कोष बगाले
अलि पहिला
बारीका मेवा बाँदरले खान्थे वा कुहिएर जान्थे, घरमा रतन्धोका बिरामी। नउमालेको पानी खायो, जन्डिस, झाडापखलाको समस्या। चर्पीको प्रयोग नगर्दा, झाडापखाला तथा वातावरण प्रदूषण। खुला स्थानमा शौच गरी झारपातले पुछ्ने प्रचलन। गाउँमा हुनेखानेका छोराछोरी दूधभात खान्थे, समस्या कुपोषणको। दूध, तरकारी बेचेर चाउचाउ खान्छन् कैयौं व्यक्तिहरु। छाउगोठको प्रयोग, प्रजनन स्वास्थ्य समस्या। घरमै सुत्केरी, प्रजनन स्वास्थ्य समस्या, मातृशिशु मृत्यु।
लाज नमानेर भन्दा यी माथि उल्लेखित थुप्रै व्यवहार हामीमध्ये धेरै व्यक्ति तथा हाम्रो समाजले कुनै दिन र कयौंमा आज पनि प्रयोगमा रहिरहेका व्यवहारहरु हुन्। कतिले यी व्यवहार कहिल्यै गरेनन् र समस्या पनि ब्यहोर्नु परेन होला। कयौंले यस्ता व्यवहार गरे र यस्ता व्यवहार मानव स्वास्थ्यका लागि हानिकारक छ भन्ने शिक्षा प्राप्त गरे, महसुस गरेर व्यवहार परिवर्तन गरी जोखिम घटाए त कयौंले आज पनि यीमध्ये केही व्यवहार गरिरहेकै होलान्।
आफूले अबलम्वन गरिरहेका व्यवहारहरु सही जस्तो लागेर नै हामी त्यसको अनुशरण गरिरहन खोज्छौं। तर आफ्ना व्यवहारहरु गलत भन्ने बोध भएपछि पनि पुनः दोहोर्याउनेलाई पाखण्डी भनिन्छ। मानव समाजमा जब कुनै विषयमाथि समस्या आइलाग्छ, त्यसपछि त्यसका कारण र प्रभावको खोजी गरिन्छ। जसलाई हामी अनुसन्धान भन्ने गर्छौं।
माथि उल्लेख गरेजस्ता स्वास्थ्य तथा सामाजिक समस्यामाथि पनि विभिन्न प्रकारका अध्ययन भई कारण, प्रभाव हुँदै समाधानका उपायहरु पनि पत्ता लागे जसअनुसार मानिसले खानपानमा व्यवहार परिवर्तन गरी कुपोषण जस्ता समस्या न्यूनीकरण हुँदै गयो। राम्रोसँग पकाएर, उमालेर खानाले झाडापखाला, ब्रुसोलोसिस, बोभाइन टिबी, जन्डिस जस्ता जनस्वास्थ्य समस्यामा कमी आउँदैछ।
गर्भावस्थामा जाँच, संस्थागत सुत्केरीका कारण महिला प्रजनन स्वास्थ्यमा सुधार तथा मातृ शिशु मृत्युदरमा उल्लेख्य कमी आएको पाइन्छ। खुला दिसामुक्त अभियानले सामाजिक तथा जनस्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार भएको पाइन्छ। शौचालयहरु रेस्ट रुमका रुपमा विकास हुँदैछन्। धूमपान निषेधित क्षेत्र घोषणा तथा कार्यान्वयन हुँदैछन्। महिलाको सक्रियतामा मदिरा निषेधित समाज घोषणा हुँदैछन्।
