धीरज मैनाली
अस्पताल भन्ने वित्तिकै बिरामीको उपचार गर्ने स्थलका रुपमा बुझिन्छ र त्यहाँ अहोरात्र क्रियाशील ऊर्जावान कर्मचारीलाई स्वास्थ्यकर्मी भनिन्छ। स्वास्थ्यकर्मी बन्नका लागि ठूलो त्याग तथा तपस्याबाट यो पद हासिल गरिएको हुन्छ।
फलामको चिउरा चपाएझंै अध्ययनका लागि नाम निकाल्नको संघर्षदेखि लिएर पढाइको सिलसिलामा भोगिने हन्डरले बज्र बनाएका जनशक्ति नै स्वास्थ्यकर्मी हुन्। परिवारभन्दा ठूलो, आफ्नो व्यक्तिगत जिन्दगीभन्दा महत्वपूर्ण आफनो पेसा तथा पदीय धर्मलाई निभाउने कसम खाएर कामको शुरुवात गर्ने स्वास्थ्यकर्मी रोगीको रोगसँग पौठेजोरी खेल्दै रोगीलाई रोगमुक्त बनाउने अभियानमा लागेका हुन्छन्।
रातको निन्द्रा नभनी बिहान वा साँझको मिठो खानालाई ध्यान नदिई अहोरात्र खटिने यस पेसाकर्मीको योगदानको उचित कदर तथा सम्मान नभएको भान हुन्छ। कहिले के रोग त कोही कस्तो जटिल समस्या सबैलाई समान भावले व्यवहार गर्नु नै परम कर्तव्य हो। कसैसँग नघिनाई, नडराई, नतर्की, छिछी, दूरदूर नगरी, हेला नगरी न्यानो भावमा सेवा दिनु यो कर्मशील मानवको उच्च धर्म मानिन्छ।
मलाई केही भइहालेमा मेरो परिवारलाई के होला, मेरा बालबच्चालाई के होला, मलाई रोग सरेर मेरो परिवारलाई सो रोग सर्दा के होला कुनै पनि कुरालाई गौण मानेर म र मेरो परिवारभन्दा ठूलो मानव सेवा हो भन्ने ठानेर हिँडने यी पेसाकर्मीले देश तथा समाजका प्रति कति कार्य गरेका छन् सहजै देखिन सकिन्छ।
सरकार वा देशले यसता पेसाकर्मीलाई के विशेष सुविधा दिएको छ त भन्दा खासै केही गन्तीमा आउँदैन। तुलनात्मक रुपमा व्यक्तिगत करमा सबैमा बढी कर बुझाउनुपर्ने यो पेसाकर्मीले सरकारको सेवा सुविधामा विशेष छुट पाउनुपर्ने, सार्वजनिक स्थलमा भिआइपीको सम्मान पाउनु पर्ने यी समाजका वास्तविक अतिविशिष्टकृत पदका व्यक्तिहरुलाई कुनै विशेष ग्राहयता दिइएको पाइँदैन। देशले स्वास्थ्यकर्मीलाई कसरी देशमा धेरैभन्दा धेरै सेवा प¥याउन तथा सेवामुखि गराउन अभिप्रेरित गराउने भन्ने दूरदृष्टि नलिँदा धेरै स्वास्थ्यकर्मी तथा चिकित्सक विदेश पलायन भएका छन्। सरकारले यसता प्राविधिक जनशक्ति देशमा टिकाउने कुनै नीति लिएको छैन।
स्वास्थ्यकर्मीको विषयमा योजना बनाउन गैरस्वास्थ्यकर्मी हावी हुने विडम्बना हाम्रो देशमा देखिन्छ। नीति निर्मातामा यो पेसाको महत्व सम्बन्धी गहन ज्ञान नभएर हो या भएर पनि नजरअन्दाज गरेको हो यसता संवेदनशील पेसालाई उच्च महत्वसाथ उच्च मनोबल बनाउने कार्य हुनुको सट्टा समय समयमा हतोत्साहित गराउने नीति तर्जुमा भएको पाइन्छ। मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप भन्दा पनि सहभागितामूलक व्यवस्थापन हुनु आवश्यक छ।
