'डाक्टरहरुले सरकारी अस्पतालमा बिरामी राम्रोसँग हेर्दैनन् तर निजी क्लिनिकमा तिनै डाक्टरले बिरामीलाई राम्रो उपचार गर्छन्। चार बज्यो कि डाक्टरहरुलाई क्लिनिक जानको हतारो हुन्छ।'
हाम्रो देशमा धेरै सुनिने गुनासो हो यो। केही हदसम्म कुरा सत्य पनि हो। अनिष्ट सत्य! स्वास्थ्य क्षेत्रमा सेवा घट्दो र व्यावसायीकरण बढ्दो छ। यो कुरा पनि सत्य हो। दुर्भाग्यपूर्ण सत्य! स्वास्थ्य सेवा दिने नाममा निजी क्लिनिक र निजी अस्पतालहरु मानिसलाई लुटिरहेका छन् भन्ने धेरैको सोच छ। यो पनि केही हदसम्म सत्य नै हो। बडेमानका भवन सहितका उपत्यका बाहिरका केही सरकारी अस्पतालहरु बिरामी रिफर गर्ने केन्द्र जस्ता मात्र बनेका छन्। अर्को सत्य।
मानिसहरुले बुझेका यी र यस्तै तमाम सत्यकाबीच एउटा भ्रम छ, जसले निर्दोष स्वास्थ्यकर्मीहरुमाथि प्रहार मात्र गरेको छैन, उनीहरुको कामप्रतिको लगावलाई क्षीण पार्दै समग्र स्वास्थ्य क्षेत्रलाई धरासायी बनाउँदै छ। त्यो भ्रम यो हो कि, आम मानिसका नजरमा यो प्रतिकुलताका पछाडि कोही दोषी छ भने त्यो डाक्टर लगायतका स्वास्थ्यकर्मी नै हुन्।
यो धारणा समाजमा कसले, कसरी स्थापित गर्यो त्यो म भन्न सक्दिनँ तर आम मानिसको नजरमा स्वास्थ्य क्षेत्रका विकृति डाक्टरहरुको पैसामोहको उपज हो भन्ने भ्रम पूर्ण रुपमा विकसित छ।
कागजको खोस्टामा उतारेर सत्यता छर्लङ्ग पारी समाजको सोच बदल्ने मेरो अभिप्राय होइन। त्यो गर्नु मेरो वशको विषय पनि होइन किनकी यो देशमा मानिसले पत्याउन कि त कुनै पार्टीको खोल ओडेर भाषणबाजी गर्ने नेता हुनुपर्छ, कि त क्यामेरा बोकेर सनसनीपूर्ण खबर बनाउने पत्रकार। दुर्भाग्य, म यीमध्ये कुनै होइन। मेरो अभिलाषा केवल सही र गलत छुट्याउन सामर्थ्य राख्ने केही साथीहरुले अर्को पल्ट सामाजिक सञ्जालमा कोही स्वास्थ्यकर्मीको आचरणबारे फैसला सुनाउनुअघि एकपल्ट त्यो व्यक्तिको स्थानमा आफूलाई राखेर हेर्नुभयो भने त्यसैलाई मैले यो लेखको प्रभाव सम्झिने छु।
नेपालको स्वास्थ्य क्षेत्रमा डाक्टरको स्थान कहाँ छ?
अधिकांश डाक्टर योग्यता भएका तर सीमित स्रोत-साधन र अधिकारले थिचिएका कर्मचारी मात्र हुन्। दिशाविहीन नीति तथा कार्यक्रम ल्याउने सरकार र व्यवसायमुखी लगानीकर्ताको लात्ताले हिर्काइने भकुण्डो बनेका छन् धेरै स्वास्थ्यकर्मीहरु। नेपाली जनताको औसत आम्दानीभन्दा बढी कमाउने तर लागत र प्रतिफलको मापन गर्दा अत्यन्तै पिछडिएको क्षेत्र हो। अझ संघीयतापछि त स्थानीय स्तरका योग्यताविहीन तथा स्वास्थ्य क्षेत्रको विषयमा अनविज्ञ सरकारका राजनीतिक सैनिकहरुको हस्तक्षेपमा आत्मसम्मानलाई तिलाञ्जली दिएर रोगको र लोकको भयबीच कामकाज गर्नुपर्ने भएको छ।
किन धाउँछन् डाक्टरहरु निजी क्लिनिक?
