वरिष्ठ चिकित्सक डा खगेन्द्रबहादुर श्रेष्ठको आज सोमबार १३ औं पुण्यतिथि। उनले जीवनका ८९ वर्ष उनले सक्रिय जीवन जिए। ब्लुक्रस हस्पिटलका संरक्षक डाक्टर श्रेष्ठ बिरामीसँग मृत्युको डेढ महिनाअघि मात्रै बिदा भएका थिए। अस्पतालकी फाइनान्स डाइरेक्टर सतिदेवि गौतम सिंहका अनुसार त्यही बीचमा उनी निमोनिया भएर अस्पताल आए। त्योबेला अस्पतालबाट घर जाँदा उनले भनेका थिए- म अब दुई हप्तामा बिदामा छु है ! बिरामीको उपचारका लागि अस्पताल नै फर्किनेगरी गएका डा श्रेष्ठ केही समयमा आफैं बिरामी भएर अस्पताल आइपुगे। ब्लुक्रस अस्पतालमै दुई सातअघि अन्तिम सास फेरे।
आफ्नो पूरा जीवन एउटा अनुशासनमा राखेर चलाएका उनीभित्र सकारात्मक भावको खानी थियो। हरेक परिस्थितिलाई उनी सकारात्मक तरिकाले 'ह्यान्डिल' गर्थे। कान्छी छोरी अञ्जली श्रेष्ठका अनुसार उनले पहिलोपटक अस्पतालको बेडमा डा श्रेष्ठले भने- म अब निको हुन्न होला! छोरा देवेन्द्रबहादुर श्रेष्ठले मुटुको बाइपास सर्जरी गरेको बेला पिताको सक्रियता देखेका थिए। 'बुवालाई बिरामी भनेर भेट्ने आउनेहरुलाई ढोका खोलेर उहाँले नै स्वागत गर्नुहुन्थ्यो। केही भएको छैन, मुटु सर्भिसिङ गरेको भन्नुहुन्थ्यो,' उनले स्मरण गरे। बुहारी पुनम गोशालीले डा खगेन्द्रलाई ससुराका रुपमा पाउनु पूर्वजन्मको फलका रुपमा लिएकी छिन्। जसले छोरी भन्दा माथि राखेर उनलाई माया गरे। जेठी छोरी नीता श्रेष्ठसँग बुवासँग अनेकन प्रिय सम्झना छन्। शाही चिकित्सक भएर सादा जीवन बाँचेके डा श्रेष्ठसँग परिवार र अस्पताल परिवार ले नै महत्वपूर्ण 'मार्गदर्शन' प्राप्त गरेको छ। त्यही मार्गमा निरन्तर अघि बढ्ने प्रण गरेको छ।

डा श्रेष्ठकी कान्छी छोरी अञ्जली, छोरा देवेन्द्र, बुहारी पुनम र जेठी छोरी नीता ।
अस्पतालकी फाइनान्स डाइरेक्टर सिंहका अनुसार डा श्रेष्ठले उपचार र उपकार दुवै सँगै अघि बढाए। दशरथ रंगशाला नजिककैको अस्पतालमा जब खेलाडि उपचारका लागि आउँथे, डा श्रेष्ठले 'भारी छुट' गरिदिन्थे। भन्थे, 'मलाई सरकारले पढाएको हो। मैले सकेको सहयोग गर्नुपर्छ।'
डा श्रेष्ठका भाञ्जा समेत रहेका बीआर ग्रुपका निर्देशक रजतकृष्ण श्रेष्ठ एउटा डायनामिक व्यक्तित्वको लयबद्ध जीवनदेखि असाध्यै प्रभावित हुन्। डा खगेन्द्रको केही कुरासँग परहेज थियो भने त्यो हो बहाना। रजतकृष्ण सम्झिन्छन्, 'उहाँ बहाना गर्ने होइन, विकल्प खोज्ने कुरामा जोड दिनुहुन्थ्यो। जस्तो, मर्निङवाक पानी परेर रोकिने होइन, छाता ओढेर जान सकिन्छ।'

