डा अरुण सेढाईं
सरकार राजधानीमै बसेर हेर्दैछ
केही दिनमा हेलिकोप्टरबाट पनि हेर्नेछ
फर्केर सिंहदरबार पुगेपछि
बाढीमा बगेकाहरु र पहिरोमा पुरिएकाहरु देखेर
उसको चित्त बेस्सरी दुख्नेछ, मन भतभती पोल्नेछ
मिडियाकर्मी अगाडि परे भने त झन्
'गोहीको आँशु' धरधरी झर्नेछ।
अनि 'बाँचेछौ भने राहत बाँड्नेछौँ' को शैलीमा
बक्तव्य पनि निकालेर भन्नेछ,
'सरकार त जोडतोडका साथ काम गरिरहेको छ,
जोखिममा रहेकाहरु हो! आफ्नो ज्यान आफैं जोगाउनू,
पहिरो र बाढीबाट बच्नू।'
सक्ने रमितेहरु पुलभरि जम्मा भएका छन्
नसक्ने तमासेहरु मोबाइलमा औँला खियाइरहेका छन्
पानीले ढाकेको जमिन, बाढीले बगाएका मुढा, घर र मान्छे
अनि पहिरोले पुरेका गाडी र खेत
हेरेर आनन्द लिइरहेका छन्।
मानौं उनीहरु कुनै 'हरर फिल्म' को ‘क्लाइमेक्स’ दृष्यमा रमाइरहेका छन्
बेलाबेलामा मनमा करुणा पनि जाग्दो हो बरा!
‘ज्या!’ र ‘च्वच्व’ पनि मुखबाट निकालिरहेका छन्।
केही दिनमा राहतको पोको बनाउनेछन्
बचेखुचेका घरहरुमा पुग्नेछन्
बाढीले ज्युँदो छोडेका आत्माहरुमा लागेको खाटो बस्न आँटेको घाउ बल्झाउनेछन्
'हजुरलाई कस्तो आपत् पर्यो हगी!' भन्नेछन्
सरकारको विरोधमा दुईचार लाइन विष वमन पनि गर्नेछन्
राहतको नाममा केही पोका सामान बाँड्न दर्जनौँ हात लम्काइनेछन्।
वरिपरि भीड लागेका मोबाइलका ‘फ्ल्यास’ हरु झिलिकझिलिक हुनेछन्
र ‘युट्युव’ का च्यानलहरुमा ‘ढ्यान्टर्यािन’ को शैलीमा
‘भाइरल’ समाचार पस्किनेछन्।