डा गौरीशंकर लाल दास
विसं १९८० को दशक अर्थात् राणा शासन उत्कर्षमा पुगेको समय। शिक्षण संस्थाहरू खुलिसकेका थिएनन्। खुलेका पनि शासक र भाइभारदारको सुविधाका लागि मात्रै। त्यस्तो बेलामा पहाडी र तराई क्षेत्रमा त के राजधानी काठमाडौंमै शिक्षाको पहुँच थिएन। रोचक के भने, भारतीय सीमावर्ती सिराहाको इनर्वाका कायस्थ परिवारमा भने अशिक्षितहरू थिएनन् भने पनि हुन्छ।
विसं १९८१ मा जन्मिए डा. गौरीशंकर लाल दास। शैक्षिक चेतनाले पूर्ण थियो परिवार। पिताजी इनर्वा क्षेत्रका जमिन्दार थिए। घरबाट टाढा राखेर सन्तानलाई पढाउनुपर्छ भन्ने आँट र क्षमता दुवै थिए। त्यसैले उनले विद्यालय शिक्षा १२ कोश टाढाको राजनगरमा लिए। सीमापारिकै विद्यालयबाट सन् १९४१ मा म्याट्रिकुलेसन (एसएलसीसरह) गरेपछि भागलपुर गएर आइएस्सी र बिएस्सी पढेका हुन्।
पिताजीको सपना थियो, छोरालाई डाक्टर बनाउने। बिएस्सीमा उनको मुख्य विषय थिए– फिजिक्स, केमेस्ट्री र म्याथम्याटिक्स। जसले इन्जिनियरिङ र मेडिकल दुवै क्षेत्रमा जान मार्गप्रशस्त गथ्र्यो। मेडिकलपट्टि जान चाहनेले बायोलोजी विषय लिएर एक वर्ष प्रि–मेडिकल कोर्स गर्नुपथ्र्यो। मुम्बईमा इन्जिनियरिङ पढ्न आवेदन दिए पनि अन्ततः मेडिकलतिरै सोझिए। सन् १९५१ मा पटना मेडिकल कलेजबाट एमबिबिएस गरे। एक वर्ष त्यहीँ गरे। उनले काठमाडौं देखेको त्यसपछिमात्रै हो। त्यतिखेर काठमाडौं आउनुपरे अमलेखगञ्जसम्म रेल चढ्नुपथ्र्यो। त्यहाँबाट भीमफेदीसम्म बसमा आएर भरियालाई सामान बोक्न लगाई कुलेखानी हुदैं आउनुपथ्र्यो।
०००
एमबिबिएस गरेर काठमाडौं आउँदा नेपालमा जम्माजम्मी ५–६ जनामात्र थिए डाक्टर। वीर अस्पतालका सुपरिटेन्डेन्ट डा. मजुमदार बंगाली डाक्टर थिए भने आउटडोरमा डा. एसएलदास गुप्ता, प्याथोलोजीमा डा. दिनेशानन्द वैद्य र डा. यज्ञराज जोशी थिए। ज्ञानेन्द्र शाहको राज्यारोहणका अवसरमा डा. जोशीको अग्रसरतामा सरकारले ००७ सालमा ज्ञानेन्द्र केन्द्रीय चिकित्सालय (सेन्ट्रल चेस्ट क्लिनिक) खोल्यो। डा. दासचाहिँ मेडिकल अफिसरका रूपमा वीर अस्पतालमा प्रवेश गरे। वीरको फिमेल वार्डमा एक महिला डाक्टर थिइन्, जसलाई उनीहरू ‘रानीसाहिबा’ भन्थे। वास्तविक नाम भने थाहा भएन। अर्का सेठी भन्ने थिए, उनलाई पनि ‘डाक्टर’ भनिन्थ्यो। वास्तवमा उनले भारतमा ‘मिडवाइफरी कोर्स’ गरेर आएका थिए।
