काठमाडौं – बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, मानसिक तनाव तथा दीर्घरोगका कारण पछिल्लो समय उच्च रक्तचापका बिरामी बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।
विश्व उच्च रक्तचाप दिवस २०२६ को अवसरमा कान्तिपुर डेन्टल कलेज तथा जनरल अस्पतालका इन्टरनल मेडिसिन स्पेसलिस्ट डाक्टर सञ्जय कुमार शाहले उच्च रक्तचापलाई ‘मौन घातक’ रोगको रूपमा व्याख्या गर्दै समयमै परीक्षण र नियन्त्रण आवश्यक रहेको बताएका हुन्।
उनका अनुसार माथिल्लो रक्तचाप १४० भन्दा बढी र तल्लो रक्तचाप ९० भन्दा बढी भए उच्च रक्तचाप भएको मानिन्छ। हप्तामा दुई पटकभन्दा बढी रक्तचाप बढेमा उच्च रक्तचाप भएको शंका गर्न सकिने उनले बताए।
डा. शाहका अनुसार अहिलेको व्यस्त जीवनशैली, असन्तुलित खानपान, उच्च कोलेस्ट्रोल, थाइराइड समस्या तथा मधुमेह भएका व्यक्तिमा उच्च रक्तचापको जोखिम बढी देखिन्छ। यसको पहिचानका लागि नियमित रक्तचाप जाँचसँगै रगत, कोलेस्ट्रोल र मधुमेह परीक्षण गर्नुपर्ने उनले बताए।
उच्च रक्तचाप नियन्त्रणका लागि नुन कम खाने, पर्याप्त पानी पिउने, नियमित शारीरिक व्यायाम गर्ने, मोटोपन घटाउने तथा कोलेस्ट्रोल र सुगर नियन्त्रणमा राख्नुपर्ने चिकित्सक शाहको सुझाव छ। थाइराइड समस्या भए उपचार गर्न पनि उनले आग्रह गरे।
जीवनशैली सुधार गर्दा पनि रक्तचाप नियन्त्रणमा नआए औषधि सेवन गर्नुपर्ने उनले बताए। उच्च रक्तचापलाई बेवास्ता गर्दा स्ट्रोक, प्यारालाइसिस, हृदयघात जस्ता गम्भीर समस्या आउन सक्ने र कतिपय अवस्थामा ज्यानसमेत जान सक्ने चेतावनी उनले दिए।
उनले उच्च रक्तचाप हुन नदिन नियमित व्यायाम, तनाव नियन्त्रण र स्वस्थ खानपानमा विशेष ध्यान दिन आग्रह गरे।
यस वर्ष विश्व उच्च रक्तचाप दिवसको नारा “उच्च रक्तचाप नियन्त्रणमा सबैको साथ: जाँच गरौँ नियमित रक्तचाप, परास्त गरौँ मृत्युको मौन कारक” रहेको उल्लेख गर्दै उनले सबैलाई नियमित रक्तचाप परीक्षण गर्न आग्रह गरेका छन्।