नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा दिनेशनाथ गोंगलको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको निधन भएपनि उनले चिकित्सा क्षेत्रलाई दिएको देन सदा अविस्मरणीय रहनेछ। सीमित स्रोत–साधनका बीच जटिल शल्यक्रियाहरूको अभ्यास थाले। त्यतिबेला न पर्याप्त उपकरण थिए, न आधुनिक निगरानी प्रणाली। तर पनि उनले जोखिम मोलेर नयाँ विधिहरूको सुरुवात गरे। उनको योगदानले नेपालमा आधुनिक शल्यचिकित्साको आधार निर्माण गरेको मानिन्छ।
सन् १९६१ को डिसेम्बरमा त्रिभुवन राजपथमा सवारी दुर्घटनामा परेर हेड इन्जुरी भएकी एकजना केटीको वीर अस्पताल पुर्याइन्। उनको टाउको खोलेर शल्यक्रिया डा गंगोलको नेतृत्वमा भएको थियो। नेपालमा पहिलोपटक टाउको खोलेर गरिएको शल्यक्रिया त्यही थियो। यसका साथै, पिट्युरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी, पेटको लेनो रेनल सन्टलगायतको नेपालमै पहिलोपटक सफल शल्यक्रिया गरेका थिए। उनी चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का संस्थापक निर्देशक पनि भए।
वीर अस्पतालको चार दशक लामो सेवामा ४० हजारभन्दा धेरै शल्यक्रिया गरे। उनैले सिकाएका डा. उपेन्द्र देवकोटालगायतले आफ्नो क्षेत्रमा पारंगत भएर निस्किए।
०००
उनको पुख्र्यौली घर तानसेन भए पनि जन्म १९८९ चैतमा काठमाडौंमा भएको थियो। बाजे काठमाडौं आउजाउ गरिरहन्थे। पिताको पालादेखि सबै परिवार यतै बस्यो। त्यसको मुख्य कारण थियो, शिक्षादीक्षा। उनी जुद्धोदय स्कुलमा एकैपटक ७ कक्षामा भर्ना भए। संयुक्त परिवार भएकाले स्कुल भर्ना हुनुअघि उनलाई काकाहरूले घरमै पढाएका थिए। मध्यमवर्गीय परिवार भएकाले खान, लाउन दुःख थिएन। अलिकति जमीन थियो। पिता कृष्णबहादुर गोंगलको औपचारिक शिक्षा नभए पनि अंग्रेजी, संस्कृत, हिन्दी, बंगाली भाषामा ज्ञान थियो। पुस्तक पढिरहन्थे। उनको सपना थियो, छोरालाई डाक्टर बनाउने। उनले २००४ सालमा एसएलसी दिए र सन् १९४९ मा त्रिचन्द्र कलेजबाट आइएस्सी गरे।
०००
प्रेमबहादुर कंसाकारले मासंगल्लीमा पहिलो पुस्तकालय खोले, प्रदीप्त पुस्तकालय। डिल्लीरमण रेग्मीको पार्टीसँग सम्बन्ध रहेका कंसाकारले पम्प्लेट ल्याउँथे। दिनेशनाथहरू त्यसमा कार्बन राखेर अरु धेरै पम्प्लेट बनाउथे। त्यसलाई राति छर्न जाने टोली अलग्गै हुन्थ्यो। २००४ वैशाख १७ गते बिहान ठीक १० बजे जुलुस निकाल्ने तय भयो। दिनेशलाई उनी पढेको जेपी स्कुलमा खटाइयो। साथी थिए तिलकराम शाही। शाहीले नेपालीमा भाषण गरे, उनले नेवारीमा। लगत्तै प्रहरी आएर दुवैलाई पक्राउ ग¥यो र लक्ष्मी निवास (अहिलेको भैरवनाथ गण) मा