काठमाडौं- त्रिवि शिक्षण (टिचिङ) अस्पतालले १० शय्याको ‘फेमिली मेडिसिन वार्ड’ सञ्चालनमा ल्याएको छ।
अस्पतालको डिपार्टमेन्ट अफ जनरल प्राक्टिस अन्तर्गत स्थापना गरिएको यस अत्याधुनिक वार्डको अस्पतालका निर्देशक डा. सुवास आचार्यले हालै औपचारिक उद्घाटन गरेका हुन्।
यो वार्डमा जटिल र बहुआयामिक स्वास्थ्य समस्या भएका बिरामीहरूलाई एउटै छानामुनि केन्द्रिकृत उपचार सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
यस नयाँ वार्डमा विशेष गरी मधुमेह, उच्च रक्तचाप, थाइराइड, दम, सिओपीडी, कडा ज्वरो तथा विभिन्न प्रकारका संक्रमण भएका बिरामीहरूलाई भर्ना गरेर उपचार गरिनेछ। यसका साथै, एकभन्दा बढी रोगले ग्रसित भएका र नियमित चिकित्सा निगरानी आवश्यक पर्ने ज्येष्ठ नागरिकहरूलाई समेत यो वार्डले प्राथमिकता दिने अस्पतालले जनाएको छ।
ओपीडी वा आकस्मिक कक्ष (इमर्जेन्सी) मा उपचारका लागि आउने बिरामीहरूमध्ये भर्ना गर्नुपर्ने अवस्थाका व्यक्तिहरूलाई आवश्यकता अनुसार सिधै यस वार्डमा स्थानान्तरण गरी उपचार प्रक्रिया अघि बढाइनेछ।
वार्डका इन्चार्ज डा. संजिव तिवारीका अनुसार यसअघि यस्ता प्रकृतिका बिरामीहरूलाई सामान्य मेडिसिन वार्डमा राखेर उपचार गरिँदै आएकोमा अब भने जनरल प्राक्टिस विभागका विशेषज्ञ टोलीले विशेष रेखदेख गर्नेछन्।
बिरामीको स्वास्थ्य जटिलतालाई ध्यानमा राख्दै आवश्यकता अनुसार अन्य विभागका विशेषज्ञहरूलाई समेत सामेल गराई बहुविशेषज्ञ (मल्टिडिसिप्लिनरी) सेवा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।
हाल यस विभागमा विभागीय प्रमुख डा. यज्ञलक्ष्मी शाक्यको नेतृत्वमा डा. योगेन्द्रमान शाक्य, डा. संजिव तिवारी, डा. तीर्थमान श्रेष्ठ, डा. संजयकुमार गुप्ता र डा. राजु चापागाईं लगायतका वरिष्ठ चिकित्सकहरूको टोली चौबीसै घण्टा सेवामा सक्रिय रहेको छ।