नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान गत माघ १४ गतेदेखि सुरु भयो। फागुन १९ देखि २१ गतेसम्म संघीय संसदका सांसद तथा मन्त्रीहरुलाई निजामती अस्पतालमा खोप लगाइँदै छ। फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप लगाउने सरकारको तयारी छ। सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान संचालन कसरी गरिरहेको छ? पहिलो चरणको खोप अभिायन कति सफल भयो? नेपालमा खोपको उपलब्धता कस्तो छ लगायतका विषयमा कोभिड–१९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डाक्टर श्यामराज उप्रेतीसँग स्वास्थ्यखबरकी रिता लम्सालले गरेको कुराकानी :
पहिलो चरणको कोरोना खोप अभियान कतिको सफल भयो? पहिलो प्राथमिकतामा परेका कतिले खोप लगाए?
हामीले छोटो समयमा नै कोरोनाविरुद्धको खोप अभियान सुरु ग¥यौँ। पहिलो चरणमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यसंस्थामा काम गर्ने सरसफाइकर्मी, कोरोना संक्रमणले बिरामी परेर मृत्यु भएकाको शव व्यवस्थापना खटिएका व्यक्ति सहित करिव ५ लाख व्यक्तिलाई खोप लगाउने लक्ष्य राखेका थियौँ। त्यसमा करिव ४ लाख ४० हजार व्यक्तिलाई खोप दिन सफल भयौँ। हामीले लक्ष्य राखेकोमध्ये ८५ प्रतिशत खोप दिन सफल भयौँ। त्यो ८५ प्रतिशतको उपलब्धि भनेको राम्रो उपलब्धि हो।
पहिलो चरणमा खोप लगाएका व्यक्तिहरुमा अवाञ्छित घटनाहरु भए कि भएनन्?
यो नयाँ खोप हो। नेपालमा पहिलो पटक सुरु गरिएको थियो। विश्वमा पनि नयाँ नै खोप थियो। नयाँ खोप लगाएपछि के हुन्छ? कस्तो हुन्छ? भन्ने सवालमा स्वास्थ्यकर्मीमा पनि कौतुहलता थियो। कतिले त अरुले लगाएपछि मात्र पछि लगाउँछु भन्ने पनि सोचे। तर, हामीले करिब साढे ४ लाख व्यक्तिलाई खोप दिँदा कुनै पनि व्यक्तिलाई खोपको कारणले कुनै सिकिस्त वा गम्भीर बिरामी पर्ने खालको असर देखिएन। खोप लगाएपछि जसलाई असर देखियो, त्यो सामान्य असरहरु अर्थात खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, कसैलाई वाकवाक लाग्ने, कसैलाई फ्लुको लक्षण जस्तो शरीर दुख्ने समस्या मात्र भयो। यी असरहरु सामान्य असर हुन्। कोरोनाको खोपमा मात्र होइन अन्य कुनै पनि खोप लगाउँदा यस्ता सामान्य असर देखिन्छन्। यो भनेको खोपले काम गरेको छ भन्ने संकेत पनि हो। त्यसकारण पहिलो चरणको खोप अभियानले जनमानसमा खोपप्रतिको विश्वास बढाएको छ। यो सुरक्षित छ, यसले कुनै पनि सिकिस्त असर गर्दैन भन्ने संदेश लिएर खोप लगाउन आत्मबल बढाइदिएको छ।
खोपको पहिलो डोज पाइसकेकाहरुले अब दोस्रो डोज कहिले पाउँछन्?
विश्व स्वास्थ्य संगठनले फेब्रुअरी १० मा पहिलो डोजको खोप लगाएपछि ८ देखि १२ हप्तामा दोस्रो डोजको खोप लगाउँन सिफारिस गरेको छ। हामीले अहिले त्यही आधारमा कोभिसिल्ड खोपको पहिला मात्रा लगाएकाको हकमा ८ देखि १२ हप्तापछि नै खोप लगाउने तयारी गरेका छौं। नेपालको खोप सल्लाहकार समितिले पनि पहिलो मात्रा लगाएको ८ हप्ता पुरा भइसकेपछि १२ हस्ताभित्र लगाउन सिफारिस गरिसकेको छ। त्यही अनुसार वैशाखामा दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुन्छ।
यो खोपले कति समयपछि काम गर्न सुरु गर्छ? कति समयसम्मलाई काम गर्छ?
