काठमाडौं– विश्वमा कोरोना भाइरस संक्रमण फैलिएको एक वर्ष पुगिसकेको छ। यस बीचमा संक्रमितको उपचारमा खटिएका कयौँ स्वास्थ्यकर्मी आफैं संक्रमित भएका छन्। नेपालमा पनि संक्रमितको उपचारमा खटिएका धेरै स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
सरकारले कोरोना संक्रमितको उपचारका लागि देशका विभिन्न जिल्लामा रहेका अस्पताललाई कोभिड विशेष अस्पताल बनाएको थियो। कोरोना संक्रमितको उपचार गर्ने अस्पतालमध्येको एक हो, काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताल।
सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु पनि संक्रमित हुन पुगे। तीमध्येकी एक हुन्, अस्पतालमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) नर्स बिनिता खौराल। कोरोना संक्रमितको उपचारमा खटिने क्रममा असोज १६ गते उनी संक्रमित भइन्।
असोज पहिलो साता उनको आइसोलेसन वार्डमा ड्युटी परेको थियो। १४ दिन ड्युटी सकेपछि क्वारेन्टाइनमा बस्ने र पिसिआर नेगेटिभ आए मात्र घर जान मिल्ने व्यवस्था अस्पतालले गरेको थियो।
त्यही नियम अनुसार १४ दिन ड्युटीमा खटिएपछि उनी क्वारेन्टाइनमा बसिन्। क्वारेन्टाइनमा बसेकै बेला उनलाई पखाला भयो। र, स्वाद हराउने लक्षण देखिन थाल्यो। अस्पतालले क्वारेन्टाइनमा बसेका सबै कर्मचारीको स्वाब संकलन ग¥यो। असोज १६ गते डिएसपी खौराललाई कोरोना पुष्टि भयो। कोरोना लक्षण देखिएकोले उनी २ दिन अस्पताल भर्ना भई उपचार गराइन्।
दुई दिनपछि स्वास्थ्यमा सुधार हुँदै गएपछि होम आइसोलेसनमा बस्ने गरी अस्पतालले उनलाई डिस्चार्ज गरिदियो। १४ दिन होम आइसोलसनको बसाइपछि पुनः पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ आयो। त्यसपछि उनी काममा फर्किसकेकी छन्।
कोरोना संक्रमितको उपचारमा खटिँदाको अनुभव
एक वर्ष अगाडि चीनको वुहानबाट देखिएको कोरोना भाइरसले विस्तारै विश्वव्यापी महामारीको रुप लिँदै थियो।
त्यही बेलादेखि नै बिनिताले पनि मनमनै सोचेकी थिइन्, यदि नेपालमा पनि कोरोना भित्रियो भने संक्रमितको उपचारका लागि म पनि खटिनुपर्छ। त्यसैले उनी सुरुदेखि नै संक्रमितको उपचारका लागि खटिनुपर्छ भनेर मानसिक रुपमा तयार थिइन्।
नभन्दै नेपालमा पहिलो कोरोना संक्रमित माघ १० गते भेटियो। एपिएफ अस्पतालले पनि आफ्नो तयारी स्वरुप कोरोनाको बारेमा सबै कर्मचारीलार्ई जानकारी गराउनुका साथै स्वास्थ्यकर्र्मीलाई कसरी आफू सुरक्षित भई संक्रमितको उपचार गर्ने भन्ने विषयमा तालिम दिन सुरु गरिसकेको थियो।
विस्तारै कोरोना संक्रमित बढ्दै गएपछि सरकाले एपिएफ अस्पताललाई पनि कोरोना संक्रमितको उपचार गर्ने जिम्मेवारी दियो। त्यसपछि अस्पतालले आइसोलेसन छुट्याउनुका साथै संक्रमितको उपचारका लागि कर्मचारीलाई जिम्मेवारी दियो।
बिनिताको ड्युटी चौथो चरणमा परेको थियो। संक्रमितको उपचारमा खटिनुभन्दा अगाडि आफू मानसिक रुपमा तयार भइसकेकी बिनीताले घरपरिवारका सदस्यहरुलाई पनि यसबारेमा जानकारी गराइसकेकी थिइन्। ‘मेरा दुई जना बच्चा छन्, ड्युटी जाने केही दिन अगाडिदेखि नै बच्चालाई म संक्रमितको उपचारमा खटिएको छु, केही दिन उतै बस्छु भनेर मानसिक रुपमा तयारी गराएकी थिए,’ उनले अनुभव सुनाइन्।
