कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका विभिन्न देशमा तीव्र रुपमा फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनले यसको प्रभावलाई कम आँकिएको भन्दै चिन्ता व्यक्त गरिरहेको अवस्था छ। नेपालमा पनि यो भाइरसको जोखिम बढेको छ। नेपालमा रहेका दुई जना विदेशीमा यो भेरियन्टको संक्रमण फेला परेका कारण पनि यसको जोखिम उच्च रहेको अनुमान गर्न सकिन्छ।
छिमेकी देश भारतमा यसको संक्रमण दर बढेसँगै नेपालमा पनि खतरा बढ्ने गर्दछ। त्यसकारण यसबाट जोगिन सतर्कता अपनाउन जरुरी छ। विश्व स्वास्थ्य संगठनले कोरोना विरुद्धका खोपले यो भेरियन्टमा काम गर्ने बताइसकेको छ। त्यसकारण यो संक्रमणको जोखिमबाट जोगिन बढी भन्दा बढी जनसंख्यालाई खोप लगाउन आवश्यक छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयअघि सार्वजनिक गरेको सेरो प्रिभिलेन्स सर्भेले नेपालमा कोभिडको पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा र एक मात्रा खोप लगाएका ८० प्रतिशतमा कोभिडविरुद्ध एन्टीबडी बनेको देखाएको छ। यो भनेको खोप लगाएकाहरूमा कोभिड संक्रमण हुने सम्भावना निकै कम हुनु हो। त्यस्तै, खोप लगाएका संक्रमितहरूमा गम्भीर असर देखिने सम्भावना पनि निकै कम हुनु हो। अस्पतालमा भर्ना भएका संक्रमितको तथ्यांक हेर्दा पनि ८० प्रतिशतभन्दा बढी खोप नलगाएका नै छन्। संक्रमितको मृत्युलाई हेर्दा पनि खोप नलगाएकाहरू नै बढी छन्। त्यसैले कोरोना विरुद्धको खोप कति प्रभावकारी हुन्छ भन्ने कुरा अब सैद्धान्तिक छलफलको विषय मात्रै रहेन, व्यवहारिक रुपमै पुष्टि भइसकेको छ। त्यसकारण खोपलाई सर्वप्रथम कोरोनाको घातक असरका कारण हुने मृत्युसम्मको क्षतिबाट जोगाउनका लागि अहिलेसम्म उपलब्ध भरभर्दो उपायको रुपमा बुझ्नु जरुरी छ।
यतिबेला खोपको चर्चा गर्नुको कारण छ। किनभने अहिले पनि हाम्रो दैनिक कोरोना संक्रमण दर तीन सयको हाराहारीमा नै छ। यो ठूलो संख्या हो। अझ नयाँ भेरियन्ट तीव्र रुपमा फैलने खतरा रहेकाले पनि खोपको दायरालाई फराकिलो बनाउनु पर्ने अवस्था छ। नेपालमा २० हजार जनाको पीसीआर परीक्षण हुँदा ९ हजार जनासम्मलाई संक्रमण देखिएको थियो। अहिलेको संक्रमण दरमा पनि जुनसुकै बेला बढोत्तरी आउन सक्छ र हामी तेस्रो लहरमा प्रवेश गर्न सक्छौं। किनकि, केही समययता बजारमा भीडभाड बढेको छ। मानिसहरुले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरिरहेको अवस्था छैन। तर, नेपालमा खोप लगाउने नागरिकको संख्या निकै कम छ।
जनस्वास्थ्यको मापदण्ड पालना गर्ने विषयमा स्वास्थ्य मन्त्रालयले दैनिक सचेत गराइरहेको भएपनि हेलचक्र्याइँ पनि कायमै रहेको देखिन्छ। कोरोनाको लहर सुरु भएपछि त्रास बढ्ने र स्वास्थ्य मापदण्ड पछ्याउने तर, लहर कम हुँदै गएपछि त्यसलाई बेवास्ता गर्ने गरेको पाइन्छ। एकतिर खोप लगाउनेको संख्या कम हुनु र अर्कोतर्फ अव्यवस्थित र बेपर्वाह भीडभाडले नै छिट्टै तेस्रो लहरको जोखिमको खतरा व्यक्त गर्छ।