यो नयाँ खोप भएकाले यसको विभिन्न चरणमा परीक्षणहरु भइरहेको छ। अहिलेसम्म भएको परीक्षणहरुले के देखाएको छ भने, पहिलो मात्रा लगाएपछि २२ दिनमा यसले काम गर्छ। यो नयाँ भ्याक्सिन भएकाले यसको ९० दिनसम्मको अध्ययन मात्र भएको छ। त्यो समयसम्म काम गरिरहेको पाइएको छ। तर, अब कति लामो समयसम्म काम गर्छ, २, ४ वा ५ वर्ष भन्ने कुरा चाँही आउने दिनमा थप अनुसन्धान हुँदै गएपछि मात्र भन्न सकिन्छ। कति समयसम्मलाई प्रभावकारी छ भन्न अहिले नै सकिने अवस्था भने छैन।
फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेकालाई खोप दिने भनिएको छ। दोस्रो प्राथमिकतामा खोप पाउनेको संख्या कति छन्? खोप अभियान कसरी संचालन हुँदैछ?
अहिले नेपाल सरकारले कोभिड खोपको दोस्रो चरणको अभियानको घोषणा गरिसकेको अवस्था छ। आगामी फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान सुरु हुन्छ। यसमा लक्षित समुहमा ५५ वर्ष माथिका सबैलाई खोप लगाइँदै छ। यो उमेरका करिब ३७ लाख जनसंख्या छन्। त्यसैले अब ३७ लाख नागरिकलाई खोप लगाउने लक्ष्यका साथ दोस्रो अभियान सुरु हुँदैछ।
दोस्रो प्राथमिकताको खोप अभियानका लागि कतिवटा खोप भण्डारण केन्द्रमा खोप राखिएको छ? खोपको तापक्रम व्यवस्थापन तथा ढुवानी कसरी हुन्छ?
पहिलो चरणमा हामीले धेरैजस्तो जिल्ला अस्पताल र सिमित ठाउँमा मात्र खोप कार्यक्रम संचालन गरेका थियौँ। अहिले वृद्धहरुलाई पनि खोप दिनपर्ने भएकाले खोप केन्द्रको संख्या बढ्छ। यो कसरी बढ्छ भने, प्रत्येक जिल्लामा नियमित खोप कार्यक्रमका लागि खोप केन्द्रहरु छन्। प्रत्येक गाउँमा स्वास्थ्यसंस्था पनि छ। अहिले हामीले स्थानीय परिवेशमा जनसंख्या र भौगोलिक दुरी हेरेर कति ठाउँमा खोप केन्द्र राख्नुपर्छ?सोही अनुसार स्वास्थ्यसंस्थामा खोप केन्द्र संचालन गर्नु भनिएको छ। म के भन्न सक्छु भने स्थानीय परिवेश र जनसंख्याको आधारमा स्थानीय तहमा नै सुक्ष्म योजना हुन्छ। त्यो योजनाको आधारमा कतिवटा खोप केन्द्र राख्ने? कतिदिनसम्म खोप कार्यक्रम संचालन गर्ने भन्ने योजना बनिसकेको छ। यो काम स्थानीय तहले नै गरेको छन्। यो पटक पहिलो चरणको अभियान भन्दा धेरै खोप केन्द्र हुन्छ र पहुँच पनि धेरैको हुन्छ। हामीले के अनुमान गरेका छौं भने साविकका प्रत्येक गाविसमा हाम्रो स्वास्थ्य संस्था छ। हामीले के भनेका छौं भने कम्तिमा प्रत्येक स्वास्थ्यसंस्थामा जाऔँ। यसरी करिव ४ हजार स्वास्थ्य संस्था हुने भए। ती ४ हजार स्वास्थ्य संस्थाबाट खोप अभियान संचालन हुन्छ। त्यसमा पनि भौगोलिक कारणले खोप प्राप्त गर्ने जनसंख्या छुटेमा स्थानीय तहले बाह्य खोप केन्द्र बनाएर एकदिनमा स्वास्थ्यकर्मी पुगेर खोप लगाएर फर्किनेछन्। त्यो सबै व्यवस्थापन स्थानीय तहमै हुन्छ र कति दिनसम्म खोप अभियान चल्छ भनेर स्थानीय तहले नै निर्धारण गर्न सक्छन्। तर पहिलेको तुलनामा यो पटक खोप केन्द्र धेरै हुन्छन्। वृद्धवृद्धाहरुलाई पहुँच पुग्ने गरी अभियान संचालन हुन्छन्।
दोस्रो प्राथमिकतामा परेकालाई खोप लगाउने जनशक्ति कति छन्?