अस्पताल टिमसँग
आमजनसँग सहजै भिज्नसक्ने उनको पहिचान भने शाही चिकित्सकका रुपमा बनेको थियो । उनी निकट सबैले उनलाई राजाकै डाक्टरमा रुपमा चिन्थे। किनधभने उनी दिवंगत राजा वीरेन्द्र वीरविक्रम शाहका आजीवन डाक्टर रहे। वीरेन्द्र युवराज हुँदादेखि नै राज परिवारसँग जोडिएका उनी दिवंगत हुँदासम्म साथै रहे। त्यसपछिका दिनमा भने काठमाडौंको थापाथलीमा रहेको ब्लुक्रस अस्पताल मार्फत् जनताको सेवामा तल्लीन रहे।
सन् १९६१ मा भारत, लखनउस्थित किङ जर्ज मेडिकल कलेजबाट एमबिबिएस गरेका हुन् डा खगेन्द्रले । पढाइ पूरा गरेर आएपछि तत्कालीन श्री ५ को सरकारको हाउस अफिसरका रुपमा काम गर्न निवेदन दिएका थिए तर जागिरको टुंगो लागेको थिएन । उनका मामा खलकको काठमाडौंमा औषधि पसल थियो । त्यसैले उनका मामाले नेपालमा स्वास्थ्य लगायत अन्य सहयोगका लागि आइरहने प्रसिद्ध भूगोलशास्त्री तथा विकासविज्ञ टोनी हेगनलाई चिन्थे । उनलाई भर्खर डाक्टरी सकेर आएको भान्जालाई टोनी हेगनकै परियोजना अन्तर्गत काम लगाउने इच्छा जाग्यो । टोनी हेगनले एक वर्ष मुस्ताङमा रहेर खम्पा विद्रोहीको उपचार गरेपछि इन्टरनेसनल रेडक्रस सोसाइटीमा जागिर लगाउने वचन दिए । सोही योजना अनुसार डा श्रेष्ठ ११ महिनासम्म जोमसोममा बसे । त्यसपछि हेगनकै सहयोगमा उनलाई सिंगापुर जाने अवसर मिल्यो।

अस्पताल टिमसँग
देशमै चिकित्सकको अभाव रहेको कुरा उनले आफूभन्दा माथिल्लो तहबाट जानकारी पाएपछि सिंगापुर जाने योजना त्यागिदिए। जोमसोम बस्दा नेपाली सेनाका हाकिमले उनको काम र जाँगर सेनाका लागि उपयुक्त हुने ठहर्याइसकेका रहेछन् । त्यसैले डाक्टर खोजिरहेका सेनाका उच्च अधिकारी समक्ष उनको नाम सिफारिस भयो । २०१९ सालको सुरु तिर आर्मीबाट उनलाई बोलावट आयो । उनी आर्मीका उच्च अधिकारीलाई भेट्न पुगे । फिट शरीरवाला डा श्रेष्ठ आर्मीको जागिरमा तुरुन्तै ‘ओके’ भइहाले।
उनले राति आर्मी अस्पतालमा ड्युटी र दिउँसो काठमाडौं मेडिकल हलमा प्राइभेट प्य्राक्टिस गरे एक वर्षसम्म। त्यस्तै, २०२२ सालतिरको कुरा हो, बेलायतबाट उच्च शिक्षा हासिल गरी फर्केका युवराज वीरेन्द्रलाई देशदुनियाँ बुझ्न पठाउने चाहना राजा महेन्द्रमा जागेछ।
डा श्रेष्ठले बताए अनुसार देशको अवस्था र दुनियाँको दुःख देखुन् भनेर राजपरिवार सदस्यका रुपमा नभई सिपाहीका रुपमा युवराजलाई घुम्न पठाउने प्रचलन थियो । युवराजले आफूलाई चाहिने सर्जामको भारी आफैं बोकर पैदलयात्रा गर्नुपथ्र्यो । सो यात्रामा दुई जना एडिसी, चारजना सिपाही, एक जना निजी सचिव र एकजना डाक्टर पठाइन्थ्यो।