राख्यो सात दिनसम्म। त्यस दिन पक्राउ परेका अन्य २९ जना पनि लक्ष्मी निवासमै राखिएको रहेछ। जसमा पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, नरबहादुर कर्माचार्य, शंकर प्रधान, साधना प्रधान, सहाना प्रधान, कनकलता र स्नेहलता पनि थिए। सात दिनपछि दिनेशसहितलाई छाडियो। तर, तिलक शाही, टंकविलास, शम्भुरामसहित चार, पाँच जनालाई प्रहरीले फेरि समात्यो। त्यसपछि उनी सधंै प्रशासनको निगरानीमा परे। तर, पम्प्लेट लेख्न भने छाडेनन्। उनीसँगै पक्राउ परेका पुष्पलाल, शम्भुरामहरू राजनीतिमा सक्रिय भए भने उनी पिताको सपना पूरा गर्न मेडिकल पढ्न लागे।
०००
आइएस्सी पास गर्नेबित्तिकै तत्काल एमबिबिएस पढ्न विदेश जान भने सकेनन्। त्यसै पनि काठमाडौंबाहिरबाट आएको उनको परिवार। यहाँ न कोही चिनजानका थिए, न आफ्ना मान्छे सरकारी जागिरमै थिए। पढाइलाई अगाडि बढाउनु थियो। त्यसपछि त्रिचन्द्र कलेजबाटै बिएस्सी गरे। उनीहरू बिएस्सीको तेस्रो ब्याचका विद्यार्थी थिए। तर, जसरी भए पनि डाक्टर बन्नु थियो, त्यसले कतैबाट छात्रवृत्ति नपाए पनि आफ्नै खर्चमा एमबिबिएस पढ्न, पढाउन उनको परिवार तयार भयो। सन् १९५१ मा बिहारको दरभंगा मेडिकल कलेज गए। तर, पछि छात्रवृत्ति पाएकाले निजी खर्च गर्ने समस्याबाट भने मुक्त भए। त्यतिखेर निजी खर्चमा पढ्दा ५ हजार रुपियाँमा एमबिबिएस सकिन्थ्यो। १९५६ मा एमबिबिएस सकेपछि भविष्यमा सर्जन बन्ने उद्देश्यले नै एक वर्ष त्यहीँ सर्जरीमा हाउस जब गरे।
त्यतिखेर नेपालमा औंलामा गन्न सकिने संख्यामा डाक्टर थिए। उनले पढेर आउनुअघि नै जितसिंह मल्ल र सिद्धिमणि दीक्षितहरू थिए। यज्ञराज जोशी (छातीरोग विशेषज्ञ), रघुवर वैद्य (रेडियोलोजिस्ट), दिनेशानन्द वैद्य (प्याथोलोजी), भरतराज वैद्य (जनरल फिजिसियन), भीमबहादुर प्रधान (पब्लिक हेल्थ), द्वारिका मानन्धर (प्याथालोजिस्ट) र महेन्द्रप्रसाद गरी सात डाक्टरलाई ‘सप्तऋषि’ भनेर चिनिन्थ्यो। नर्वदालाल मास्के, गौरीशंकरलाल दास र एनडी जोशीहरू पनि त्यहीताकाका हुन्। भारतबाट आएपछि छ महिना वीर अस्पतालमा ‘अनररी’ भएर काम गरे। एक वर्ष ललितपुर अस्पताल (अहिलेको मानसिक अस्पताल भएको ठाउँमा रहेको) मा मेडिकल अफिसर भएर काम गरे। स्वास्थ्यमा डाइरेक्टर थिए, डा. रघुवर वैद्य। उनैको सल्लाहपछि उनी बम्बईको ग्रान्ट मेडिकल कलेजमा पढ्न गए र सन् १९६१ मा एमएस गरेर फर्किए।
