काठमाडौं – क्यान्सरको उपचारका लागि प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन नामक औषधिको अभाव हुँदा उपचार प्रभावित भएको छ।
क्यान्सर उपचारमा किमोथेरापीका क्रममा प्रयोग हुने उक्त औषधिको अभावपश्चात् यस क्षेत्रका चिकित्सकहरूले बिरामीको ज्यान जोखिममा नपार्न नेपाल सरकारसमक्ष अपिल समेत गरेका छन्।
उक्त विषय संसद भवनमा समेत प्रवेश गरेको छ। कतिपय सांसदहरूले औषधिको व्यवस्थापनका लागि गम्भीर हुन नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन्।
क्यान्सरका ६० प्रतिशतभन्दा बढी बिरामीलाई आवश्यक पर्ने यो औषधिको अभावमा बिरामीको ज्यान जोखिममा पर्न सक्ने चिकित्सकहरू बताउँछन्।
स्वचालित मूल्य समायोजन प्रणाली लागू गर्न माग
नेपालमा विगत २-३ महिनादेखि सिस्प्लाटिन र कार्बोप्लाटिन नामक औषधिको अभाव हुन थालेको नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य बताउँछन्।
अन्तर्राष्ट्रिय बजारमा औषधिको कच्चा पदार्थको मूल्य बढ्नु, २०७२ देखि औषधिको मूल्य समायोजन नहुनु, पश्चिमा मुलुकहरूमा विद्यमान युद्ध, डलरको भाउ र सिस्प्लाटिन तथा कार्बोप्लाटिन औषधि बनाउन प्रयोग हुने प्लाटिनम नामक धातुको मूल्य उच्च हुनु लगायतका कारणले औषधि आपूर्तिमा समस्या देखिएको उनको भनाइ छ।
२०७२ सालमा नेपालमा भारत सरकारले निर्धारण गरेसरहको औषधिको मूल्य निर्धारण भए पनि हाल ११ वर्षअगाडि निर्धारण भएको मूल्यमा औषधि बिक्री-वितरण हुँदा औषधि आयातकर्ता समस्यामा परेको उनको जिकिर छ।
इन्धनको मूल्य बढ्दा यातायातको समस्याका कारण पनि औषधि आपूर्तिमा कठिनाइ थपिएको उनले बताए।
'नेपालको मुख्य औषधि आयातकर्ता मुलुक भारत र बंगलादेश हो,' आचार्यले भने, 'भारतमा हरेक वर्ष मार्च महिनामा औषधिको मूल्य समायोजन हुन्छ, तर नेपालमा विगत ११ वर्षदेखि एउटै मूल्य कायम छ।' औषधि खरिद गर्ने मूल्यभन्दा पनि नेपालमा कायम एमआरपी (अधिकतम खुद्रा मूल्य) कम भएको उनको तर्क छ।
हाल पश्चिमा मुलुकमा कायम युद्धले गर्दा पनि औषधिको मूल्य एकदमै बढेको तथा युद्ध रोकिएमा औषधिको मूल्य घट्न सक्ने उनी बताउँछन्।
यसको स्थायी समाधानका लागि नेपाल सरकारले स्वचालित मूल्य समायोजन प्रणाली अवलम्बन गर्न उनले अनुरोध गरेका छन्। यसले औषधिको मूल्य आयात गर्ने मुलुकमा बढ्दा नेपालमा पनि बढ्ने तथा घट्दा घट्ने स्थिति रहने र बिरामी तथा आयातकर्ता दुवैलाई फाइदा पुग्ने उनको तर्क छ। आगामी दिनमा औषधिको मूल्य समायोजन नभएसम्म आयात गर्न नसकिने उनले जिकिर गरे।
मूल्य समायोजनका लागि तीन साताको अल्टिमेटम
सिस्प्लाटिन र कार्बोप्लाटिन औषधिको अभावबारे शुक्रबार स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपाल औषधि आयातकर्ता संघका प्रतिनिधिहरूसँग गरेको छलफलमा संघले बिरामीको ज्यान जोखिममा पर्न सक्ने भन्दै ३ साताका लागि औषधि आपूर्ति गर्ने बताएको थियो।
प्रतिबद्धता अनुसार संघले घाटा खाएर भए पनि बंगलादेशबाट ८ सय भाइल कार्बोप्लाटिन दुई दिन अगाडि मात्रै आयात गरेको आचार्य बताउँछन्। सरकारलाई गरेको प्रतिबद्धता अनुसार ३ सातासम्म घाटा सामना गरेर भए पनि औषधिको आपूर्ति हुने उनले बताए।
सरकारले औषधि नपाएर क्यान्सर बिरामीहरूको ज्यान तलमाथि हुने अवस्था आउन दिँदैन भन्नेमा आफू विश्वस्त रहेको उनी बताउँछन्। स्वचालित मूल्य समायोजन प्रणाली लागू नहुने र तीन सातासम्म पनि औषधिको मूल्य समायोजन नभएमा थप घाटा खाएर औषधि ल्याउन नसकिने उनी बताउँछन्। भारत सरकारले लागू गरेको मूल्य नेपालमा पनि निर्धारण गर्नुपर्नेमा उनको जोड छ।
केही अस्पतालहरूले कृत्रिम रूपमा औषधिको अभाव देखाएकाले अहिले नाफाभन्दा पनि बिरामीको ज्यानलाई केन्द्रमा राखेर काम गर्न उनको अनुरोध छ। औषधिको कालोबजारी नहोस् भन्नका लागि संघले चिकित्सकको सिफारिस पत्रका आधारमा मात्रै औषधि वितरण गरेको जानकारी उनले दिए।