गंगाराज अर्याल
कोराना भाइरसः नोबेल कोरोना भाइरस कागज, टिस्यु पेपरमा ३ घन्टा, तामामा ४ घन्टा, कपडा, बाक्लो कागज र काठमा २४ घन्टा, स्टिल, प्लास्टिक/नोटमा ७२ घन्टा र सर्जिकल मास्कको बाहिरी भागमा ७ दिनसम्म बाँच्न सक्छ।
कोरोना भाइरस महामारी चीनबाट गत डिसेम्बर २०१९ मा सुरु भएको हुनाले यसको नाम कोभिड–१९ राखिएको हो। यसबाट अधिकांश रोगसँग लड्न सक्ने क्षमता कमजोर भएका र सावधानी नअपनाउने सबै उमेरका व्यक्तिहरु संक्रमित भएका छन्। कोरोना भाइरसले श्वास–प्रश्वास नली हुँदै फोक्सोमा बढी संक्रमण गर्छ भने मुटु सम्बन्धी, मधुमेह र दीर्घ श्वास–प्रश्वास समस्या भएका वृद्धहरुलाई गम्भीर रुपमा संक्रमण गर्न सक्छ।
स्वास्थ्य प्रवर्धनः स्वास्थ्य प्रवर्धन भनेको व्यक्तिलाई आफ्नो स्वास्थ्यका नकारात्मक पक्षको आफैं नियन्त्रण गरी स्वास्थ्यमा सुधार गर्न उत्पे्ररित गर्नु हो। यसले हरेक व्यक्तिको स्वास्थ्योपचार गरी निको पार्न मात्र सीमित नरही स्वास्थ्य समस्याका प्रारम्भिक कारण पत्ता लगाई वातावरणीय र सामाजिक पक्षमा सुधार ल्याएर नागरिकको गुणस्तरीय स्वास्थ्य सुरक्षा प्रदान गर्ने वृहत पक्षसँग सम्बन्ध राख्छ।
कोरोना महामारीको वर्तमान अवस्थाः विश्वभरिका अधिकांश मुलुकमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट आजसम्म ३ करोडभन्दा बढी व्यक्ति पीडित भइसकेका छन् भने ९ लाख ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। विश्वभरि फैलिएको यस रोगबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिका, भारत लगायतका युरोपियन मुलुकमा फैलिएको कोरोना भाइरस संक्रमणबाट आजसम्म न्युजिल्यान्ड, भुटान र चीन मुक्त भइसकेका छन्।
नेपालमा ६६ हजारभन्दा बढी व्यक्ति कोरोनाबाट संक्रमित भएका छन्। जसमध्ये ४ सय जनाभन्दा बढीको मृत्यु समेत भइसकेको छ। सेप्टेम्बरको दोस्रो सातासम्मको कोरोना संक्रमणको विश्वव्यापी विश्लेषण गर्दा दिनहुँ झन्डै ५९ हजारसम्म संक्रमण भएका छन्। मृत्यु हुनेहरु झन्डै १ हजारको हाराहारीमा देखिन्छन्। संक्रमितमध्ये मृत्यु हुने दर पनि ४.९ प्रतिशतबाट घटेर ३ प्रतिशत देखिएको छ।
सर्ने तरिकाः कोरोना भाइरसबाट संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा वा खोक्दा नाक र मुखबाट निस्केका सिंगान, ¥याल, थुकका छिटा टाँसिएको भुई वा वस्तुमा हातले छोएमा हात प्रदूषित हुन्छन्। प्रदूषित हात नाक, मुखमा लैजाँदा भाइरस शरीरमा प्रवेश गरेमा कोरोना भाइरस सर्नसक्छ भने संक्रमित बिरामीले हाच्छिउँ गर्दा वा खोक्दा निस्केका सिंगान, थुक, र्यालका छिटाहरु नजिकै (१ मिटर) रहेका स्वस्थ व्यक्तिको शरीरभित्र प्रवेश गरेमा कोरोना भाइरस सर्नसक्छ।