वीर अस्पतालमा उनीभन्दा अघि सर्जनका रूपमा डा. अन्जनीकुमार शर्मा थिए। उनी बेलायतबाट एफआरसिएस गरेर आएका थिए। पहिला उनी जनरल सर्जरी गर्थे। त्यस क्रममा मुटु, हड्डी, प्लास्टिकलगायत हरेक खालका सर्जरी हुन्थ्यो। सोही आधारमा उनले सन् १९६१ को डिसेम्बरमा हेड इन्जुरीको अपरेसन गरे। त्यो नेपालको मेडिकल इतिहासमै पहिलो न्युरोसर्जरी थियो। पहिलोपटक टाउको फुटेका एक व्यक्तिको अपरेसन गरियो। गिदीसम्म असर पुगेकोमा अपरेसन गरिए पनि ती व्यक्तिको मृत्यु भयो। पहिलो अपरेसन असफल भयो। तर, उनले १९६२ मा ब्रेन ट्युमरको अपरेसन गरे। त्यो भने सफल भयो। बिरामीको अवस्थाको निगरानी गर्न उनी ४८ घन्टा बिरामीसँग बसे। किनभने त्यो बेला न भरपर्दा सामग्री थिए, न नर्सको निगरानी। अपरेसनपछि राख्ने आइसियुसमेत थिएन। त्यस्तो बेला बिरामीलाई जे पनि हुन सक्थ्यो, निकै जोखिम लिएर काम गर्नुपथ्र्यो। झन् उनले गरेको पहिलो न्युरोसर्जरी पनि असफल भएको थियो। त्यसैले उनले निरन्तर बिरामीको अवस्थालाई निगरानी गरिरहे। उनले सन् १९६३ मा फोक्सो र १९६५ को जनवरीतिर मुटुको अपरेसन पनि गरे। अवस्था कतिसम्म नाजुक थियो भने अपरेसन गर्ने सामग्री नभएकाले उनले एकपटक मुम्बई जाँदा आफैैंले आवश्यक सामग्री किनेर ल्याए। कुनै सामान भने आफैंले काठमाडौंमै बनाउन लगाए।
०००
सन् १९५६ मा एमबिबिएस सकेर फर्किएपछिको समय थियो त्यो। उनका मामाका छोराको कान पाक्यो। डाक्टर बनेर आएका भान्जालाई हेर्न लगाए मामाले। उनले हेर्दा मस्तिष्कमा एब्सेस (पाकेको) भइसकेको रहेछ। उनले पटना जान सुझाव दिए। तर, पछि मामाका छोरा बिते। उनलाई अहिले लागेको छ, रोग त उतिबेलै थिए तर दक्ष जनशक्ति नभएर मानिसले ज्यान गुमाइरहेका थिए त्यतिखेर। एकपटक फेरि उनकै बहिनीको झ्यालबाट खसेर हेड इन्जुरी भयो। उनलाई त्यतिबेला निको त भयो। पछि कान पाक्यो र आइएस्सी पढ्दापढ्दै उनको पनि देहान्त भयो। फिस्टुलाको समस्याबाट पीडित पिताको अपरेसन वीर अस्पतालकै हजारा नामका एक बंगाली डाक्टरले गरेका थिए। बाजेलाई मोतियाविन्दु थियो। उनको अपरेसन यज्ञमान वैद्यले गरेका थिए। उनी बाजेलाई डोर्याएर अस्पताल लैजान्थे। उनी आफैं सानो छँदा घाँटीमा डिप्थेरिया (भ्यागुते रोग) भयो। खान नहुने, श्वास लिन गाह्रो हुने समस्या भयो। वीर अस्पतालका डा. जितसिंह मल्लले हेरे र इन्जेक्सन लगाइदिए। यतिबेलासम्म उनी वीर अस्पताल र त्यहाँको वातावरणसँग परिचित भइसकेका थिए। यसरी वीर अस्पतालमै उनले चार दशकभन्दा बढी समय बिताए।
०००
एकपटक तत्कालीन स्वास्थ्यमन्त्री नरेन्द्रमान प्रधानसँग उनका केही असहमति भए। त्यतिखेर पनि समूहगत राजनीति थियो। त्यही कुनै समूहको प्रभावमा आएर मन्त्रीले उनलाई एक्कासी कोसी अञ्चल अस्पतालमा सरुवा गरे। त्यहाँ उनले साढे २७ महिना बिताए। अपरेसन गर्ने सामान आफैंले लगेका थिए। त्यहाँ पनि उनले डा. सुदीपकुमार भट्टाचार्यसँग मिलेर ब्रेन ट्युमर तथा छातीलगायतको थुप्रै अपरेसन गरे। काठमाडौंमा त स्वास्थ्य सेवा सहज नभएको अवस्थामा अञ्चल अस्पतालमा काम गर्ने क्रममा उनले जनताका थुप्रै समस्या देखे, अनुभव गर्न पाए।