यस संस्थामा खरिद गरिने औजार तथा उपकरण जनताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित भएकाले कमिसनको मुख नहेरी गुणस्तरीय उपकरण खरिदमा जोड दिनुपर्ने मेरो देशमा उल्टो विचार तथा व्यवहार तथा कार्य गरिएको देखिन्छ। कलिकालको चरम स्थानमा मेरो देशका नीति निर्माता भएर चरम बेथिति, भष्टचार भएको छ जस्तो हल्ला बजारमा चल्ने गर्छ। आफू वा आफना परिवार जो कोही बिरामी हँुदा स्वदेशमै उपचार गराउन सम्भव हुने गरी व्यवहार हुनुपर्नेमा पदमा भएका बेला सक्दो दोहन गरौं भन्ने सोच निर्णयकर्तामा भएको बजारी चर्चाको विषय छ। राम्रो औजार तथा उपकरण बिना जतिनै दक्ष चिकित्सक वा स्वास्थ्यकर्मी भए तापनि उसले केही गर्न सक्दैन। बाध्यताबस उपचार गर्न आफू सक्षम हुँदा समेत रिफर गर्नु पर्ने बाध्यता हुन्नसक्छ।
विश्व अहिले कोराना महामारीले आक्रान्त छ। यस रोगसँग लड्न अग्रपक्तिमा काम गर्ने सिपाहीका रुपमा स्वास्थ्यकर्मी आफ्नो ज्यानको बाजी थापेर मानव जातिको उत्थानका लागि बिरामीलाई बचाउनका लागि अहोरात्र खटेका छन्। विश्वमा लाखौं स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएका छन्। हजारौंले आफनो ज्यान गुमाएका छन्। विश्वव्यापी रुपमै रात दिन नभनी बिरामीमा उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको उच्च मिहिनेतको प्रतिफल मृत्यु हुने बिरामीको संख्याभन्दा धेरै संख्या रोग ठिक भएर घर फर्कनेको छ।
नेपालमा कोरोनाको पूर्वतयारी एकदमै फितलो देखिएको छ। भर्खरकैै उदाहरण लिने हो भने क्वारेन्टिनमा भएका मानिसको स्वाब संकलन गरेर जाँचको लागि पठाइयो तर हाम्रो व्यवस्थापन परिणाम आउन समेत कुर्न सकेन ती व्यक्तिलाई घर पठाइयो तर अन्ततः परिणाम पोजेटिभ आयो। जनतालाई झारो टार्ने आँखामा धुलो हाल्ने मात्र कार्य गर्ने कि वास्तवमै गम्भीर भएर लागिपर्ने भन्ने सोचनीय कुरा समाजमा आएको छ। र, यो सबैको चासो र चर्चाको विषय भएको छ।
नेपालमा सरकार सक्षम छ, दुई तिहाईको बहुमतको सरकार छ तर कोरोनाको संकट व्यवस्थापनमा चूक्तै गएको छ भन्ने निष्कर्ष समाजले निकाल्न थालेको छ। सरकार चुक्नु हुँदैन यो बेलामा उच्च सर्तकता तथा गम्भीर तथा जिम्मेवार भएर संकटको व्यवस्थापनमा उत्रिन जरुरी छ। समाजका प्रबुद्ध स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा बसेर योजना बनाउने तथा कार्य गर्दै सबै अग्रपक्तिमा खटिएकाको मनोबल उच्च बनाउने योे बेला हो। तर यस किसिमको कार्य भएको पाइँदैन। हुकुमी शासनभन्दा पनि सहभागितामूलक सरकारी नीति निर्माण तथा व्यवस्थापनले मात्र कोरोनासँग सामूहिक रुपमा लड्न सकिने यथार्थलाई सबैले हृदयंगम गरेर अघि बढनु जरुरी छ।