वीर अस्पतालमा काम गरेको ६ महिना भइसकेको थियो। स्वास्थ्य विभागका निर्देशक डा. जितसिंह मल्ल एक दिन अस्पतालमा आए र डा. दासलाई घुम्न जाने प्रस्ताव गरे। आफ्नो जिपमा हालेर उनले बूढानीलकण्ठबाट ३ किलोमिटर पश्चिममा रहेको टोखा स्यानिटोरियम पुर्याए। त्यहाँ सबैतिर घुमाइसकेपछि उनले डा. दासलाई सोधे, ‘यहाँ बस्ने हो ?’ डा. दासले सहमति जनाए। खासमा त्यहाँको मनोरम वातावरणले आकर्षित गरेको थियो उनलाई। अर्कोतिर भत्ता पनि मासिक २ सय ५० रुपियाँ थियो। त्यति रकम त्यो समयमा निकै आकर्षक थियो।
०००
टोखा स्वास्थ्य निवास भनिने उक्त केन्द्रको रासनमा एक डाक्टरले ‘गोलमाल’ गरेपछि त्यहाँ राखिएका क्षयरोगका बिरामीले आन्दोलन गरिरहेका थिए। उनी नियुक्त भएर गएपछि त्यो आन्दोलन पनि साम्य भयो र बिस्तारै उनी लोकप्रिय पनि भए।
त्यतिखेर टीबीको कुनै प्रभावकारी औषधि थिएन। सल्लाको हावा बिरामीलाई धेरै राम्रो हुन्छ भनेर क्षयरोगीका लागि टोखा स्वास्थ्य निवास स्थापना गरिएको थियो। त्यसमाथि टोखाको स्यानिटोरियम क्षयरोगीअनुकूल कुहिरो नलाग्ने, घमाइलो र प्रदूषणमुक्त थियो। बिरामीका कारण अरु व्यक्तिमा संक्रमण फैलन्छ भनेर पनि एकान्त ठाउँ रोजिएको थियो। टोखामा टीबी केन्द्र खोल्नुमा राणाहरूको अर्कोे स्वार्थ पनि थियो। कोही उच्च पदाधिकारी बिरामी भए त्यहाँ पठाइन्थ्यो। त्यहाँ तीनवटा कटेज बनाइएका थिए– ए, बी र सी। जनरल वार्ड र अफिसर वार्ड पनि थिए।
जुद्धशमशेरको पालामा उद्घाटन भएको थियो त्यो। ती कटेजमा राणा, शाही परिवारका साथै अरु ठूलाबडालाई राखिन्थ्यो भने सर्वसाधारणलाई जनरल वार्डमा। ती कटेजमा तत्कालीन कमान्डर इन चिफ किरणशमशेरकी आमा, गायक बच्चुकैलाश, साहित्यकार बालकृष्ण समका छोरा, हृदयचन्द्रसिंह प्रधानलाई पनि बसेका थिए। सिट कम थियो, त्यसैले उपचार गर्न आउनेको सूची लामो हुन्थ्यो। एक–दुई वर्षपछि मात्र पालो आउँथ्यो। केन्द्रले चिठी लेखेर खबर पठाएपछि मात्र मानिसहरू आउँथे। त्यसपछि डाक्टरले जाँचेर आवश्यक भएमात्र भर्ना गरिन्थ्यो।
उनका मिल्ने साथी थिए संगीतकार नातिकाजी। उनी शिवशंकर र पुष्प नेपालीसहित त्यहाँ जान्थे र गीत गाउँथे। बिरामीले पनि उनीहरूलाई खुब रुचाउँथे। त्यतिखेर बिरामीका लागि मनोरञ्जनको कुनै उपाय थिएन। नातिकाजी र शिवशंकरका गीत सुनेर आफ्ना पीडा भुल्न प्रयास गर्थे बिरामी। नातिकाजी र शिवशंकरले गाइरहँदा डा.दास भने बाँसुरी बजाउँथे। पहिला हिन्दी गीत गाउने नातिकाजी र शिवशंकरले पछिमात्र नेपाली गीत गाउन थालेका थिए।
त्यतिखेर टीबी रोगीको संख्या नेपालमा जम्माजम्मी १ लाख थियो। मृत्युदर पनि बढी नै थियो। त्यतिखेरको मुख्य रोगमा टीबी, हैजा र मलेरिया थिए। २००४ सालमा हैजाको महामारी फैलँदा धेरैको मृत्यु भएपछि पीडितलाई सहयोग गर्न परोपकार संस्था खोलेका थिए दयावीरसिंह कंसाकारले। त्यतिखेर अन्य रोग भए पनि पहिचान गर्न आजकालका जस्ता आधुनिक उपकरणको अभाव थियो।
