काठमाडौं- युवा चिकित्सक डा. प्रज्ञान बस्नेतले आवासीय चिकित्सकमाथि भइरहेको श्रमशोषण, मानसिक यातना र अमानवीय कार्यबोझबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएका छन्।
मिति २०८३ वैशाख २८ गते प्रधानमन्त्री कार्यालयमा दर्ता गरिएको निवेदनमार्फत डा. बस्नेतले नेपालमा एमडी, एमएस तथा एमडीएस अध्ययनरत आवासीय चिकित्सकहरू चरम श्रमशोषणमा परेको उल्लेख गरेका छन्।
उनले नेपालका शिक्षण अस्पतालहरूमा आवासीय चिकित्सकलाई एकैपटक ३६ घण्टासम्म निरन्तर ड्युटी गराइने तथा सातामा १०० घण्टाभन्दा बढी काममा लगाइने गरेको आरोप लगाएका छन्। नेपालको श्रम ऐनले दैनिक ८ घण्टा र सातामा ४८ घण्टा काम गर्न मिल्ने व्यवस्था गरे पनि व्यवहारमा त्यसको पालना नभएको उनको भनाइ छ।
निवेदनमा आवासीय चिकित्सकहरू अस्पतालको “मेरुदण्ड” भए पनि उनीहरूलाई पर्याप्त विश्राम, बिदा तथा मानवीय कार्य वातावरण नदिइएको उल्लेख छ। सातामा एक दिनसमेत बिदा नहुने, वार्षिक १४ दिन मात्रै बिदाको व्यवस्था हुने र त्यस्तो बिदा पनि अस्पतालको इच्छामा निर्भर रहने अवस्था रहेको उनले बताएका छन्।
डा. बस्नेतले महिला चिकित्सकमाथि गर्भवती नहुन तथा विवाह नगर्न दबाब दिने गरिएको आरोपसमेत लगाएका छन्। कतिपय अवस्थामा क्रियापुत्री बिदासमेत नदिने गरिएको निवेदनमा उल्लेख छ।
उनले अत्यधिक कार्यबोझका कारण चिकित्सकहरूको स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै ड्युटीकै क्रममा हृदयघात भएर मृत्यु भएका घटनादेखि आत्महत्याको प्रयाससम्मका उदाहरण प्रस्तुत गरेका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्युटीकै क्रममा एक आवासीय चिकित्सकको मृत्यु भएको तथा धुलिखेल अस्पतालमा मानसिक विभागमै कार्यरत एक चिकित्सकले आत्महत्याको प्रयास गरेको घटनासमेत उनले स्मरण गराएका छन्।
निवेदनमा लामो समयसम्मको अनिदो र थकानले बिरामीको उपचारमा समेत जोखिम बढ्ने उल्लेख गर्दै “रातभर नसुतेको चिकित्सकले भोलिपल्ट शल्यक्रिया गर्दा बिरामीको ज्यान जोखिममा पर्न सक्छ” भन्ने प्रश्न उठाइएको छ।
डा. बस्नेतले आवासीय चिकित्सकले आवाज उठाउँदा परीक्षामा फेल गराइने डर रहने भएकाले धेरैजना चुप बस्न बाध्य रहेको दाबी गरेका छन्। साथै २०८१ सालमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवको नेतृत्वमा बनेको अध्ययन समितिको प्रतिवेदनसमेत सार्वजनिक नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
निवेदनमार्फत उनले प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई आवासीय चिकित्सकको समस्या अध्ययन गरी सुधारका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन्।

