डा भुमेश काफ्ले
सबैतिर दसैंको रमझम थियो। बजारभरि दसैं किनमेलका लागि मान्छेको भीड हुन्थ्यो। कसैलाई पनि कोरोनाको पर्वाह थिएन। सबै आफैंमा मस्त थिए। म फूलपातिको अघिल्लो दिनसम्म पनि बिरामीको उपचारमा संङ्लग्न थिएँ।
काम गर्दा कोरोना सर्ने कुराले सुरुवाती दिनदेखि नै मनमा संत्रास पैदा हुन्थो। त्यसैले जहिले पनि अत्यन्तै होसियार भएर काम गरिरहेको हुन्थें। अस्पतालमा काम गर्ने प्रायःजसो स्टाफहरुलाई कोरोना देखिइसकेको थियो। डब्लुएचओे, नेपाल सरकार र नेपाल डेन्टल एसोसिएसनले मुख तथा दाँतको उपचारलाई उच्च जोखिममा राखेको छ। मुखमा र दाँतमा काम गर्ने बेलामा मुखबाट पैदा हुने एरोसलहरुले कोरोना सर्ने डर हुनाले हामीहरुलाई काम गर्न निकै जोखिम हुन्छ। त्यसैले दन्त बिज्ञहरुलाई मुख तथा दाँतको अत्यावश्यक बाहेकका कुनै पनि सेवाहरु नगर्नु भनेर भनिरहेको छ।
मुख तथा दाँत सम्बन्धी कस्तो अवस्थालाई अत्यावश्यक मान्ने भन्ने कुरा नेपाल सरकारले स्पष्ट पारेको छ। तर म काम गर्ने सेटअप कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र यहाँ आसपासका अस्पतालहरुमा बिरामीहरु कहिले पनि मुख तथा दाँतमा इमर्जेन्सी नपरी अस्पताल आउँदैनन्। सकभर घरमै झारफुक गर्छन्। फलाम तताएर दाँतमा घोच्ने गर्छन्। विभिन्न किसिमका जडिबुटी र झारपातहरुको प्रयोग गर्छन्। सुर्तीजन्य पदार्थ दाँतमा च्याप्छन्। अन्त्यमा हरेक उपायहरु फेल खाएर सहनै नसक्ने भएर मुख सुन्निन थालेपछि मात्र अस्पताल आउने गर्छन्।
त्यसैले, यहाँ आउने हरेक बिरामीलाई इमर्जेन्सी उपचार गर्नुपर्छ। भौगोलिक बिकटताको कारण कति समय लगाएर, टाढाबाट हिँडेर हरेक बिरामी मनमन ठूलो आशा लिएर अस्पतालमा आएको हुन्छ। बिरामीको अवस्था हेरेर औषधि मात्र दिएर फर्काउनै मन लाग्दैन। फेरि दाँतको समस्या अन्य रोगहरु जस्तो: औषधिले मात्र सन्चो हुँदैन। मेसिनले दाँतलाई प्वनल पारेर, इन्फेक्सन भए सफा गरेर औषधि नराखी ठिक हुँदैन। जोखिम मोलेरै भए पनि आवश्यक सुरक्षा सावधानी अपनाएर प्रोसिडर गर्नैपर्ने हुन्छ। त्यही प्रोसिडर गर्दा उत्पन्न हुने हावा र पानीले कोरोना संक्रमण फैलाउन मद्दत पुग्ने हुनाले यस्तो उपचारलाई जोखिम मानिएको हो।
फूलपातिको दिनदेखि बिदा थियो। दसैंमा घर जानै पर्यो। बुबाआमा बुढो हुनाले घर जान कता कता डर लाग्दै थियो। बेलाबेलामा पिसिआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। कुनै पनि सिम्टम्स पनि देखिएको थिएन। फेरि घर पनि नजिकै हुनाले घर नगएर सुखै थिएन। डरै डरमा घर गइयो।
घरमा खासै भेटघाट पनि गरिएन। मेरो दाजु र म एउटै अस्पतालमा काम गर्छौं। टीकाको भोलिपल्ट दाजुलाई ज्वरो आएर गाह्रो भयो। हामी तत्कालै अस्पताल फर्किने निर्णय गर्यौं। मेरो पनि शरीरका मांसपेशीहरु पूरै दुखिरहेका थिए। मलाई हामी दुवैजनालाई कोरोना भएको आशका भयो। दुवैजना घरमा हुँदा पनि अत्यन्तै होसियार भएर मास्क लगाएर बस्यौं।
भोलिपल्ट अस्पताल फर्केलगत्तै दुवैजनाले पिसिआरको लागि स्वाब दियौं। दुवैको रिपोर्ट पोजेटिभ आयो। हामी अस्पताल जस्तो अत्यन्तै जोखिम भएको ठाउँमा काम गर्ने भएकाले कुनै दिन कोरोना लाग्छ भन्ने कुरामा दुई मत थिएन। तर गल्ती हाम्रै थियो। जतिनै होसियार थियौँ भने पनि कहीँ न कहीँ हामीले होस गुमायौं र हामीलाई कोरोना लाग्यो।
जतिसुकै जोखिम भए पनि उच्च सावधानी अपनाएको भए सायद कोरोना लाग्दैनथ्यो होला। त्यसैले म कसैलाई पनि दोस दिन चाहन्नँ। पहिलेदेखि नै एक दिन कोरोना लाग्ने नै हो भन्ने सोचेर होला होला मेरो आत्मबल उच्च नै थियो। दाजुलाई पनि आत्मबल उच्च राख्न सुझाएँ। खासै तनाव लिने काम गरिनँ।