नेपाली सेनामै रहेका डाक्टरमध्येका उपयुक्तलाई पठाउन राजाको आदेश भएछ । सेनाका एक उच्च अधिकारीले उनलाई सोधे, ‘ओई, डाक्टर, तिमी भारी बोकेर पहाड पर्वत जान सक्छौ?’ उनलाई महसुस भइहाल्यो, पक्कै कोही भिआइपी यात्रामा निस्किन लागेका होलान् । उनले ‘सक्छु’ भनिदिए।
भोलिपल्टै उनलाई सूचना आयो– राजाले दर्शनभेटका लागि बोलाइबक्सेको छ । भर्खर युवावयमा पुगेका कसिलो जिउज्यानका डा श्रेष्ठलाई राजा महेन्द्रले बार्दलीबाटै हेरेर उपयुक्त ठहर्याको जनाउ दिए।
त्यसपछि युवराज वीरेन्द्रको त्रिशुलीदेखि पोखरासम्मको पैदल यात्रामा उनी डक्टरका रुपमा सहभागी भए। त्यो समय राजाको निजी डाक्टर हुने शौभाग्य पाउनु चानचुने कुरा थिएन । देशकै शक्ति केन्द्र दरवारको नजिक हुन हरेक वर्ग र पेशाका मान्छे मरिमेट्थे । उनलाई भने यो शाही जागिर आफ्नै जाँगरले दिलाएको थियो।

अस्पताल टिमसँग
डाक्टरी पढेको मान्छेमा खेलाडीको जस्तो ज्यान र जाँगर हुनुको कथा रोचक नै छ । १९९२ सालमा काठमाडौं जैशीदेवलमा जन्मेका डा श्रेष्ठको एसएलसीसम्म पढाइ राम्रै थियो । उनका काका पाटन हाइस्कुलका शिक्षक भएकाले उनको परिवार पनि त्यतै बस्थ्यो र उनले पनि त्यतै पढे । २००७ सालमा पहिलो श्रेणीमा एसएलसी पास गरेपछि त्रिचन्द्र कलेजमा आइएससी पढ्ने योजना बनाए । उनका मामा हरिकृष्ण श्रेष्ठ (जो नेपालको पहिलो पुस्ताका पाइलट हुन् र प्लेन दुर्घटनामै दिवंगत भए) पनि आइएससी पढ्ने भएकाले मामाघरै बसेर पढ्न थाले।
मामाघर गएपछि उनलाई एकखालको स्वतन्त्रता महसुस भयो र खेल्नतिर बढी जोड दिए । ब्वाइज एथ्लेटिक क्लब खिचापोखरीमा आवद्ध भएर फुटबल खेल्ने सपनाले गाँज्यो उनलाई। खेल कौशल पनि राम्रै भएकाले उनी टिममा पर्न थाले । यसले उनको पढाइ ध्वस्तै भयो । आइएससी तेस्रो श्रेणीमा पास गरे भने बिएससीलाई पार लगाउने छाँट देखिएन।
उनका बुबा भवानीभक्त श्रेष्ठ पनि डाक्टर थिए, तर एमबिबिएस नभई लाइसेन्स प्राप्त भनिन्थ्यो । यसकारण उनलाई परिवारले डाक्टर नै बनाउने चाहना राखेको थियो । आफ्नो पढाइ खेलका कारण कमजोर हुँदै गएपछि डाक्टर बन्न नसक्ने उनले महसुस गरे।

बिएससीको अन्तिम परीक्षा आउन ८ महिना बाँकी हुँदा कुनैपनि हालतमा पढाइ सपार्ने हिम्मत जाग्यो । उनका सहपाठी जुगलकृष्ण श्रेष्ठ पढाइमा अब्बल थिए । उनीसँग भने, ‘केही समय तँसँगै पढ्छु ।’ संयुक्त परिवारमा बस्ने जुगलको घरमा पढ्ने वातावरण नभएपछि उनी नै डा श्रेष्ठकोमा पढ्न आउन राजी भए । त्यसैगरी अर्का राम्रा विद्यार्थीमा गनिने चन्द्रप्रसाद गोर्खाली र केशररत्न बज्राचार्य पनि आफ्नो घरमा पढ्ने वातावरण नभएको भन्दै उनीकहाँ आउन थाले । ‘अब्बल विद्यार्थीको संगतले मेरो पढाइको स्तर उकासियो । दोस्रो श्रेणीमा बिएससी पास गरें,’ उनले स्मरण गरेका थिए।
