विक्रम सम्वत २०७९ भदौपछि लगभग हाम्रो सम्पर्क नै भएन। अझ भनौँ, ऊ कता गयो, के भयो, कस्तो छ, के गर्दैछ, केही थाहा भएन। ऊ समस्यामा थियो। समस्या पार गराउन हामीले हातेमालो गर्यौँ, उसले पाउनुपर्ने सुविधा पनि व्यक्तिगत सहयोगबाट पायो। त्यसपछि न उसले खोज्यो, न मैले, न त हामीले नै।
यसो कल्पना गर्नुहोस् त, सुत्केरी भएको एक दिनमै एक दिने दुधे बालक छोडेर संसारबाट बिदा भएकी आमाको बच्चा कस्तो हुन्छ होला? जन्मँदै आमाको दूध मात्र होइन, आमाको अनुहारसमेत देख्न नपाएको बच्चा कस्तो हुन्छ होला? त्यो बच्चालाई हुर्काउन घरपरिवार र आफन्तले के–के गर्न सक्छन् होला? अरू सबै गर्न सके पनि आमाको माया र मातृत्व कसरी पूरा होला?
आजको दिनमा पनि कर्णाली प्रदेशमा मातृमृत्युदर प्रतिलाख जीवित जन्ममा १७२ छ, जुन नेपालको औसत १५१ भन्दा बढी र लुम्बिनी प्रदेशको २०७ भन्दा कम हो। यही संख्यामा बेला–बेलामा कर्णालीको डोल्पाले पनि थपिरहेको हुन्छ, जुन दुखद कुरा हो। जसलाई मातृमृत्युको असर थाहा हुन्छ, उसको छाती पोल्छ; तर देशको १५१ र कर्णालीको १७२ मात्र सम्झनेलाई यो सामान्य लाग्न सक्छ, अझ भनौँ, कतै कसैले सोध्दा रट्नुपर्ने जवाफ।
यस्तै कथा हो शिव शक्तिको। शिव शक्ति जसले कठिन दिनहरू भोग्यो। त्यसैले उसको नामको अगाडि रहेको “शिव” ले न्याय गरेको जस्तो लाग्छ भने “शक्ति” ले उसले बाँच्नका लागि भोग्नुपरेको पीडालाई न्याय गरेको जस्तो लाग्छ। नत्र जन्मेको भोलिपल्टै आमा गुमाएको ऊ आजसम्म कसरी बाँच्न सकेको होला? वास्तवमै ऊ शिव शक्ति हो। अझ भनौँ, एउटा असह्य पीडाबाट जन्मिएको साहसको अर्को नाम - अझ भनौँ, भगवानको प्रसाद नै शिव शक्ति हो।
जन्मिएको एक दिनमै आमाको न्यानो काख गुमाएको त्यो सानो जीवनलाई जोगाउन ४ दिदी, १ दाजु, बुबा अनि हजुरआमाले खुबै प्रयास गरे। त्यति मात्र नभएर कसैले दूधको जोहो गरिदिए, कसैले स्याहार–सुसार गरे, कसैले माया दिएर हुर्काए। तर आमाको अभाव भने कहिल्यै पूरा भएन। आमाको स्पर्श, आमाको न्यानोपन र आमाको आवाज बिना हुर्कनुपरेको त्यो बाल्यकाल कति कठिन थियो होला, सजिलै अनुमान गर्न सकिन्छ।
ऊ बिस्तारै ठुलो हुँदै गयो। अरू बालबालिकाले ‘आमा’ भनेर बोलाउँदा उसको मनमा पनि केही न केही हलचल उठ्थ्यो होला नै। कलिलो मस्तिष्कले सोचेको पनि होला—यदि मेरी आमा जीवित हुन्थिन् भने मेरो जीवन कस्तो हुन्थ्यो होला?