हामीसँग साविकका प्रत्येक गाविसहरुमा दुईजना खोप लगाउने स्वास्थ्यकर्मी अझै पनि छन्। त्यसकारण ८ हजार तालिम प्राप्त जनशक्ति विगतदेखि नै खोप अभियानमा सरिक भएका दक्ष जनशक्तिहरु ग्रामिण क्षेत्रमै कार्यरत छन्। त्यसमाथि प्रत्येक स्वास्थ्य संस्थामा तीनदेखि ५ जना स्वास्थ्यकर्मी हुन्छन्। त्यसैले दोस्रो चरणको खोप अभियानमा कम्तिमा पनि ८ हजार स्वास्थ्यकर्मी परिचालन हुन्छन्।
अब खोप लगाउनेहरु ५५ वर्ष माथिका छन्। खोप लगाउँदा त्यसको सामन्य तथा जटिल खालका नकारात्मक असर पनि देखिने सम्भावना अझै बढी होला? कस्ता समस्या देखिनु सामान्य हो र कस्तो समस्यालाई जटिल मान्ने?
यो कोेभिड–१९ विरुद्धको खोप लगाएपछि धेरैजस्तो व्यक्तिलाई सामान्य असर हुन्छ। हामीले के देखेका छौँ भने करिब आधा भन्दा बढी व्यक्तिलाई खोप लगाएको ठाउँमा दुख्ने, कसैलाई ज्वरो आउने, वाकवाकी लाग्ने, शरीर दुख्ने समस्या हुन्छ।यो समान्य असर हो।यस्तो असर देखिन्छ र आफै हराएर जान्छ।
तर, कसैकसैलाई भने खोपको गम्भीर असर देखिने सम्भावना हुन्छ। यो असर कोभिड विरुद्धको खोप लगाउँदा मात्र होइन नियमित खोप कार्यक्रममा पनि कसै नै कसैलाई गम्भीर एलर्जी हुनसक्छ। त्यसलाई हामी एनाफेलासिस भन्छौँ। यो कोभिसिल्ड खोपको हकमा पनि केही व्यक्तिमा यो समस्या हुने सम्भावना रहन्छ। यो समस्या करिब १० लाख मात्रा दिँदा एक जनामा हुन्छ भनिएको छ। तर, नियमित खोपमा पनि हामीले धेरै खोपहरु दिएका छौं। यस्तो घटना देखिएको छैन। यस्तो घटना बिरलै हुन्छ। तर, यस्तो घटना भइहाल्यो भने तुरुन्त उपचार गर्ने संयन्त्र बनाएका छौँ। कसरी बनाएका छौं भने खोप लगाउनु अघि नै कुनै एलर्जीको समस्या छ वा छैन भनेर सोध्छौं, कुनै औषधि, भ्याक्सिनले सिकिस्त बिरामी अर्थात एनाफेलासिस भएको छ भने त्यस्ता व्यक्तिलाई भ्याक्सिन नै दिदैनौं।
खोप लगाएका व्यक्तिमा स्वास्थ्य समस्या देखिएमा उनीहरुको स्वास्थ्य उपचारको जिम्मेवारी कसले लिन्छ? यसको व्यवस्थापनाको तयारी के छ?