डाक्टर बन्नका लागि ८ महिना रातदिन नभनी पढेका थिए उनले तर त्यही वर्षदेखि सरकारले बिएससी गरेकालाई एमबिबिएस पढ्न नपठाउने निर्णय गर्योप । तर, डाक्टर बन्ने भाग्यले उनलाई साथ दियो । लखनउको किङ जर्जेज कलेजमा एमबिबिएस पढ्न गएका एक विद्यार्थी अस्वीकृत भएपछि कोटा खाली भयो। उनका मामा हरिकृष्ण श्रेष्ठ २००७ सालको प्रजातन्त्र ल्याउन गणेशमान सिंह, टंकप्रसाद आचार्यसँगै जेल बसेका थिए । ‘मामाको त्यही चिनजानलाई प्रयोग गरेर म त्यो रिक्त कोटामा पढ्न लखनउ पुगेको हुँ,’ उनले नढाँटी भनेका थिए।
लखनउमा चिकित्सा पढ्न जाँदा उनकी आमाले चिन्ता व्यक्त गर्दै एअरपोर्टमा भनेकी थिइन्, ‘अब राम्ररी पढ्नू, फुटबल नखेल्नू ।’ एकपल्ट राम्रैसँग जोडिसकेको फुटबलसँगको नाता के टुट्थ्यो ? एमबिबिएस पढ्दा पनि ‘अच्छा खेल्ता है’ भनेर अन्तर कलेज प्रतियोगितामा उनलाई कलेज टिम क्याप्टेन बनाइदिए।
आर्मीको डाक्टर भएपछि उनले खेल र शारिरीक फिटनेसमा आफूलाई चुस्त दुरुस्त राखे । बिहान ६ बजे रंगशाला पुगेर दौडिनुलाई दैनिकी बनाए । डाक्टरीसँगै खेलमा आफूलाई सहभागी गराएका उनी भन्थे, ‘खेलले मलाई अनुशासित बन्न सिकायो र स्वस्थ बनायो ।’
जीवनका लागि खेल अपरिहार्य भएको महसुस गरेपछि उनले आफ्नै नाममा ‘खगेन्द्र स्पोर्ट फाउन्डेसन’ पनि खोले । त्यसको अध्यक्ष रहेका उनी प्रत्येक वर्ष कार्यक्रम गर्दै आएका थिए।
वीरेन्द्र युवराज हुँदादेखि नै चिकित्सकीय सेवा दिइरहेका उनले २०५३ सालमा औपचारिक रुपमा ‘शाही चिकित्सक’को उपाधि पाए। २०५८ जेठ १९ गते राज परिवार हत्याकान्ड भएपछि उनले सेवाबाट अवकाश लिए। उनी ६० वर्षे उमेर हद लागेर सेवाबाट ६ वर्षअघि नै रिटायर्ड भइसकेका थिए, तर शाही चिकित्सकका रुपमा दुई–दुई वर्ष करार थप गर्दै सेवारत थिए। राजाको सेवा गर्दै आएका उनी ब्लुक्रस हस्पिटलबाट 'रैती'को सेवामा समेत समर्पित भए। उक्त अस्पतालको मेडिकल डाइरेक्टरको समेत जिम्मेवारी निर्वाह गरे। यसबाहेक सिभिल एभिएसन अथोरिटी नेपालमा सिभिल एभिएसन मेडिकल एस्सेसर, खगेन्द्र स्पोर्ट्स फाउन्डेसनको संस्थापक अध्यक्ष, नेपाल लेप्रोसी रिलिफ एसोसिएसनमा समेत उनले महत्वपूर्ण जिम्मवारी सम्हाले।