तर कुरा त्यति मात्र होइन, उसको जीवन त्यतिमै रोकिन्न। ऊ बढिरह्यो, ४ वर्षको भयो, मातृत्वको अभावमा पनि हाँस्न सिक्यो, पीडासँगै बलियो बन्दै हुर्किरह्यो।
केही दिनअघि मोबाइलमा अनावश्यक फोटो डिलिट गर्दै थिएँ। एक हजुरआमाको काखमा बसेर बोतलबाट दूध खाँदै गरेको सानो बालकको तस्बिरमा आँखा गयो। तुरुन्तै डोल्पा दिलु सिस्टरलाई फोटो पठाएर उसको बारेमा बुझ्न लगाए। बुझ्ने मात्र होइन, एउटा नयाँ तस्बिर पठाइदिनुभयो। अनि हेर्दै सोचेँ, मानिसलाई कमजोर बनाउने पीडा नै कहिलेकाहीँ सबैभन्दा ठूलो शक्ति बन्न सक्छ। सायद यसको सही उदाहरण हो शिव शक्ति।
शिव शक्ति केवल एउटा व्यक्ति होइन, मातृमृत्युको कठोर वास्तविकताबाट बाँचेको एउटा जीवित कथा हो। ऊ एउटा सही उदाहरण पनि हो कि पीडाभित्र पनि जीवन हुन्छ, अभावभित्र पनि आशा हुन्छ, र दुःखभित्र पनि शक्ति लुकेको हुन्छ। सायद यही कारणले आज पनि उसलाई देख्दा लाग्छ—शिव शक्ति केवल नाम होइन, संघर्ष र साहसको कथा हो।
करिब १० महिनाको एउटा सानो बच्चालाई एकजना बुढी हजुरआमाले बोकेर उपचारका लागि ओपिडीमा ल्याउनुभएको थियो। त्यो घटना विक्रम सम्वत २०७९ साल श्रावणतिरको हो। पुरानो र पातलो कम्मलले बेरिएको त्यो बच्चा पहिलो नजरमै असाध्यै कमजोर देखिन्थ्यो, सानो शरीर, न्यास्रो अनुहार र सुकेको हातखुट्टा, मानौँ जीवनसँग संघर्ष गरिरहेको एउटा नाजुक अस्तित्व। पुर्जामा हेर्दा ठेगाना, त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १, करेलिकाडा।
“आमा, के समस्या भयो?” भनेर सोध्दा हजुरआमाले काखको बच्चातिर हेर्दै भन्नुभयो, “दुब्लो छ। गाउँमा सबैले कुपोषण भएजस्तो छ भने, त्यसैले जाँच गराउन ल्याएकी हुँ।”
ओपिडीमा उपलब्ध जाँच गरियो। बच्चा अति शीघ्र कुपोषणको अवस्थामा थियो। चार महिनाको दुधे बालक, त्यसमाथि गम्भीर कुपोषण, बच्चाको स्थिति निकै चिन्ताजनक थियो।
“यो बच्चाको आमा कहाँ हुनुहुन्छ ?” भन्ने प्रश्नको उत्तर छोटो थियो : “अस्तिनै मरिन्।”
सुन्दा ठाडो जवाफ लागे पनि त्यो एउटा शब्दभित्र धेरै पीडा लुकेको थियो।
पुनः सोधेँ, “कसरी ?”
हजुरआमाले विस्तारै कथा सुनाउनुभयो, घरमै बच्चा जन्मियो। बच्चा जन्मिएपछि रगत बगिरहेको थियो, अलि–अलि। हामीले सामान्य होला भनेर सोच्यौँ, तर अर्को दिन बुहारी बितिन्। सुत्केरीपश्चात अत्यधिक रक्तश्रावले एउटा जीवन २०७८ कार्तिक ३ गते समाप्त भयो। अनि मैले आफैँसँग मात्र सुन्ने गरी थपेँ, त्यही क्षण एउटा नवजात शिशुको संसार बदलियो।
केही समयसम्म बट्टाको दूध किनेर खुवायौँ, तर महँगो दूध धेरै खुवाउन सकिएन र लिटो खुवाउन सुरु गर्यौं ।
“६ महिना सम्म दूध मात्र खुवाउनु है” भनेर भनिरहने म, यो सुन्दा मन भारी भयो। जन्मेको केही महिनामै आमाको काख गुमाएको बच्चा, अनि अभावबीच हुर्किन बाध्य जीवन—अवस्था अत्यन्तै पीडादायी थियो।
त्यसपछि हजुरआमालाई भनेँ, “उपचारका लागि यहाँ राखेर हुँदैन, सुर्खेत अथवा नेपालगञ्ज लैजानुपर्छ। सक्नुहुन्छ?”