सुरुवाती दिनमा सुरक्षा पहिरनको अभाव तथा हाल किटको अभावले स्वास्थ्यकर्मीको मनोबल खुम्च्याउने काम गर्छ। अहिलेसम्म पनि केही स्थानका स्वास्थ्यकर्मीले सुरक्षा पहिरन पाएका छैनन्। जोखिममै काम गरेको सुनिन्छ। देशमा रेहका सबै चिकित्सक तथा स्वास्थ्यकर्मी देशको यो संकटको घडीमा सरकारको साथमा उभिन तयार हुन्छन्। तर त्यसको लागि पर्याप्त सुरक्षा पहिरन तथा समन्वय आवश्यक रहन्छ।
निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा निजी अस्पताल सबै देशको हो तथा सरकारले गरिने निणर्यको पालना गर्नु सबैको कर्तव्य रहन्छ तर निजी क्षेत्रका अस्पताल तथा स्वास्थ्यकर्मीलाई साथमा लिएर सबै स्वास्थ्य निकायसँग हातेमालो गरेर यो संकटसँग लड्नुपर्नेमा सरकार एकलो बृहस्पतीको गतिमा अगाडि बढ्न खोजेको प्रतित हुन्छ। सरकारी अस्पतालका स्वास्थ्य कर्मचारी मात्र संकटका बेलामा देशका लागि हुन् अरु होइनन् भन्ने भावले पक्कै पनि राम्रो सन्देश जाँदैन। संकटको यस्तो घडीमा सबैलाई साथमा लिएर हिँड्नु विवेकसंगत रहन्छ।
नेपालमा साठी प्रतिशतभन्दा बढी स्वास्थ्य भार निजी क्षेत्रका अस्पतालले थेगेको छ। निजी अस्पतालहरुसँग उल्लेख्य संख्यामा शय्या, भेन्टिलेटर तथा अन्य औजार तथा उपकरणहरु उपलब्ध छ। यस क्षमतालाई सरकारले समन्वय गरी सक्दो सदुपयोग गर्नु आवश्यक छ। जाँच गर्ने प्रयोगशाला धेरै निजी अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको छ। यसको समुचित सदुपयोग सरकारले गरेर धेरैभन्दा धेरैको कोरोना परीक्षण गर्न सक्छ। सबैको विश्वास जितेर सबैलाई विश्वासमा लिएर सरकार हिँडनुपर्ने आजको आवश्यकता हो।
निजी अस्पतालका प्रयोगशालाबाट जारी हुने परिणामलाई अनुगमन गरी धेरैभन्दा धेरै निजी अस्पतालाई समेत कोरोनाको पिसिआर परीक्षणमा साथ लिनु आजको माग देखिन्छ। नेपालमा यो लेख तयार पर्दाको मितिसम्म १३४ संक्रमित भेटिएका छन्। संक्रमितको संख्या हरेक दिन बढोत्तरीमा छ। दु्रत गतिमा परीक्षण नभए यसले ठूलो संकट ल्याउन सक्छ। अर्को इटाली हामी हुन कति पनि समय लाग्दैन।
अति जोखिममा रहेर कार्य गर्ने चिकित्सक तथा कर्मचारीका लागि सरकारले गम्भीरताका साथ सोचेर जोखिम भत्ता तथा अन्य सुविधा तथा प्याकेज ल्याउन जरुरी छ। अग्रपक्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको जीवन बिमाको व्यवस्था, छोरा छोरीको अध्ययनमा छुट सुविधा, सरकारी कर तथा महसुलमा छुट सुविधा जस्ता कुराले स्वास्थ्यकर्मीको मनोबल सधैं उच्च रहन्छ।
आज कोराना आयो भोलि अन्य कुनै जिवाणु आउन सक्छ। रोगको प्रकृतिमा दिनानुदिन परिवर्तन आइरहेको छ। मानव स्वास्थ्य दिनानुदिन विभिन्न नौला रोगले आक्रान्त भइरहेको छ। अबका दिनमा स्वास्थ्यकर्मीको भूमिका देशमा अझ बढेर जाने निश्चित प्रायः देखिँदैछ। विश्वमा स्वास्थ्यकर्मीको माग ह्वात्तै बढेर जाने कुरा अहिले नै प्रक्षेपण गरिएन भने देशबाट स्वास्थ्यकर्मी पलायन भएर जाने सम्भावना उत्तिकै प्रबल रहन्छ। स्वास्थ्यकर्मीलाई देशमा नै राम्रो वातावरण दिन नितीनिर्माताको ध्यान बेलैमा जानु आवश्यक छ। स्वास्थ्यकर्मीको योगदानभन्दा पनि जस आफ्नो पोल्टोमा पर्नका लागि अनगिन्ती मानिसहरु समाजमा सल्बलाएको सहजै बुझ्न सकिन्छ।
