प्रकाशराज भट्ट
अहिलेको समय कोरोना महामारीले कुनै पनि देश वा समुदाय अछुतो रहन सकेको छैन। नेपालमा पनि कही समयअघि घट्दो दरमा रहेको कोरोना संक्रमण पछिल्लो समय दिनानुदिन बढ्दो क्रममा छ। यो संक्रमण हरेक क्षेत्र, समुदाय र वर्गका मानिसमा देखिएको भए तापनि भौगोलिक, सामाजिक, आर्थिक र अन्य विविध क्षेत्रमा पहिलेदेखि पिछाडिएका वा पछि पारिएका दुर्गम गाउँवस्तीहरु विशेष जोखिममा देखिन्छन्।
नेपालीले जे पनि पचाउँछ भन्ने, जडीबुटीले नै ठिक पार्ने ठान्ने र रुघाखोकी त हो नी दुईचार दिनमा ठिक भइहाल्छ भन्ने जस्ता दुष्प्रचार समाजको तल्लो तहसम्म पुगेकोले कोरोना नियन्त्रणका प्रयासहरु थप चुनौतीपूर्ण बन्दै गएका छन्।
विरोधाभाषपूर्ण यथार्थ
कोरोनाको बारेमा एकसाथ दुई प्रकारको अतिवादले नेपाली समाजमा जरा गाडेको छ। एकातिर कोरोनासँग डर नै नमानेको स्वाँङ गर्ने। उचित किसिमले मास्क नलगाइदिने। बेसारपानी खाएर कोरोना पचाइने गफ चोक र गल्लीहरुमा दिँदै हिँड्ने। गुर्जो र अश्वगन्धाले निको हुन्छ भन्ने हल्ला गर्ने। सांसद नै भइसकेकाहरुले समेत लसुन र प्याज खाएर कोरोना निको भयो भन्ने वक्तव्यबाजी गर्ने। र, जानेर वा नजानेर मिडियाले यिनै हल्लाहरु प्रचार गरिदिने। यस किसिमको अवस्था विद्यमान छ।
अर्कोतिर, यिनै कथित निडर जमात जब कसैलाई कोरोना लागेको थाहा पाउँछ अनि परपर गर्न थाल्छ। सहयोग गर्न समेत हिच्किचाउँछ। अस्पतालहरुले भर्ना लिन आनाकानी गर्छन्। समाजमा सबैले कुरा काट्न थाल्छन्। कोरोना नलाग्दासम्मको बहादुरहरुको जमात कोरोनाको घटना आफ्नो नजिकै आएको थाहा पाउनासाथ एकाएक काँतर भइदिन्छ।
आधुनिक वा परम्परागत उपचार?
भगौलिक बनोटले पिछडिएका डाँडापाखामा छरिएका गाउँहरु, सञ्चारले कतै छोएको त कतै नछोएका गाउँहरु, पानी भर्ने पँधेरो, गफ गर्ने चौतारो, रमाइलो गर्ने मञ्च र पूजा गर्ने मन्दिर एउटै भएका गाउँहरु, रुढीवादी धारणाले अझै नछोडेका र अन्धविश्वासमा अधिक विश्वास गर्नेहरु अझै पनि अन्धविश्वासमा आधारित धामीझाँक्री र अन्य परम्परागत उपचारमा विश्वास गर्छन्। शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, सडक आदिको पहुँचबाट टाढै रहेका गरिबी, भोकमरी र अन्य विभिन्न स्वास्थ्य समस्याले थलिएका गाउँहरु त कोरोना महामारीको जोखिमबाट झनै प्रताडित हुन सक्छन्।
यसका साथै स्वास्थ्य सेवा राम्रो भएका ठाउँहरुमा केही गर्न सकेको छैन भन्ने बुझेको समाजले यदि धेरै जना कोरोना सक्रंमित भइहालेमा सजिलै केही गर्न सकिन्न भन्ने राम्रोसँग बुझेर नै होला, अझै पनि भगवानमा र धामीझाँक्रीमा नै धेरै विश्वास गरेको देखिन्छ। अझ फलानो जडिबुटी खान पर्छ भनेर परामर्श पाएको देखिन्छ। सिकिस्त नहुँदासम्म परम्परागत वा अन्धविश्वासमा आधारित उपचारमै रमाउने र सिकिस्त भएपछि मात्र आधुनिक उपचारको लागि अस्पताल धाउने कतिपय समाजको आम प्रबृत्ति कोरोनाको सन्दर्भमा समेत दोहोरिएको छ।
