करिब २७ वर्ष लामो अटुट सेवापश्चात् त्रिवि शिक्षण अस्पतालबाट अवकाश लिएका प्रा.डा.मोदनाथ मरहट्टा हाल नेपाल मेडिकल कलेजमा प्रिन्सिपलको रूपमा कार्यरत छन्। ६६ वर्षअघि गोरखाको पहाडी गाउँ मिरकोटमा जन्मिएका उनले चिकित्सा सेवामा चार दशक लामो समय बिताइसकेका छन्।
विशेषगरी एनेस्थेसिया विभागमा नेपालकै मार्गदर्शक मानिने मरहट्टा नेपालको सुगमदेखि दुर्गम भूगोलसम्मको स्वास्थ्य अवस्थासँग नजिकबाट परिचित छन्। उनले छेकमपार हेल्थपोस्ट,प्रसूति गृह, कान्ति बाल अस्पताल, नेपालगन्ज मेडिकल कलेजदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आफ्नो अनुभव र दक्षताको छाप छोडेका छन्।
विद्यालय जीवनको त्यो निर्णायक मोड
प्राडा मरहट्टाको बाल्यकाल गोरखाको मिरकोट (हाल पालुङटार नगरपालिका) मा बित्यो। ६कक्षाको आधा पढाइ सकिएपछि गाउँकै प्रस्तावित निम्न माध्यमिक विद्यालयले थप कक्षा सञ्चालन गर्न नसक्ने घोषणा गर्यो।
'विद्यालय बन्द भएपछि हामी १५-१७ जना साथीहरूलाई पढाइ अगाडि बढाउन ठूलो समस्या भयो,' उनी सम्झिन्छन्, 'धेरैजसो साथीहरू पढाइ छोडेर मुग्लान पसे।' मरहट्टा लाई भने घरबाट तनहुँ, चुँदी मा संस्कृत पढ्न पठाउने तय गरियो। तर, उनको मन संस्कृत पढ्न मानिरहेको थिएन। आधुनिक शिक्षाको हुटहुटी बोकेका उनी घरमा सबै तयारी भइसकेको अवस्थामा कसैलाई नभनी सुटुक्क भागे।
करिब डेढ घण्टाको पैदल यात्रापछि उनी छिमेकी गाविसको लक्ष्मी माध्यमिक विद्यालय पुगे र प्रधानाध्यापकलाई भेटेर भर्ना गरिदिन अनुरोध गरे। सुरुमा त बीच सत्रमा भर्ना लिन विद्यालयले इन्कार गर्यो, तर मरहट्टाको ढिपीपछि परीक्षा लिने सहमति भयो। परीक्षामा अन्य विद्यार्थीको भन्दा उत्कृष्ट नतिजा ल्याएपछि विद्यालय उनलाई भर्ना लिन बाध्य भयो।
चिकित्सकीय यात्राको आरम्भ
स्कुले पढाइ सकेर काठमाडौँ आएका मरहट्टाले २०३४ सालमा महाराजगन्ज क्याम्पसबाट 'हेल्थ असिस्टेन्ट' को पढाइ सुरु गरे। २०३८ मा पढाइ सकिएपछि उनको पहिलो नियुक्ति गोरखाकै अति दुर्गम चुमनुब्रीको छेकमपार हेल्थ पोस्टमा 'हेल्थ पोस्ट इन्चार्ज'का रूपमा भयो। त्यहाँ दुई वर्ष सेवा गरेपछि उनले रसियामा चिकित्साशास्त्र अध्ययनका लागि छात्रवृत्ति पाए। करिब ७ वर्षको कठोर अध्ययनपछि २०४६ सालमा 'एम.डी मेडिसिन' सकेर उनी चिकित्सकका रूपमा नेपाल फर्किए।
त्यसपछि उनले प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालमा सेवा गरे।
विज्ञताको सम्मान र स्वाभिमानको निर्णय
प्रा.डा मरहट्टाले एनेस्थेसियाको उच्च शिक्षा त्रिवि शिक्षण अस्पतालबाटै शुरु गरेका थिए। एनेस्थेसियाको पढाइ सकेपछि स्वास्थ्य सेवा विभागले उनलाई सप्तरीको कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खटायो। तर, त्यहाँ एनेस्थेसिया विज्ञको कुनै कामै थिएन।
'मैले आफ्नो विज्ञता अनुसारको काम नहुने ठाउँमा नपठाउन अनुरोध गरेँ, तर सुनुवाइ भएन,' उनी भन्छन्। आफ्नो सीपको दुरुपयोग हुने देखेपछि उनले तत्काल सरकारी जागिरबाट राजीनामा दिए। त्यतिबेला धेरैले 'सरकारी जागिर छोड्ने कस्तो मान्छे' भन्दै आलोचना गरे। तर, उनी आफ्नो अडानमा स्पष्ट थिए।
राजीनामा दिएलगत्तै उनले त्रिवि शिक्षण अस्पतालमा असिस्टेन्ट लेक्चररको रूपमा एनेस्थेसियामा काम सुरु गरे। यसै बीच पाकिस्तान र अस्ट्रेलियाबाट एनेस्थेसियामा फेलोशिप गरे।शिक्षण अस्पतालमा सेवा अगाडि बढाउँदै उनी प्राध्यापक र विभागीय प्रमुखसम्म बने।

एनेस्थेसिया: चुनौतीमा अवसर
कान्ति अस्पतालमा मेडिकल अफिसरका रूपमा काम गर्दा उनलाई एनेस्थेसिया विधाप्रति आकर्षण बढेको थियो। 'यो बिरामीलाई तत्कालै नतिजा दिन सक्ने विधा हो। एनेस्थेसियाको समयमा बिरामीको जिन्दगी नै चिकित्सकको हातमा हुन्छ,' उनी भन्छन्। यही चुनौती र सेवाभावका कारण उनी यो विधामा होमिएका थिए।
