नेपाल जनस्वास्थ्य संघ (नेफा) एक गैरसरकारी, गैरनाफामूलक तथा गैर-राजनीतिक संस्था हो। नेफाले सबै जनस्वास्थ्यकर्मीलाई व्यवस्थित गर्ने र देशमा गुणस्तरीय र जनता केन्द्रीत स्वास्थ्य सेवाका लागि उनीहरुको व्यावसायिक क्षमता विकास गर्ने लक्ष्य राखेको छ। यसले जनताको स्वास्थ्य सुधार गर्न जनस्वास्थ्य नीति तथा कार्यक्रम विकास, कार्यान्वयन र मूल्याङ्कनको प्रक्रियामा सरकारी तथा गैरसरकारी संस्थालाई सहयोग गर्दै आइरहेको छ।
सन् १९९० मा कानुनी रूपमा जिल्ला प्रशासन कार्यालय ललितपुर जिल्लामा दर्ता भएको नेपाल जनस्वास्थ्य संघले तीन दशक पार गरिसकेको छ। नेफाले नेपालमा कार्यरत सम्पूर्ण जनस्वास्थ्यकर्मीहरुलाई संगठित गर्दै आइरहेको छ भने जनस्वास्थ्यका पेशागत हक हितको लागि पनि वकालत गर्ने गर्दछ। त्यसैगरि, स्वास्थ्य नीति तथा कार्यक्रम विकासको प्रक्रियामा सरकारी तथा गैरसरकारी संस्थालाई आवस्यक सल्लाह र सहयोग प्रदान गर्ने, त्यसको कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गरी राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीमा सुधार गर्ने, सदस्यहरुको सीप र क्षमताको विकासका लागि सहज बनाउने, जनस्वास्थ्य पेशालाई प्रभावकारी, गतिशिल र मर्यादित बनाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जनस्वास्थ्य सङ्गठनहरूसँग सञ्जाल विस्तार गर्ने आदि कामहरु गर्ने उद्देश्य संस्थाले लिएको छ।
हाल नेफा केन्द्रीय निर्वाचन समितिले आश्विन २ गते चुनाव सम्पन्न गर्नेगरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। जनस्वास्थ्यको पेशागत संगठन आज चुनावी माहोलमा होमिएको वर्तमान अवस्थामा हामीले उमेदवारी दिनुभन्दा अगाडि जनस्वास्थ्यका विविध पेशागत समस्याका बारेमा गम्भीर भएर एकचोटी सोच्ने हो कि? पेशागत विकाशमा देखिएका चुनौतिहरुको सामना गर्न उचित रणनीति तथा उद्देस्य सहित आफ्नो उमेदवारी घोषणा गर्ने हो कि?
पेशागत चुनौतिहरु र तिनीहरुको निकास
जनस्वास्थ्यका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको संरचना हेर्ने हो भने धेरै ठाउँमा जनस्वास्थ्यको दरबन्दीमा गैर जनस्वास्थ्यकर्मीहरुको प्रवेश भएको पाइन्छ। यसले सिङ्गो जनस्वास्थ्यलाईनै चुनौती दिइरहेको छ। तसर्थ, यसको नियन्त्रण गर्न नेफाका निर्वाचित प्रतिनिधिहरुले उचित पहली कदम चाल्नु पर्ने छ।
गैर जनस्वास्थ्यकर्मीहरुको जनस्वास्थ्य क्षेत्रमा प्रवेशको कुरा गरिरहदा स्थानीय एवं अन्य तहमा जनस्वास्थ्यका दरबन्दीका समस्यालाई पनि बिर्सिन सकिन्न। बर्षमा दुई चारजना जनस्वास्थ्य अधिकृतहरुको विज्ञापन लोक सेवाले गर्छ, के यो मात्र आवश्यक संख्या हो त? दुई चारजना नियुक्ति गरेर 'स्वास्थ्य नेपालीको मौलिक हक' भन्ने नारा सार्थक हुन्छ होला र? नेपालले विभिन्न अन्तरास्ट्रिय सम्मेलनहरुमा स्वास्थ्यका सूचक हासिल गर्नका लागि गरेका प्रतिवद्दता पुरा होला त? अवस्य हुँदैन। तसर्थ लोकसेवा आयोग मार्फत धेरै भन्दा धेरै जनस्वास्थ्य अधिकृतहरुको विज्ञापन गर्ने वातावरण बनाउनको लागि अब उपरान्त नेफाले पहल गर्नुपर्ने छ।