यसलाई यसरी हेरौं। हामी डाक्टरहरुलाई सरकारी अस्पतालमा नै सन्तुष्ट राख्न किन सकिराखेका छैनौं? एक जना डाक्टरले सरकारी अस्पतालमै पर्याप्त दु:ख पाइसकेको हुन्छ तथापि निजी क्लिनिक धाउनु अधिकांश डाक्टरको बाध्यता हो। आरक्षणले आधा निलिसकेका सीमित सिटका कारण योग्यता भएका पनि सबै डाक्टर बन्ने आकांक्षा राख्नेहरु छात्रवृत्तिमा पढ्न पाउँदैनन्। करिब पचास लाख खर्च गरेर निजी मेडिकल कलेजबाट एमबिबिएस सकाएपछि तिनै मेडिकल कलेजहरुले मासिक २५-३० हजारसम्ममा पनि काममा लगाउँछन्। सरकारी क्षेत्रमा प्रवेश गर्न लोक सेवा आयोग नखुल्ने र प्रवेशपछि पनि यदि सरकारी अस्पतालमा मात्र काम गर्ने हो भने सरकारले दिने तलबले पढाइ खर्च उठाउन नै झन्डै ९ वर्ष लाग्छ।
म आफैं केही महिनाअघि सरकारी अस्पतालमा कार्यरत रहँदारहँदै कोभिड-१९ बाट सङ्क्रमित भई आइसियु बस्नुपर्ने अवस्था आयो। उपचारार्थ मैले करिब रु. आठ लाख खर्च गर्नुपर्यो। सरकारले दिने ४० हजार मासिकको तलबले मलाई मेरो बिरामी खर्च उठाउन २० महिना (आधारभूत आवश्यकतामा समेत पैसा खर्च नगरेर, जुन असम्भव छ) लाग्छ। म त एउटा प्रतिनिधि पात्र मात्र हुँ । म जस्ता कति स्वास्थ्यकर्मी छन् जसलाई सरकारले न त उपचार गरिदिन्छ न त जोखिम भत्ता नियमानुसार उपलब्ध गराउँछ।
हुन त म कुनै निजी क्लिनिकमा कार्यरत छैन तर पनि तपाईंहरु आफैं भन्नुहोस् मेरो जस्तै समस्याबाट पीडित बिरामी खर्चको ऋण बोकेको डाक्टरले निजी क्लिनिकमा काम नगरी कसरी चल्छ? सरकारी अस्पतालमै काम गरेर गुणस्तरीय जीवन बाँच्न सकिन्छ भने अतिरिक्त दु:ख गर्ने मन कसलाई हुन्छ? पहुँचमा भएका मानिसले घरमै बसीबसी भत्ता खाने तर कोभिड-१९ को माहामारीमा ज्यान फालेर लाग्ने हेरेको हेर्यै हुने भएपछि बिरामीप्रतिको कर्तव्यबोध कसरी हुन्छ? तपाईहरुमध्ये कतिले भन्न सक्नुहुन्छ- जागिर खाने बेला सर्त मञ्जुर भएपछि काम पनि त गर्नुपर्यो नि। त्यसो हो भने परिवर्तन र विकास भनेको के हो त? स्वास्थ्य क्षेत्रमा परिवर्तन जरुरी छ।
किन सरकारी अस्पतालको गुणस्तर वृद्धि सुस्त छ?
नीति-नियम र विकासको बागडोर सम्हालेकाहरु आफ्नो र आफ्नो परिवारको उपचारको लागि विदेश धाएको त सुन्नुभएकै होला। उनीहरुको स्वास्थ्य सुरक्षित छ र आम मानिसको स्वास्थ्यको मतलब छैन। सरकारी अस्पतालहरुमा पूर्वाधार विकासको काम राज्यको हो। बिरामीको चाप अनुसार डाक्टरहरुको उचित व्यवस्थापन हुन सकेको छैन। बिरामीको अत्यधिक चापलाई सीमित डाक्टरहरुले निश्चित समयभित्र हेरेर सकिसक्नुपर्ने हुन्छ किनकी निजी क्लिनिक धाउनुपर्ने बाध्यता सरकारले सिर्जना गरिदिएको छ। अनि कसरी बिरामीलाई समय दिएर हेर्न सकिन्छ?
