आज घरमा बसी रहेको थिएँ र बिहानै फोहोर संकलन गाडी आयो, र मनमा एउटा जिज्ञासा पनि जाग्यो- घर नजिकै स्वास्थ्य संस्था भएको हुनाले, संस्थाबाट निस्कने फोहोर कसरी संकलन र व्यवस्थापन हुन्छ भनेर! किनकि सबै स्वास्थ्य संस्थामा अजैविक फोहोर (जस्तै प्लास्टिक, काचका बोतल, औषधिको प्याकेज, मास्क, ग्लोभ्स आदि) मात्र हुँदैन, त्यहाँ जैविक फोहोर (जस्तै सुइ, सिरिंज, औषधिको अंश वा म्याद गुज्रेको औषधि, प्रयोगशालाको फोहोर आदि) पनि निस्कन्छ, जुन स्वास्थ्यमा जोखिम बढाउन सक्छ। यसैले, यो सामान्य फोहोरसँग मिसाउन मिल्दैन र उचित मापदण्ड अनुसार निस्क्रिय गर्न आवश्यक छ।
नेपाल सरकारले सन् २०१८ मा एक प्रतिवेदन निकालेको थियो जसमा नेपालमा ५६% जैविक फोहोर उत्पादन हुन्छ। सन् २०२० मा विश्व बैंकले निकालेको प्रतिवेदनमा भनिएको छ कि नेपालका २९३ स्थानीय तहमा दैनिक औसत ४,९०० टन फोहोर उत्पादन हुन्छ। सन् २०१९ मा नेपाल सरकारले प्रकाशित गरेको अर्को प्रतिवेदनमा स्वास्थ्य संस्थाहरूले लगभग १०१,५०७ मेट्रिक टन वार्षिक फोहोर उत्पादन गरेको जनाइएको छ, जसमा अस्पताल र अन्य स्वास्थ्य संस्थाहरू समावेश छन्।
हामीले जैविक फोहोर व्यवस्थापन कसरी गर्दै आएका छौँ भन्ने बारेमा धेरै छलफल भएका छन्, तर यसमा खासै ध्यान दिइएको छैन। स्वास्थ्य संस्थामा जैविक फोहोरको उचित व्यवस्थापन नगरेमा भविष्यमा धेरै स्वास्थ्य संकट उत्पन्न हुन सक्छ, जसले स्वास्थ्यकर्मी र बिरामीलाई पनि संक्रमणको जोखिम बढाउनेछ। साथै, यसले वातावरणमा प्रदूषण पनि बढाउँछ।
सरकारले यसको व्यवस्थापनको लागि नीति योजना बनाएको छ। नेपालको स्वास्थ्य सेवा नीति २०७१ मा स्पष्ट उल्लेख गरिएको छ कि स्वास्थ्य संस्थाहरूले सबै प्रकारका जैविक र अजैविक फोहोरको वर्गीकरण गर्नुपर्छ र सफाइका मापदण्ड अनुसार व्यवस्थापन गर्नुपर्छ। साथै, नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले बायोमेडिकल फोहोरको व्यवस्थापनका मापदण्ड पनि तयार पारेको छ। हाम्रो संविधानले पनि नागरिकलाई सफा वातावरणमा बस्ने हक दिएको छ। यद्यपि, हामी कहिँ न कहिँ यसमा चुकेका छौँ।
स्थानीय सरकारको भूमिका
२०७४ को स्थानीय सरकार सञ्चालन ऐन अनुसार, स्वास्थ्य संस्थाबाट निस्कने फोहोरको व्यवस्थापन स्थानीय सरकारको मातहतमा हुने व्यवस्था गरिएको छ। स्थानीय सरकारले आफ्नो नीति कार्यक्रम बनाइ फोहोर संकलन र व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी छ। फोहोर व्यवस्थापनका लागि आवश्यक ल्यान्डफिल साइट र फोहोर व्यवस्थापनमा सहयोग नगर्ने व्यक्तिहरू वा संस्थालाई जरिवाना गर्ने अधिकार पनि स्थानीय सरकारसँग छ।
अब स्वास्थ्य संस्थाबाट निस्कने फोहोर कसरी व्यवस्थापन गर्ने? कसरी फोहोर विशेष अनुसार व्यवस्थापन गर्ने? दक्ष जनशक्ति कसरी व्यवस्थापन गर्ने? यी सबै विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्ने आवश्यकता छ। यसका साथै, फोहोर न्यूनिकरणका उपायहरू, एकल प्रयोग हुने वस्तुहरूको प्रयोग घटाउने नीति, औषधिको अनावश्यक प्रयोग र म्याद गुज्रिएका औषधिको उचित व्यवस्थापन, र फोहोर व्यवस्थापन सम्बन्धी समुदायमा स्वास्थ्य शिक्षा कार्यक्रमको आवश्यकता छ।
स्वास्थ्य संस्थाबाट निस्कने फोहोरको उचित व्यवस्थापन र स्रोतमा फोहोरको न्यूनिकरण गर्नु अत्यन्त आवश्यक छ। नेपाल सरकारले लागू गरेको नीति र योजनाको प्रभावकारी कार्यान्वयनका लागि सबै तहमा समन्वय र सक्रिय सहभागिता आवश्यक छ। फोहोर व्यवस्थापनमा आवश्यक तालिम र जनचेतना कार्यक्रमले ठूलो योगदान पुर्याउन सक्छ।
अन्त्यमा, फोहोर व्यवस्थापनमा जलाउने र सामान्य फोहोरसँग मिसाउने समस्याबारे हामी सबैले ध्यान दिन आवश्यक छ। स्थानीय सरकारको नीति नियम पनि बनिरहेको छ र आशा छ कि यस्ता संवेदनशील विषयहरूले पनि ध्यान पाउनेछन्।