हामी दाजुभाइले होम आइसोलेसनमा बस्ने निर्णय गर्यौं। केही दिनपछि भाउजुको पनि रिपोर्ट पोजेटिभ आयो। सबै जना उच्च आत्मबलका साथ सँगै बस्यौं। आमाबुबा र छोरीलाई भने आजसम्म देखिएको छैन।
मेरो शरीर अत्यन्तै दुखिरहेको थियो। शरीरको माथिल्लो भागभन्दा तल्लो भाग धेरै दुखेको अनुभव भइरहेको थियो। ज्वरो पनि आइरहेको थियो। शरीर अत्यन्तै कमजोर र शिथिल भएको थियो। टाउको असाध्यै दुखिरहेको थियो। कतिकति बेला श्वास फेर्न अलिक कठिनाइ भएजस्तो भए पनि खासै गाह्रो पारेको थिएन।
बेलाबेलामा अक्सिजनको मात्रा हेरिरहन्थें। मेन्टेन नै हुन्थ्यो अनि ढुक्क हुन्थें। कसैगरी शरीरमा अक्सिजनको मात्रा घटेमा तत्कालै शरीरलाई अक्सिजन चाहिने हुन्छ र अस्पताल भर्ना हुनुपर्छ। ज्वरो र शरीरको दुखाइ भने सिटामोलले कम गर्थ्यो। फेरि कोरोना लागेमामा दुखाइ कम गर्ने अन्य दबाइहरुको प्रयोग गर्नु हुँदैन। हरेक ५/६ घण्टासम्म सिटामोलले राम्रो काम गर्थ्यो। एउटा चक्कीले काम नगर्नाले एकै पटक दुई वटा चक्की लिन्थें। स्वाद र गन्ध हराए पनि भोक असाध्यै लाग्थ्यो। त्यसैले हरेक दुईदुई घण्टामा केही न केही खाइरहन्थें।
कसैकसैलाई भोक नै लाग्दैन भन्ने सुनिन्छ। भोक नलागे पनि जबरजस्ती केही न केही खाइरहनुपर्छ। तातो पानी, सुप, फलफूल, र प्रोटिनयुक्त खानेकुरा निरन्तर मन नलागे पनि खाइरहनुपर्छ। कसैकसैले सप्लिमेन्ट भिटामिनहरु पनि लिएको पाइन्छ।
बिहान उठ्ने बित्तिकै जहिले पनि ध्यान, प्रणायाम, योगा गर्थें। दिनभरि सुतेपछि झनै कमजोर हुने हुनाले कोठामै भए पनि यताउता हिँडिरहन्थे। दिनमा तीन, चार पटक तातोपानीले बाफ लिन्थें।
सामाजिक सञ्जाल र केरोनासँग सम्बन्धित समाचारहरु केही पनि हेर्दैनथें। कोरोनासँग सम्बन्धित समाचारले आफ्नो मन आत्तिने र कमजोर बनाउने काम गर्छ। त्यसैले त्यस्ता कुराहरुबाट टाढा बस्नु नै उत्तम हुन्छ। बरु मोटिभेसनल भिडियोहरु, किताबहरु पढ्नुपर्छ। सुतिरहने गर्नु हुँदैन। मलाई दोस्रो दिनमा नाकमा इन्फेक्सन भयो। असाध्यै दु:ख दियो। दुखेर दुई रात सुत्न सकिनँ। सात दिनसम्म एन्टिबायोटिकको प्रयोग गर्नुपर्यो। छैटौं, सातौं दिनमा सिम्टमहरु हराउँदै गएका थिए।
अस्ती चौधौं दिनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको पिसिआर ल्याबमा दिएको स्वाबमा रिपोर्ट नेगेटिभ आएको छ। अब तिहारको बिदा लगत्तै बिरामीको सेवामा लाग्ने छु।
आम मान्छेहरुमा एक पटक कोरोना लागिसकेपछि फेरि लाग्दैन भन्ने भ्रम छ जुन एकदमै गलत छ। रि-इन्फेक्सन हुने चान्स अझै बढी हुन्छ। त्यसैले एक पटक संक्रमित भइसकेपछि झनै होसियार हुनुपर्ने हुन्छ। कोरोना हाउगुजी र यसका अभियन्ताहरुको कुरा नसुनेर आवश्यक सामधानी अपनाउन उपयुक्त हुनेछ।
म पनि पहिलेभन्दा अझै होसियार भएर बिरामीको सेवामा लाग्नेछु। अब खुसी के कुरामा छ भने चौध दिनपछि प्लाज्मा थेरापीको लागि प्लाज्मा दान गर्न मिल्ने छ। केरोनाबाट गम्भीर किसिमका बिरामीलाई प्लाज्मा थेरापिको लागि रगत चाहिएमा रगतदान गर्नेछु। अन्य निको भइसकेका संक्रमितले पनि आफ्नो रगत दान गर्नु होला।
पहिले भन्दा हिजोआज आम मान्छेले कोरोनालाई सामान्य रुपमा लिन थालेका छन्। कृपया कोरोनालाई सामान्य रुपमा नलिनु होला। मास्कको र स्यानिटाइजरको उचित प्रयोग गर्न नछोड्नु होला। अनावश्यक भीडभाडमा नजानु होला।
उच्च सावधानी अपनाउनु होला। आफूलाई नलाग्दासम्म कोरोना सामान्य लाग्छ, तर जसलाई लाग्छ, उसैलाई थाहा हुन्छ कोरोनाको पीडा कस्तो हुन्छ भनेर।