काठमाडौं– जब कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लियो तब देश–विदेशमा रहेका नेपालीको घर फर्किने क्रम बढ्न थाल्यो।
सरकारले विदेशबाट आएका नेपालीलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको थियो। त्यसको जिम्मा स्थानीय सरकारलाई दिइएको थियो।
स्थानीय सरकारहरुले स्कुल तथा कलेजलाई क्वारेन्टाइन बनाउनुका साथै क्वारेन्टाइनमा रहेका मानिसको निगरानी गर्ने र स्वाब संकलन गर्ने जिम्मा नजिकका स्वास्थ्य चौकी वा अस्पताललाई दिए।
यही क्रममा बाँके जिल्लाको जानकी गाउँपालिकाले पनि पालिका अन्तर्गतका दुई वटा क्वारेन्टाइनको निगरानी गर्ने जिम्मा खजुराखुद्रा स्वास्थ्य चौकीलाई दिएको थियो।
त्यही स्वास्थ्य चौकीमा कार्यरत सिएमए नर्स दुर्गा राना केसी पनि चार महिनादेखि निरन्तर क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको हेरचारमा खटिएकी छन्।
पहिलो पटक क्वारेन्टाइनमा खटिँदा मनमा थोरै डर लागेको भए पनि काम गर्दै जाँदा भने विस्तारै डर कम हुँदै गएको अनुभव सुनाइन् दुर्गाले।
उनी भन्छिन्, ‘मेरो २० वर्षभन्दा बढी लामो करिअरमा यस्तो रोगको सामान गर्नु परेको पहिलो पटक हो। विश्वभरि कोरोनाले महामारीको रुप लिँदै थियो, नेपाल पनि त्यसबाट अछुतो थिएन। गाउँपालिकाले हाम्रो स्वास्थ्य चौकीलाई क्वारेन्टाइनको जिम्मेवारी दिँदा मनमा डर लागेको थियो।’
दुर्गा थप्छिन्, ‘अन्य बेलामा हामी उनीहरुको नजिक जानु नपरे पनि क्वारेन्टाइनमा बस्ने मानिसले साइन गर्न पेन दिँदा भने यिनीहरुमा कितै कोरोना भाइरस त छैन भनेर डर लाग्थ्यो।’
दुर्गा र उनका सहकर्मीहरुको निगरानीमा रहेका दुई वटा क्वारेन्टाइनमा एक पटकमा लगभग २० देखि २५ जना हुन्थे।
त्यहाँ उनीहरुको काम भनेको क्वारेन्टाइनमा रहेका मानिसको निगरानी गर्नुका साथै उनीहरुलाई ज्वरो आए–नआएको जाँच गर्न सिकाउने थियो।
दुर्गा भन्छिन्, ‘त्यहाँ हाम्रो भूमिका क्वारेन्टाइनमा बस्ने मानिसलाई सरसफाइमा ध्यान दिन लगाउने, बेलाबेलामा हात धुन लगाउने, डिजिटल थर्ममिटरबाट ज्वरो आए–नआएको जाँच गर्न सिकाउने थियो। हामीले क्वारेन्टाइनमा आउने सबैलाई कोरोनाको बारेमा जानकारी गराउनुपथ्र्यो।’
क्वारेन्टाइनमा रहेका मानिसको पिसिआर परीक्षण गरेर रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राखिन्थ्यो। मानिसको भीड बढ्न थालेपछि पिसिआरको रिपोर्ट आउन ढिला हुन थाल्यो। रिपोर्ट ढिला आउन थालेपछि क्वारेन्टाइनमा रहेका मानिसले विरोध जनाउन थालेको दुर्गा बताउँछिन्।
क्वारेन्टाइनमा मानिस बढेसँगै सरकारले आरडिटी परीक्षण गरेर घर पठाइएपछि भने क्वारेन्टाइनमा भीड कम भएको दुर्गा बताउँछिन्।
‘भारतबाट आउनेको संख्या बढेसँगै क्वारेन्टाइन मानिस बढ्न थाले। त्यसपछि पिसिआरको रिपोर्ट पनि ढिला गरी आउन थाल्यो। क्वारेन्टाइनमा भीड कम गर्न सरकारले त्यहाँ रहेका मानिसको आरडिटी परीक्षण गर्दा नेगेटिभ आउनेलाई घर पठाउन सुरु ग¥यो,’ क्वारेन्टाइनमा रहँदाको अनुभव उनले यसरी सुनाइन्।
उनलाई भने आरडिटी गरेर घर पठाएकाहरुलाई पुनः संक्रमण त देखिने होइन भनेर चिन्ता लाग्थ्यो।
क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीलाई पिपिई, स्यानिटाइजर, मास्कको व्यवस्था राम्रो भए पनि आफूहरुले पिपिई नलगाई काम गरेको दुर्गा सुनाउँछिन्।
उनी भन्छिन्, ‘फ्रन्ट डेस्कमा बस्ने स्वास्थ्यकर्मीले जतिबेला पनि पिपिई लगाउनु पर्दैनथ्यो। यदि क्वारेन्टाइनमा बसेका मानिसको स्वास्थ्य स्थिति बिग्रियो भने वा संक्रमण भएर अन्य अस्पतालमा रिफर गर्नुप¥यो भने मात्र पिपिई लगाउँथ्यौं।’
पहिलो पटक क्वारेन्टाइनमा बसेका एक जना युवकको कोरोना पोजेटिभ आउँदा कतै मलाई पनि स¥यो कि भनेर डर लागेको दुर्गा सुनाउँछिन्। पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आइसकेपछि भने उनको मनमा गडेको डर कम भएको थियो।
क्वारेन्टाइनमा निगरानी गर्न उनी बिहानै घरबाट निस्कन्थिन् भने बेलुका पुनः घरमा गएर छुट्टै कोठामा बस्ने गर्थिन्। क्वारेन्टाइनका साथसाथै स्वास्थ्य चौकीमा आउने सेवाग्राहीलाई पनि परार्मश गर्नुपथ्र्यो उनले।
मानिसहरु सुरुसुरुमा रोगले भन्दा पनि रोगको बारेमा फैलिएको अफवाहले त्रासित भएर आउने हुनाले उनीहरुलाई सम्झाउन गाह्रो परेको थियो, दुर्गा र उनका साथीहरुलाई।
दुर्गालाई तराईमा प्रायः मानिसहरु माक्स नलगाई हिँडडुल गर्दा उनलाई कतै टोल–छिमेकमा महामारीले ठूलै रुप त लिने होइन भन्ने डरले सताउँछ।
टोलटोलमा संक्रमण फैलिँदा पनि सरकारले कन्ट्याक्ट ट्रेसिङमा ध्यान नदिएकोमा उनलाई अचम्म लागेको छ। उनी भन्छिन्, ‘हाम्रै छिमेकीलाई कोरोना संक्रमण फैलिएको छ तर सरकारले कन्ट्याक्ट ट्रेसिङमा चासो दिएको छैन।’
सरकारले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ नगर्ने हो भने कोरोना संक्रमण समुदायमा फैलनसक्ने चिन्ता दुर्गालाई छ।