अर्जुन पौडेल
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरस (कोभिड–१९) ले हालसम्म विश्वभर दुई करोड भन्दा बढी मानिस संक्रमित र सात लाखभन्दा बढीको ज्यान लिइसकेको छ। कोरोनाको उद्गमस्थल चीनले निकै कुशलतापूर्वक रोकथाम र नियन्त्रण गरी विश्व समुदायसमक्ष उदाहरणीय बनेको छ। कोरोना भाइरस संक्रमणले युरोप, अमेरिका लगायत विश्वभर फन्को लगाइसकेको छ भने नेपालमा समेत संक्रमणको गति समुदाय स्तरसम्म फैलने बलिया संकेतहरु देखा परिरहेका छन्।
चीनमा सुरुवाती संक्रमणका समाचारहरु सार्वजनिक हुँदै गर्दा र नेपालमा फेब्रुअरी २०२० मा पहिलो संक्रमित देखापरेदेखि नै विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि संक्रमणको निकै उच्च जोखिमको सूचीमा समावेश गरेको थियो। जब विश्वभर कोभिड–१९ का संक्रमणहरु बढ्दै गए। यसै क्रममा विश्व स्वास्थ्य संगठनले रोगको रोकथाम तथा नियन्त्रणका लागि मुख्य सूत्रधारका रुपमा मास्कको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, साबुनपानीले सुरक्षितपूर्वक नियमित रुपमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने र परीक्षणको दायरालाई फराकिलो बनाउँदै लैजानुपर्ने जस्ता विषयमा सचेत बन्न र सावधानी अपनाउन आम विश्व समुदायलाई आह्वान गरिरहेको छ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वभरका संक्रामक रोग विशेषज्ञ तथा स्वास्थ्य शिक्षाविद्हरुले अपिल गर्दै आइरहेका सबै मुख्य आह्वानहरु प्रत्यक्ष रुपमा मानव व्यवहार परिवर्तनसँग सम्बन्धित छन्। अझ भनौं, संसारभरका मानव जातिको व्यवहारमा स्वास्थ्य उन्मुख सकारात्मक परिवर्तन ल्याई आम समुदायले कोरोना भाइरस रोकथाम र नियन्त्रणका उपायहरु आत्मसात गरी अवलम्बन नगर्दासम्म कोभिड–१९ जस्तो संक्रामक रोग विरुद्धको लडार्इं असम्भवप्रायः छ। तसर्थ, मानवीय सचेतनामार्फत सकारात्मक स्वास्थ्य व्यवहार परिवर्तनको मुख्य कडी भनेको रणनीतिमूलक स्वास्थ्य सञ्चार हो।
नेपाल सरकारले स्वास्थ्य सञ्चार कार्यक्रमलाई विभिन्न दस्तावेजहरुमा स्वास्थ्य क्षेत्रको मुख्य प्राथमिकता (पि१) कार्यक्रमको रुपमा अङ्गीकार गरी कार्यान्वयन गर्दै आइरहेको छ। राष्ट्रिय सञ्चार नीति २०६८ ले पनि स्वास्थ्य सञ्चार कार्यक्रमको लागि स्वास्थ्य क्षेत्रको सम्पूर्ण बजेटको कम्तीमा दुई प्रतिशत बजेट छुट्याउनुपर्ने सुनिश्चितता गरेको थियो।
स्वास्थ्य सञ्चार नीतिले परिकल्पना गरेअनुसार संक्रामक रोगबाट आम मानिसको जीवन रक्षा गर्नका लागि स्वास्थ्य सचेतना तथा स्वास्थ्य सञ्चारमार्फत मानव व्यवहार परिवर्तन एक मुख्य रणनीतिको रुपमा स्वीकार गरिएको छ। तथापि कोभिड–१९ को यस महामारीका बेला सिंहदरबारदेखि स्थानीय सरकारहरुले समग्र स्वास्थ्य क्षेत्रको बजेटमा केही बढोत्तरी गरे तापनि स्वास्थ्य सञ्चार कार्यक्रममा सही अर्थमा बजेट वृद्धिको सन्तुलित अवस्था सन्तोषजनक छैन।
