ताराबल्लभ अधिकारी
कमजोर स्वास्थ्य संरचनामा फितलो व्यवस्थापन र महामारी पछिपछि दौडिने नियन्त्रणको रणनीति कोरोना महामारीमा उकालो लागेको उमेर र दीर्घरोग जत्तिकै घातक जोखिमको अवस्था हो। जबसम्म रोग नियन्त्रणको रणनीति भाइरसभन्दा अघि हुँदैन र संक्रमित र मृत्यु कुरेर बस्छ तबसम्म यस भाइरसले हामीमाथि राज गरिरहने छ।
नेपालमा महामारीको सुरुवाती चरणमा भन्दा परीक्षण क्षमता उल्लेखनीय रुपमा बढेको छ, यो प्रशंसायोग्य कुरा हो । साथै हामीमाझ अहिले भाइरस र महामारीको गुण र आनीबानीका बारेमा जानकारी पनि धेरै बढेको छ। सरकारले अहिले अवलम्वन गरेको परीक्षणको दायरा र रणनीति पनि सराहनीय छ। अब यसको उच्चतम फाइदा लिन थोरै लगानीमा धेरै प्रतिफल प्राप्त गर्न कन्ट्याक्ट ट्रेसिङलाई अझै चुस्त-दुरुस्त बनाउनुपर्छ। तर महामारी नियन्त्रणमा जति प्रयोगशाला र परीक्षणको महत्व हुन्छ, त्यत्तिकै महत्व कन्ट्याक्ट ट्रेसिङ र तथ्याङ्कको हुन्छ।
महामारी नेपाल छिरेको यत्तिका समयपश्चात् पनि यस कामको बागडोर सम्हालेको नेपाल सरकारको रोग नियन्त्रण महाशाखको अवस्था, कर्मचारीमा परेको कामको भार र अव्यवस्था सम्बन्धी समाचारहरु हेर्दा यसमा हामी धेरै पछिपछि घिस्रिएका छौं भन्ने बुझ्न सकिन्छ। कन्ट्याक्ट ट्रेसिङलाई चहिने जनशक्ति पहिलो चरणकै लकडाउनमा तालिम दिएर तयार गर्नु पर्थ्यो। सुरुवाती मौका गुमेको छ, तर अझै समय घर्किएको छैन।
अर्को महत्वपूर्ण विषय भनेको नव सामान्यकरणको अवस्था हो। अब महामारी आउनुअघि जसरी पुरानै तवरले सार्वजनिक स्थानहरु जस्तै: शैक्षिक संस्था, स्वास्थ्य संस्था, कार्यालयहरु, बजार र यातायात खुला हुन सक्दैनन्। जुन पहिलो लकडाउन खुलेपछिको बढ्दो संक्रमण र मृत्युको दरले देखाइसकेको छ। त्यसका लागि नयाँ सुरक्षित तरिका र व्यवस्था गर्नुपर्छ। अनि ती व्यवस्था सम्बन्धी सूचनाको व्यापक सम्प्रेषण गर्नुपर्छ।
अर्को अत्यन्तै आवश्यक तर कम प्राथमिकतामा परेको भनेको सही सूचना र जानकारीको सम्प्रेषणको विषय हो। अहिले पनि देशका विभिन्न ठाउँमा संक्रमित व्यक्ति र स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार भइरहेको छ। आम जनसमुदायले न्यूनतम सुरक्षा सावधानी आपनाएको देखिँदैन। त्यसलाई आधार मानेर हेर्ने हो भने जनतासम्म पुग्नुपर्ने सही सूचना र जानकारी अपर्याप्त भएको देखिन्छ।
सरकारको अब्बल काम र नेतृत्वसँगै आममानिसको सावधानी र सचेतना, सरकार र स्वास्थ्य व्यवस्थाप्रति जनताको विश्वास र भरोसाले मात्रै महामारी नियन्त्रण र रोकथाम गर्न सकिन्छ भन्ने उदाहरण न्युजिल्यान्ड, डेनमार्क, दक्षिण कोरिया र भियतनाम जस्ता राष्ट्रहरुमा देखिइसकेको छ। तर यो कुराको अभाव हाम्रो देशमा खड्किएको छ। सरकारले दैनिक तथ्यांक र जानकारी सामाजिक सन्जाल र राष्ट्रिय संचार माध्यमबाट दिने गरेको छ। हाम्रो देशको भाषा विविधता र सामाजिक अवस्थालाई मध्यनजर गर्ने हो भने यो अपर्याप्त छ। हाम्रो जनसंख्याको ठूलो हिस्सा अझै पनि सूचना संचारका यी नयाँ माध्यमहरुबाट टाढा नै छन्। त्यसैले स्थानीय तवरमा स्वास्थ्य स्वयंसेविका र शिक्षकहरुलाई परिचालन गरी यो सूचनाको माध्यम, भाषा विविधता र विधिको समस्या समाधान गर्न सकिन्छ।
