डा पुजन कुमार रोकाया, कर्णालीमै जन्मे र हुर्के। त्यहीँको स्कुलबाट एसएलसी पास गरेका उनले कर्णाली चिकित्सा शिक्षाका लागि मात्रै छाडेका छन्। जन्मेहुर्केकै ठाउँमा रहेको चिकित्सकको अभाव महशुस गरेर उनले त्यहीँ सेवा गर्ने प्रण गरे। विगत १२ वर्षदेखि निरन्तर कर्णालीमै कार्यरत छन्। उनको कर्णालीप्रतिको प्रेम र प्रणलाई महशुस गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त भएका छन्।
कर्णालीका लागि १५ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा प्राध्यापक डाक्टर थिए। राम्रो संस्थाको नेतृत्व गरिरहेकाहरु थिए। एक से एक थिए । तर, कर्णालीमै जन्मेहुर्केको डा पुजन मात्रै थिए। डा रोकाया आफ्नो योगदानको कदर भएको रुपमा यसलाई लिन्छन्। प्राप्त अवसरको उच्चतम प्रयोग गर्ने उनी बताउँछन्।
जुम्लामै जन्मेका र हुर्केका डा रोकायाले आफ्नो जीवनको महत्त्वपूर्ण समय कर्णालीका जनताको सेवामा खर्चेका छन्। दुर्गम क्षेत्रमा नै सेवा गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा हाडजोर्नी तथा नशारोग विशेषज्ञका रूपमा कार्यरत छन्।
डा रोकायाको शैक्षिक यात्रा पनि प्रेरणादायी छ। जुम्लाको जीएमडी मोडर्न पब्लिक हाई स्कुलबाट एस.एल.सी. उत्तीर्ण गरेपछि उनले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुर्गम कोटाअन्तर्गत एमबीबीएस अध्ययन गर्ने मौका पाए। त्यही दुर्गम कोटाले नै उनलाई आफ्नो जन्मभूमिप्रति अझ बढी जिम्मेवार बनायो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जबाट हाडजोर्नी तथा नशारोगमा स्नातकोत्तर गरेपछि उनी काठमाडौंको सहज जीवन त्यागेर कर्णाली फर्किए।
डा. रोकाया हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल निर्देशकका रूपमा कार्यरत थिए। उनको नेतृत्वमा दुर्गमका विभिन्न स्थानहरूमा विशेषज्ञ सेवा सहितका स्वास्थ्य शिविर र अपाङ्गता पहिचान शिविरहरू सञ्चालन हुँदै आएका छन्। ग्रामीण समुदायमा चोटपटक व्यवस्थापनको विज्ञका रूपमा परिचित डा. रोकायाले जर्मनीको गोटिङ्गेन विश्वविद्यालयबाट चोटपटक व्यवस्थापनमा फेलोसिप पनि प्राप्त गरेका छन्।
अनुसन्धानमा विशेष रुचि राख्ने डा रोकायाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा 'रुरल ट्रमा' र 'पेडियाट्रिक फ्र्याक्चर' जस्ता विषयमा १० भन्दा बढी लेखहरू प्रकाशन गरिसकेका छन्। उनको यो सक्रियताले कर्णालीको स्वास्थ्य क्षेत्रमा नयाँ ज्ञान र प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान पुगेको छ।
डा रोकायाको सपना कर्णालीका सबै जिल्लाहरूमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु हो। यसै सपनालाई साकार पार्न उनी प्रतिष्ठानको निर्देशकको भूमिकामा रहँदा पनि प्रयास गरेका थिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपतिको पदका लागि अघिल्लो कार्यकालमा पनि उनको बलियो दाबी थियो तर त्योबेला उनको प्रयास सफल हुन सकेन। यसपल्ट उनी सफल भएका छन्। जहाँ उम्रिए, त्यही माटोमा उनी फलिरहेका छन्। तर, स्वदेश तथा विदेशका तमाम अवसरहरू त्यागेर कर्णालीको सेवामा लागेका डा रोकायाले आफ्नो बाँकी जीवन पनि कर्णालीमै बिताउने मनसाय रहेको बताउँछन्।