यदी खोप लगाइसकेपछि कुनै समस्या देखियो भने औषधि उपचारको तयारी खोप केन्द्रमै हुन्छ। यदी सिकिस्त बिरामी भयो भने कुन संस्थामा पु¥याउने भनेर तोकिएको हुन्छ र यातायातको साधन पनि तयारी अवस्थामै हुन्छ। प्रत्येक खोप केन्द्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई अवाञ्छित घटना भएमा कसरी काम गर्ने भनेर तालिम दिइएको छ। उनीहरुलाई आवश्यक पर्ने औषधि प्रत्येक खोप केन्द्रमा हुन्छ। पहिलो स्टेपमा उनीहरुले नै व्यवस्थापन गर्न सक्षम हुन्छन्। प्रत्येक सेसनमा खोप दिने स्वास्थ्यकर्मीलाई बिरामी सिकिस्त भयो भन्ने लाग्यो भने कसलाई टेलिफोन गर्ने? कहाँ पठाउने योजना नै बनाइसकिएको छ। यो योजना प्रत्येक खोप केन्द्रमा बनाइनु पर्छ। प्रत्येक जिल्लामा कतिवटा स्वास्थ्यसंस्था वा अस्पताल छ? यदी अवाञ्छित घटना भइहाल्यो भने कसरी व्यवस्थापन गर्ने भनेर व्यवस्थापन केन्द्र तोकिएको हुन्छ। त्यहाँका स्वास्थ्यकर्मीको समुह नै बनाइएको हुन्छ। खोप केन्द्रमा केही समस्या भयो भने केन्द्रमा रहने फोकल पर्सनले व्यवस्थापन गर्ने जिम्मेवारी लिएका हुन्छन्। एम्बुलेन्सको व्यवस्थापन पनि गरिएको हुन्छ।
खोप ऐनमा नै भनिएको छ, यदी खोप लगाएपछि कुनै अवाञ्छित घटना भयो, सिकिस्त बिरामी भयो वा मृत्यु भयो भने यस्ता घटना अनुसन्धानको लागि एउटा अवाञ्छित घटना अनुसन्धान समिति छ। यो समितिले त्यस्ता घटनालाई विश्लेषण गरेर यो घटना खोपकै कारणले भएको हो भनेर पुष्टि गरेमा त्यस्ता व्यक्तिलाई क्षतिपुर्तिको व्यवस्थापन गरिने भनिएको छ। तर, त्यो समस्या खोपकै कारणले देखिएको हो भन्ने पुष्टि भएको हुनुपर्छ। खोपबाट हुने असरको उपचार र क्षतिपुर्ति सरकारले नै बेहोर्छ। र खोप कार्यक्रमलाई व्यवस्थित गर्न खोप लगाएका व्यक्तिलाई आधि घण्टा खोप केन्द्रमै राखिन्छ।
खोप दिइसकेपछि व्यक्तिलाई आधि घण्टासम्म खोप केन्दमै किन राखिन्छ?
यो महत्वपूर्ण प्रश्न गर्नुभयो, खोप लगाइसकेपछि कसैकसैलाई सिकिस्त किसिमको एलर्जी हुन्छ। यस्तो घटना अहिलेसम्म मैले पनि देखेको त छैन। तर, त्यो एलर्जी हुने सम्भावना रहन्छ। यस्तो एलर्जी हुने भनेको खोप लगाएको आधि घण्टा भित्रमा हो। आधि घण्टापछि गम्भीर समस्या हुँदैन। त्यसैले खोप लगाएका व्यक्तिहरुलाई कुनै गम्भीर एलर्जी देखिन सक्छ कि भनेर उनीहरुको समयमै उपचार र व्यवस्थापन गर्न खोप लगाएको आधि घण्टा खोप केन्द्रमै राख्ने व्यवस्था गरिएको हो। हामीले विगत ३० औं वर्षदेखि खोप कार्यक्रम संचालन गरिरहेका छौं। यस्तो घटना अहिलेसम्म भएको छैन। तर, वैज्ञानिक अनुसन्धानमा पनि कसैकसैलाई गम्भीर समस्या हुनसक्छ भनिएको हुनाले प्रत्येक खोप केन्द्रमा यसको व्यवस्थापनको तयारी गरिएको हुन्छ।
कोरोनाविरुद्दको खोपका विषयमा आमामानिसमा भ्रम पनि छ। जस्तो कि यो खोप लगाएपछि निःसन्तान हुनसक्छ भन्ने। यस्ता भ्रमलाई कसरी चिर्ने? सरकारले के गर्दैछ यो विषयमा?