यस प्रकार मानिसका आनिबानी तथा व्यवहारजन्य कयौं समस्याका कारणहरु पत्ता लगाउँदै समाधानतर्फ उन्मुख हुँदै गएका छन्। यद्यपि, यसका लागि थुप्रै स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्नुपर्यो, थुप्रै स्वास्थ्य व्यवहार परिवर्तनका सिद्घान्तहरुको अनुशरण गर्नुपर्यो भने थुप्रै जनस्वास्थ्य तथा स्वास्थ्य शिक्षाका विद्यार्थीहरुले मिहिनेत गर्नुपर्यो। त्यसैगरी जनस्वास्थ्य विज्ञहरुका सुझावलाई राज्यले नियम, कानुनमार्फत कार्यान्वयन गर्दै अन्ततः आज यस्ता कयौं समस्या नियन्त्रण मात्र नभएर असल आनीबानी विकासमा कोसेढुंगा सावित भएका छन्।
समाज परिवर्तनशील छ र मानिस परिवर्तनको संवाहक हो। समाजमा हुने यस्ता परिवर्तनमा विभिन्न तत्वहरुको भूमिका रहने गर्छ। मानव समुदायमा समयसमयमा विभिन्न प्रकारका महामारी तथा प्रकोपहरु देखा पर्दै आएका छन्। सरुवा रोगहरुको माहामारीको कुरा गर्दा इतिहासमा सन् १७२०, १९९०–२००२ मा फ्रान्स तथा भारतमा प्लेग माहामारीका रुपमा फैलिएर करोडौं मानिस मरेको अनुमान गरिन्छ।
१८१७, १८३२, १९७१, १९९१ र २०१० मा क्रमशः विश्वव्यापी माहामारी, बेलायत (लन्डन), अफ्रिका, अमेरिका, अफ्रिका (हैटी) मा हैजाले माहामारीको रुप लिएर केही हजारदेखि करोडौंसम्म मानिस मरेको पाइन्छ। १९२० मा स्पानिस फ्लुका कारण विश्वमा ५ देखि १० करोड मानिस मरे भन्ने गरिन्छ। त्यसैगरी २००२ मा सार्स, २०१२ मा मर्सले पनि विश्वलाई आतंकित बनाएको थियो भने हालको कोभिड–१९ विश्वले नै एकैपटक सामना गरिरहेको छ।
इतिहासमा यस प्रकारका माहामारीजन्य समस्यामा थुप्रै मानिस प्रभावित (उच्च बिरामी र मृत्युदर) भएका मात्र होइनन्, थप्रै मानसिक तथा सामाजिक समस्या पनि भोग्ने गरेको पाइन्छ। अन्ततः विभिन्न अनुसन्धानबाट खोप, औषधि तथा प्रविधिकोे विकास, विभिन्न माध्यमबाट स्वास्थ्य शिक्षाका कार्यक्रमले स्वास्थ्य व्यवहार परिवर्तन गराउँदै मानव जातिले विभिन्न प्रकारका स्वास्थ्य समस्यामाथि सफलता प्राप्त गर्दै आफ्नो अस्तित्व जोगाउन सफल भएको पाइन्छ।
अब कुरा गरौं कोरोनाको
विश्वमा अब कोरोना भाइरस, पिसिआर, आरडिटी परीक्षण, सामाजिक÷भौतिक दूरीे, हात धुने, सेनिटाइजर जस्ता शब्द नसुन्ने व्यक्ति सायदै पाइएला। यी शब्दहरु यत्रतत्र सर्वत्र भइसक्यो। हुन त, कोरोना भाइरस सम्बन्धमा विभिन्न प्रकारका मतभेद पनि पाइन्छन्। तर विज्ञानको मान्यताअनुसार अर्को नयाँ सत्य पत्ता नलाग्दासम्म हाल स्थापित मान्यता नै पूर्ण सत्य हो। जसलाई अनुसन्धानका क्षेत्रमा अन्टोलोजी भन्ने गरिन्छ।