यो बेला कसले जस पाउनेभन्दा पनि मिलेर काम गरेर संकटलाई व्यवस्थापन गर्ने हो। स्वास्थ्यकर्मी आजको स्वास्थ्य संकट तथा भोलि आउन सक्ने कुनै पनि स्वास्थ्य संकटका प्रहरी हुन तथा यो पेसालाई मर्यादित तथा अझ व्यावसायिक बनाउँदै लैजान जरुरी छ। अत्याधुनिक औजार उपकरण तथा सम्बन्धित स्वास्थ्य संस्थामा दक्ष जनशक्ति तथा चुस्त व्यवस्थापन हुनु जरुरी छ।
स्वास्थ्य संस्थालाई सबल बनाउने पाटोमा नीति–निर्माता इमान्दार साथ लागि पर्नुपर्ने अबको आवश्यकता हो। स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता तथा जोखिम भत्ताको व्यवस्था गरी अन्य सेवा सुविधामा समेत ख्याल हुनु जरुरी छ। पैसाले मात्र मानिसको मनोबल उच्च हुन्छ भन्ने कुरालाई दिमागबाट नीति निर्माताले हटाएर स्वास्थ्यकर्मीलाई समाजको भिआइपीझैं व्यवहार गर्ने गरी सरकारी सेवामा उच्च प्राथमिकता दिने, विमानस्थल तथा अन्य क्षेत्रमा उच्च प्राथमिकता दिएर व्यवहार गर्ने, बैंकमा लाइन बस्ने समयमा ग्राह्यता दिने, वस्तु तथा सवारी करमा विशेष छुट दिने जस्ता नीति ल्याए, यी पेसाकर्मीकोे देशप्रति तथा आफनो कर्मप्रति उच्च लगाव बढ्ने सम्भावना रहन्छ। स्वास्थ्यकर्मी देशका निधि हुन यो कुरालाई उच्च मनन् गर्दै यिनीहरुको कर्मको उच्च सम्मान गरौं तथा साथ दिऔं।
स्वास्थ्यकर्मीको चाहना भनेको राम्रो स्थानमा राम्रा औजार तथा उपकरण भएका स्थानमा तथा राम्रो व्यवस्थापन भएका स्थानमा सेवा दिने हो। अस्पतालको व्यवस्थापन चुस्त राख्न सो संस्थाको व्यवस्थापनमा योग्य व्यक्ति नियुक्त हुन जरुरी रहन्छ। विश्वमै अस्पतालको व्यवस्थापनमा सोही विषय अध्ययन गरेको व्यक्ति राख्ने प्रचलन छ। नेपालका अस्पतालहरुमा समेत चुस्त अस्पताल व्यवस्थापनका निम्ति अस्पतालको प्रशासनमा सोही विषय अध्ययन गरेको व्यक्तिलाई राखेमा अस्पतालको सेवाको गुणस्तर वृद्धिमा टेवा पुग्छ। साथै स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण सिर्जना हुन्छ।
साथै सरकारले लाखौं खर्च गरेर पढेका स्वास्थ्यकर्मीको तलब भत्तामा समेत केही फरक पार्नु जरुरी देखिन्छ। के कति जोखिममा काम गरेको छ, त्यसको विवेकपूर्ण लेखाजोखा गरी तलबस्तर निधारण गर्दा राम्रो हुने देखिन्छ।
कोराना महामारीसँग लडेर सबैलाई रोगबाट मुक्त गराउन तथा जोखिमको परबाह नगरी रोग लागेको–नलागेको जाँचमा खटिने सबै स्वस्थ्यकर्मीप्रति उच्च सम्मान तथा नमन छ।