डा अशोक चापागाईं
म बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमडी रेडियोलोजी अध्ययन गरिरहेको छु। नेपालमा कोरोना संक्रमण बढेसँगै स्वास्थ्य संकट नहोस् भनेर नेपाल सरकारले आवासीय चिकित्सकहरु केही समयका लागि अति प्रभावित क्षेत्रहरुमा खटाउने निर्णय गर्योर। त्यसैको फलस्वरुप हामी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु प्रदेश २ मा खटिएका छौं। आवासीय चिकित्सकहरु कोरोना नियन्त्रणको लागि खटाउने सरकारी निर्णय लोकप्रिय त जरुर बन्यो तर यसको धरातलीय फाइदा के-कति रह्यो त्यो महत्वपूर्ण विषय हो।
विशेषज्ञ बन्न अध्ययन गरिरहेका हामीहरुले कहिल्यै सोचेका पनि थिएनौं, वर्षौं पहिले पढिएका र गरिएका कामहरु फेरि गर्नुपर्छ भनेर। धेरै प्रक्टिस र ज्ञान त बिर्सिसकिएको पनि हुन्छ।
धरानबाट हामी ९ जनालाई खटाइएको थियो। खटाएसँगै हामी लगायत परिवारजनमा एउटा भय थियो, कतै कोराना नियन्त्रणमा गएका हामीहरु स्वयं कोरोना संक्रमित भएर त फर्किनौं? तर त्यो भय प्रतिष्ठानमै आफ्नो विषयगत सेवा दिँदा पनि थियो। हामीले हाम्रो चिकित्सकीय कसम (हिपोक्रेटिक ओथ) सम्झ्यौं अनि किन चिकित्सक बन्छु भनेर पलाएको शैशवको कलिलो सचेत पालुवा सम्झ्यौं। यस्तै कुराले सायद भयहरु कम गराइयो अनि सेवा नै धर्म हो भन्ने लयमा अभिप्रेरित भइयो। यही सान्त्वना रमना हुनुअघि हामीले हाम्रा परिवारजनलाई पनि दिएका थियौं।
हामी सबै पहिले प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा हाजिर भयौं। हामीहरुलाई तीन जनाको एउटा-एउटा समूह गरी तीन समूहमा विभाजित गरियो र कलैया, सर्लाही र रौतहटमा एक-एक समूह रहने गरी खटाइयो। मेरो समूह रौतहटमा पर्यो। एक दिनको जनकपुर बसाइपछि भोलिपल्ट हामी रौतहट आयौं। गौर जिल्ला अस्पतालमा हाजिर भयौं। अस्पताल सेवाको २/४ दिनपछि हामीलाई हालसम्म रौतहट जिल्लामा भएका संक्रमण र त्यसको नियन्त्रण र उपचारका लागि चालिएका कदमहरुको ब्रिफिङ गरियो अनि आइसोलेसन सेन्टरहरुको जिम्मेवारी दिइयो।
रौतहट नेपालको सबैभन्दा बढी कोरोना संक्रमित रहेको जिल्ला हो। सायद भारतसँग खुला सिमाना रहनु, यहाँका धेरै स्थानीय रोजगारीको लागि भारत जानु र भारतमा कोरोना संक्रमण आकासिँदै जानु यसका प्रमुख कारण हुन्। यहाँ स्थानीय निकाय नगर/गाउँपालिका द्वारा सञ्चालित क्वारेन्टाइन सेन्टरहरु छन्। र, जिल्ला अस्पतालद्वारा सञ्चालित ४ आइसोलेसन सेन्टरहरु छन्।
हाम्रो प्रत्यक टोलीमा एक चिकित्सक, एक हेल्थ असिस्टेन्ट र एक कार्यालय सहयोगी छौं। हाम्रो काम भनेको आइसोलेसन सेन्टर र त्यसको क्याचमेन्टमा रहेका क्वारेन्टाइन सेन्टरमा रहेका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी समस्याहरु एड्रेस गर्ने हो। साथै कोरोना रोग उपचार र नियन्त्रणका लागि आवश्यक ज्ञान उहाँहरुलाई प्रदान गर्ने हो। प्राय: आइसोलेसनमा भर्ना हुनुभएका बिरामीहरु बिना कुनै लक्षणको स्वस्थ हुनुहुन्छ। त्यसैले सामान्य स्वास्थ्य समस्या बाहेकका अन्य गम्भीर समस्याहरु हालसम्मका बिरामीमा देखिएको छैन। उहाँहरुमध्ये धेरैले आफूलाई केही नभएको र हट्टाकट्टा भएकाले घर जान पाउनुपर्छ भन्नु हुन्छ।