चिकित्सक नभएको भए उनी सायद इन्जिनियर हुन्थे। एस.एल.सी पास गरेर काठमाडौँ आउँदा उनी इन्जिनियरिङ र मेडिकल दुवैमा दुविधामा थिए। उनले दुवैको प्रवेश परीक्षा पास गरेका थिए। तर, सेवाको भावना र गुरुहरूको सल्लाहले उनलाई मेडिकल क्षेत्रतर्फ डोर्यायो जबकि उनका धेरै साथीहरू इन्जिनियरिङतर्फ लागे।
नेपालमा 'क्रिटिकल केयर मेडिसिन'को उदय
नेपालमा पहिलोपटक 'क्रिटिकल केयर मेडिसिन'को पढाइ सुरु गर्ने श्रेय प्राडा मरहठ्ठालाई पनि जान्छ। उनकै नेतृत्वमा यस विधाको प्राज्ञिक अध्ययन सुरु भएको हो। २०५३ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलोपटक 'ओपन हार्ट सर्जरी' सुरु हुँदा बिरामीलाई एनेस्थेसिया दिने ऐतिहासिक जिम्मेवारी निभाएका थिए। त्यस्तै, २०५८ भदौ १८ मा गङ्गालाल अस्पतालमा भएको पहिलो ओपन हार्ट सर्जरीमा उनकै नेतृत्वमा एनेस्थेसिया दिइएको थियो। शिक्षण अस्पतालमा विभागीय प्रमुख हुँदा उनले आइसियू सेवालाई विस्तार र व्यवस्थित गर्न महत्त्वपूर्ण भूमिका खेले।
कर्णालीमा प्राज्ञिक योगदान
सन् २०१७ मा उनी एक वर्षका लागि काजमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुगे। तत्कालीन उपकुलपति राजेन्द्रराज वाग्लेको अनुरोधमा त्यहाँ पुग्दा कर्मचारीहरूमा ठूलो असन्तुष्टि थियो, प्रतिष्ठान अगाडि बढ्नेमा विश्वास थिएन। तर, मरहट्टाले एक वर्षको छोटो अवधिमै त्यहाँ धेरै उपलब्धिका काम गरे। मूलत जुम्लामा पनि डाक्टर उत्पादन गर्न सकिन्छ भन्ने विश्वास दिलाए।
उनले एनेस्थेसिया, गाइनोकोलोजी, एमडिजिपी र अर्थोपेडिक विधामा पीजी कार्यक्रम सञ्चालनका लागि मुख्य भूमिका खेले। उनी सम्झन्छन् 'तत्कालिन समयका उपकुलपति प्रा. डा वाग्लेको अडान र हामी लगायतका अन्य साथीहरुको मिहेनतले नै त्यहाँ पीजी कार्यक्रम सञ्चालनको भयो। यसलेनै कर्णालीमा एमबीबीएस कार्यक्रम सुरु गर्न बलियो आधार तयार गर्यो।
उनी आज कर्णालीमा एमबीबीएस लगायतका थुप्रै कार्यक्रमहरू सुरु भएर अगाडि बढ्दा त्यतिबेला गरेको दुख सम्झँदै खुसी हुन्छन्। भन्छन्, 'त्यतिबेला गरेको दुखको प्रतिफल अहिले सुखद रुपमा अगाडि बढेको देख्दा निकै खुसी लाग्छ।'

यति मात्र होइन डा. मरहट्टाले चिकित्सकहरूलाई अनुसन्धानमा प्रेरित गर्दै सन् २०१८ मा प्रतिष्ठानको आफ्नै जर्नल 'जेकाश' प्रकाशित गराए। जसको प्रधान सम्पादक उनी आफैँ थिए। यो जर्नल आज कर्णालीको स्वास्थ्य सेवाका लागि गाइडलाइन बनेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालको सेवा सुधारमा समेत उनले ठूलो भूमिका खेलेका छन्।
आगामी गन्तव्य र बदलिँदो स्वास्थ्य परिवेश
स्वास्थ्य र शिक्षालाई नै जीवनको प्रमुख क्षेत्र ठान्ने मरहट्टा अहिले नेपाल मेडिकल कलेजको प्रिन्सिपलका रूपमा सक्रिय छन्। यसपछि उनी समुदायस्तरमा स्वास्थ्य सेवा पुर्याउने योजनामा छन्।
आफ्नो चार दशक भन्दा लामो यात्रालाई फर्केर हेर्दा उनी भन्छन् –'मैले सेवा सुरु गर्दा सरुवा रोगको प्रकोप धेरै थियो, अहिले नसर्ने रोगको चाप बढेको छ। विगतमा सीमित पहुँचमा रहेको स्वास्थ्य सेवा अहिले विस्तार भएको छ र आधुनिक चिकित्साप्रति जनविश्वास बढेको छ। यो ठूलो उपलब्धि हो।'
१९९८ मा त्रिवि अस्पतालको 'बेस्ट डाक्टर अवार्ड' र २००४ मा 'एजुकेशन अवार्ड'बाट सम्मानित मरहट्टाले नेपाल चिकित्सक संघको महासचिव र वरिष्ठ उपाध्यक्षका रूपमा पनि नेतृत्वदायी भूमिका निभाएका छन्। उनकै सक्रियतामा नेपाल मेडिकल एसोसिएसनले विश्व चिकित्सक संघको सदस्यता प्राप्त गरेको थियो।