आधिकारिक सूचनाको अभाव
भनिन्छ, बिसन्चो भयो भने नेपालका हरेक अर्को व्यक्तिले उपचार र औषधि बताइदिन्छन्। अर्थात्, नेपालमा हरेक घरमा एउटा डाक्टर छन्। हो, कोरोनाको सन्दर्भमा पनि कतिपय गाउँठाउँमा त्यस्तै भएको छ अहिले। गाउँघरमा आधिकारिक सूचना ढिलो गरी पुग्छ। तर त्योभन्दा धेरैै गुणा छिटो हल्ला पुग्छ। उदाहरणको लागि कोभिड–१९ को औषधि बनेको छैन भन्ने यथार्थभन्दा धेरै मानिसलाई बेसार पानी, अदुवा वा ज्वानोपानीले कोरोना ठिक पार्छ भन्ने हल्ला थाहा छ।
अर्को कुरा, स्थानीय एफएम रेडियोहरु र अन्य माध्यमले कोरोना सम्बन्धी सत्यतथ्य प्रसारण गर्दागर्दै पनि समुदायमा कोरोनाबारे सत्यतथ्यभन्दा भ्रम तथा अफवाहहरु अझै पनि यथावत् नै छन् र गाउँघरमा चलिरहने छलफलहरुमा अधिकांश कोरोना सम्बन्धी तथ्यहीन विषय नै सुनिन्छन्। अझ कोरोना संक्रमित बढ्दै गइरहेको समयमा दुर्गम गाउँहरुमा झनै बेवास्ता भइरहेको देखिन्छ। जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्छ भन्ने कुराको ज्ञान समुदायमा छैन नै भन्दा फरक पर्दैन।
मास्क किन लगाउने, कुन बेला र कतिखेर लगाउने, सामाजिक दूरी के हो? किन गर्ने? कस्तो बेला गर्ने? र यो गर्नुको महत्व के हो? अधिकांश मानिसहरुलाई अझै पनि थाहा छैन। त्यस्तै बेला बेलामा साबुन पानीले हात किन धुनु पर्छ? साबुन र पानीको व्यवस्था सधैं गरिराख्नु पर्छ, हाच्छ्युँ गर्दा वा खोक्दा रुमाल अथवा कुहिनाले छोप्नु पर्छ, भन्ने कुरामा ध्यान दिएको पाइन्न। साथै व्यवहारमा लागू गरेको पनि देखिँदैन। त्यस्तै लकडाउन को त अर्थ नै थाहा छैन जस्तो हुन्थ्यो न त मन्दिरमा पूजा नै रोकिने न त भोज भत्तेर, न त चाडपर्व नै। काठमाडौं जस्ता ठूलाठूला सहरमा त यी नियमहरु पालना गराउन सकिएको छैन भने गाउँघरमा सकिएको छ भनेर सोच्नु पनि गलत नै हुन्छ।
स्वास्थ्य सेवामा पहुँच र रुढीवाद
कोभिड–१९ को सन्दर्भमा चलेका हल्लाहरुले मानिसलाई अस्पतालप्रति विकर्षण पैदा भएको छ। अस्पतालमै संक्रमण फैलन्छ, डाक्टर नर्स नै आउँदैनन्, लगेर एउटा कोठामा थुनिदिन्छ, भेन्टिलेटर नै छ्रैन, अस्पतालमा जाँदा थप जटिलता आउँछ जस्ता हल्लाहरु समाजको तल्लो तहसम्मै पुगिसकेका छन्। यस्ता हल्लाले त्यस्ता गाउँहरु जहाँ स्वास्थ्य संस्था ४–५ घन्टा टाढा छ, स्वास्थ्य संस्थामा कार्यालय सहयोगी र एएनम बाहेक अरुलाई भेट्न गाह्रो छ र स्वास्थ्य चौकी बाहेक अन्य अस्पताल जान २–३ दिन लाग्छ। साथै अहिलेको अवस्थामा सवारी साधनको समस्या त छँदै छ, त्यसमा महँगो भाडा व्यहोर्न नसक्ने स्थिति भएका मानिसमा एकदमै अन्योल रहेको पाइन्छ।
