काठमाडौं — नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जाल टिकटकमा भाइरल भएका एक चिकित्सकसँग स्पष्टीकरण माग गरेको छ। काउन्सिलले डा. सुधीर प्रसाद साहलाई पत्र पठाउँदै उनीद्वारा अपलोड गरिएका भिडियो सामग्रीबारे छानबिन थालेको जनाएको हो।
काउन्सिलका अनुसार अप्रिल २०२५ देखि अप्रिल २०२६ बीच टिकटकमार्फत सार्वजनिक गरिएका सामग्रीको अध्ययन गर्दा ‘कोड अफ एथिक्स एन्ड प्रोफेशनल कन्डक्ट, २०१७’ का विभिन्न प्रावधान उल्लंघन भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। विशेषगरी पेशागत मर्यादा, सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आचारसंहिता र चिकित्सकीय आचरणसँग सम्बन्धित बुँदाहरूमा प्रश्न उठाइएको छ।
पत्रमा काउन्सिलले डा. साहलाई पत्र प्राप्त भएको मितिले सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। तोकिएको समयसीमाभित्र जवाफ नदिए कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने चेतावनी पनि दिइएको छ।
डा. साह हाल भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलसँग आबद्ध रहेको जनाइएको छ। सामाजिक सञ्जालमा उनको सक्रियता र भिडियो सामग्री व्यापक रूपमा फैलिएका थिए, जसले जनचासोसमेत बढाएको थियो।
मेडिकल काउन्सिलले चिकित्सकहरूलाई पेशागत मर्यादा कायम राख्दै सामाजिक सञ्जाल प्रयोग गर्न पटक–पटक सचेत गराउँदै आएको छ। 