उहाँले बिस्तारै भन्नुभयो, “पैसा त छैन।”
त्यसपछि मैले आर्थिक रूपमा कमजोर बिरामीलाई उपचारमा सहयोग गर्न एउटा संस्थाले दिएको फण्डबाट बजारमा गएर दूध किन्न लगाएँ। ल्याक्टोजन दूध दिएर “यो खुवाउँदै गर्नु, अनि पैसाको जोहो पनि गर्नु, हामी पनि हेर्छौँ” भनेर पठाएँ।
त्यही समयदेखि मनमा एउटा कुरा गढेर बस्यो- यो बच्चालाई जोगाउनुपर्छ। सँगैका अन्य चिकित्सक साथीहरूसँग कुरा गरियो, सबै सहयोग गर्न राजी भए।
त्यसपछि विभिन्न ठाउँमा समन्वय सुरु गर्यौं। स्वास्थ्य सेवा कार्यालय डोल्पामा पोषण कार्यक्रम हेर्ने जिम्मेवार व्यक्तिसँग कुरा गरियो। प्रदेश तहसम्म खबर पुर्याइयो। सहयोगका लागि हजुरआमा आफैँ पनि पुग्नुभयो, अनि हाम्रो सम्पर्क नागरिक समाज डोल्पासम्म पुग्यो। उहाँहरूबाट पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइयो।
अन्ततः २०७९ साल भदौ १९ गते बच्चालाई हजुरआमासँगै उपचारका लागि हवाईजहाजमार्फत नेपालगञ्ज पठाइयो। त्यहाँ उपचार सुरु भयो, तर लामो समय बस्नुपर्ने भएकाले पुनः सुर्खेत पठाइयो। करिब एक महिनाको उपचारपछि बच्चाको अवस्था सुधारियो, तौल बढ्यो र ऊ घर फर्कियो।
त्यसपछि लामो समयसम्म बच्चाको बारेमा जानकारी पाउन सकिएन।
समय बित्दै गयो।
मोबाइलबाट फोटो हटाउँदै जाँदा ऊ पुनः मेरो दिमागमा आयो। बुझ्दा ४ वर्ष ४ महिना भएको थाहा पाएँ। चार दिदीबहिनी र एक दाजु भएको परिवारको ऊ कान्छो छोरा रहेछ। घरमा वृद्ध हजुरबा–हजुरआमा र भर्खरको उमेरका बुबा। जेठी दिदी भर्खर १७ वर्षकी, आमा बितेपछि केही समयसम्म घरको जिम्मेवारी सम्हाल्दै आएकी रहिछन्।
तर परिवारको सल्लाहमा करिब एक वर्षअघि मात्र बुबाले दोस्रो विवाह गरी कान्छी श्रीमती भित्राएपछि शिव शक्तिले तीन वर्षको हुँदा कान्छी आमा पाएछ।
उमेर बढेसँगै शिव शक्तिलाई परिवारले नजिकैको विद्यालयमा भर्ना गरिदिएछ। विद्यालय जान थालेपछि भने उसले बारम्बार एउटै प्रश्न सोध्न थालेको रहेछ :
“मेरो आमा कहाँ छन्?”
“आलु खन्न गएकी छन् कि?”
“दाउरा ल्याउन जंगल गएकी छन् कि?”
“किन आउनुहुन्न?”
विद्यालयमा साथीहरूले “तेरी आमा त मरिसकिन” भनेर भने पनि उसले विश्वास गर्दैन रे। घर आएपछि फेरि सोधिरहन्छ। नसोधोस् पनि किन—जसका आँखाले न त आमाको मृत्यु देख्यो, न त जन्मेपछि दूध नै चुस्यो।
कान्छी आमा भित्रिएपछि उसले माया नपाएको पनि होइन। उनै कान्छी आमाको मायामा हुर्किरहेको छ, तर उसको मनमा त्यो प्रश्न भने अझै मेटिएको छैन।
सायद त्यो बाल मस्तिष्कले आज पनि कल्पना गरिरहेको छ- एकदिन मलाई जन्म दिने मेरी आफ्नै आमा फर्केर आउनुहुनेछ।
जन्मेको भोलिपल्टै आमाको काख गुमाएको त्यो बालक आज बाँचिरहेको छ, आशामा, संघर्ष गर्दै, बढ्दै, सिक्दै, अनि “तेरी आमा मरिन्” भन्ने तिखा शब्दका बाणसँगै जीवन जिउन लड्दै।
हो, उसैको नाम हो- शिव शक्ति।
सायद नामले नै उसको पूर्ण कथा बताउँछ :
शिव – जसले मृत्युको पीडालाई देख्यो।
शक्ति – जसले बाँच्न सिक्यो।
त्यसैले शिव शक्ति केवल एउटा बालक होइन। ऊ त्यस्तो प्रतिनिधि पात्र पनि हो, जो मातृमृत्युको कठोर यथार्थबाट कुपोषित शरीर लिएर बाँच्नकै लागि लडेको जीवित कथा हो। ऊ सम्झना हो—कि एउटा आमाको मृत्यु केवल एउटा जीवनको अन्त्य र राष्ट्रले गणना गर्ने संख्या मात्र होइन, धेरै जीवनको सुरुवातमा लागेको गहिरो घाउ पनि हो।
र ऊ जस्तै देखेपछि लाग्छ, पीडाबाट जन्मिएको जीवन नै सबैभन्दा बलियो हुन्छ।
आमाको काख गुमाएर कुपोषणको शिकार हुँदै अगाडि बढेको उसको नाम त्यसैले त पूर्ण सार्थक छ- अर्थात् ऊ शिव शक्ति।
(मेडिकल अधिकृत डा. अखण्ड उपाध्याय डोल्पामा कार्यरत छन्)