०००
राजा महेन्द्र हरेक मेडिकल कन्फरेन्समा सहभागी हुन्थे, नेपाली संस्कृतिमा रमाउने राजाका लागि उनीहरू सांस्कृतिक कार्यक्रम गर्थे। त्यसमा उनी बासुरीबादन गर्थे, कहिलेकाहीँ ढोलक पनि बजाउँथे। सुमनकुमार नेपालीले हार्मोनियम बजाउथे। त्यतिखेर उनीहरूले नेपालीमा कौवाली पनि सुरु गरेका थिए।
२०१७ सालमा पञ्चायती व्यवस्था लागु भएपछि बनेको मन्त्रिपरिषद्मा डा. नागेश्वरप्रसाद सिंह स्वास्थ्य मन्त्री भए। सिंह र उनी पटना मेडिकल कलेजका सहपाठी थिए। मन्त्रीले एक दिन उनलाई भने, ‘टोखामा किन बस्ने, यतै शहरतिर आउनुस्।’ त्यसपछि टोखा स्वास्थ्य निवास र सेन्ट्रल चेस्ट क्लिनिक गाभियो। डा. यज्ञराज जोशी मेडिकल सुपरिटेन्डेन्ट र उनी डेपुटी भए। केही समयपछि यज्ञराज जोशी स्वास्थ्य विभागको निर्देशक हुँदा उनी चेस्ट क्लिनिकको मेडिकल सुपरिटेन्डेन्ट भए। पछि विष्णुकुमार तुम्बाहाम्फे स्वास्थ्य मन्त्री बने। मन्त्रीले डा. जोशीलाई मेडिकल सुपरिटेन्डेन्टमै फर्काएर उनलाई स्वास्थ्य विभागको निर्देशक बनाए। उनले निर्देशकका रूपमा विभागमा दुई वर्ष नेतृत्व गरे। पछि महानिर्देशक पद खडा गरी यज्ञराज जोशीलाई ल्याइयो। उनी निर्देशककै रूपमा रहे।
डा. दासले विभागको नेतृत्व लिएका बेला विश्व स्वास्थ्य संगठनको पहिलो क्षेत्रीय बैठक नेपालमा भयो। त्यसको अध्यक्ष पनि उनै भए। त्यतिखेर राष्ट्रिय सभागृह भर्खर बन्दै थियो। बैठक आयोजना गर्ने ठाउँ नभएकाले उनले राष्ट्रिय सभागृहलाई नै रोजे। तर सभागृहका विभिन्न कोठाहरू कसरी डिजाइन गर्ने थाहा थिएन। त्यसैले इन्जिनियर गंगाधर भट्टलाई अध्ययनका लागि दिल्ली पठाइयो। राष्ट्रिय सभागृहमा गरिएको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन पनि त्यही नै थियो।
त्यतिखेर स्वास्थ्यसहित कुनै पनि मन्त्रालयमा योजना महाशाखा थिएन। विश्व स्वास्थ्य संगठनले स्वास्थ्य मन्त्रालयमा योजना महाशाखा हुनुपर्छ भनेर सिफारिस गरेको थियो। उनलाई सरकारले योजनासम्बन्धी तालिमका लागि नयाँदिल्ली पठायो। उनी फर्किएलगत्तै पहिलोपटक स्वास्थ्य मन्त्रालयमा योजना महाशाखा खोलियो र त्यसका पहिलो चिफ प्लानिङ अफिसर पनि उनै भए। स्वास्थ्यको पाँचौं विकास योजना पनि उनैको पालामा बन्यो।
तिनताका पञ्चायत नीति तथा जाँचबुझ केन्द्र अस्तित्वमा थियो। राजा वीरेन्द्रले उनलाई केन्द्रमा काजमा बोलाए र ०३३ सालमा उनकै संयोजकत्वमा प्रथम दीर्घकालीन स्वास्थ्य योजना बन्यो। योजनालाई राजा वीरेन्द्रले स्वीकृत गरेका थिए। त्यहीँ रहँदा एकपटक दरबारका सचिवसँग खटपट पर्यो। राजीनामा दिन लाग्दा प्रधानमन्त्री डा. तुलसी गिरीले रोके। उनले भने, ‘कहाँ राजीनामा दिने ? तपाईं जहाँ भन्नुहुन्छ, त्यही पठाइदिन्छु।’
