काठमाडौं- डा टंक बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त भएका छन्। शुक्रबार मात्रै उनले 'भार ग्रहण' गरेको उक्त पद स्वास्थ्यको 'बलियो निकाय' हो।
विभिन्न १० महाशाखा तथा केन्द्र रहेको स्वास्थ्य सेवा विभागको महानिर्देशक 'शक्तिशाली' मानिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा प्रदिप पौडेलले स्वास्थ्य सचिवमा सिफारिस तीनमध्ये एक उनलाई उक्त 'शक्ति' प्रदान गरेका छन्।
जीवनको अधिकांस समय बालरोग विशेषज्ञका रुपमा उपचार सेवामा बिताएका उनी बाल रोग विशेषज्ञमा कहलिएका नाम हुन्। सरकारी सेवामा २५ वर्ष बिताएका डाक्टर बाराकोटी कहिले पनि विवादमा आएनन्। डा बाराकोटी मन्त्रालयमा सरुवा भएर आएदेखि नै एउटै कुरा दोहोर्याइरहेका छन्, '२५ वर्ष जागिर खाँदा दाग लागेन। छोरीहरुलाई नैतिक शिक्षा दिने बेला दाग लगाउने गरी काम गर्दिनँ।'
शान्त स्वभावका डा बाराकोटीको नाम स्वास्थ्य सचिवका लागि सिफारिस तीनजना मध्ये पर्नुअघि राजधानी क्षेत्रमा धेरैका लागि परिचित थिएन। २०७९ देखि स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव रहेका उनले जिम्मेवारी नपाउँदा पनि केही बोलेनन्। पछि समन्वय तथा जनसंख्याको जिम्मेवारी पाए। त्यो कुशलतापूर्वक निर्वाह गरे। स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा प्रदिप पौडेल आएपछि उनले समन्वयका साथै चिकित्सा शिक्षा र एकेडेमीको जिम्मेवारी दिए। ती जिम्मेवारी समेत उनले राम्ररी निर्वाह गरेको परिणाम अहिले उनी महानिर्देशक भएका छन्।
डा बाराकोटीले यो अवसरलाई आफूले २५ वर्षसम्म स्वास्थ्य सेवामा रहेर गरेको योगदानको स्वभाविक प्रतिफल रुपमा लिएका छन्। किनभने उनी पदका लागि जुन हदसम्म पनि जानसक्नेमध्येमा पर्दैनन्। अनौपचारिक कुराकानीमा उनले बताइरहन्छन्, 'मलाई ११ औं तहमा भएका बेला कामु महानिर्देशक बन्ने अफर थियो। मन्त्रालयको महाशाखा प्रमुख भएर आउन भनिएको थियो। तर, आफूलाई सहज परेका बेला एक ठाउँ गइन्छ, असहज हुँदा फालिन्छ। त्यसैले मैल मानिनँ। १२ औं तह भएपछि मात्रै काठमाडौं आएँ।'
उनी जति सरल लाग्छन्, त्यस्तै सरल छ उनको ल्याब टेक्निसियनदेखि महानिर्देशकसम्मको यात्रा। २०२६ साल साउनमा तेह्रथुम जिल्ला चुहानडाँडामा जन्मेका उनी त्यहीँ ३ कक्षासम्म पढे। उनी ९ वर्षको हुँदा उनको परिवार झापा झर्यो् । कक्षा ४ देखि ७ सम्म त्यहीँको चम्पापुर निमाविमा परे। त्यसपछि माध्यामिक शिक्षाका लागि घैलाकुवा जानुपर्थ्यो। बाटोमा खोला पर्थ्यो। उनी अहिले पनि ती दिन खुब स्मपरण गर्छन्, 'जहिल्यै अर्धवार्षिक परीक्षा हुँदा खोलो ठूलो हुन्थ्यो। बाढी आउँथ्यो। एउटा कपडा लगाएर खोलो तरिन्थ्यो। ती चिसा कपडा धानबारीमा लुकाइन्थ्यो। फर्केर आउँदा फेरि त्यही लगाएर खोला तरिन्थ्यो।