नेपालभरका स्वास्थ्य कार्यालय, अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा कार्यरत सबै तहका प्राविधिक स्वास्थ्यकर्मीले कुनै न कुनै रुपमा स्वास्थ्य सञ्चारका गतिविधिहरु गरिरहेका छन्। आम मानिसलाई स्वास्थ्य शिक्षामार्फत स्वस्थ व्यवहार परिवर्तनको लागि अपिल गरिरहेका छन्। देशभरका सम्पूर्ण स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रहरु, गाउँघर क्लिनिकहरुको मुख्य जिम्मेवारी पनि प्रवद्र्धनात्मक तथा प्रतिकारात्मक स्वास्थ्य सेवा प्रदान गर्ने नै हो।
स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मातृशिशु कार्यकर्ता (हाल अनमी), ग्रामीण स्वास्थ्य कार्यकर्ता (हाल अहेब) को पेसागत कार्य विवरणमै समुदायमा अर्थात् घर–घरमा गएर स्वास्थ्य सञ्चार वा स्वास्थ्य शिक्षामार्फत स्वास्थ्य व्यवहार परिवर्तन गर्ने व्यवस्था रहेको छ। तर सिधा अर्थमा यसको प्रभावकारी कार्यान्वयन भएको पाइंँदैैन। महिला स्वास्थ्य स्वयंसेविकाले समेत स्वास्थ्य व्यवहार परिवर्तनमा निकै राम्रो काम गरिरहेका त छन् तर तिनको योग्यता तथा अनुभवको कमीले गर्दा त्यो अपर्याप्त सावित भएको छ।
महामारी रोगका बेला अग्रपंक्ति (फ्रन्टलाइन) मा बसेर स्वास्थ्य सञ्चार गर्ने स्वास्थ्य कार्यालय, अस्पताल, स्वास्थ्य केन्द्रहरुले स्वास्थ्य शिक्षा प्रदान गर्न अति आवश्यक स्रोतसाधनहरु (प्राविधिक स्वास्थ्यकर्मीलाई रणनीतिक सिप, तालिम, बजेट तथा कार्यक्रम) को व्यवस्थापन हुनका लागि अर्थपूर्ण पैरवी गरेको मेरो अनुभवले कहिले देखेको छैन।
उदाहरणको रुपमा बिरामीको निकै चाप हुने प्रायः अस्पतालका बहिरंग विभागहरुमा कोभिड–१९ संक्रमणको बेला टिकट लिँदा वा उपचारका लागि लाइनमा बस्दा एक आपसमा कम्तीमा दुई मिटर टाढा बसौं भन्नका लागि एउटा हाते माइक समेत उपलब्ध छैन। कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य सञ्चारको अहं भूमिकाबारे स्वास्थ्यको नेतृत्व तहदेखि महिला स्वास्थ्य स्वयंसेविका समेत सहमत त देखिन्छन् तर व्यवहारतः सही अर्थमा कार्यान्वयनमा राज्यले चासो नदिँदा अफवाह र भ्रामक सन्देश फैलाउने, गलत सूचना प्रवाह हुने, सही सूचना ग्रामीण तहसम्म नपुग्ने समस्या देखापर्दै आएका छन्। ज्वलन्त उदाहरणको रुपमा केही समयअघि भारतमा रक्सी सेवनले कोरोना भाइरस भगाउन सकिन्छ भन्ने भ्रामक सूचनाले कैयौं मानिसको ज्यान लिएको जीवन्त घटना छ।
यस परिप्रेक्ष्यमा लकडाउनको अन्त्यसँगै सहरदेखि गाउँसम्म फेरि पुरानै लयमा चहलपहल देखापर्न थालेको छ। यस्तो अवस्थामा संघीयदेखि स्थानीय सरकारले योजनावद्ध रुपमा कोभिड–१९ को संक्रमणबाट बच्न अनिवार्य रुपमा अपनाउनुपर्ने सावधानीका उपाय तथा व्यवहारबारे सघन र वृहत तवरले आम जनसमुदायलाई सुसूचित गर्न नसक्ने हो भने संक्रमण निकै भयावह हुन पुगी विद्यमान स्वास्थ्य प्रणालीले थेग्न नसक्ने निश्चितप्रायः छ।
तसर्थ, स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य सञ्चार गर्नुपर्ने पहिलो र मुख्य जिम्मेवार रहेका स्वास्थ्य संस्था वा स्वास्थ्य कार्यालयहरुमा थप जिम्मेवारी बोधका साथ स्वास्थ्य सञ्चारका लागि आवश्यक स्रोत–साधनको परिचालन र पर्याप्तता हुनुपर्ने टड्कारो आवश्यकता देखिन्छ।
(पौडेल सामाजिक विकास मन्त्रालय, हेटौंडाका स्वास्थ्य शिक्षा अधिकृत हुन्।)