पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाको कार्यकाल सकिएको छ। उनी प्रतिष्ठानका पहिलो उपकुलपति हुन्। पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई लिएर सरकारले प्रतिष्ठान बनाएको थियो। प्रतिष्ठानको उपकुलपति रहँदा डा थापाले गरेको काम, भोग्नु परेको चुनौती तथा अनुभवलगायतका विषयमा केन्द्रित रहेर उनीसँग स्वास्थ्यखबरका लागि रिता लम्सालले गरेको कुराकानीः
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको जिम्मेवारीमा रहेर ४ वर्ष काम गर्दाको अनुभव कस्तो रह्यो? आफूले आफैंलाई मूल्यांकन गर्दा कस्तो काम गरेँ भन्ने लाग्छ?
मैले यो ४ वर्षको कार्यकालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थापक उपकुलपतिको हैसियतले काम गरेँ। यो ४ वर्षको अवधिलाई नियाल्दा मैले पाएको जिम्मेवारीलाई मैले ९५ प्रतिशत पूरा गरेँ।
म उपकुलपति नियुक्त हुँदा प्रतिष्ठानका लागि जम्मा ३५० शय्याको अस्पताल मात्र थियो। कुनै पनि मेडिकल कलेज स्थापना गर्न ३ सय शय्याको अस्पताल चाहिन्छ। त्योभन्दा अरु संरचना हामीसँग केही पनि थिएन।
प्रतिष्ठानको पहिलो उपकुलपति भएको र प्रतिष्ठानका सबै पूर्वाधार बनाएर काम अगाडि बढाउनु पर्ने अवस्था रहेकाले म यसलाई बाँझो जमिनमा खनेर/जोतेर केही उत्पादन उमार्नु पर्ने कुरासँग तुलना गर्छु। यसरी हेर्दा हामीलाई बाँझो जमिन दिइएको थियो, म त्यसमा आफूलाई हली मान्छु। डिन र डाइरेक्टर बाउसे थिए। हली, दुईजना बाउसे र अन्य चिकित्सक र कर्मचारीलाई खेताला भन्छु।
यसरी हामीले एउटा बाँझो जमिनको जिम्मा लिएर त्यहाँ सबै किसिमका आधारभूत पूर्वाधार तयार पारेर अगाडि बढ्नुका साथै शैक्षिक कार्यक्रम सञ्चालनका लागि प्राध्यापक, कर्मचारीको व्यवस्थापन गर्नुका साथै नियम कानुन पनि पास गर्नुपर्ने अवस्था थियो। हामीले पहिलो प्राध्यापकको बैठक राखेर नियमकानुन पास गरेर दुई वर्षमा कक्षा सञ्चालनको स्वीकृति पायौँ। त्यसपछि तेस्रो वर्षमा विद्यार्थीसँगै १७ सिट पायौँ। त्यसपछि काम अगाडि बढाउन सफल भयौँ। अहिले दोस्रो ब्याचका लागि विद्यार्थी भर्ना भइसकेको अवस्था छ।
बाँझो खेतमा हलीको रूपमा काम गरेको बिम्व प्रयोग गर्नुभएको छ। तपाईंकै शब्द सापटी लिनुपर्दा बाँझो खेत जोत्ने क्रममा ढुंगा भेटिने, हलो नै भाँचिने अवस्था आयो कि आएन?व्यवस्थापनमा कस्ता चुनौती आए?
