स्वास्थ्य प्रणाली भित्र र स्वास्थ्य प्रणाली बाहिरका साझेदारहरुलाई हामीले सचेत गराएका थियौं। हामीले यस्तो जोखिम बढ्न सक्ने अवस्था छ भनेर हाम्रो आकलन प्रस्तुत गरेका थियौं। हामीले विभिन्न ठाउँबाट संकलन गरेका नमूनाका आधारमा आफ्नो तर्फबाट सकिने काम गर्यौं। भारतबाट नेपाल प्रवेश गर्ने ११ वटा नाकामा हेल्थ डेस्क राख्यौं। तर, खुला नाकाका बारण अन्य ठाउँबाट पनि मान्छेहरु आउनेजाने भइरहन्छ।
हामीले गम्भीर रुपमा लिए पनि सरोकारवालाहरुलाई त्यही रुपमा बुझाउन सकिएन। चलिरहेको जिन्दगी रोकिन गाह्रो हुने रहेछ। न्युटनको नियमअनुसार 'बन्द भएकोलाई चलाउन गाह्रो, चलिरहेको बन्द गर्न गाह्रो' भनेजस्तै भयो। चैतको २० गतेसम्म सबै गतिविधी निस्फिक्री चलिरहेका थिए। हामीले सचेत गराउँदा 'बन्द गर्ने बेला हो र?' भन्ने प्रतिप्रश्न खेपेका थियौं।
चैत २६ गते कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरमा हामीले यस्तो अवस्था आउनसक्छ भनेर भनेका थियौं। भारतका महाराष्ट्र, मध्य प्रदेश र गुजरातमा संक्रमण बढ्दो थियो। हाम्रो देशमा पनि बेलायतको भेरियन्टसँग मिल्दो भाइरस बढ्दो क्रममा देखिँदै थियो। तर, हामीसँग स्पष्ट प्रमाण नभएकाले स्वच्छन्दताका साथ चलिरहेको जनजीवन रोक्न मुस्किल परेको हो।
त्यो बेला हाम्रो परीक्षण कम थियो। साँच्चिकै लक्षण भएर बिरामी परेका, अपरेशन गर्नुपर्ने र विदेश जानेकहरुको मात्रै परीक्षण भइरहेको थियो।
नागरिकले पनि हल्का रुपमा लिए
विद्यालय जसरी बन्द गरियो, त्यो भन्दा केही समयअघि सार्वजनिक यातायात बन्द गर्न पाएको भए अवस्था फरक हुन्थ्यो। कम से कम दुई हप्ताअघि नै सार्वजनिक यातायात बन्द गर्न पाएको भए यो विकराल अवस्था आउँदैनथ्यो कि? हामीले प्रयास गरेकै हौं। स्वास्थ्य मन्त्रालयलयकै जोड थियो। धेरै जोड गर्दा पनि अन्य सरोकारवालाबाट केही समय 'पर्खौं र हेरौं' भनियो। विद्याल बन्द गर्न पनि हामीलाई केही समय लाग्यो। त्यतिखेर हामीले नयाँ भेरियन्ट बढ्दो छ, यो बढी संक्रामक छ भनिरहेका थियौं।
एकजना संक्रमित हुँदा परिवारका सवैलाई सर्ने गरेको देखिएको थियो। आम नागरिकले पनि ख्याल गर्नुभएन। यसलाई हल्का रुपले लिनुभयो। अघिल्लो वर्ष कम दुःख दिएकाले पनि स्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गरेको देखिएन।
नेपालमा सक्रिय दुई भेरियन्ट
भाइरसहरुले आफूलाई समय र अवस्थाअनुसार परिवर्तन गर्नु र भेरियन्ट बनाउनु सामान्य कुरा हो। कोरोना भाइरसका सयौं भेरियन्ट बनेका छन्। सयौं भेरियन्ट पत्ता लागेका छन्। तीमध्ये जसले जनस्वास्थयमा धेरै असर गर्छ, तिनलाई भेरियन्ट अफ कन्सर्न अर्थात् चासोको भेरियन्ट भनिन्छ। विश्वमा तीनवटा भेरियन्ट बढी सक्रिय छन्। बेलायतमा बनेको 'बी.वान.७', साउथ अफ्रिका र ब्राजिलमा पत्ता लागेका भेरियन्ट र भारतमा बनेका डबल र ट्रीपल म्युटेन्ट भाइरस छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निगरानी गर्दै गर्दा दुई तिहाइभन्दा बढीमा नयाँ भेरियन्ट देखिएको थियो। पोखरामा १० देखि २० वर्षको उमेर समूह बालबालिकामा देखिएको थियो।
नेपालमा अहिले बढी सक्रिय रहेकामध्ये भारतको डबल म्युटेड र बेलायतको 'बी.वान.७' प्रमाणित भएका छन्। अन्य पनि हुन सक्छन् भन्ने लागेर केही नमूनालाई ‘सिक्वेन्सिङ’ गर्दैछौं।
हरेक दिन ‘३५ हजारमा’ कोरोना
हाम्रो परीक्षणको दर एकदमै कम छ। धेरैले कोरोनाको सामान्य लक्षण हुँदा रुघा भनेर परीक्षण नै गराएनन्। परीक्षणमा आउन पनि सजिलो छैन। सरकारी ल्याब सवैको पहुँचमा छैनन्। निजीमा शुल्क केही महंगो छ। चिकित्सकले नपठाएसम्म परीक्षण गर्न नजाने प्रचलन छ। अन्य रोगमा पनि यस्तै हो, कोरोना पनि त्यही देखियो। कोरोना हटस्पष्ट पहिचान गर्ने र कन्ट्याक्ट ट्रेसिङ गर्ने काम पनि अपेक्षित गतिमा हुन सकेको छैन। त्यसैले परीक्षणको दायरामा निकै कम आएक छन्।
अघिल्लोपल्ट गरिएको 'सेरो सर्वे'ले कुल पोजेटिभको २० प्रतिशत मात्रै परीक्षण भएको भनेर रिपोर्ट दिएको थियो। त्यसलाई आधार मान्ने हो भने ठूलो संख्यामा संक्रमित समुदायमै छन्। अहिले तथ्यांकमा ७ हजार भेटियो भने यसको चार–पाँच गुणा समुदायमा छन् भन्ने बुझ्नुपर्यो। यो तथ्यांक निकाल्ने वैज्ञानिक तरिका हो।
भारतमा एन्टिजेनले धेरै देखिएको हो। हाम्रोमा पनि पिसीआरको क्षमता त २२ हजार मात्रै हो। हामी पनि ढिलोचाँडो एन्टिजेनमा जाने नै हो। एन्टिजेनको रिपोर्ट कम देखियो।
(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा पौडेलसँग गरिएको कुराकानीको आधारमा)