कोरोना भाइरसको संक्रमण चीनबाट विश्वका अन्य देशमा क्रमशः फैलँदै थियो। नेपालमा पनि हामीले आवश्यक तयारी अगाडि बढाइरहेका थियौँ। त्यो समयमा सबैभन्दा बढी चिन्ता चीनमा रहेका नेपालीको थियो किनभने चीनमा संक्रमण तीव्र थियो। चीनले लकडाउन पनि गरेको थियो। चीनमा रहेका नेपालीको उद्धार गरेर ल्याउने कुरा भएपछि सबै खुसी भएका थिए।
फागुन ४ गते नेपाल वायु सेवा निगमको विमानबाट १७५ जना नेपालीलाई चीनबाट उद्धार गरेर नेपाल ल्याइएको हो। त्यसपछि उनीहरुलाई भक्तपुरस्थित खरिपाटीमा रहेको क्वारेन्टाइनमा लगिएको थियो। क्वारेन्टाइनमा उनीहरुलाई सुरक्षित रुपमा लगेपछि एयरपोर्टमा हामीलाई अर्को चिन्ता थपिएको थियो।
चीनबाट उद्धार गरी ल्याइएका १७५ जनाले लगाएका सुरक्षाका सामग्री, प्लेनको सरसफाइ लगायतका सबै सामान संकलन गर्दा उक्त प्लेनबाट एक सय बाल्टिन फोहोर निस्केको थियो। उक्त फोहोरलाई सुरक्षित रुपमा बाल्टिनमा राख्ने काम त भयो तर कहाँ लगेर व्यवस्थापन गर्ने भन्ने प्रश्न उठेको थियो। कोरोना भाइरस संक्रामक रोग भएको र कसरी, कहाँबाट, के कारण सर्छ भन्ने अन्योल थियो। त्यही भएर फोहोरको व्यवस्थापनमा हामीलाई समस्या पर्यो। हामीले एयरपोर्टमा कुरा गर्यौं। त्यहाँ पनि त्यस्तै अन्योल र डर थियो। महानगरसँग कुरा गर्यौं, उनीहरु पनि डराए।
एयरपोर्टको खुला ठाउँमा नै राख्न पनि भएन। त्यसपछि महानगरलाई हामीले टेकुमा फोहोर व्यवस्थापन गर्ने ठाउँमा राख्ने र त्यसलाई वैज्ञानिक ढंगले निसंक्रमण गर्ने प्रस्ताव गर्यौं। तर त्यतिबेला खरिपाटीमा समेत चीनबाट ल्याइएकालाई राख्न नहुने भन्दै विवाद निकालिएको समय थियो। झन् संक्रामक फोहोर मध्यसहरको बीचमा ल्याउने कुरामा महानगरले मान्न सकेन।
त्यसपछि हामीले संक्रामक फोहोरको व्यवस्थापन गरिरहेका अस्पतालहरुमा नै व्यवस्थापन गर्न सकिन्छ भनेर छलफल अगाडि बढायौँ। सो क्रममा उपत्यकाका तीन वटा अस्पतालमा त्यसलाई व्यवस्थापन गर्न सक्ने प्लान्ट रहेको जानकारी पायौँ। त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज र किड्नी सेन्टरमा यस्तो प्लान्ट रहेछ। हामीले ती तीन वटै अस्पतालका निर्देशकसँग कुरा गरेर प्रक्रिया अगाडि बढायौँ।
त्यतिबेला पिपिई लगायका कुराको पनि अभाव थियो। अस्पतालहरुले एक सय वटा बाल्टिनमा भएका सबै फोहोर व्यवस्थापन गर्नसक्ने प्लान्ट नभएको जानकारी दिए। उनीहरुको क्षमताका आधारमा हामीले सुरक्षाका सामग्री उपलब्ध गराएर झन्डै ७ दिनमा बल्ल ती फोहोरको व्यवस्थापन गर्न सफल भयौँ। दिउँसो फोहोर लगेर व्यवस्थापन गर्दा हल्ला हुने र मानिसहरुले विरोध गर्नसक्ने भएपछि हामीले तीन वटै प्लान्टमा साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म फोहोर निसंक्रमण गर्दै व्यवस्थापन गर्ने काम गरेका थियौँ। त्यति बेला तीन दिनसम्म उक्त फोहोर एयरपोर्टमा नै राख्नु परेको थियो। त्यसपछि अस्पतालका प्लान्टमा लगेर वैज्ञानिक ढंगले व्यवस्थापन गरेका हौँ।
(डोटेलसँगको कुराकानीमा आधारित)