ड्युटीमा खटिएका साथीहरुको अनुभव सुनेर डर हरायो
ड्युटीमा खटिने दिन जति नजिक आउँदै थियो, बिनिताको मनमा अलिअलि डर नलागेको होइन। तर अस्पतालले कर्मचारीको मनोबल कमजोर हुन नदिन सुरुदेखि नै तालिम दिनुका साथै उपचार गर्दा सुरक्षित रहने विधि पनि सिकाएको थियो। ड्युटी जानुभन्दा अघिल्लो दिन पनि तालिम दिएकाले विनिताको मनभित्र रहेको थोरै डर पनि हरायो। र, संक्रमितको उपचारमा खटिनुलाई उनले आफ्नो धर्म ठान्दै मनोबल उच्च बनाइन्।
त्यतिमात्र होइन, उनीभन्दा अगाडि धेरै स्वास्थ्यकर्मीले कोरोना संक्रमितको उपचार गरिसकेका थिए। उनीहरुको अनुभव सुनिसकेपछि विनितालाई थप सहज भयो।
‘म ड्युटीमा खटिनुभन्दा अगाडि चार वटा टोली संक्रमितको उपचारमा खटिइसकेको थियो। उनको अनुभव पनि सुन्न पाए र अस्पतालले पनि ड्युटी जानुभन्दा अगाडि कसरी आफू सुरक्षित भएर अरुको सेवा गर्न भन्ने विषयमा पुनः तालिम दिएको थियो। ती सबै कारणले गर्दा अलिअलि भएको डर पनि हटेर गयो,’ उनले संक्रमितको उपचारमा खटिनुअघिको आफ्नो अनुभव सुनाइन्।
पहिलो पटक आइसोलेसन वार्डमा छिर्दाको अनुभव
कोरोनाका कारण विश्वमा धेरै संक्रमितको मृत्युको खबर सुनेकी बिनितामा नेपालमा कतै कोरोनाले भयावह रुप त लिँदैन भन्ने डर थियो। कोरोना संक्रमित भएपछि बिरामीको अवस्था जटिल हुने समाचार उनले सुन्दै आएकी थिइन्। तर उनी पहिलो पटक आइसोलेसन वार्डभित्र छिर्दा जटिल खालको बिरामी देखिनन्। ‘कोरोना लागेपछि मानिसको जटिल अवस्था हुन्छ, श्वास फेर्न गाह्रो हुन्छ। त्यसपछि मानिसको मृत्यु हुन्छ भन्ने समाचारहरु हामीले सुनिरहेका थियौं,’ पहिलो पटक आइसोलेसनको अनुभव सुनाउँदै बिनिता भन्छिन्, ‘तर हाम्रो अस्पतालमा भने जटिल खालका बिरामी कोही थिएनन्। संक्रमित त निरोगी जस्तै मज्जाले खाने, गफ गर्ने गरेको देख्दा अचम्म लाग्यो।’
नेपालमा सुरुवाती चरणमा लक्षण नदेखिएका संक्रमित भेटिएकाले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनको बुझाइ छ। किनकि सुरुमा कोरोना संक्रमण पुष्टि हुने वित्तिकै अस्पताल भर्ना गर्नुपर्ने व्यवस्था थियो।
धादिङमा जन्मिएकी विनिताले वीरगञ्ज नर्सिङ कलेजबाट २०५७ सालमा पिसिएल तहको शिक्षा पूरा गरेकी हुन्।
पिसिएल उत्तीर्णपछि उनले एक वर्ष चाबहिलस्थित मेडिकेयर अस्पतालमा काम गरिन्। २०६० सालदेखि उनले एपिएफ अस्पतालबाट सरकारी नर्सका रुपमा प्रवेश गरेकी हुन्। मनमोहन मेमोरिएल कलेजबाट उनले बिएन पास गरेकी छिन्।
आफू र आफ्नो परिवारको स्वास्थ्यलाई जोखिममा पारेर संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन सबैले सहयोग गर्नुपर्ने उनी बताउँछिन्। साथै उनी कोरोना संक्रमणबाट जोगिन सबैले सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गर्छिन्। ‘कोरोना केही पनि होइन भन्ने नठानौं। कोरोनाबाटै नेपालमा धेरैले ज्यान गुमाइसकेका छन्। त्यसैले सबै सचेत बनौं। आफू सुरक्षित रहने उपाय अपनाऔं,’ उनको सुझाव छ।