भाइरसको प्रकृति हेर्दा यो भाइरस हामीमाझ लामो समयसम्म रहने छ भन्ने बुझ्न सकिन्छ। त्यसैले अबका रणनीतिहरु दूरगामी हुनुपर्छ। विभिन्न देशहरुले भ्याक्सिन उत्पादन सुरु गरिसकेका छन्। नेपाल सरकारले अब ती भ्याक्सिनलाई सर्वसुलभ रुपमा नेपाली जनताले सकेसम्म छिटो पाउन सक्ने गरी अन्तरदेशीय छलफल र अन्तर्राष्ट्रिय पहलकदमीमा पनि ध्यान दिनुपर्छ।
पछिल्लो समयमा संक्रमणको दर बढेसँगै स्थानीय तहहरुमा लकडाउन, सर्टडाउन, कर्फ्यु, स्मार्ट लकडाउन गरी मानिसको भीडभाड कम गर्ने र संक्रमण दर कम गर्ने प्रयास भएको छ। यो रणनीतिले भाइरसको फैलावटई ब्रेक लाउला र स्वास्थ्य अधिकारीहरुलाई महामारी बुझ्न केही हदसम्म सहयोग गर्ला तर यो नियन्त्रणको अचुक उपाय हैन। लकडाउनको कोरोना भाइरस नियन्त्रणमा देखिएको साकारात्मक असरसँगै यसका कारण समाजमा परेका अप्ठ्यारा र नकारात्मक असर उत्तिकै घातक छन् भन्ने कुरा सर्वविदित भइसकेको छ।
लकडाउका कारण मानिसको जीविकोपार्जनमा परेको असरलाई नजरअन्दाज गर्न सकिन्न। यातायत र आवतजावत बन्द हुँदा, अस्पताल र स्वास्थ्यकर्मीहरु कोरोनामा केन्द्रित हुँदा वा कोरोना संक्रमणले बन्द हुँदा यस महामारीका बेला नियमित उपचार र औषधि लिरहनुपर्ने धेरै संख्यामा रहेका दीर्घरोगीहरु उपचारबाट बन्चित छन्। यो उपचारको अभावले दीर्घ रोगीहरुको स्वास्थ्यमा धेरै नै क्षति गर्ने र मृत्युदर बढ्ने निश्चित छ।
हालसालै नेपालका अस्पतालहरुमा गरिएको एक अध्ययनले अकल्पनीय रुपमा मातृशिशु मृत्युदर बढेको देखिएको छ। त्यसैले यस महामारीका कारण हाम्रो स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिहरु पनि गुम्ने देखिन्छ।
हिजोआज सरकारका जिम्मेवार व्यक्तिहरुबाट जनताले गल्ती गरे, टेरेनन् अनि कोरोनाले भयावह रूप लियो भन्ने दृष्टिकोणबाट छलफल र विचारहरु व्यक्त हुन थालेका छन्। केही हदसम्म जनताबाट ज्ञान र सूचनाको अभावमा लापरबाही भए तापनि त्यसलाई एकरुप सत्यको रुपमा बुझिनु हुन्न। जनताले जसोतसो त्यति लामो लकडाउनलाई राम्रोसँग इमान्दार भएर साथ दिएका हुन्। जे गर्नुपर्छ भनिएको थियो, त्यसलाई पालन गरेका हुन्। जसको फलस्वरुप नेपालमा लामो समय महामारीले भयावह रुप लिन सकेन। तर त्यो बेला र त्यसपछि सरकारले कति इमान्दार भएर आफ्नो जिम्मेवारी पूरा गर्यो भन्ने प्रश्न टड्कारो रुपमा उठ्छ। त्यसैले, अब सबै एकजुट भएर जोखिम समूहलाई सुरक्षित गर्दै नव-सामान्यकरणका लागि रोग नियन्त्रणमा सरकारलाई सहयोग र खबरदारी गर्दै अघि बढ्नुपर्ने देखिन्छ।
(अधिकारी दीर्घ श्वासप्रश्वास सम्बन्धी रोगका बारेमा अध्ययनरत जनस्वास्थ्यका विद्यार्थी हुन्।)