०००
राणा शासकहरू बिरामी हुँदा कि कोलकाता कि पटना जाने गर्थे। वीर अस्पताल भए पनि स्वास्थ्य सेवा सीमित थियो। वीर अस्पताल एउटा पुरुष अस्पताल र अर्को महिला अस्पताल गरी दुई भाग थियो। अस्पतालमा धेरैजसो बंगाली डाक्टर हुन्थे। तर, पञ्चायती व्यवस्थामा दरबारले वीर अस्पताललाई नै महत्व दिने गथ्र्यो। रानी ऐश्वर्य, अधिराजकुमारी प्रेक्षा र पूजाको अपरेसन पनि वीर अस्पतालमै भएको थियो। ऐश्वर्यको गल ब्लाडरको अपरेसन उनीसहित डा. अन्जनीकुमार शर्माले गरेका थिए भने प्रेक्षाको एपेन्डिक्सको अपरेसन उनैले गरेका थिए।
यस्तै, राजा महेन्द्र टीकापुरमा सिकार खेल्न जाँदा रत्नलाई गोली लाग्यो। उनलाई रातारात काठमाडौं ल्याएर वीर अस्पतालमै अपरेसन गरियो। गोली लागेर घाइते भएका पत्रकार पदम ठकुराठीको अपरेसन पनि उनैले गरेका थिए। ठकुराठीको अपरेसन सफल हुनुलाई उनी ‘भाग्यको खेल’ सम्झन्छन्। तत्कालीन राजपरिवारका सदस्यले त्यत्रो महत्व दिने वीरलाई अहिलेका नेता तथा प्रशासकले बेवास्ता गर्नुलाई विडम्बना ठान्थे उनी। स्वास्थ्यखबरसँगको कुराकानीमा उनले भनेका थिए, ‘अहिले जति पनि ठूलाबडा छन्, उनीहरू वीरको मुखै हेर्दैनन्, बैंकक, सिंगापुर, दिल्ली जान्छन्, त्यसैबाट थाहा हुन्छ, अहिलेका नेताहरू वीरलाई कति प्रोत्साहन गर्छन् भनेर।’
राजारानी विभिन्न क्षेत्रको भ्रमणमा जाँदा हेल्थ क्याम्प पनि लाग्थ्यो। त्यो हेल्थ क्याम्पमा पनि सहभागी हुन्थे डा. दिनेश। क्याम्पमा फिजिसियन, सर्जन, एनेथेसिस्ट तथा नर्सहरूको टोली नै हुन्थ्यो।
०००
२०४९ सालमा रिटायर भए उनी। यसबीचमा सबै खालका गरी ४० हजारजति अपरेसन गरे। कतिपयमा सफल भए, कतिमा असफल। तापनि प्रयास गर्दै जानुपर्छ भन्ने उनको सन्देश छ।
‘यतिका वर्षमा मैले बुझेको कुरा के भने, प्रयत्न गर्नुपर्छ, रिजल्ट हाम्रो हातमा छैन। बाँच्नुपर्ने साधारण केसमा गुमाएका छौं, बाँच्ने आशै नगरिएको केसमा बिरामी बाँचेका छन्,’ उनले स्वास्थ्यखबरसँग केही पहिला भनेका थिए। त्यसको उदाहरणका रूपमा उनले पत्रकार पदम ठकुराठीको केसलाई लिएका थिए। सोही क्रममा अर्का बिरामी सम्झिएका थिए उनले। एक गाडी खलासी फलामको पाता वेल्डिङ गर्दै थिए, फलाम उनको हातबाट फुत्केर छातीमा गड्यो। छातीमा हात राखेर उनी वीर अस्पतालको इमर्जेन्सीमा आए। रगत बगिरहेको थियो। सिधै अपरेसन थिएटरमा लगियो। सधैं बिरामी खचाखच हुने अपरेसन थिएटर त्यस दिन भाग्यवश खाली थियो। एनस्थेसिस्ट पनि कतै गएका थिएनन्। मुटुमा प्वाल परेको त्यो व्यक्तिको अपरेसन सफल भयो। ‘त्यसपछि म भाग्यमा विश्वास गर्न थालें,’ उनले अनुभव सुनाएका थिए।