कोरोना महामारी र सरकारी कमजोरीः मुलुकमा तीन तहका सरकार, समुदायस्तरसम्म स्वास्थ्य सेवा प्रणाली सञ्जाल, २४ हजारभन्दा बढी स्वास्थ्यकर्मी, सेवामा तथा निवृत्त जनस्वास्थ्य/ स्वास्थ्य प्रवर्धनविद्, वडास्तरमा ५२ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका क्रियाशील छन्। सरकारले यस्ता जनशक्तिलाई परिचालन, मुलुकभरका स्वास्थ्य प्राविधिक टोली गठन गरी जनस्वास्थ्य/स्वास्थ्य शिक्षा प्रवर्धनविद्लाई परिचालन, उनीहरुको सुपरिवेक्षणमा समुदायस्तरबाट ज्वरो (१००.४ भन्दा बढी), खोकी र श्वास–प्रश्वासमा समस्या भएका र अन्यत्रबाट आएका व्यक्तिको टोल, गाउँबाट खोजी गरी शंकास्पदको नमुना परीक्षण गर्न सक्थ्यो। तर यस्तो महत्वपूर्ण कदममा सरकारको कमजोरी देखियो।
- सरकारले विश्व स्वास्थ्य संगठनको सहयोगमा थुप्रै चिकित्सक, जनस्वास्थ्य/स्वास्थ्य शिक्षाविद्लाई गत अगस्टमा विपद् व्यवस्थापनमा जोखिमपूर्ण सूचना सञ्चार तथा सामुदायिक सहभागिता सम्बन्धी तालिम दिएको छ। तालिमप्राप्त स्वास्थ्य विज्ञहरुलाई सरकारद्वारा परिचालन गर्न सकेको भए आवश्यक स्वास्थ्य शिक्षा सञ्चार प्रवर्धन, अभिमुखीकरण/तालिम दिन र महामारी नियन्त्रणमा सघाउन सक्थे।
- हरेक जिल्लामा चिकित्सक, जनस्वास्थ्य अधिकृत, प्रयोगशाला प्राविधिक सहितको शीघ्र विपद् व्यवस्थापन टोली गठन भई क्रियाशील छन्। महामारी वा विपद् व्यवस्थापनकै लागि गठित यस्तो टोलीलाई स्थानीय सरकारद्वारा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा परिचालन गर्न सकिन्थ्यो। तर तीन वटै सरकारबाट यस्तो कदमप्रति नजरअन्दाज गरियो।
- कोरोना संक्रमण महामारी रोकथामबारे नागरिकलाई चेतना जगाउन वडास्तरबाटै जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संयोजकको टोली गठन गरी टोल/गाउँमा स्वास्थ्य संयोजकसँगको समन्वयमा व्यापक रुपमा स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार गतिविधि/सामग्री वितरण, स्थानीय पत्रपत्रिका, रेडियोमा सन्देश प्रसारण गरी नागरिकलाई सुसूचितगर्न सकिन्थ्यो। तर यस्तो प्रभावकारी अभियान कतै सञ्चालन गरिएन।
- शंकास्पद संक्रमितलाई क्वारेन्टाइनमा राख्ने, पहिचान, निदान गर्ने, संक्रमितलाई आइसोलेसनमा राख्ने र समयमै परीक्षण लगायत आवश्यक व्यवस्था गर्न खोजिएको भए हालको भयावह स्थिति उत्पन्न हुने थिएन। तर यस्ता प्रभावकारी कदम नचाल्दा अहिले नियन्त्रण गर्न समस्या भएको हो।
- संक्रमित व्यक्तिको खोजतलास गर्न ज्वरो आएका, सुख्खा खोकी र श्वास–प्रश्वासमा कठिनाइ भएका, घाँटी दुखेका र बाहिरबाट भित्रिएका वा कतै यात्रा गरेका शंकास्पद व्यक्तिको पहिचान गर्न आरटी–पिसिआर परीक्षणको दायरा बढाउँदै जानुपर्नेमा विवादास्पद आरडिटी परीक्षण गरी जनताको आँखामा छारो हाल्ने काममात्र भयो।