नभन्दै २०३४ सालमा रानी ऐश्वर्यको अध्यक्षतामा सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् गठन भयो। त्यसका विभिन्न समितिमध्ये स्वास्थ्य सेवा समन्वय समिति पनि एक थियो। त्यसकी सभापति प्रिन्सेप शाहकै आग्रहमा उनी समितिको पहिलो सदस्य–सचिव भएर काजमा खटिए। त्यसमा काम गर्दागर्दै राजा विरेन्द्रले लोकसेवा आयोगमा मनोनयन गरे २०३५ सालमा। आयोगका तत्कालीन अध्यक्ष कृष्णबम मल्लको सिफारिसमा आयोगको सदस्य भएका थिए उनी। लोकसेवामा ४७ सालसम्म १२ वर्ष काम गरेपछि बहुदलीय व्यवस्था पुनस्र्थापना भएसँगै उमेरको हदका कारण ६५ वर्ष तीन महिनामा उनले अवकाश लिए।
०००
२०५७ सालमा घरमै अवकाशप्राप्त जीवन बिताइरहेका थिए उनी। अरुको जस्तो नियमित क्लिनिक पनि थिएन। सम्पर्क गरेर घरमै आउनेलाई जाँचिदिन्थे। सामाजिक सेवामा पनि व्यस्त थिए। एक दिन अचानक प्रधानमन्त्री कार्यालयबाट फोन आयो। उनलाई मानवअधिकार आयोगमा सदस्य भएर जान इच्छुक भए– नभएको सोधियो। उनले जवाफ दिए, ‘म रेडक्रसको केन्द्रीय कार्यसमितिमा छु, आयोगमा आउन मिल्छ कि मिल्दैन थाहा छैन, साथीलाई सोधेर मात्र भन्छु।’ उनले सोधेपछि रेडक्रसका तत्कालीन अध्यक्ष रमेशकुमार शर्माले स्वीकृति जनाए। त्यसपछि अर्को एक दिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफैं फोन गरे। डा. दासले फेरि सोधे, ‘मैले रेडक्रसमा काम गरेकाले त्यता आउन मिल्छ कि मिल्दैन।’ प्रधानमन्त्रीले ‘किन मिल्दैन ? आउनुस् र आयोगलाई एउटा ट्रयाकमा ल्याउनुस्, पछि छाड्ने मन भए छाड्नुस्’ भनेपछि उनी मानव अधिकार आयोगको पहिलो समितिको सदस्य भएर गए।
मानव अधिकार आयोगमा एक कार्यकाल बिताए उनले। त्यहाँ बस्दा उनले नेपालको मानव अधिकारको अवस्थाबारे बुझे। नेपालमा मानवअधिकारको अवस्था कस्तो रहेछ भनेर बुझ्नुभयो त ? हामीले सोध्दा उनले भने, ‘नङग्रा नभएको बाघजस्तो हो मानवअधिकार आयोग। आयोग अहिले मानवअधिकार उल्लंघनका दोषी फलानालाई कारवाही गर्नुप¥यो भनेर सिफारिसमात्रै गर्ने निकाय भएको छ, अहिले पनि सरकारले कार्यान्वयन गर्दैन।’
उनले आफ्नो कार्यकालमा मानवअधिकार उल्लंघनका कैयौं दोषीलाई कारवाही गर्न सिफारिस हुँदा पनि कारवाही नभएको सम्झिए। सशस्त्र द्वन्द्वकालको त्यो समयमा रामेछापको दोरम्बा हत्याकाण्ड, कालिकोटको कोटबाडा हत्याकाण्ड, मैना सुनुवार हत्याकाण्डजस्ता घटनाका दोषीलाई कारवाही गर्न सिफारिस हुँदा पनि कारवाही हुन नसकेको उनको अनुभव छ। यस्ता कैयौं घटनामा पीडितले न्याय नपाउँदा उनलाई थक्कथक्क लाग्छ।