कोरोना भाइरस करिब 120nanometers in diameters को शूक्ष्म आरएनए भाइरस हो। कोरोना प्रजातिका थुप्रै भाइरस यस ब्रम्हाण्डमा निकै अघिबाटै अस्तित्वमा रहेको पाइन्छ र यिनीहरुमा हुने mutation को कारण आफ्नो स्वरुप र यिनले गर्ने असरहरु पनि सामान्यदेखि जटिल प्रकृतिको हुने गर्दछ। यसको सतहमा देखिने क्राउने जस्ता आकृतिका कारण यसलाई कोरोना भन्ने गरिन्छ। साबुन पानी, अल्कोहल जस्ता तत्वले सजिलै नष्ट गर्न सकिने यो भाइरस विषेशत श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले रोगीले खोक्दा, हाच्छिउँ गर्दा सजिलै वातावरणमा भाइरसहरु फैलन्छन्। साथै रोगीले हातले नाक, मुख छुँदा, चलाउँदा उसको हातमार्फत उसले छोएको ठाउँमा भाइरस छोड्छ र असावधानीपूर्वक बिरामीको सम्पर्कमा रहेका व्यक्ति तथा बिरामीले छोएका ठाउँमा छुने व्यक्तिमा भाइरस सजिलै सर्छ।
त्यसैगरी रोगबाट बच्ने सम्बन्धी सत्य कुरा पनि के हो भने उपयुक्त तरिकाले मास्कको प्रयाोग, आँखामा सुरक्षा, भौतिक दूरी (२ मिटर) कायम, तथा बारम्बार साबुन पानीले मिचिमिची हात धुँदा यो रोगबाट बच्न सकिन्छ। साथै खोपको विकास भएपश्चात् अर्को सत्य अवश्य स्थापित हुनेछ। ल्यान्सेट जस्ता चर्चित जर्नलमा प्रकाशित अनुसन्धात्मक लेखहरुले पनि मास्कको नियमित र उपयुक्त प्रयोग, कम्तीमा १ मिटरभन्दा बढीको भौतिक दूरी, आँखाको सुरक्षा जस्ता व्यवहारबाट कोरोना भाइरसको फैलावटमा आएको गिरावटबीच सकारात्मक एसोसिएसन देखाएकाले पनि यस व्यवहारलाई वैज्ञानिक मान्दै अनुसरण गर्नैपर्ने हुन्छ।
तर, अहिले मानिसले यसलाई जन स्वास्थ्यको समस्या, स्वास्थ्यकर्मीको मात्र समस्या जसरी हेर्ने गरेको समेत पाइन्छ। नेपालकै सन्दर्भमा कुरा गर्दा पनि अहिले माथि भनिएजस्ता कोरोना सम्बन्धी ज्ञान नभएका मानिस निकै कम होलान्। तर समस्या त झन् बढ्दो छ। यस पछाडिका कारण भनेका मानिसहरु आफ्ना पूर्ववत व्यवहारहरु सजिलै परिवर्तन गरिरहेका छैनन्। सडकमा हिँड्दा अधिकांशले मास्क लगाएको देखिए पनि जब पसल, कार्यालय, साथी समूहमा पुग्छन्, त्यस समयमा अधिकांशले सावधानी अपनाएको पाइँदैन।
सरकारी तहबाट लकडाउन, कफ्र्यु जस्ता भीडभाड नियन्त्रण गरी संक्रमण फैलन रोक्ने केही तौरतरिका अपनाइए पनि विभिन्न वहानामा सडकमा मानिसको भीड देख्न पाइन्छ नै। त्यसैगरी सहरका केही युवाहरु जो धूमपानजस्ता अम्मलमा फसेका छन्, उनीहरुले आफ्नो भेटघाट तथा पूर्ववत् व्यवहारमा खासै परिवर्तन गरेको पाइँदैन। साथै हाल पछिल्लो समय कोरोना पुष्टि भएका अधिकांश मानिसहरु हेर्दा पनि एउटै घरका व्यक्तिहरु, नजिकका साथीभाइ, समूहमा बस्ने, खेल्ने व्यक्तिहरुमा संक्रमण बढ्दो छ।