-1776745328.png)
२०४९ सालमा रिटायर्ड भएपछि त्यत्तिकै बसिरहेका थिए। कारण– अरुजस्तो उनको कुनै निजी क्लिनिक पनि थिएन, कुनै अस्पतालसँग आबद्धता पनि थिएन। एकपटक उनी निजी काममा बुटबलमा थिए। तत्कालीन स्वास्थ्य मन्त्री रामकृष्ण ताम्राकारले फोन गरेर भने, ‘तपाईं वीर अस्पतालको अध्यक्ष भइदिनुपर्यो, अरु कुरा काठमाडौं आएपछि गरौंला।’ उनले टार्न सकेनन्। अरु कुराले भन्दा आफूले चार दशक बिताएको वीर अस्पतालमा फेरि सेवा गर्ने कुराले उनको मन रमाएको थियो। ताम्राकारकै आग्रहमा उनी तीन वर्ष वीर अस्पतालका अध्यक्ष भए। २०५९ सालमा चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) गठन भयो। उनी त्यसमा पनि संस्थापक निर्देशक भए। न्याम्सलाई कसरी अगाडि बढाउने भनेर रातदिन चिन्ता गर्न थाले।
०६२/६३ को आन्दोलनपछि देशको राजनीतिले कोल्टो फेर्यो। केही डाक्टर थिए, जो आफ्नो एकेडेमिक क्षमतामा भन्दा नेतागिरीमा विश्वास गर्थे। त्यस्तै, मानिसको आँखामा उनी ‘प्रतिक्रियावादी’ घोषित गरिए। त्यस्तो दिन पनि आयो, जसले वीर अस्पतालको सेवामा अहोरात्र आफ्नो जीवनका सुनौला दिन सुम्पियो, वीर अस्पताललाई अन्तर्राष्ट्रिय ख्याति दिलाउन रातदिन नभनी खटियो, उनैलाई केही डाक्टरको समूहले ‘वीर अस्पताल निषेधित क्षेत्र’ घोषणा गर्यो। अर्थात् उनलाई वीर अस्पतालको आँगनमा टेक्नसमेत रोक लगाइयो। ‘एकेडेमिक क्षमता नभएका डाक्टरको समूह मिलेर मविरुद्ध आन्दोलन गरे, अनि राजीनामा दिएँ, त्यसपछि वीरमा पसेको पनि छैन। त्यो त हाम्रो कर्मभूमि थियो। तर, जति माया–ममता भए पनि त्यहाँको वातावरणले नै वितृष्णा जगायो,’ उनले भनेका थिए।
जिन्दगीका आखिरी कालखण्डमा उनी त्रिपुरेश्वरस्थित घरमा बसेर सम्झिरहेका थिए, अहिलेको भव्य ट्रमा सेन्टरका लागि सैनिक अस्पताल र तत्कालीन साझा भवनसँग जग्गा लिन निकै मिहिनेत गर्नुपरेको समय। सरकार र न्याम्सबीच अहिले ट्रमा सेन्टरको स्रोतसाधनमा झगडा चलिरहेको विषय। उनलाई लागेको थियो, ‘यस्ता झगडाले तालिममा समस्या पर्छ।’
मिहिनेत गरेर उनले वीर अस्पताललाई अन्तर्राष्ट्रिय पहिचान दिलाए। उनकै पहलमा बेलायतको रोयल कलेजबाट एफआरसिएसको उपाधिका लागि दिइने परीक्षा नेपालमै सुरु भयो। परीक्षा लिने टिममा उनी पनि थिए। रोयल कलेजका डाक्टरहरूले विभिन्न समयमा गरेको अनुगमनपछि सन् १९८८ जनवरीमा एफआरसिएसको परीक्षा लिन सुरु गरियो। त्यसक्रममा ३० जनाभन्दा बढीले एफआरसिएसको परीक्षा पास गरे। तत्कालीन राजारानीलाई पनि मानार्थ एफआरसिएसको उपाधि दिइयो। यसको परीक्षा लिन उनी कुवेत पनि पुगे।
