काठमाडौं- सरकारले अध्यादेशपछि रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३ जारी भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित पदाधिकारीहरुको पदमुक्त भएका थिए।
प्रतिष्ठानका रिक्त रहेका उपकुलपति नियुक्तिका लागि स्वास्थ्य मन्त्री निशा मेहताको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ।
सिफारिस समितिमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य र स्वास्थ्य सचिव डा विकास देवकोटा सदस्य छन्।
समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति सिफारिसका लागि मापदण्ड बनाउने काम अगाडि बढाइसकेको छ।
स्वास्थ्य मन्त्री मेहताको सचिवालयले दिएको जानकारी अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्ने प्रक्रिया अगाडि बढेको छ।
'समितिले सबै प्रतिष्ठानमा उपकुलपति सिफारिसका लागि मापदण्ड बनाउने काम अगाडि बढाएको छ। मापदण्ड बनाउने काम सकिएपछि समितिले सार्वजनिक सूचना जारी गर्दै उपकुलपतिका लागि आवेदन माग गर्ने तयारी गरेको छ,' सचिवालयका एक कर्मचारीले भने।