सकिला चौलागाईं
कोभिड-१९ को महामारीले मातृ तथा नवजात शिशुको स्वास्थ्यमा पारेको असरलाई विश्लेषण गर्ने हो भने केही परिस्थिति उस्तै छ भने केही पूर्ण रुपमा रुपमा बदलिएको छ। पहिलेकै जस्तो अवस्था भन्नाले एकातिर महिला नियमित रुपमा गर्भवती भइरहेका छन् भने अर्कोतिर कोभिड-१९ को महामारीभन्दा पहिला गर्भवती भएका महिलाले बच्चा पाइरहेका छन्।
बदलिएको परिस्थिति भन्नाले गर्भवती हुने दर बढ्नसक्ने सम्भावना, हाल गर्भवती रहेका महिलाले उचित स्याहार पाउन नसक्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुने दर कम हुनसक्ने, जसको कारणले आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने आदि हुन्। यसै क्रममा अन्तर्राष्ट्रिय संस्था युएनएफपिएका अनुसार लकडाउन इफेक्टका कारणले मानिसहरु घरमै बस्ने भएको कारणले आगामी दिनमा गर्भवती महिलाको संख्या एकदमै बढ्न सक्ने आकलन पनि गरिएको छ।
नेपालको सन्दर्भमा कुरा गर्दा प्रत्येक वर्ष करिब ६ लाख नवशिशुको जन्म हुने आकलन छ। यसलाई सामान्य रुपले हिसाब गर्ने हो भने दैनिक करिब १६ सय शिशुको जन्म हुन्छ। कोभिड-१९ को महामारी भइरहेको सन्दर्भमा के ती आमाहरु, जो बच्चा पाउनका लागि स्वास्थ्य संस्थामा जानुपर्ने हो, गइरहेका छन् त? स्वास्थ्य सेवा पाउन भनि स्वास्थ्य संस्थामा गएका गर्भवती र सुत्केरीले उचित स्याहार पाएका छन् त? विषय एकदमै सोचनीय छ। किनकि यसको असर अल्पकालीन रुपमा व्यक्ति र परिवारलाई र दीर्घकालीन रुपमा सम्पूर्ण देशलाई नै पर्ने हुन्छ। यस्तो अवस्थामा गर्भवती आमा, सुत्केरी र नवशिशुको स्याहारमा सरोकारवाला निकायहरुको ध्यान जानु अत्यन्त जरुरी छ।
कोभिड-१९ को महामारीबीच सुरक्षित मातृत्व र नवशिशु स्याहारलाई कसरी व्यवस्थित पार्न सकिन्छ?
१. परिस्थिति कठिन भए पनि सकेसम्म स्वास्थ्य संस्थामै गर्भ स्याहार, सुत्केरी सेवा र सुत्केरी पश्चातको सेवा दिइनुपर्छ। यसका लागि नर्स वा मिडवाइफलाई पिपिईको पर्याप्त उपलब्धता हुनुपर्छ, जसले गर्दा उनीहरुले ढुक्कका साथ आवश्यक सेवा प्रदान गर्न सक्नेछन्।
२. कोभिड-१९ को कारणले धेरै गर्भवती र सत्केरी महिला संक्रमण हुने जोखिम र अनिश्चितताको कारणले मानसिक तनावमा जानसक्ने भएको र त्यसको असर बच्चामा पनि देखिन सक्ने हुन्छ। तसर्थ यस्तो बेलामा झन् बढी परामर्शको जरुरी हुन्छ। यसका लागि सहरी क्षेत्रमा स्वास्थ्यकर्मीसित सिधै टेलिहेल्थद्वारा सम्पर्क गर्ने व्यवस्था र ग्रामीण क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाको माध्यमद्वारा स्वास्थकर्मीसित सञ्चार गर्ने व्यवस्थाको विकास गरिनुपर्छ।
३. लकडाउनको कारणले मुख्यतया: ग्रामीण भेगमा सुत्केरी गराउनका लागि आवश्यक सामग्रीको अभाव हुनसक्छ। त्यसका लागि आपूर्ति व्यवस्थापन पनि चुस्त बनाउनु अत्यन्त आवश्यक हुन्छ। याद रहोस्, एउटा अक्सिटोसिनको इन्जेक्सनले सुत्केरीपश्चात् हुने रक्तस्रावलाई धेरै हदसम्म कम गर्नसक्छ, जुन हाम्रो देशको मातृमृत्युको प्रमुख कारण हो।
४. विश्व स्वास्थ्य संगठनका अनुसार करिब १० देखि १५ प्रतिशत गर्भावस्थामा जटिलता हुने सम्भावना भएको र करिब ५ प्रतिशतलाई सिजरिएन सेक्सन गर्नुपर्ने अवस्था भएको हुँदा यस्तो समयमा समयमै उपचार नपाएर गर्भवती तथा सुत्केरी महिलाको मत्यु हुनसक्छ। त्यसैले प्रेषण प्रणाली चुस्त राख्नुका साथै सामान्य एम्बुलेन्स र हवाई एम्बुलेन्स पनि तयारी अवस्थामा राख्नुपर्छ।
अन्त्यमा, एकातिर विश्व स्वास्थ्य संगठनले सन् २०२० लाई नर्स र मिडवाइफको वर्ष भनी मनाइरहेको अवस्था छ। अनि नेपालले सहस्राब्दी विकास लक्ष्यअनुसार मातृ मृत्युदरलाई सन् २०३० सम्म हाल रहेको २३९ प्रतिलाख जीवित जन्मबाट ७० मा झार्ने महत्वकांक्षी लक्ष्य राखेको छ भने अर्कोतिर कोभिड-१९ को महामारीले लगभग सबै गर्भवती महिला, सत्केरी र नवशिशुको अवस्था जोखिममा रहेको छ।
यस्तो जोखिमका बेला महिला र बच्चाको स्वास्थ्य सुधारमा काम गर्ने सम्पूर्ण सरोकारवाला निकायले रणनीतिक योजना निर्माण गरी यथाशीघ्र कार्यान्वयन गर्नु अत्यन्त आवश्यक छ।
(चौलागाईं नेपालमा उत्पादित पहिलो व्याचकी मिडवाइफमध्ये एक हुन्)