-1776745309.png)
उनी मेडिकल शिक्षामा भएको व्यापारीकरणको विरोधमा थिए। हामीसँगको कुराकानीमा उनले हिसाब गरेका थिए, ‘एकजना विद्यार्थीलाई एमबिबिएस गर्न ५० लाख रुपियाँ चाहिन्छ, केही समय अघिसम्म एमडी/एमएस गर्न डेढ करोड चाहिन्थ्यो, दुई करोड खर्च गरेर पढेको डाक्टरले के सेवा दिन्छ ?’ डाक्टर जिल्लामा जान मानेनन् भन्ने गुनासो आउने गरे पनि उनलाई लाग्थ्यो, सुविधा र सन्तुष्ट हुने वातावरण सिर्जना गर्ने हो भने डाक्टर आफैं जान तयार हुन्छ।
हरेक पार्टीले मेडिकल कलेज खोलेको चर्चा सुनेका थिए उनले। यही कारण स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र विकृति बढेको उनको भनाइ थियो। उनले निराश हुँदै प्रश्न गरेका थिए, ‘लड्न सकिएला त यस्तो विकृति अन्त्य गर्न ? लाइट इन्ड द टनेल भन्छन्, खै म त देख्दिनँ।’ देशमा हेल्थ सिस्टम बसाल्न सरकार दह्रो हुनुपर्ने, पार्टीको प्रभाव हुन नहुने र बिमा प्रणाली लागु हुनुपर्ने उनको सुझाव थियो।
०००
त्यतिखेरको अपरेसनमा चुनौतीका पहाड थिए। दक्ष जनशक्ति, आवश्यक सामग्री, नर्सिङ स्टाफ, आइसियु केही थिएन। नर्स भारतबाट ल्याउनुपथ्र्यो भने आइसियुको अभावका कारण अपरेसनको परिणाम जे पनि हुन सक्थ्यो। अहिलेको जस्तो डिजिटल युग थिएन, सबै कुरा म्यानुअल्ली गर्नुपथ्र्यो।
सबभन्दा ठूलो चुनौती एनेस्थेसियामा थियो। डा. भवानीभक्तसिंह प्रधान नामका एक्ला एनेस्थेसिस्ट थिए। उनी एकेडेमिकभन्दा पनि अनुभवी थिए। डा. दिनेश हप्तामा दुईपटक जनरल सर्जरी गर्थे। बिरामीको चाप भए पनि प्रशासनले हप्ताको एकपटक बनाइदियो। बिहान ८ बजेबाट सुरु भएको अपरेसन भोलिपल्ट बिहान २, ३ बजेसम्म चल्थ्यो। यस्तो बेलामा भवानीभक्तले निकै सहयोग गरेको स्मरण गरेका थिए उनले।
वीर अस्पतालको नयाँ भवन बनेपछि उनैको पहलमा हेड इन्जुरी वार्ड र न्युरोसर्जरी वार्ड सुरु भएको हो। न्युरोसर्जरी वार्डको उद्घाटन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले गरेका थिए। त्यसपछि माथिल्लो तलामा न्युरोसर्जरी विङ नै खडा गरे। फोक्सो, मुटु र हाडजोर्नीको पनि अपरेसन गरे।
नेपाली चिकित्सा क्षेत्रमा गरेको योगदानको कदरस्वरूप उनले थुप्रै पदक तथा पुरस्कार पाइसकेका छन्। उनले ज्योतिर्मय सुविख्यात त्रिशक्तिपट्ट प्रथम, गोरखा दक्षिणबाहु (प्रथम, दोस्रो, तेस्रो तथा चौथा), महेन्द्र विद्याभूषणलगायतका पदक पाएका छन्।