काठमाडौं- स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकाल अस्वस्थ भएपछि मन्त्रालयले निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनलाई दिने तयारी गरेको छ।
डा. ढकालले असार ४ गतेसम्म बिदा लिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. भट्टचनलाई आर्थिक तथा प्रशासनिक अधिकारसमेत दिने तयारी अघि बढाएको हो।
छातिमा दुखाइ महसुस भएपछि वीर अस्पतालमा भर्ना भएका डा. ढकालले आफू अस्वस्थ रहेकाले केही समय जिम्मेवारीबाट अलग रहने निर्णय गरेको बताएका छन्।
असार ४ गतेबाट अनिवार्य अवकाशमा जान लागेका डा. ढकालले आफूले एक महिनाअघि नै बिदा लिने तयारी गरेको जानकारी दिए।
“नयाँ बजेटसँगै नयाँ व्यक्तिले जिम्मेवारी सम्हालेर काम गर्दा राम्रो हुन्छ भन्ने लागेको थियो। यहीबीच स्वास्थ्यमा समस्या आएपछि महानिर्देशकको जिम्मेवारीबाट अलग रहने विषयमा मन्त्रीज्यू र सचिवज्यूलाई जानकारी गराएको छु,” उनले भने।