- सरकारी संयन्त्रका अलावा महामारी नियन्त्रणमा नेपाल जनस्वास्थ्य संघ र स्वास्थ्य प्रवर्धन तथा शिक्षा संघको पनि स्वास्थ्य प्रवर्धन अभियानमा महत्वपूर्ण भूमिका रहन्छ। तर आज ६ महिनासम्म पनि यी संगठनको कुनै चासो वा कदम देखिएन भने सुझाव पनि सुनिएन।
स्वास्थ्य प्रवर्धन अभियानः कोरोना भाइरस संक्रमणको प्रभावकारी रोकथाम नै खोप हो। अहिले विश्वका करिब १५० मुलुक यस विरुद्ध खोपको निर्माणमा जुटेका छन् भने एसिया, युरोप, अमेरिका लगायतका ८ वटा कम्पनीले तयार गरेका खोपको तेस्रो चरणमा परीक्षण गरिरहेका छन्। यी खोपहरु परीक्षणमा सफल भई उपलब्ध नभएसम्म महामारीबाट बच्न स्वास्थ्य प्रवर्धन अभियान चलाउनु परेको छ।
- मास्कको सही प्रयोगः मास्कको प्रयोग नै नगर्ने, यदि प्रयोग गरे पनि नाक नछोप्ने, मुखमात्र छोप्ने, चिउँडोमा सर्काउने वा टाउकोमा पुर्याउने, सुरक्षाकर्मीलाई देखाउन हातमा लिएको देखिन्छ। यसो गर्दा कोरोना भाइरस सजिलै शरीरमा प्रवेश गर्नसक्छ। त्यसैले नाक, मुख राम्ररी छोपिने गरी लगाएमा मात्र मास्कको सही प्रयोग मानिन्छ। डिस्पोजेबल मास्क प्रयोग गरेमा बेलुका फोहरसँगै विसर्जन गर्नुपर्छ।
सकेसम्म एन–९५मास्क प्रयोग गर्ने, साधारण मास्क भए दिनहुँ धोएर घाममा सुकाउने बानी गर्नुपर्छ। एक पटक राम्ररी लगाएको मास्क घरभित्र नछिरेसम्म निकाल्नु हुँदैन र चिउँडोमा सार्नु हुँदैन। यदि निकाल्नै परेमा कानमा लगाउने फित्तामा मात्र समाएर निकाली नाक, मुख छोप्ने भागलाई पट्याएर सुरक्षित राख्नुपर्छ। र, कम्तीमा दुई–तीन दिनमा साबुन वा सर्फले धोएर घाममा सुकाई प्रयोग गर्ने बानी बसाल्नुपर्छ।
- शारीरिक दूरीः घर बाहिर निस्केको बेला वा सरसामान खरिद/बिक्री गर्दा एकदेखि अर्को व्यक्तिबीच कम्तीमा १ मिटर वा ३ फुटसम्मको सामाजिक दूरी कायम गर्ने बानी बसाल्नुपर्छ।
- हातधुने बानीः कुनै वस्तु वा फोहर छोएपछि, बाहिरबाट घरभित्र पसेपछि साबुनपानीले फिँज निस्केपछि कम्तीमा २० सेकेन्डसम्म मिचिमिची हात धुने बानी बसाल्नुपर्छ। हत धुन सम्भव नभए मात्र अल्कोहल मिसाई बनाइएको गुणस्तरीय प्रतिजैविक झोल (सेनिटाइजर) हातमा दल्नुपर्छ। स्मरण रहोस्, नेपालमा बिक्री हुने ४५ प्रतिशत सेनिटाइजर गुणस्तरहीन भेटिएका छन्।
- शारीरिक सरसफाइः हात, गोडाका नङ बढ्नासाथ काट्ने, बिहान र बेलुका खाना खानासाथ नरम र सफा बुसले दाँत माझ्ने, धोएका सफा लुगा लगाउने, नियमित नुहाउने र बाहिरबाट घर आउनासाथ नुहाउने बानी बसाल्नुपर्छ।