कतिले त यहाँका ठूलाठालुले पैसा खानको लागि हाम्रो रिपोर्ट पोजिटिभ निकालिदिएका हुन् भन्नुहुन्छ। अनि केहीले डाक्टरसा'ब तपाईंहामी दौडमा भाग लियौं भने हामी तपाईंलाई सजिलै पछार्छौं, हामी कसरी संक्रमित भयौं भन्नुहुन्छ। हामीले उहाँहरुको यस्ता सबै भ्रम चिर्न र उत्सुकता मेटाउन आफूले सक्ने जति कोशिस गर्छौं र कोरोना रोग र यसको निदान, उपचार र नियन्त्रण बारे सचेतना गराउँछौं।
हाम्रो अनुभवमा काम गर्दा सबैभन्दा ठूलो ब्यारियर भनेको भाषा देखियो। सबैले नेपाली भाषा नबुझ्ने त्यसैले भोजपुरी बोल्नुपर्ने। हाम्रा टिमका स्थानीय सहकर्मी साथीहरुले यसमा हामीलाई धेरै सहयोग गर्नुभयो र सेवा सहज हुँदैछ।
यहाँ लगायत देशैभरि आइसोलेसन सेन्टरमा आउने बिरामीहरु प्राय: सबै क्वारेन्टाइन सेन्टरहरुबाट आउनु भएको छ। यहाँ क्वारेन्टाइन सेन्टरमा भर्ना हुने लगभग सबै बिरामी भारतबाट यात्रा गरेर आउनुभएका नागरिक हुनुहुन्छ। क्वारेन्टाइन सेन्टरमा भर्ना भएका बिरामीहरुमध्ये पिसिआर पोजिटिभ बिरामीलाई आइसोलेसन सेन्टरमा भर्ना गरिन्छ, बाँकी नेगेटिभ बिरामीलाई घर पठाइन्छ। आइसोलेसन सेन्टरमा चाहिँ कम्तीमा १० दिनको बसाइपछि पुन: पिसिआर टेस्ट गरिन्छ अनि रिपोर्ट नेगेटिभ आएपछि मात्र बिरामी घर पठाइन्छ। यो नै नेपालभरि चलेको स्टान्डर्ड प्राक्टिस हो।
तर, सेवा दिँदै गर्दा र नेपालका अन्य जिल्लाहरुमा समेत कोभिड नियन्त्रणको प्रयासहरुबारे साथीभाइमा बहस भइरहँदा हामीलाई लागेको डर चाहिँ क्वारेन्टाइन सेन्टरको व्यवस्थापनले निम्त्याउन सक्ने जोखिम हो।
१. सबै संक्रमितको पिसिआर टेस्ट पोजिटिभ आउँछ भन्ने छैन। तथ्यअनुसार ४० प्रतिशत संक्रमित व्यक्तिको पिसिआर रिजल्ट नेगेटिभ पनि आउन सक्छ।
क्वारेन्टाइनबाट संक्रमितमध्ये यही ४० प्रतिशत भ्रामिक नेगेटिभ देखिई सिधै समुदायमा गए भने के हुन्छ? समुदायमा कोरोना संक्रमणको आगो भित्रभित्रै सल्किन सक्छ। एउटा अध्ययनले के देखाएको छ भने संक्रमित यदि स्वस्थ छ भने सक्रमण भएको १४ दिन मात्र उसले अन्यलाई संक्रमण सार्ने जोखिम उच्च रहन्छ। त्यसैले यो तथ्यलाई मान्ने हो भने क्वारेन्टाइनमा पिसिआर नतिजा नेगेटिभ आए तापनि ४० प्रतिशतमा पिसिआर भ्रामिक नेगेटिभ आउन सक्ने कुरालाई मध्यनजर गर्दै उच्च कोरोना संक्रमणको जोखिममा परेको दिनदेखि १४ दिनसम्म क्वारेन्टाइन गरिनुपर्छ। यद्धपि बढ्दै गएको संक्रमणको कारणले यति लामो समयको लागि सरकारी क्वारेन्टाइनको व्यवस्था गर्दा सरकारलाई धेरै आर्थिक भार पर्ने हुँदा यसलाई होम क्वारेन्टाइनमा बदलिएको परिस्थिति छ। तर नेपालको परिवेशमा होम क्वारेन्टाइन केकति प्रभावकारी छ, त्यसको लेखाजोखा हुन जरुरी छ।
