डा श्यामसुन्दर बुढाथोकी, प्राडा अनुप घिमिरे, डा लिलाबहादुर बस्नेत
संक्रामक रोगहरुलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन र समुदायमा फैलिनबाट रोक्नको लागि भौतिक दूरी कायम गर्ने/गराइने विधि पुरानै हो। हाल विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि कम्तीमा एक मिटरको भौतिक दूरी कायम राख्न भनेको छ। संसारका धेरै देशहरुले अनुशरण गरे जस्तै नेपालमा पनि अस्पताल, अड्डा-अदालत र धार्मिक स्थलहरु लगायतका स्थानहरुमा कम्तीमा एक मिटर भौतिक दूरी कायम गर्न आव्हान गरिएको छ।
पछिल्लो समय, खासगरी कोरोना भाइरसको द्रुत संक्रमणसँगै, भौतिक दूरी कति हुनुपर्ने र के कारणले कम्तीमा त्यति हुनु उचित हुन्छ भन्ने वैज्ञानिक बहसको विषय भएको छ। कोरोना भाइरस हामीमाझ लामो समयसम्म रहिरहने हुनाले यो विषयमा स्पष्ट हुन आवश्यक छ।
ब्रिटेन सरकारको वैज्ञानिक सुझाव समूह (सेज) को आकलन अनुसार एक मिटर भौतिक दूरी कायम गर्नु, दुई मिटर भौतिक दूरी कायम गर्नुभन्दा २-१२ गुणाले बढी जोखिमयुक्त छ। यसैकारण पनि ब्रिटेनमा जनसमुदायलाई कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न आव्हान गरिएको छ।
यसै हप्ता, ‘कोभिड-१९ को महामारीको सन्दर्भमा ‘भौतिक दुरी’; १ मिटर वा २ मिटर? तथ्यले के भन्छ?’ भन्ने विषयमा वैज्ञानिक लेख ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित भयो। निकोलास जोन्स, तिरिसा ग्रिन्हाल्ग लगायतका वैज्ञानिकहरुको उक्त लेख, भौतिक दूरी कायम गर्नु अत्यन्त महत्वपूर्ण भएको परिप्रेक्षमा आएको छ। जसमा व्यक्ति-व्यक्ति बीचको दूरी एक वा दुई मिटर नै हुनुपर्छ भन्ने अवधारणामा प्रश्न गर्दै, त्यसको साटो ‘जोखिम वर्गीकरणको विस्तारित मोडेल’ अघि सारिएको छ।
श्वासप्रश्वास सिर्जित छिटाहरु दुई प्रकारका हुन्छन्; सानो (येरोसोल) र ठूलो (ड्रपलेट), भन्ने निकै समय अघिदेखि चलेको अवधारणाको आधारमा भौतिक दूरी १-२ मिटर हुनुपर्छ भनिएको छ। तर श्वासप्रश्वास सिर्जित छिटाहरू हावामा कति टाढासम्म जान सक्छन् र रोग सार्न सक्छ भन्ने कुरा छिटाको आकारमा मात्र नभएर त्यसलाई सिर्जना गर्ने शक्ति (फोर्स अफ इमिसन), हावाको बहाव, सम्पर्क अवधि जस्ता वातावरणीय अवस्थाहरुमा समेत भर पर्छ।
यी सबैको तथ्यसंगत चर्चा गर्दै वैज्ञानिकहरुले ‘जोखिम वर्गीकरणको विस्तारित मोडेल’मा क्रियाकलापहरुलाई विभिन्न परिवेशको मूल्यांकन गर्दै न्यून (हरियो), मध्यम (पहेंलो) र उच्च (रातो) जोखिम हुने अवस्थाका रुपमा वर्गीकरण गरेका छन्। जसअनुसार उच्च जोखिम हुने अवस्थाहरुमा दुई मिटरभन्दा बढी भौतिक दूरी र सकेसम्म कम समय व्यतित गर्नु उपयुक्त हुन्छ भनिएको छ।
लक्षण नदेखिएका मानिसहरुले मास्क लगाउँदा वा नलगाउँदाको अवस्थामा, छोटो वा लामो समयसम्म भीड भएको वा नभएको स्थानमा, हावाको आवतजावत राम्रोसँग हुने र नहुने ठाउँमा के-कस्तो जोखिम हुनसक्छ भन्नेमा यो मोडेल केन्द्रित छ।
अहिलेको तथ्यांक अनुसार कोभिड-१९ संक्रमितहरुमध्ये अधिकांशमा लक्षण नदेखिएको हुनाले यो विस्तारित मोडेल हाम्रो सन्दर्भमा समेत उपयोगी हुनसक्ने भएकोले यो विषयमा बहस होस् भनेर यहाँ प्रस्तुत गर्दछौं:
‘जोखिम वर्गीकरणको विस्तारित मोडेल’को स्वीकृत नेपाली अनुवाद:
(डा बुढाथोकी हाल इम्पिरियल कलेज बेलायत, प्राडा घिमिरे तथा डा बस्नेत हाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत छन्।)