पक्कै पनि धेरै समस्या र चुनौतीको सामना गर्नुपर्योय। सुरुवाती अवस्था भएकाले धेरैले नकारात्मक कुरा पनि गरे। कतिले पढाइ नै सुरु हुँदैन भनेर नकारात्मक वातावरण पनि बनाए। तर हामीले त्यो सबै भनाई र भावनालाई चिर्न सक्यौँ। हलो जोत्ने क्रममा आएका ढुंगालाई पन्छ्याउँदै राम्रैसँग खेती गर्न सफल भयौँ।
अब प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु भइसकेको छ। यो निकै ठूलो उपलब्धि हो। यो उपलब्धि हासिल गर्ने क्रममा भने हामीलाई निकै गाह्रो पर्यो। सबैभन्दा बढी चुनौती प्राध्यापकको व्यवस्थापनका क्रममा भयो। प्रतिष्ठानको शिक्षण अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हो। त्यहाँ काम गर्ने सरकारी चिकित्सकहरू हो। प्रतिष्ठान भएपछि उहाँहरुलाई प्रतिष्ठानमा प्राध्यापनमा ल्याउनु पर्ने अवस्था हो। तर यहाँ धेरैले धेरै थरी कुरा गरेर मिल्दैन भने। नेपाल सरकारको चिकित्सकलाई लिएर कसरी पढाउन मिल्छ? मिल्दै मिल्दैन भनेर पनि कुरा भए। तर हामीले त्यो सबै समस्यालाई चिरेर समस्याको समाधान गर्न सफल भयौँ।
नेपाल मेडिकल काउन्सिलले प्रारम्भिक निरीक्षणपछि पढाइ सुरु गर्नुपर्छ भनेर स्वीकृति दियो। हामीले सुरुमै नेपाल सरकारको चिकित्सक लिएर पठाइ सुरु गर्नुपर्योे। त्यो दरबन्दी नेपाल सरकारको दरबन्दी थियो। मेडिकल काउन्सिलले त्यतिबेला सरकारी प्राध्यापकलाई लिँदा उनीहरू सरुवा भएर अन्यत्र जाँदा कसरी पढाईलाई नियमित गर्न सकिन्छ भनेर पनि प्रश्न गरेको थियो। त्यसपछि लोकसेवामा हामीले नेपाल सरकारको ११औं तह, १०औं र ९ तहका जनशक्ति लोकसेवाले विधिअनुसार नियम कानुन अनुसार पठाएको जनशक्ति भएको जानकारी दियौँ।
अस्प्तालमा भएका जनशक्ति हाम्रा लागि अमूल्य जनशक्ति हो। यही जनशक्तिलाई लिएर हामीले पढाइ सुरु गर्नुपर्छ भनेपछि उहाँहरुले मान्नुभयो। तर ती जनशक्तिलाई प्राध्यापक सेवामा ल्याउन नेपाल मेडिकल काउन्सिलको मापदण्डअनुसार शोधपत्रको आधारमा मेडिकल काउन्सिलकै रोहबरमा चाँहि राखेर हामीले प्राध्यापकका रूपमा लियौं।
लोकसेवाले नेपाल सरकारको स्वास्थ्य सेवा अन्तर्गतको दरबन्दीलाई प्राध्यापन सेवाको दरबन्दी हुन्छ भनेर नियम बनाइदियो। त्यो एउटा ठूलो खुड्किलो पूरा भयो। नेपाल सरकारका ९ देखि ११औं तहका चिकित्सकलाई प्राध्यापक बनाएर पढाइ सुरु गर्न सक्यौँ। साविकको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकलाई नै प्रतिष्ठानको प्राध्यापक बनाइयो। यसरी अस्पताल मात्र भएको अरु केही पनि नभएको ठाउँलाई हामीले हलो जोतेर, खनेर, बाउसे लगाएर, रोपेर दुई ब्याच आउने वातावरण बनायौं।
९५ प्रतिशत काम पूरा गरेँ भन्नुभयो। यो ४ वर्षमा गर्नै पर्ने तर गर्न नसकेको ५ प्रतिशत काम चाँहि केके हुन्?
प्रतिष्ठान भएपछि विद्यार्थीका लागि आवश्यक होस्टल, पुस्तकालयलगायतका केही पूर्वाधारको व्यवस्थापन गर्ने काम गर्न सकिएन। त्यस्तै सुरुमै हामीलाई विभिन्न संघसंस्थाबाट आएर प्राध्यापनमा सहयोग गर्ने प्राज्ञिक जनशक्तिलाई भिजिटिङ प्रोफेसरका रूपमा सम्मान दिने काम पनि बाँकी रह्यो। यसका साथै एमबिबिएस पढाइ पनि सुरु गर्न सकिएन। स्नातकोत्तर तहमा पनि अरु विभिन्न विधाको पठन पान पनि सुरु गर्न सकिएन।
अस्पतालको सेवालाई थप विस्तार गर्ने काम पनि सकिएको छैन। अस्पताललाई थप विभिन्न विधामा विशिष्टीकृत गर्दै लैजाने योजना थियो। केही विधामा त भयो तर लक्ष्यअनुसार गर्न सकिएन। अस्पतालका निर्देशकले पनि सेवा विस्तारमा निकै साथ र सहयोग गर्नुभयो। त्यति हुँदाहुँदै पनि समय अभावले गर्न भ्याइएन।
अस्पतालको मात्र संरचना भएको ठाउँमा शैक्षिक कार्यक्रम संचालन गर्न चुनौतीपूर्ण थियो भनेर भन्नु भयो। यसको मतलव सुरुवाती अवस्थामा यहाँ अलमलिनु भएको त होइन नि?
