काठमाडौं- स्वास्थ्य बीमा बोर्डको सर्भरमा बारम्बार समस्या आउँदा विभिन्न अस्पतालमा उपचारका लागि पुगेका सेवाग्राहीले चरम सास्ती व्यहोर्नु परेको छ।
सर्भर डाउन हुने र चलेको समयमा पनि अत्यन्तै सुस्त हुँदा टिकट काट्नेदेखि औषधि लिनेसम्मका काममा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता सेवाग्राहीको छ।
स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापति स्वास्थ्य बीमा बोर्ड र सेवा प्रदायक अस्पतालहरूको सर्भर प्रणाली फरक परेका कारण बेलाबेलामा यस्ता गुनासो आउने गरेको बताउँछिन्।
सेवा प्रदायक अस्पताल र स्वास्थ्य बीमा बोर्डको प्रणाली इन्टर-अपरेबल हुनुपर्ने तथा सबै भेन्डरको एउटै प्रणाली नभएका कारण यस्तो भएको उनले बताइन्। स्वास्थ्य बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायकको आ-आफ्नो सफ्टवेयर भएकाले बेलाबेलामा यस्तो हुने उनले जानकारी दिइन्।
स्वास्थ्य बीमा बोर्डका आइटी विज्ञ सुरेश सिंह तिंकरी कहिलेकाहीँ सर्भर डाउन हुनु स्वाभाविक भएको बताउँछन्। स्वास्थ्य बीमा सेवामा दैनिक ६५ देखि ७० हजारसम्म दाबी आउने गरेको उनले बताए। सबै अस्पतालमा एकै पटक सर्भर डाउनको समस्या विरलै हुने गरेको उनको भनाइ छ। सेवा प्रदायक निकायको आन्तरिक नेटवर्कको समस्याका कारण हुने सर्भर डाउनलाई पनि स्वास्थ्य बीमा बोर्डकै भन्ने गरिएकोले त्यो गलत भएको उनको दाबी छ।
नेपालभरका ५ सयभन्दा बढी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा सेवा लागू भएकोमा ४ सयभन्दा बढी अस्पतालमा स्वास्थ्य बीमा बोर्डको सफ्टवेयर लिङ्क प्रदान गरिएको छ। जसमा मिडास, डल्फिन लगायतका विभिन्न कम्पनीका सफ्टवेयरहरू रहेका छन्। सबै प्रकारका सफ्टवेयरमा एकरूपता नभएकाले पनि बेलाबखत सर्भर डाउनको समस्या आउने गरेको उनले प्रष्ट पारे।
स्वास्थ्य बीमा बोर्डको सर्भर कहिलेकाहीँ डाउन भए पनि ३–४ मिनेटमा नै चल्ने उनको दाबी छ। बीमा बोर्डले सर्भरसम्बन्धी काम भइरहेको समयमा सर्भर डाउन हुन सक्ने पूर्ववत् सूचना दिने गरेको उनले बताए।
अस्पतालहरूको आन्तरिक समस्यामा पनि स्वास्थ्य बीमा बोर्डलाई नै दोष दिने परिपाटी रहेको भन्दै त्यो हटाउन समेत उनले आग्रह गरे।