हालसालै सार्वजनिक भएको कक्षा १२ को परिणामबाट उत्तीर्ण भएका अधिकतम विद्यार्थी तथा तिनीहरुका अभिभावक मेडिकल शिक्षाको यथार्थ, समस्या अनि चुनौतीको बारेमा राम्ररी नबुझिकनै एमबिबिएस जस्तो जटिल कोर्षको यात्रामा होमिएको अवस्था छ।
अब विस्तारै त्यस्ता वर्गका भीडहरु मेडिकल प्रवेश परीक्षाको कोचिङ गराउने संस्थाको अगाडि देखिन थाल्ने छन्। किनकी, अहिले पनि समाजमा विज्ञान संकाय अनि विशेषगरी बायोलोजी लिएर प्लस टु पढेपछि डाक्टर नै बन्नुपर्छ भन्ने होडबाजी र रहर-लहर यथावत नै छ।
यस्तो अवस्थामा दुई प्रमुख प्रश्नको बारेमा चर्चा गर्दै डाक्टर बन्न चाहना राख्नेहरु राम्ररी कुरा बुझेर मात्र एमबिबिएस कोर्षको तयारीमा लागून् भन्ने यो लेखको प्रमुख उद्देश्य रहेको छ। यस्ता छन् यी दुई प्रश्न- आखिर डाक्टर बनेर के हुन्छ? र कस्ता विद्यार्थीले एमबिबिएस कोर्स पढ्दा राम्रो हुन्छ?
डाक्टर बन्ने र बनाउने लक्ष्यको पछाडि केही निहित उद्देश्य छन्। पहिलो, समाजमा डाक्टर (चिकित्सक)ले पाउने मानसम्मान नै हो। दोस्रो, राम्रो चिकित्सकको नेपालमै आकर्षक आम्दानी अनि समाजिक सुरक्षा छ भन्ने धारणा। तेस्रो, सन्तान डाक्टर बनाउनुमा आफ्नो सामाजिक सान ठान्ने अभिभावकको प्रवृत्ति। चौथो कारण कसैकसैको साँच्चिकै समाजको स्वास्थ्य क्षेत्रमा योगदान दिने चाहना।
पाचौँ, जसले पारामेडिकल लगायतको यससँग विभिन्न सम्बन्धित कोर्ष नै पढेर करिअर सुरु गरे, तर अब डाक्टर बन्न चाहन्छन्। छैटौं अनि प्रमुख कारण भनेको एमबिबिएस पढ्नुको यथार्थ चुनौतीको बारेमा ज्ञात नहुनु अनि यस विषय बाहेक अरु विषयको सम्भावनाको बारेमा उचित ज्ञान-ध्यान नपुग्नु।
चिकित्सकले समाजमा इज्जत पाउने, राम्रो कमाउने अनि सामाजिक सुरक्षा पाउने गरेको कुरालाई केलाउँदा ठूलो प्रश्न उठ्छ, आखिर समाजमा इज्जत कसले कसलाई र केको आधारमा दिने?
अहिले समाजमा धेरैजसोका परिवार वा नातेदारमा चिकित्सक भइसकेका वा बन्दै गरेका छन्। बाँकीमा कसरी सन्तानलाई डाक्टर बनाउने भन्ने लहर देखिन्छ। जुन कुरा धेरै मात्रा र संख्यामा हुन्छन्, त्यस्ता वस्तु-व्यक्तिको मूल्य र इज्जत समाजमा घटनु स्वभाभिक नै हुन्छ।
साथै दिनदिनै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि अस्पतालमै कुटपिट हुलहुज्जत भएका घटना घटिरहेका छन्। त्यस्ता समाचार आइरहँदा डाक्टरको लगानी, त्याग-मिहिनेतको कदर र सम्मान कता पुग्छ? त्यसबारेमा पनि एकछिन सोच्नु जरुरी छ।
सामजिक सुरक्षा र इज्जतको कुरा गर्नु पर्दा कोरोनाकालमा चिकित्सक र स्वास्थ्यकर्मीप्रति गरिएको सामाजिक अपहेलना, दुर्ब्यवभार अनि सरकारको तर्फबाट गरिएका व्यवस्थाहरु केलाउँदा यथार्थको चित्रण राम्ररी हुनेछ।