म अलमलमा परिनँ। किनकि म क्षेत्रीय अस्पतालबाट नै ११औं तहको कन्सल्टेन्ट फिजिसियन भएर रिटायर्ड भएको हो। त्यहाँ म २०४१ सालदेखि काम गरिसकेको हुनाले त्यहाँको ढुंगा, माटा, इटा हरेक कुरासँग परिचित थिएँ। मेरो लागि कर्मचारी पनि नयाँ थिएनन्। चुनौती आउँछन् भन्ने नै थियो। त्यहीअनुसार मैले कार्ययोजना नै बनाएर अगाडि बढेको हुनाले म अलमलिने अवस्था आएन।
हामी हरेक कुरामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, न्याम्स र टिचिङका प्राध्यापकलाई लिएर अघि बढ्यौँ। हामी किन अलमलमा परेनौ भने कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, सिनेट ६ महिनामा बनायौं। एकवर्षमा पाठ्यक्रम बनायौँ। २ वर्षभित्रमा पढाइका लागि स्वीकृति पाउनु भनेको त हामी अलमलमा परेको कतै देखिँदैन।
मैले उपकुलपतिका रुपमा काम गर्नुअघि नै आफ्नो कार्यकालमा केके गर्ने भनेर कार्ययोजना बनाएको थियो। कार्यकाल सकिएपछि मैले त्यो कार्ययोजना पल्टाएर हेर्दा मैले सबै काम सम्पन्न गरेको पाएँ। मैले मेरो नियुक्तिको समयमा तत्कालीन स्वास्थ्यमन्त्री गगन थापासामु प्रस्तुत गरेको कार्ययोजना सबै पूरा गरेको छु।
तपाईंको कार्यकाल सकिएपछि नयाँ उपकुलपति नियुक्त गर्न स्वास्थ्य मन्त्रालयमा प्रक्रिया अगाडि बढाइसकेको छ। तपाईंले केही काम गर्न छुट्यो भन्नुभयो। त्यो काम पूरा गर्नपनि तपाईं फेरि दोहोरिने सम्भावना कतिको छ?
केही कामहरू गर्न बाँकी रहेको पक्कै हो। तर अब म पुनः उपकुलपति दोहोरिने छैन। अब नयाँलाई अवसर दिनुपर्छ। मेरो कार्यकालमा मैले प्रणाली बनाउने काम गरेँ। अब उक्त प्रणालीअनुसार र हामीले गर्न बाँकी रहेको काम गर्ने अवसर नयाँलाई दिनुपर्छ। आफूले गर्न चाहेका तर अपूरा रहेका काम गर्न सुरुमा त पुनः उपकुलपति दोहोरिन पर्छ कि भन्ने सोच पनि आएको थियो। तर पछि फेरि नयाँलाई नयाँ ढंगले काम गर्न दिनुपर्छ भनेर म नदोहोरिने विचारमा पुगेको हुँ। नयाँ आउने टिमलाई मैले मेरो विगतका अनुभव र सुझाव भने दिनेछु। म डराएर वा सक्दिनँ भनेर पन्छिन खोजेको होइन, नयाँ साथीहरुलाई पनि जिम्मेवारी लिने अवसर दिऔँ भन्ने लागेको हो।
अर्को कुरा मेरो उमेरले पनि फेरि जिम्मेवारी लिन उपयुक्त छैन। ६० वर्षमा अवकाश पाए, ४ वर्ष उपकुलपति भइसकेँ। अब उमेरहदको कुरा पनि छ। उपकुलपति रहँदा मैले चिकित्सकीय अभ्यास गर्न पाइनँ। जसका कारण धेरै बिरामी तथा उनीहरुका आफन्तले उपचारमा फर्किनु पर्यो भनिरहनु भएको छ। त्यसकारण म केही समय अब उपचार सेवामा सक्रिय हुन्छु। बिरामीलाई सेवा दिने तिर्खा अझै मेटिएको छैन। कतिपय बिरामीले अझैपनि सोध्नुहुन्छ। अब यो उमेरमा पहिलाजस्तै खटिएर सेवा दिन त नसकिएला तर, एउटा चिकित्सकको नाताले बिरामीहरूलाई सेवा दिएर सहयोग गर्ने, अध्ययन-अध्यापनतिर लागौँ भन्ने सोच बनाएको छु।
सरकारले प्रतिष्ठानहरूको छाता ऐन ल्याउन गृहकार्य गरिहेको छ। यसमा तपाईंको सुझाव के छ? प्रतिष्ठानहरूको छाता ऐन हुनुपर्छ?