हामीले के हेर्नुपर्छ भने यो खोपको जसरी परीक्षण सुरु भयो र मानिसमा पनि पहिलो, दोस्रो र तेस्रो चरणको परीक्षण भइसकेको छ। कुनै पनि चरणमा यसबाट व्यक्तिलाई कुनै पनि हानी नोक्सानी भएको वा सिकिस्त बनाउने असर देखिएको छैन। यस्ता असर नदेखिएको कारणले यो खोप बनिसकेपछि यसको पहिलो अनुमति दिने देश बेलायत हो। खोप प्रयोगका लागि अनुमति दिने निकाय धेरै राम्रो निकाय हो। विश्वमा कम देश छ जहाँ गुणस्तरीय परीक्षण हुने गरेको छ।
यो खोपलाई भारत सरकारले पनि प्रयोगका लागि अनुमति दियो र विश्व स्वास्थ्य संगठनले पनि खोप सुरक्षित र प्रभावकारी छ भनिसकेको छ। विभिन्न निकाय र विश्व स्वास्थ्य संगठनले पनि यो खोपलाई सिफारिस गरिसकेको छ। यदी खोपमा कुनै समस्या थियो भने त्यो सिफारिस हुँदैन थियो। अहिले पनि हामीले सुरक्षित छ छैन भनेर हेर्दा भारतमा करोडौँ मानिसले लगाइसके। त्यसबाट कसैलाई पनि सिकिस्त बनाएको मृत्यु भएको घटना छैन।
नेपालमै साढे ४ लाख जनसंख्यालाई लगाइसकेको अनुभव हामीसँगै छ। नेपालमा कुनै समस्या देखिएन। अर्को कुरा बच्चा हुँदैन, निःसन्तान हुन्छन् भन्ने कुराको कुनै अनुसन्धान तथा प्रमाण छैन। त्यसैले यस्ता कुरालाई नपत्याउँदा हुन्छ।
नेपालमा कति व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने योजना छ? कोरोना विरुद्धको खोप अभियान कहिलेसम्म चल्छ?
नेपालको जनसंख्याको करिब ७१ प्रतिशतलाई कोरोना भाइरस विरुद्धको खोप दिने योजना बनाएका छौँ। त्यो योजना चरणवद्ध रुपमा हुन्छ। हामीले जोखिमको स्तर बनाएका छौं। सबैभन्दा जोखिममा कुन समुह छन्, दोस्रो तेस्रो जोखिम समुह कुन छ भनेर। अहिलेको स्थितीमा भ्याक्सिन सजिलै उपलब्ध हुने अवस्था छैन। थोरै थोरै भ्याक्सिन उपलब्ध हुने हो। हामीले भ्याक्सिनको उपलब्धताको आधारमा जो बढी जोखिम समुहमा छन् उनीहरुलाई नै खोप दिँदै जाने हो।
अहिले २० प्रतिशत जनसंख्या अति जोखिममा छ। जस्तो स्वास्थ्यकर्मी, फ्रन्टलाइनमा काम गर्ने, भौतिक दुरी कायम गर्न नसक्ने, विभिन्न समुदाय र ५५ वर्ष माथिका वृद्धहरुलाई हेर्दा यो संख्या २० प्रतिशत छ। यो २० प्रतिशतलाई समयमै खोप दिन सकियो भने मृत्युदर, सिकिस्त बिरामीको दर घट्छ। जुन कोरोनाका कारण बिरामी सिकिस्त भएर चाप हुने गर्छ यो दर पनि घट्छ। दोस्रो कुरा स्वास्थ्यकर्मीलाई खोप दिइसकेपछि स्वास्थ्यकर्मी सुरक्षित हुने भए, उनीहरु सुरक्षित भएपछि उनीहरुको सम्पर्कमा आउनेहरुलाई पनि जोखिम नहुने भयो। जसले गर्दा स्वास्थ्यक्षेत्र पनि नियमित रुपमा संचालन हुने भयो। त्यसैले स्वास्थ्य क्षेत्र सुचारु राख्ने, मृत्युदर र सिकिस्त बिरामी घटाउने उदेश्यले यो २० प्रतिशतलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। त्यसपछि भ्याक्सिनको उपलब्धताको आधारमा लगाउँदै जाने हो। अहिले नै कहिलेसम्ममा ७१ प्रतिशत जनसंख्यालाई खोप लगाइन्छ भन्न सक्ने परिस्थिती छैन। किनकी पैसा भएपनि खोप किन्न पाउनु प¥यो। त्यसैले विस्तारै हुन्छ, एकैपटक हुँदैन।
नेपालमा हाल भ्याक्सिनको उपलब्धता कस्तो छ?