यी बाहेक गाउँहरुमा स्वास्थ्य सम्बन्धी जानकारी दिन महिला स्वास्थ्य स्वयंसेविकाहरु हुनुहुन्छ तर उहाँहरुलाई नै राम्रोसँग सिकाइएको पाइँदैन। उहाँहरुले जानेका र सिकेको कुराहरु भ्रम र अफवाहले भरिएका गाउँहरुमा नसुन्ने र विश्वास नगर्ने पाइन्छ। साथै भगवान पुकारेर बसेका गाउँहरुमा महिला स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन सक्ने स्थिति पनि रहेको छैन। यस्तो अन्योलले गर्दा कतिपय समाजमा परम्परादेखिको चलन पनि आशाको रुपमा रहन्छ।
कुलपूजा, सामूहिक बली, धामीझाँक्री आदिमा समेत विश्वास गर्नेहरुको संख्या केही विकट भेगमा बढ्दो छ। यस्तो अवस्थामा सरकार र सम्बन्धित सरोकारवालाहरुको दायित्व भनेको समाजका त्यस्ता परम्परागत संस्थाहरु र धामीझाँक्रीलाई नै जनस्वास्थ्यको प्रबर्धनमा परिचालन गर्नु हो। साथै स्वास्थ्य सेवा प्रवाहको गुणस्तरको स्तरोन्नति गर्ने र गाउँघरमा अस्पतालका बारेमा फैलिएका भम चिर्ने दायित्वमा समेत सरकार चुक्न हुन्न। तर अहिले सरकार यसमा चुकेकै देखिन्छ।
जनस्वास्थ्यः आधारहीन अभिव्यक्ति नदिऔं
सामाजिक अगुवा, नेता तथा प्रतिष्ठितहरुले बोलेको कुराले अर्थ राख्छ। तथ्यहीन र अवैज्ञानिक अभिव्यक्तिले क्षणिक रुपमा जनतालाई ढाडस दिएजस्तो भ्रम भए तापनि दीर्घकालमा जब रोग फैलन्छ, त्यतिबेला भ्रम चिर्न कठिन हुन्छ। त्यसैले दुर्गम गाउँठाउँमा कोरोना सम्बन्धी त्यहाँ रहेका विद्यमान समस्या र आवश्यकता पत्ता लगाई विभिन्न कार्यक्रहरु समयमै सञ्चालन गर्नु आवश्यक छ। यसका निम्ति गाउँपालिका स्तरबाट विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन हुनु आवश्यक छ।
कोरोनाको लक्षण देखिएमा के के गर्ने, कसलाई खबर गर्ने भन्ने विषयमा मानिसहरुलाई जानकारी दिइराख्नु आवश्यक छ। स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुले पनि समुदायमा रहेका भ्रम, अफवाह र आवश्यकता पत्ता लगाई समुदायसँगै काम गर्नु आवश्यक छ। साथै जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रोत्साहन गर्नु पनि आवश्यक छ।
त्यस्तै समुदायमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि गरी परिचालन गर्नु आवश्यक छ। पिछडिएका गाउँठाउँमा संक्रमण धेरै हुन गएमा नियन्त्रण गर्न गाह्रो हुने हुँदा अन्य सरोकारवाला निकायहरुले पनि समयमै ध्यान दिनु आवश्यक देखिन्छ।
अन्त्यमा
कोरोना महामारीले भाइरसको बारेमा सचेतना फैलाउनको लागि अवसर पनि सिर्जना गरेको छ। बेसार पानी वा अन्य जडिबुटीको मानव शरीरका लागि आफ्नै किसिमका फाइदा होलान् तर तिनले मात्र रोगको निदान गर्नसक्ने भए संसारभर अर्बौं खर्च गरेर अनुसन्धान गर्ने र औषधि पत्ता लगाउन यत्तिको चुनौती हुने नै थिएन। कोरोना महामारीको सन्दर्भमा सरकारले भ्रमपूर्ण सूचना नियन्त्रण गर्दै तथ्यपूर्ण र वैज्ञानिक जानकारी र सूचना संप्रेषण गर्ने अवसरको रुपमा उपयोग गर्नुपर्छ। अन्यथा यही महामारी नियन्त्रण गर्न पनि कठिन हुनेछ भने भविष्यमा आउनसक्ने यस्तै महामारीको सामना गर्न पाठ सिक्ने मौकाबाट सरकार र सरोकारवालाहरु चुक्ने छन्।
(भट्ट जनस्वास्थ्यकर्मी हुन्।)