२. क्वारेन्टाइन सेन्टरमा संक्रमित र असंक्रमित दुवै हुन्छन् र संक्रमितले असक्रमितलाई क्वारेन्टाइन सेन्टरमै पनि संक्रमण सार्न सक्छन्। त्यसैले यो पक्षलाई ख्याल गरी क्वारेन्टाइन सेन्टरमा भएका बिरामीलाई पनि एकआपसबाट अलगअलग राख्ने गरी व्यवस्थित गर्नु जरुरी हुन्छ। जसको व्यवस्था नेपालभरि नै एकदम कमजोर रहेको छ।
आइसोलेसन सेन्टरमा चाहिँ यस्ता (१,२) जोखिम कम रहन्छन् किनभने सबै बिरामी संक्रमित नै हुन्छन् र क्वारेन्टाइनपछि पनि कम्तीमा १० दिन आइसोलेसन सेन्टर बसेपश्चात् पिसिआर टेस्ट गरेर तत्पश्चात् नेगेटिभ आएपछि मात्र बिरामी घर जान पाउँछन्। घर गएपछि भने थप १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।
३. हालैको अध्ययनले के देखाएको छ भने कुनै पनि लक्षणविहीन कोरोना संक्रमितले अन्य मानिसलाई कोरोना सार्ने सम्भावना अति नै न्यून हुन्छ। तसर्थ क्वारेन्टाइन सेन्टरमा रहँदै गर्दा पिसिआर परीक्षण नेगेटिभ आए तापनि यदि बिरामीमा लक्षण छन् भने उनीहरुलाई घर नपठाई त्यही क्वारेन्टाइन सेन्टरमै थप राख्दा उचित हुने देखिन्छ। पिसिआर परिक्षण नेगेटिभ आएका र लक्षणविहीन बिरामीलाई भने होम क्वारेन्टाइनमा राख्न सकिन्छ।
एक पटक नेगेटिभ आएका तर लक्षण भएका बिरामीको लागि भने सरकारी क्वारेन्टाइन सेन्टरको थप बसाइसँगै ५ देखि ७ दिनमा पुन: पिसिआर परीक्षण गर्न सकिन्छ।
हामीहरु काममा व्यस्त भइरहँदा हाम्रै टिमहरुमा कार्यरत एक जना स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट पोजिटिभ आएको खबरले केहीबेर हामी सबै बिक्षिप्त भयौं। तर उहाँले नै हामीलाई सम्झाउनु भयो, 'हैन पोजिटिभ आउन सक्छ भन्दाभन्दै त सेवा गर्न आएको हो नि सर, पिर नगर्नुस् सब ठिक हुन्छ।'
हामी तीन चिकित्सक टोलीको पिसिआर परीक्षण अझै हुन बाँकी नै छ। तर होसियार भएर सेवा गर्ने हो। हाम्रा अजिज मित्रले भने जस्तै सब ठिक हुन्छ। आशा गरौं, नेपालको स्थिति पनि सब ठिक हुन्छ। आशा मात्र त छ गर्नका लागि। घर एकातिर छ, विध्या मन्दिर अर्कोतिर। बीचमा जति विषम परिस्थिति भए तापनि हामी आफूले सकेको योगदान दिइरहेका छौं। तर सबैभन्दा प्रेरणादायी पल भनेको सेवा गर्दा संक्रमित भए तापनि मुस्कान साथ त्यसलाई स्वीकार गर्दै आफ्नो पेसालाई धर्म बनाएका मेरा यहीँका स्थानीय सहकर्मीको रह्यो।
आशा गरौं, भित्रभित्रै समुदायमा सल्केको संक्रमणले अझ डढेलो लगाएर आफ्नो स्वरुप नदेखाओस्। समुदाय स्तरमा पनि पिसिआर परीक्षणको पहुँच होस् र बेलैमा त्यो आगो निभाउन सकियोस्। नत्र त्यो दनदनीले सब सखाप बनाउन के बेर?
(डा चापागाईं बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रेडियोलोजी जुनियर रेसिडेन्ट हुन्।)