अहिले हामीसँग भ्याक्सिनको उपलब्धताको अवस्था भन्नुपर्दा जुन १० लाख डोज पहिला नै आयो। त्यो भारत सरकारले अनुदानमा दिएको थियो। त्यसपछि नेपाल सरकारले आफ्नै लगानीमा २० लाख खरिद ग¥यो। अब हामीसँग कोभ्याक्स फ्यासिलिटी मार्फत गाभीले २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप निःशुल्क दिने भनिसकेको छ। यो खोप नि आउँदै छ। २० प्रतिशत जनसंख्यालाई पुग्ने भनेको नेपालको जनसंख्याको ६० लाखलाई पुग्ने खोप हुन्छ।
यस्तै ६० लाखलाई दुई डोज दिँदा १ करोड २० लाख हुन्छ। केही खेर पनि जान्छ। त्यसैले १ करोड २० लाख डोज खोप गाभीबाट निशुल्क पाउँछौ। त्यसपछि अहिले स्वास्थ्य मन्त्रालयले अर्को ५० लाख डोज खोप किन्ने प्रयास गरिरहेको छ। कोभ्याक्स मार्फत आउने खोप सेप्टेम्बर भित्र आइपुग्छ। यो समयभन्दा केही छिटो वा ढिलो हुनपनि सक्छ। नेपाल सरकारले किन्ने भनेको ५० लाख डोज खोपको प्रक्रिया सुरु भएको छ, यो प्रक्रिया टुंगिनुपर्छ। त्यसपछि मात्र आउँछ।
खोप अभियानमा निजी क्षेत्रलाई पनि सहभागी गराउने भनिएको छ? निजी क्षेत्रलाई सहभागी गराउने विषयमा तपाईंहरुको सरकारलाई सुझाव के छ?
उच्च जोखिम समुहमा रहेका व्यक्तिहरुलाई निःशुल्क खोप दिएर उनीहरुको संरक्षण गर्नु सरकारको दायित्व हो। उच्च जोखिममा रहेका २० प्रतिशत जनसंख्यालाई सरकारले नै भ्याक्सिन दिनुपर्छ। अहिले नै निजी क्षेत्रलाई भ्याक्सिन खरिदका लागि खुला छोडिदिँदा नेपालमा भ्याक्सिन त आउँछ, तर पैसा हुने तर जोखिम समुहमा नपर्नेले लगाउने तर, जोखिम समुहमा पर्ने तर पैसा नभएका व्यक्तिले खोप नलगाउने सम्भावना हुन्छ। त्यसले गर्दा जोखिमको स्तर नियन्त्रण गर्न सकिम्दैन। त्यसैले पहिला अति जोखिम समुहमा रहेकालाई सरकारले खोप उलपब्ध गराउन आवश्यक छ। त्यसपछि जब कम जोखिमको समुह आउछ, निजी क्षेत्रलाई पनि खुला गर्ने र सरकारले पनि दिने व्यवस्था गर्न सकिन्छ।
अन्त्यमा, खोप लगाउने कि नलगाउने भनेर अन्यौलमा रहेका जनसमुदायलाई के सुझाव दिन चाहनुहुन्छ?
कोरोना भाइरसको संक्रमणका कारणले धेरैको मृत्यु भयो। धेरै सिकिस्त बिरामी हुनुभयो। अस्पतालमा बिरामीको चाप पनि धेरै भयो। अहिलेसम्मको अध्ययनले के देखाएको छ भने, जति उमेर बढ्दै गयो, त्यतिनै कोरोना लागेपछि मृत्यु हुने सम्भावना बढी छ। नेपालको तथ्यांक हेर्दा पनि ५५ वर्षभन्दा माथिकालाई कोरोना लाग्यो भने मृत्यु हुने जोखिम उच्च भएको पाइएको छ। त्यसैले हाम्रो चाहना पनि वृद्धवृद्धाहरु र दीर्घ रोगीहरुलाई कसरी बचाउने भन्ने हो। यो बचाउने एउटा उपाय भनेको कोरोना विरुद्धको खोप लगाउनु नै हो। जोखिम वर्गमा परेकाहरुलाई कोरोना विरुद्धको खोप दिन सकियो भने उहाँहरुलाई सिकिस्त बिरामी हुनबाट बचाउन सक्छौं। मृत्यु हुनबाट बचाउन सक्छौं। यस्तै अस्पतालमा भर्ना हुनुपर्ने दर पनि घट्छ र अस्पतालहरुमा कोरोना संक्रमण बाहेकका बिरामीले राम्रोसँग सेवा पाउन सक्छन्। त्यसैले दोस्रो चरणको खोप अभियान अति महत्वपूर्ण छ। यसमा हामीले ५५ वर्ष माथिका सबै व्यक्तिलाई जसरी पनि खोप केन्द्रसम्म लगेर खोप लगाइदिन आवश्यक छ।