कोरोना नियन्त्रणमा मुख्यतयाः दुईवटा रणनीति अनुसार अघि बढ्नुपर्ने दखिन्छ। एउटा भनेको केस पत्ता लगाउन गरिने क्रियाकलाप वा रोगको प्रिभिलेन्स पत्ता लगाउन गरिने क्रियाकलापहरु। जस्तैः पिसिआर, एन्टिबडी परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, कम्युनिटी ट्रान्समिसन भएका ठाउँहरुमा समूह परीक्षण। जसले समयमै केस पत्ता लगाउछ, अस्पताल, उपचार तथा तथ्यहरुका आधारमा दिशानिर्देश गर्ने काम तथा रोग नियन्त्रणका लागि खोप उपलब्धता वा समन्वय जस्ता काम गर्दछ भने अर्को तर धेरै महत्वपूर्ण काम भनेको प्रभावकारी माध्यमहरुबाट स्वास्थ्य शिक्षा सम्बन्धी गतिविधि बढाई मानिसको व्यवहारमा सकारात्मक परिवर्तन गराउनु।
सावधानी गर्दागर्दै पनि रोग लाग्न सक्छ, त्यो अर्कै विषय हो। तर अहिले विभिन्न तर्क गर्दै मानिसले कोरोनालाई हेलचेक्र्यार्इं गरेको पाइन्छ। त्यसैले अब हामीले के निष्कर्ष निकाल्नु पर्छ भने, विभिन्न तहका सरकार तथा तिनका निकायहरुमार्फत ब्यापक रुपमा चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै कोरोना रोग तथा यसबाट बच्ने उपाय सिकाउने, कोरोना सम्बन्धी आवश्यक डर समेत देखाउने, मास्क नलगाई हिँड्ने, भौतिक दूरी कायम नगर्ने, हात नधुने तथा अटेर गर्नेलाई आ–आफ्नो क्षेत्रबाट सचेत वा बहिष्कार वा संक्रमण रोग ऐन २०३५ अनुसार कारबाही समेत गरी उनीहरुलाई व्यवहार परिवर्तनका लागि बाध्य बनाउने। यसरी डर देखाएरै भए पनि पटकपटक व्यवहारहरु दोहोर्याउन सफल भएमा ती व्यवहारहरु बानीको रुपमा विकास भई कोरोना नियन्त्रणमा सफलतासँगै अन्य कयौं प्रकारका स्वास्थ्य समस्यालाई पनि नियन्त्रण गर्न सकिन्छ।
कोरोनाका सम्बन्धमा विभिन्न प्रकारका अध्ययनहरु हुँदैछन्। हालसम्मका अध्ययनहरुले अन्य प्रकारका शारीरिक समस्या समेत भएका व्यक्तिहरुमा रोगको जटलता तथा मृत्युदर पनि बढी देखाएको भए पनि सामान्य मानिसमा पनि समस्या नदेखिएका होइनन्। त्यसैले तुलना गरेर म त यस समूहको व्यक्ति भनेर बेवास्ता गर्दा समस्या आफैंलाई पर्नसक्छ र त्यस समयमा अध्ययनले देखाएको न्यून प्रतिशत आफ्नो लागि १०० प्रतिशत नै हुन जान्छ।
अन्त्यमा, कोरोना संक्रमणको यस माहमारी मानव जातिले पहिलोपटक व्यहोर्नु परेकोले यसमा केही द्विविधा अवश्य नै आएका छन्। तर पनि केहीले दावी गरेअनुसार केही पनि होइन भन्ने मुर्खता प्रदर्शन नगरौं। यदि व्यक्ति सचेत हुने र आनीबानीमा परिवर्तन गर्ने हो भने अति आतंकित हुनु जरुरी पनि छैन र अपनाउनुपर्ने व्यवहारहरु त्यति गाह्रा पनि छैनन्। त्यसैले रोगको बारेमा अर्को कुनै नयाँ तथ्य फेला परे बेग्लै कुरा गरौंला अन्यथा यही मास्क, दूरी कायम र हात धुनुको विकल्प देखिँदैन।
ठूला कुरा नखोजौं, ठूला गफ नगरौं, नागरिक स्तरबाट माथि सुझाएजस्ता साना र सजिला कामहरु गरेरै कोरोना नियन्त्रणमा जिम्मेवार नगरिकको भूमिका पूरा हुनेछ र कोरोना नियन्त्रणमा समेत टेवा पुग्नेछ।