कक्षा १० पास गरेपछि उनी चिकित्सा पढ्न काठमाडौं आए। महाराजगञ्ज क्याम्पसमा ल्याब टेक्निसियनमा उनको नाम निस्कियो। ल्या टेक्निसियन पास गरेपछि जोरपाटीमा रहेको हस्पिटल फर डिसेबल चिल्ड्रेनमा काम गरे। त्यहाँ काम गर्दा गर्दै उनले एमबीबीएसका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानमै नाम निकाले।
उनको रुचि नै सरकारी जागिर थियो। त्यसैले एमबीबीएसपछि सिधै लोकसेवाको तयारी गरे। तर, तीन वर्षसम्म लोक सेवा नै खुलेन। निजी अस्पतालमा सेवा गरे र २०५६ सालमा मेडिकल अधिकृतका रुपमा स्वास्थ्य सेवामा प्रवेश गरे । उनलाई सम्झना छ, '१२८ मेडिकल अफिसर मागिएको थियो। जम्मा ९६ जनाको आवेदन पर्यो । लिखितमा ६३ जना पास भयौं। ५१ जना अन्तर्वार्ता दिन गयौं । ४५/४६ जनाले मात्रै जागिर गर्यौं।।'
उनको सुरुको पोस्टिङ विराटनगरस्थि कोशी अस्पताल थियो। एक वर्ष त्यहाँको बाल रोग विभागमा काम गरे। त्यहीबेलादेखि उनलाई बालरोगमा रुचि बढ्यो । २०५८ सालमा पाँचथर अस्पताल फिदिममा सरुवा गरियो। त्यहाँ उनले झन्डै तीन वर्ष सेवा गरे। त्यही बेला ८ औं तहमा स्तरवृद्धि भयो। उनले विशेषज्ञताका लागि आईओएम र चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान (न्याम्स)मा जाँच दिएका थिए। दुवै ठाउँमा नाम निस्किएपनि आईओएममा उनले बालरोग पाएनन्। त्यसपछि न्याम्समा उनी एमडी गर्न पुगे। उनी न्याम्सको पहिलो ब्याच हुन्। २०६० देखि २०६३ सम्म एमडी गरे। पढ्दापढ्दै उनी कान्तिमा सरुवा भएका थिए।
२०६४ सालमा बढुवाका लागि आन्तरिक प्रतियोगिता भयो। उनले ९ औं तहमा नाम निकाले । उनी झापास्थित तत्कालीन मेची अञ्चल अस्पताल (अहिले प्रादेशिक)मा २०७० सालसम्म बसे। २०७० सालमा उनी ११ औं तहमा बढुवा भए। मेचीमा ११ औं तहको दरबन्दी थिएन, त्यसैले कोशी अस्पताल विराटनगर सरुवा भएर आए। एक वर्ष त्यहाँ काम गरे, त्यही समयमा मेची अस्पतालमा ११ औं तहको दरबन्दी थपियो र फेरि उनी झापा नै फर्किए।
२०७९ सालसम्म झापा नै बसेर सेवा दिएका उनी एकपल्ट १० औं तहमा हुँदा र अर्कोपल्ट ११ औं तहमा हुँदा गरी ६ वर्ष मेडिकल सुपरिटेन्डेन्टको रुपमा समेत काम गरेका छन्। तर, उनले पद र प्रशासन भन्दा बढी चिकित्सा सेवामै आफूलाई समर्पित गरेका छन्।
उनीसँग आफ्ना छोराछोरीको उपचार गराएकाहरु उनलाई खोज्दै अहिले पनि मेची अस्पतालमा पुग्छन्। उनलाई नभेटेपछि फोन गरेर सोध्छन्, 'छोराछोरी हुर्काउनुभयो, अब नातिनातिना हेरिदिनुपर्यो। कहाँ हुनुहुन्छ?' उनी आफ्नो वर्तमान अवस्था बताउँछन्।
बिरामी र उनीहरुका आफन्तको यही विश्वासले आफू झापामा लामो समय बसेको बताउँछन्। उनी भन्छन्, 'एउटा विश्वास थियो। अतिरिक्त सचिव नबनुन्जेल त्यो विश्वास छाडेर हिँड्ने विचार गरिएन।'
महानिर्देशकको जिम्मेवारीमा रहँदा पनि उनी उपचार सेवाकै सूत्र अवलम्बन गर्ने बताउँछन्। उनी भन्छन्, 'हुनेकुरालाई अलमल्याएर राख्दिनँ। नहुने कुरामा हुन्छ भनेर पनि अलमल्याउँदिनँ। उपचारमा जाँच गर्दा जे देखिन्छ, त्यसैको उपचार र औषधि गरेजस्तै यहाँ कानुनले जे भन्छ त्यही मात्रै गर्छु।'