०००
एक जमानामा थियो, नेपालमा मेडिकल कलेज स्थापना हुन्छ वा चाहिन्छ भन्ने कल्पना पनि गरिदैनथ्यो। उनी सम्झन्छन्, ‘डा. यज्ञराज जोशी भन्थे हामीलाई अहिले मध्यम तहको जनशक्ति चाहिएको छ, मान्छेलाई झाडापखालाको औषधि त पुर्याउन सकिएको छैन किन चाहियो मेडिकल कलेज ? पछि मेडिकल कलेज स्थापना गर्न एउटा अध्ययन कमिटी नै बनाइयो, जसमा डा. दिनेशानन्द वैद्य, मनमोहनलाल सिंह र अरु एक दुई जना थिए। उनीहरूले दिल्ली गएर अध्ययन गरी रिपोर्ट बुझाए। त्यसको धेरैपछि मेडिकल कलेज खुल्न थाल्यो।
अहिले देशभर १९ वटा मेडिकल कलेज छन्। उनको मूल्यांकन छ, ‘उपचार सुविधामा धेरै प्रगति भए पनि मेडिकल कलेजले धेरै विकृति निम्त्याएका छन्, पहिले सेवाभाव थियो, अहिले डोनेसन दिएर पढ्ने प्रवृत्तिले व्यापारीकरण बढेको छ।’ स्वास्थ्य प्रशासनमा पनि घुसखोरी बढेको सुनेका छन् उनले। भन्छन्, ‘हाम्रा पालामा त यस्तो थिएन, अहिले त १०–१५ लाख दिएर निर्देशक बन्छन्, पदको दुरूपयोग गर्छन् भन्ने सुन्छु। डाक्टरले लिने फीसका बारेमा पनि उनले सम्झिए– पहिला बिरामी जाँचेको ५ रुपियाँ लिन पाइन्थ्यो। पछि राजा वीरेन्द्रले ६ रुपियाँसम्म लिन पाउने व्यवस्था गरे। त्यो पनि महँगो भयो भन्थे मानिसहरूले।
०००
उमेरले नौ दशक खाइसकेका छन् डा. दास। तैपनि उनी विभिन्नसंघसंस्थामार्फत् सामाजिक जीवनमा निकै सक्रिय छन्। झट्ट हेर्दा लाग्छ, उनी भर्खर ६० वर्षको हाराहारीमा छन्। अहिले करिब एक दर्जन सामाजिक संस्थामा संलग्न छन्। क्षयरोग निवारण संस्था, रेडक्रस र परिवार नियोजन संघमा संलग्न रहे भने कुष्ठरोग निवारण संघ, बीपी कोइराला आई फाउण्डेशन, इम्प्याक्ट, पूर्व कर्मचारी सेवा परिषद्, नेपाल–भारत मैत्री समाज, चेस्ट तथा टीबी एसोसिएसन, अन्धा कल्याण संघमा उनी संस्थापकमा रूपमा रहे। अहिले राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ र अल्जाइमर्स तथा विस्मृति समाजको अध्यक्षका रूपमा नेतृत्व दिइरहेका छन् उनले। यसका साथै घरमै फोन गरेर आउनेलाई उनी अझै पनि जाँचिरहेका हुन्छन्। यो उमेरमा पनि उत्तिकै सक्रिय छन्। अरू जसरी नै नियमित खाना खान्छन्। स्वास्थ्यमा पनि ठूलो समस्या छैन। पहिले ब्याडमिन्टन खेल्ने उनी आजकल केही योगा गर्छन्।
जेठा छोरा आनन्दमोहन लाल दास खानेपानीमा इन्जिनियर रही उमेरको हदले अवकाश पाई ज्येष्ठ नागरिक भइसकेका छन् भने कान्छा छोरा सुरेन्द्रमोहन लाल दास औषधि पसल चलाउँछन्। दुवै छोरीका पति श्यामसुन्दर लाल साह र टिएन मल्लिक नामी डाक्टर छन्। श्रीमती गंगादेवीको भने २०५४ सालमै निधन भइसकेको छ।