- सूर्ति/मदिराजन्य पदार्थ सेवन नगर्नेः सूर्तिजन्य पदार्थको हानिकारक सेवन गर्ने बानी परेकालाई स्वस्थ व्यक्तिका साथै कोरोना संक्रमित वा दीर्घरोगी सबैलाई अत्यन्त हानि गर्छ। त्यसैले यस्ता पदार्थको सेवन सुरु नगर्ने र सुरु गरेको भए आजैबाट त्यागिदिनुपर्छ। साथै मदिराजन्य पदार्थको प्रयोग पनि हानीकारक हुने भएकाले सेवन गर्नु हुँदैन।
- शारीरिक व्यायामः कोरोना भाइरस संक्रमणसँग जुध्नका लागि रोगसँग लड्नसक्ने क्षमता अभिवृद्धि गर्नुपर्छ। साथै लामो समयसम्म नियन्त्रणमा नआएको महामारीका कारण घरमै बस्न वाध्य हुनुपर्दा साथै संक्रमित भइहाले पनि शारीरिकका साथै मनो–सामाजिक समस्या उत्पन्न हुनसक्छ। त्यसैले बिहान उठेर कम्तीमा आधा घन्टा छिटोछिटो हिंड्ने, करेसाबारीमा काम गर्ने नभए घरभित्र वा बाहिर वरिपरि घुम्ने, व्यायाम गर्ने यन्त्रको प्रयोग गरेरै भए पनि शारीरिक व्यायाम गर्नुपर्छ।
- मनोसामाजिक स्वास्थ्य प्रवर्धनः लामो समयको बन्दाबन्दीका कारणले घरभित्रै थुनिनु पर्दा २ हजार २ सयभन्दा बढीले मनोसामाजिक समस्या उत्पन्न भएर आत्महत्या गरे। त्यसकारण यस्तो मनोसामाजिक समस्याको प्रभावकारी समाधान गर्न नाचगान गर्ने, परिवारसँग रमाउने, टाढा रहेका आफन्त, साथीसँग फोन सम्पर्क गर्ने र एकहोरोपनलाई हटाउने, रेडियो/संगीत सुन्ने, टिभी हेर्ने, पुस्तक, पत्रिका पढ्ने, तनावरहित रहने, समयमै खाने र सुत्ने बानी गर्नुपर्छ।
- परम्परागत खाद्य पदार्थः बाहिर बनाइएका खाद्य पदार्थको साटो घरमै बनाइएका र परम्परागत दाल, भात, तरकारी, रोटीजस्ता खानेकुरा खानु नै सर्वोपरि फाइदाजनक र सन्तुष्टि हुन्छ। साथै रोगसँग लड्नसक्ने क्षमता बढाउनका लागि लसुन, प्याज, बेसार, ज्वानो, अदुवा, अमला, कागतीको रस मिसाइएको तरकारी, अचार र ल्वाङ, सुकुमेल, मरिच, गुर्जो, अश्वगन्धा, मह, यष्ठीमधु, आदि मिसाइएको चिया खानु निकै वाञ्छनीय हुन्छ। यस्ता पदार्थले रोगसँग लड्ने क्षमता बढाउँछन्।
- नागरिक र समुदायको भूमिकाः हरेक नागरिक वा समुदायले आफ्नो, परिवार र समुदायका सदस्यको व्यक्तिगत सरसफाइमा उत्प्रेरणा, शारीरिक दूरी कायम गर्न, कुनै वस्तु छुनासाथ साबुनपानीले मिचिमिची हात धुन र नाक र टम्म छोपिने गरी मास्कको प्रयोग गर्ने बानी–व्यहोरामा सकारात्मक परिवर्तन ल्याउन सके स्वास्थ्य प्रवर्धनमा ठूलो सघाउ पुर्याउँछन्। स्वस्थकर वातावरणका लागि घर, आँगनबाट निस्कने फोहरमैलाको सुरक्षित किसिमले संकलन र विसर्जन, स्वस्थकर शौचालयको प्रयोग, स्वस्थकर शिक्षण संस्था र वातावरण निर्माणका साथै विद्यार्थीको स्वास्थ्य प्रवर्धन गर्न प्रभावकारी भूमिका खेल्न सक्छन्।
(अर्याल जनस्वास्थ्य/स्वास्थ्य प्रवर्धन विशेषज्ञ हुन्।)