानेकुरा खाने।
– प्रशस्त पानी पिउने।
कोभिड–१९ नयाँ रोग भएकाले यसबारे सम्पूर्ण तथ्य अझै थाहा नभएको बताइन्छ। यस्तो अवस्थामा अग्रपंक्तिमा सेवारत चिकित्सक, नर्स एवं अन्य स्वास्थ्यकर्मीबीच सामान्य अवस्थाको भन्दा उच्च स्तरको र सही सञ्चार एवं ज्ञानसिपको आदानप्रदान पर्याप्त हुन जरुरी छ।
त्यस्तै समयसमयमा आपसमा ड्युटी स्टेसन र ड्युटी सेड्युल परिवर्तन गरिरहनु पर्छ। साथै यो तानावपूर्ण समय र काम भएकोले स्वास्थ्यकर्मीहरुलाई बीचबीचमा साविकभन्दा बढी छुट्टी दिनुपर्छ। जसले गर्दा उनीहरुलाई तनाव भुल्न र आफूलाई मानसिक रुपमा तयार गरी उच्च मनोबलको साथ सेवामा पुन: जुट्न उत्प्रेरित गर्छ। यसका अलावा भविष्यमा उनीहरुमा पोस्ट ट्रोम्याटिक स्ट्रेस डिसअर्डर हुनसक्ने कुरालाई अहिलेदेखि नै ख्याल गरिनुपर्छ।
अग्रपंक्तिमा रहेर काम गर्ने र बिरामीको सेवामा खटिने नर्सहरुको आत्मबल बलियो बनाउने र निर्धक्क भएर काम गर्नसक्ने वातावारणको सिर्जना गर्नु रोजगारदाता एवं अस्पताल प्रशासन वा सरकारी निकायको दायित्व हो। जसमा महामारीको अवधिभर खानपिन र सुरक्षित आवासको व्यवस्था गर्ने, यातायातको व्यवस्था गर्ने, इन्सेन्टिभ स्किम प्रदान गर्ने], प्रशस्त र भरपर्दो व्यक्तिगत सुरक्षाका साधनहरु (पिपिई) उपलब्ध गराउने, स्वास्थ्य तथा जीवन बिमा गरिदिने, बिपद्मा गरेको सेवालाई भविष्यमा पेसागत वृत्तिविकास एवं अन्य अवसरसँग जोडिदिने] जस्ता कार्यक्रमलाई प्रभावकारी तरिकाले कार्यान्वयन गरेमा उच्च मनोबलका साथ काम गर्ने र मानसिक तनाव कम हुने हुँदा कार्य दक्षता र गुणस्तरमा अभिवृद्धि हुनेमा दुईमत नहोला।
विश्वमा यो कोभिड-१९ को महामारी अन्तिम महामारी नहुन सक्छ। वैज्ञानिक, सरल र स्वीकार्य उपायहरु अपनाएर प्रत्येक व्यक्ति र बिपत्तिमा परेको विश्वलाई बचाउFFनको लागि नर्सहरु सक्षम छन्। त्यसका लागि हामी नर्सहरु मानसिक रुपमा सधैं तयार रहन जरुरी छ।