अहिले पनि कोरोनाकालमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता र तलब-सुविधाहरु नपाएर आन्दोलनमा उत्रिनु पर्ने बाध्यात्मक अवस्था छ। हजारौं चिकित्सकहरु अहिले पनि एमडी पोस्ट-ग्र्याजुएटको उचित अवसर नपाएर अनि अस्पतालमा काम गर्दा उचित तलब-सुविधा नपाएर एमबिबिएस किन पढें भनेर पछुताउँदै जीवनयापनका लागि संघर्ष गर्दै छन्।
१२ वर्षभन्दा बढीको वनवासको रूपमा डाक्टरको मेडिकल करिअरलाई सजिलै चित्रण गर्न सकिन्छ। प्लस टु पास गरेपछिको २ वर्षको प्रवेश परीक्षाको तयारीपछि कम्तीमा ६ वर्ष जति लाग्ने एमबिबिएसको पढाइ। त्यसपछि कम्तीमा २ वर्षको एमडीको तयारी अनि त्यसपछिको ३ वर्षको एमडीको पढाइ गर्दागर्दै १२-१३ वर्ष कम्तीमा लाग्ने देखिन्छ।
एमबिबिएस पास गरेपछिको अर्को समस्या भनेको उचित सोच-विचार र तयारीबिना एमबिबिएस पढेकालाई अहिलेको स्पेसिअलाइजेसनको जमानामा एमडी गर्नैपर्ने बाध्यात्मक अवस्था हो । छात्रवृत्तिमा एमबिबिएस पढेको भए त ठिकै छ नत्र नेपालजस्तो देशको मध्यमवर्गीय परिवारले आफ्नो सम्पूर्ण सामर्थ्य, धन-जमिन त यही लेभलमै लगानी गरिसकेको हुन्छ।
उसलाई जसरी पनि एमडी पढ्नैपर्ने दबाब, चुनौती र बाध्यता आइपर्छ। त्यसमाथि एमडीको सिट थोरै हुने र विभिन्न सीमित संख्याका सरकारी चिकित्सकलाई ४० प्रतिशतसम्म आरक्षण अनि प्राथमिकता हुनुले झन् मेडिकल करिअर कष्टपूर्ण बन्दै जान्छ।
करोडको लगानी लगाएर, आफ्नो ऊर्जाशील जवानी पढाइ र परीक्षामा बिताएकाहरुसँग हामीले सेवाभावको आशा कसरी गर्ने? स्वास्थ्य सेवा हो तर यसका लागि लगाएको लगानीको प्रतिफल जो कसैले अवश्य खोज्छ।
पैसा कमाउने मुख्य उद्देश्य लिएर यो एमबिबिएसको तपस्या क्षेत्रमा आउन लागेको महत्वाकांक्षी विद्यार्थीले लाखौं–लाखको लगानी कहिले र कसरी उठाउने? लाखौँको ऋणमा डुबेको एउटा चिकित्सकले सेवामुखी, समाजसेवी र आदर्शवान बन्दा आफ्नो गुजारा कसरी चलाउने? सिधै सोध्न मन लाग्छ, मेडिकल माफियाहरुले धेरै चिकित्सकरूपी ब्यापारी र मानव अंगको तस्कर तयार पार्न त खोजिरहेका त छैनन्?
आफूसँगै स्कुल पढेका साथीहरु अरु नै क्षेत्रतिर लागेर जागिर समेत गरिसक्दा मेडिकल विद्यार्थीहरु पढाइमा घोटिएका हुन्छन्। साथीहरुको जीवन रमाइलोतर्फ उन्मुख भएको देख्दा मेडिकल विद्यार्थीमा झन् ठूलो डाहा, चिन्ता, निराशा र आत्मविश्वासमा ह्रास आएको देखिन्छ।
लाखौँ लगानी गरेर एमबिबिएस कोर्स पास गर्दा पनि उनीहरुको सपना पूरा हुँदैन। किनभने अहिलेको अवस्थामा यो डाक्टर लेख्न मात्रै काफी छ, बन्न होइन।
उचित निरीक्षण र नीति–नियमको अभावका कारण एमबिबिएसले पारामेडिकलहरुसँग नोकरी र इज्जतका लागि कम्पिटिसन गर्नुपरेको यथार्थ छ। यस्तो प्रवृत्तिलाई बढावा दिने काम अस्पताल र मेडिकल क्षेत्रमा पाइन्छ।
मेडिकल काउन्सिलको अनुगमनको बेला विभिन्न ढाकछोप गर्दै, प्रलोभन दिएर, लेनदेन गरेर, फर्जी बिरामी र भाडामा ल्याएका शिक्षक देखाउँदै अनुबन्धन लिएका मेडिकल कलेजले गुणस्तर र क्षमतावान चिकित्सक उत्पादन गरिरहेका कुरामा कति विश्वस्त हुन सकिन्छ?