नेपाल सरकारका चलायमान अस्पताललाई हेरेर हामी प्रतिष्ठान बनाउछौं। ती अस्पताललाई प्रतिष्ठान बनाएपछि चिकित्सकलाई अन्तै जाऊ भनिन्छ। त्यो त अन्याय भयो नि! जुन चिकित्सकले योगदान गरेर सेवा दिएर अस्पताल प्रतिष्ठान भन्यो, त्यही योगदान दिने चिकित्सकलाई अन्त जाऊ भन्छ।त्यो व्यवस्था अन्त्य गर्न छाता ऐन ल्याएको राम्रो हो।
धेरै ठाउँमा प्रतिष्ठान खोलेर धेरै जनालाई जिम्मेवारी दिने भन्दा बरु एउटा मूल संस्था बनाएर समस्या समाधान गर्न पनि छाता ऐन राम्रो हुन्छ भन्ने लाग्छ।चिकित्साशास्त्र अध्यययन संस्थान आइओएनलाई नै हेरौं न। त्यसमा सबै कुरा छ, प्राज्ञिकतिर डिन छन्, अस्पताल निर्देशकले चलाउनु भएको छ। त्यहाँ उपकुलपति नै चाहिएको छैन। नेपालभरका प्रतिष्ठानलाई प्राज्ञिकतिर डिन र रेक्टर अनि अस्पताल निर्देशकले चलाउने र विभिन्न संकायमा क्याम्पस प्रमुखले चलाउँदा हुन्छ। केन्द्रमा एक जना उपकुलपति हुने र प्रतिष्ठानमा डिन अनि अस्पतालमा निर्देशक हुने गरी छाता ऐन आउनु राम्रो हो।
अर्को कुरा उपकुलपति भनेको सम्मानित प्राज्ञिक पद हो। तर यहाँ त धेरै उपकुलपति भएर पनि होला, त्यो सम्मान नै घटेको जस्तो देखिन्छ। प्राज्ञिक संस्थाको उपकुलपति भनेपछि विदेशमा पनि सम्मानले हेर्ने गरिन्छ। तर अहिले त उपकुलपति नै क्याम्पस प्रमुख जस्तै हो कि भन्ने देखिन्छ।
प्रतिष्ठानकाउपकुलपति तथा पदाधिकारीलाई पहिलाजस्तो सम्मान अहिले नभएको मैले पाएको छु। मर्यादाक्रममा अहिले उपकुलपतिलाई निकै तल झारिएको छ। मन्त्रालयमा कुनै कामले आउँदा उपकुलपतिले सहकुलपतिलाई भेट्न समस्या नहुनुपर्ने हो। तर यहाँ त त्यस्तो वातावरण छैन। धेरै प्रतिष्ठान हुँदा धेरै उपकुलपति भए। अनि उपकुलपतिको पनि 'भ्यालु' कम हुँदै गयो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब बन्ने उपकुलपतिका सामु कस्ता चुनौती छन्? नयाँ आउने उपकुलपतिलाई के सुझाव दिन चाहनुहुन्छ?
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अझै धेरै काम गर्न बाँकी नै छ। त्यसकारण अझै पनि केही समय चुनौतीको सामाना गर्नुपर्ने अवस्था नै छ। भर्खरै केही विषयमा दुई ब्याच पढाई मात्र सुरु भएको हो। अझै धेरै विधामा पठनपाठन सुरु गर्नुपर्ने अवस्था छ। एमबिबिएसलगायतका अन्य कार्यक्रम पनि चलाउनु पर्नेछ। विद्यार्थीका लागि होस्टल, ल्याब, इन्टरनेटलगायतका सुविधा दिनुपर्छ।
यी सबै काम गर्दा चुनौती आउन सक्छन्। यस्ता चुनौतीलाई चिर्दै हिम्मत नहारी सबैको साथ र सहयोग लिएर नयाँ टिमले काम गर्न सक्छन्। अस्पतालको सेवासुविधा बढाउन पनि आवश्यक छ। नयाँ आउने उपकुलपतिले टिम बनाएर काम गर्ने हो भने धेरै समस्याको हल सहजै हुनेछ।