करोडौं खर्च गरेर आफूलाई जतिबेला मन लाग्यो उतिबेला चुनाव घोषणा गर्ने तर लोकसेवा आयोग खुलाउन चाहिँ नसक्ने गैरजिम्मेवार सरकारको उपजले नेपालका सरकारी अस्पतालहरुमा काम गर्ने अधिकांश डाक्टरहरु नेपाल सरकारको छात्रवृत्तिको दुई वर्षको करारमा नियुक्त डाक्टरहरु छन् जसलाई स्नातकोत्तरको छात्रवृत्तिमा सीमित सिट तथा निजी मेडिकल कलेजहरुको महँगो शुल्कका कारण पढाइको दबाब हुन्छ नै। त्यसैले अधिकांश डाक्टरलाई थप सेवा विस्तारमा अल्झिनुभन्दा आफ्नो समयको सदुपयोग गर्ने, जाने भन्ने सोचाइ आउँछ ,जुन स्वभाविक हो।
नेपालमा अस्पतालको पूर्वाधार विकास भइरहेको भनेको नयाँ भवन निर्माण मात्र हो। सेवा प्रदायक तथा उपकरणमा लगानी नगर्ने, १५ शय्या, ५० शय्या, १०० शय्यामा स्तरोन्नति भन्दै भवन बनाउने। अहिले गाउँगाउँमा अस्पतालका नयाँ भवनहरु बन्दै छन्। अनि ती भवनहरुले प्रदान गर्ने सेवा भने ज्यूँका त्यूँ छ। हुन त कुरा ठिकै पनि हो। भ्रष्टाचारको सबैभन्दा सजिलो बाटो न पर्यो। भवन निर्माण आवश्यक हो तर कर्मचारीको व्यवस्थापन र सेवा विस्तार अत्यावश्यक हो।
समाधान के त?
१. तहतहमा समस्या छन्। पहिलो कुरा त स्वास्थ्य सम्बन्धी नीति-नियम बनाउने स्थानमा दक्ष नागरिक हुनुपर्छ, जसलाई स्वास्थ्य क्षेत्रका समस्या र त्यसको सम्बोधन प्रक्रियाको ज्ञान र चासो होस्।
२. अस्पतालहरुमा राजनीतिक हस्तक्षेप बन्द हुनुपर्छ। अहिले अधिकांश अस्पतालहरु स्थानीय स्तरका छोटे महाराजहरुको हस्तक्षेपको शिकार भइरहेका छन्। अस्पतालका कर्मचारी नियुक्ति तथा अन्य विकासमा आफू र आफ्ना आसेपासेको लागि हुने हस्तक्षेप पूर्ण रुपमा बन्द हुनुपर्छ।
३. स्वास्थ्यकर्मीहरुको श्रम शोषण बन्द गरी वैज्ञानिक तवरले पारिश्रमिक निर्धारण गर्ने।
४. अस्पतालहरुमा भौतिक संरचनाका अतिरिक्त सेवा विस्तारको लागि चाहिने जनशक्ति तथा उपकरणको व्यवस्था गर्ने।
५. स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गर्ने।
६. अस्पतालहरुले दिने सेवाको दक्ष टोलीद्वारा नियमन गर्ने र अस्पतालमा कुनै किसिमको लापरबाही (उचित छानविनपश्चात्) भएको पाइएमा कारबाही गर्ने।
७. स्वास्थ्यकर्मीले बिरामीप्रतिको जिम्मेवारीलाई अझै गहन रुपले लिएर उनीहरुको सेवामा गम्भीर हुने र बिरामी तथा तिनका आफन्तहरुले अस्पताल तथा स्वास्थ्यकर्मीको महत्व बुझेर उचित सेवा प्रदान गर्न सहयोग गर्नुपर्छ।
अन्त्यमा, हामी धनी नेताबाट शासित गरिब देशका गरिब (अधिकांश) र राजनीतिको पट्टीले आँखा छोपेका नागरिक हौं। हामी अस्पतालमा गएर यो भएन, त्यो भएन भनेर स्वास्थ्यकर्मीसँग झगडा गर्छौं तर पचास लाखमा पौवाको छाप्रो बनाइदिने नेताको पछि लागेर ताली पिट्दै हिँड्छौं। अस्पतालहरुमा राजनीतिक हस्तक्षेप, तोडफोड तथा विकासमा बिलम्व हुँदा घाटा हुने भनेको सर्वसाधारणलाई नै हो।
अब अर्को पटक ताली पिट्दै हिँड्ने क्रममा नेतासँग सोध्न नबिर्सनु होला- नेताज्यू , स्वास्थ्य क्षेत्रको विकासका लागि के गर्दै हुनुहुन्छ?