नेपालमा बर्षेनी १२२५ बिपिएच र सयौं एमपिएच उत्पादन गर्न सक्ने भनि चिकित्सा शिक्षा आयोगले विभिन्न कलेजहरुको कोटा निर्धारण गरेको छ। के हाम्रा शैक्षिक संस्थाहरुले उत्पादित जनशक्तिहरु अन्तरास्ट्रिय मापदण्ड अनुरुपका छन् त? सबै कलेजहरुले न्यूनतम मापदण्ड पुरा गरेका छन् त? यसमा अबको नेतृत्वको ध्यान जान जरुरी छ।
धेरै अगाडिबाट जनस्वास्थ्य अध्यनको लागि बिदेश जाने नजिर थियो र हाल पनि कायमै छ। यसरी वैदेशिक अध्ययन पुरागरि नेपाल फर्केका विद्यार्थीहरुको समकक्षतामा देखिएको समस्या समाधान गर्न उचित पहली कदम चाल्दै अबको नेतृत्वले न्यायोचित निर्णय गर्नुपर्ने देखिन्छ।
भनिन्छ विषम परिस्थितिमा नै असल नेतृत्वको पहिचान हुन्छ। तर नेफाले कोभिड महामारीको विषम परिस्थितिमा केहि काम गरेको देखिएन। उल्टै कन्फरेन्सको नाममा लाखौं खर्च गरेको भन्ने समाचार बाहिरीए। नेफाले आफैं काम नगरेपनि राज्यलाई आफ्नो स्रोत र साधन कोभिड नियन्त्रणमा लगाउन उत्पेरित गर्न सक्थ्यो । परीक्षणको दायरा बढाउनको लागि अपिल गर्न सक्थ्यो। संक्रमितहरुलाई हिनताबोध नहुने वातावरण निर्माण गरेर निरन्तर स्वास्थ्यसेवा प्रदान हुनेगरी संस्थागत क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको व्यवस्था गर्न आवस्यक सहयोग जुटाउन पहल गर्न सक्थ्यो। खोइ त महामारीमा सहकार्य गरेको? अब उपरान्त नेफाले देश विभिन्न स्वास्थ्य संकटबाट आक्रान्त हुँदा जिम्मेवारीपूर्ण सहभागिताको प्रण गर्नु पर्दछ।
स्वास्थ्य मन्त्रालयले बनाउने नीति तथा योजनाहरु कार्यान्यवन गर्ने हाम्रा पालिकाहरु जनास्वस्थ्यमैत्री हुन सकेको अबस्था छैन। अझै पनि स्वास्थ्य भनेको डाक्टरी सेवा मात्र हो भन्ने बुझाई छ। तसर्थ, हरेक पालिकाका जनप्रतिनिधिहरुलाई जनस्वास्थ्यका कार्यक्रमहरुको आवस्यकताको बारेमा अबगत गराई हरेक पालिकाको बार्षिक बजेटमा स्वास्थ्यका कार्यक्रमलाई नीतिगत रुपमै समाबेश गराउने व्यवस्था गर्न आबस्यक छ। यसो गर्न सकियो भने युनिभर्सल हेल्थ कभेरेजको अवधारणा सार्थक हुन्छ भने स्थानीय तहमा समेत जनस्वास्थ्याका दरबन्दीहरु सृजना हुने देखिन्छ।
नेफाको नजिर जे जस्तो भएपनि अब उपरान्त नेफामा प्रतिनिधित्वको आकांक्षा राखी उमेदवारी दिनुहुने सम्पूर्ण पदाधिकारीहरुले बिगतका गल्तीहरुलाई सुधार्ने प्रण गर्दै जनस्वास्थ्यको पेशागत विकाशको लागि गम्भीर भएर लाग्ने प्रतिवद्दता जाहेर गर्नु पर्दछ।
जय जनस्वास्थ्य।
(रेग्मी चितवन मेडिकल कलेज- जनस्वास्थ्य विभागमा उप-प्राद्यापक पदमा कार्यरत छन्।)