कलेजका सेयरधनीहरु बीचको आपसी कलह र आर्थिक संकटका कारणले नेपालका विभिन्न कलेजमा विगतमा पठनपाठन अवरुद्ध भएको दुखद अवस्था छ। अनि कतिपय मेडिकल कलेजले एमबिबिएसका विद्यार्थीसँग भर्ना गर्ने बेलामा भनिएको भन्दा बढी पैसा असुल्ने गरेको अनि मानसिक आर्थिक तनाव दिने तथा परीक्षामा बस्न नदिने कुरा सार्वजनिक नै छ।
बिरामीसँगको सहकार्यमा सिक्नुपर्ने परीक्षण गर्ने कला, मेडिकल किताबहरु पढी मानव शरीरको रहस्य पत्ता लागाउने र ज्ञानआर्जन गर्नुपर्ने समयमा काठमाडौँमा आएर विभिन्न निकायहरुमा धाउनु परेको अथवा आन्दोलन गर्नुपरेको दुखद समाचार यथार्थ सबैलाई अवगत नै होला।
यसकारण पनि अभिभावकहरुले सन्तानलाई डाक्टर पढाउनुअघि मेडिकल कलेजका बारेमा आउने गरेका समाचार राम्ररी बुझ्न र केलाउन जरुरी देखिन्छ।
एमबिबिएसप्रति आम मानिसको झुकावलाई देखेर फाइदामुखी डिपार्टमेन्टल स्टोर जस्तै गरी मेडिकल कलेज खोल्नेहरुको बाहुल्यता छ।
जसले न दक्ष जनशक्ति उत्पादन गर्न चाहन्छन्, न स्वास्थ्यमा योगदान गर्न चाहन्छन्।
कमाउने एउटा धन्दाका रुपमा लिनेहरुका कारण धेरैको सपना र लगानी डुबिरहेको छ। संख्याको आधारमा एमबिबिएसमा भर्ना लिने गरेको देखिन्छ।
छात्रवृत्तिको सिट भन्दा ६–७ गुणा बढी डोनेसनको आधारमा भर्ना लिँदा मध्यमवर्गीय परिवार घरबार बेचेर डाक्टर बनाउन लालयित छन्। औसत क्षमता भएको विद्यार्थी पनि यो क्षेत्रमा लहलहै र जोसमै प्रवेश गरेको देखिन्छ।
यो लेखको उद्देश्य जनमानसमा एमबिबिएस कोर्षप्रति वितृष्णा जगाउने वा हतोत्साहित गर्नु होइन। यथार्थमा मेडिकल क्षेत्रमा अवसर र चिकित्सकलाई सम्मान यथावतै छ। हजारौँ बिरामीको अनुपातमा एउटा डाक्टर पुर्याउन अझै धेरै चिकित्सक आवश्यक पनि छन्।
केन्द्रको अस्पतालमा मात्र बस्ने, गाउँ र बिकट क्षेत्रमा सेवा दिन जान हिच्किचाउने प्रवृत्तिमा सुधार ल्याउनु जरूरी छ। सरकारी तथा प्राइभेट जागिरमा तलब र सुविधामा पुनर्विचार गरी उचित मूल्यांकन गर्नुपर्ने देखिन्छ।
डा गोविन्द केसीको विभिन्न चरणको सत्याग्रह अनि आन्दोलनको फलस्वरुप चिकित्सा क्षेत्रमा धेरै सुधार आए पनि अझै धेरै परिवर्त आवश्यक देखिन्छ। छात्रवृत्तिको सिट वृद्धिदेखि मेडिकल कलेजमा पढाउन लाग्ने खर्च र गुणस्तरमा एकरूपता ल्याउन जरूरी देखिन्छ।
विभिन्न समयमा स्वास्थ्यकर्मीले उठाउँदै आएको मुद्दा 'जेल विदाउट बैल' को लागि उचित नियम-कानुन यथाशीघ्र ल्याउन सकेमा मात्र चिकित्सक अनि स्वास्थ्यकर्मीहरुले सुरक्षित र निर्भिक भएर स्वास्थ्य सेवा दिन सक्छन्।
भीडतन्त्रको बलमा गरिने दुर्व्यवहार रोकिन जान्छ अनि थप नयाँ जनशक्ति यो मेडिकल पेसाप्रति आकर्षित अनि प्रोत्साहित हुन सक्छन्।