यी पृष्ठभूमिलाई एक ठाउँमा राखेर विश्लेषण गर्दा अब खोपको पहुँच बढाउनुको अनिवार्यता पुष्टि हुन्छ। हामीले यतातिर ध्यान दिनुको औचित्य पुष्टि हुन्छ। अहिले विश्व बजारमा खोपको अभाव देखिँदैन। नेपालले पनि अनुदान र खरिद प्रक्रियामामार्फत् खोप ल्याइरहेको छ। त्यसरी आएका खोपको संख्याप्रति असन्तुष्ट हुनुपर्ने कारण छैन। तेस्रो विश्वको एउटा देशले गर्न सक्ने जति पहल गरिरहेको पनि देखिन्छ। तर, अपेक्षा सधैं अझ राम्रो गर्नका लागि हुने हो। सरकारसँग अहिले आमनागरिकको अपेक्षा छ, खोप खरिद र वितरणलाई अझ तीव्रता दिनुपर्छ। अहिले नेपालमा ३० लाखभन्दा बढी खोप भण्डारणमा रहेको अवस्था छ। खोप आउने क्रम पनि जारी नै छ। त्यसकारण ल्याएका खोपलाई छिटोभन्दा छिटो लगाउनु नै अहिलेको आवश्यकता हो।
हालसम्म नेपालमा तीन करोड १४ लाख १९ हाजर ३३० डोज खोप आइसकेको अवस्था छ। यी खोपमध्ये झण्डै दुई करोड ९ लाख ९५ हजार डोज खोप लगाइसकिएको अवस्था छ। अहिलेसम्मको अवस्थालाई हेर्दा नेपालमा १८ वर्षभन्दा माथि उमेरका ३० प्रतिशतमा पूर्ण र ३८ प्रतिशतमा पहिलो डोज खोप लगाइसकिएको अवस्था छ। नेपालमा तेस्रो लहरको जोखिमको कुरा आइरहेको समयमा १८ वर्षभन्दा माथिका जनसंख्यालाई लगाउने खोपको संख्या पनि निकै कम हो। यसका साथै १८ वर्षभन्दा मुनिका बालबालिकाका विषयमा पनि छिटोभन्दा छिटो कदम चालिहाल्नुपर्ने अवस्था देखिएको छ। खोप नपाउँदा उनीहरूको शैक्षिक क्रियाकलाप प्रभावित भइरहेको छ, विद्यालय खुलाउँदा पनि त्रास कायमै छ। त्यसैले यो उमेर समूहका बालबालिकालाई पनि अन्य देशको अनुभवको आधारमा खोपको दायरामा ल्याउनु जरुरी छ।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले वैशाखभित्र खोप लगाउन योग्य सबैलाई खोप लगाउने लक्ष्य राखेको छ। तर यहि गतिमा जाँदा उक्त लक्ष्य भेट्न समस्या हुने देखिन्छ भने जोखिम पनि बढी हुने खतरा छ। त्यसैले त्यतिञ्लेज कुरेर बस्नु भन्दा अहिले नै अगाडि बढ्नु उत्तम हुन्छ। सहज भएकै बेलामा पहल गर्न सक्दा हामीले आवश्यक संख्यामा र रोजेका खोप ल्याउन सक्छौं। ठूलो संख्यामा खोप ल्याउँदा त्यसको भारलाई हाम्रा पूर्वाधार र स्वास्थ्य जनशक्तिको उपलब्धताले थेग्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नचाहिँ छ। खोपको भण्डारण र वितरणको सन्दर्भमा हामीसँग ८ महिना जतिको अनुभव भएकाले हाम्रा कमजोरी सुधार गर्न र प्रभावकारिता बढाउन सक्षम हुनेछौं भन्ने विश्वास गर्न सकिन्छ।
खोपको खरिदसँगै हामीले ध्यान दिनुपर्ने अन्य विषय पनि छन्। अहिले पनि कतिपय लक्षित समूहले खोप नपाएको तर, टाठाबाठा र पहुँचवालाले पाइरहेको गुनासो सुनिने गरेकै छ। जसरी लगाएको भएपनि नेपाली नागरिकले खोप लगाउने त हो भनेर पन्छिन मिल्दैन। त्यसो हुँदा प्राथमिकता निर्धारण र रणनीति चयनमा असर पर्ने हुन्छ। त्यसैले खोपको प्रभावकारी वितरणमा समेत ध्यान जानु जरुरी छ।