कुनै दिन आफैंले एउटा लेखमा लेखेकाे थिएँ 'सरकार! सरकारी स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी/चिकित्सकको प्राइभेट प्राक्टिस बन्द गर, नत्र नीतिगत भ्रष्टाचारले सरकारी स्वास्थ्य संस्था धरासायी हुन्छ, जनताले सस्तो र राम्रो स्वास्थ्य सेवा पाउदैनन्।' हुन त सरकारले यो विषयमा धेरै समय अघिदेखि पहल गरेको छ। सरकारको पहलकदमी स्वरुप अहिले दुई कार्यक्रम छन्। 'विस्तारित अस्पताल सेवा' र 'एक चिकित्सक एक स्वास्थ्य संस्था' कार्यक्रम। तर यी कार्यक्रमहरुको शिर्षक जति राम्रो छ, निर्देशिका उति नै कमजोर छ।
यी कार्यक्रमहरुका निर्देशिकामा व्यवहारिक अड्चन र नीतिगत कमजोरीका कारण यसको पालनाले मात्र चिकित्सक/स्वास्थ्यकर्मीको जिविकोपार्जन र जीवनशैली कठिन हुने भएकोले फलतः यी कार्यक्रमहरुले आफ्नो शिशु अवस्थामा नै दम तोड्दैछन्। तसर्थ अब भोलिको बाटो के त भनेर एक सरकारी चिकित्सक भएको नाताले आफूपनि नीतिगत भ्रष्टाचारबाट पर भइयोस् र आफूले दिने सेवाको दायरा र गुणस्तरमा पनि बढोत्तरी होस् भनेर यहाँ केहि लेख्दै छु।
म प्राइभेट गर्दिन भनेर मेरा एक स्वास्थ्यकर्मी साथी २/४ महिना २४ घण्टा सरकारीमा खटिएका थिए। पछि तलव बुझ्ने बेलामा उनले महिनाको दस हजार मात्र बढी पाए। महिनाको तलब जम्मा ३०-४० हजारले २४ घण्टा सरकारीमा सेवा दिएर आफ्नो जिविकोपार्जन हुन हम्मेहम्मे देखेपछि उनले प्राइभेट प्राक्टिस गर्न थाले। त्यसपछि उनले न कहिल्यै' विस्तारित अस्पताल सेवा' गरे, न सायद गर्ने छन्। विस्तारै उनको प्राइभेट प्राक्टिस फस्टाउँदै गयो अहिले उनी महिनाको ५-६ लाख कमाउँछन्। यो एक दुखःद प्रसंग हो।
सरकारले तोकेको ड्यूटी आवर भित्र सरकारीमा काम गर्ने र त्यसपछि बाहिर प्राइभेट अस्पतालमा काम गर्ने सरकारी चिकित्सक/स्वास्थ्यकर्मीलाई आफ्नो ड्यूटी आवर बाहिर पनि सरकारी स्वास्थ्य संस्थामा नै काम गर्न लगाउने तर त्यसको पारिश्रमिक प्राइभेटको जस्तै बनाउने भन्ने एक कार्यक्रमको नाम हो 'विस्तारित अस्पताल सेवा'।
यो कार्यक्रम स्वास्थ्य मन्त्रालयले जनता र स्वास्थ्यकर्मी दुवैलाई राम्रो होस् भन्ने मनसायले अघि सारेको हो।
चिकित्सक/स्वास्थ्यकर्मीलाई प्राइभेट प्राक्टिसमा संलग्न हुनबाट निरुत्साहित गर्न बनेको 'विस्तारित अस्पताल सेवा' कार्यक्रमको कमजोर पक्षको उदाहरणको रुपमा म मेरै एक सहकर्मी चिकित्सकको भोगाइ अघि सार्दै छु।
कुरो केहि बर्ष अघिको हो। म प्राइभेट गर्दिन भनेर उनी २/४ महिना २४ घण्टा सरकारीमा खटिएका थिए। पछि तलव बुझ्ने बेलामा उनले महिनाको दस हजार मात्र बढी पाए। महिनाको तलब जम्मा ३०-४० हजारले २४ घण्टा सरकारीमा सेवा दिएर आफ्नो जिविकोपार्जन हुन हम्मेहम्मे देखेपछि उनले प्राइभेट प्राक्टिस गर्न थाले।
त्यसपछि उनले न कहिल्यै' विस्तारित अस्पताल सेवा' गरे, न सायद गर्ने छन्। विस्तारै उनको प्राइभेट प्राक्टिस फस्टाउँदै गयो अहिले उनी महिनाको ५-६ लाख कमाउँछन्। यो एक दुखःद प्रसंग हो। र उनी जस्तो दक्ष चिकित्सक चाहँदाचाहँदै पनि सरकारी अस्पतालको पुर्णकालिन सेवामा नसेमिटिनु दुर्भाग्य हो। यस्तै निरुत्साहित फल दिने कार्यक्रमको रुपमा 'अहिलेको एक चिकित्सक एक स्वास्थ्य संस्था' कार्यक्रमलाई धेरै चिकित्सकहरुले लिएका छन्।
गर्न के सकिन्छ?
पहिले त यी दुई कार्यक्रम (एक चिकित्सक एक स्वास्थ्य संस्था र विस्तारित अस्पताल सेवा) दुवैका कमजोर पक्षलाई सवल बनाउनु जरुरी छ। 'विस्तारित अस्पताल सेवा' अन्तर्गत बिरामीलाई लिइने शुल्क प्राइभेट अस्पतालको तुलनामा कम छ र कम नै राखिनु पर्दछ। किनकी सरकारी अस्पताल भनेको औसत नेपालीको अस्पताल हो। र यहाँका कार्यक्रम विपन्न र रेखामुनीका जनतामा केन्द्रीत हुनु पर्दछ। हाललाई यस कार्यक्रमको ठूलो कमजोरी भनेको प्राइभेटमा जुन अनुपातले चिकित्सक/स्वास्थ्यकर्मीलाई पारिश्रमिक दिन्छन् सो अनुपातको पारिश्रमिक यस कार्यक्रममा नहुनु हो।
उदाहरणको लागि एउटा रेडियोलोजिष्टले प्राइभेटमा भिडियो एक्सरे गरेको बिरामीले तिर्ने शुल्कको ५० प्रतिशत पाउँछ, इमेजिङ गाइडेड कुनै शल्यक्रिया गरेको बिरामीले तिर्ने शुल्कको ८० प्रतिशत पारिश्रमिक पाउँछ। तर विस्तारित अस्पताल सेवा अन्तर्गत भिडियो एक्सरे गरेको बिरामीले तिर्ने शुल्कको २० प्रतिशत, इमेजिङ गाइडेड कुनै शल्यक्रिया गरेको बिरामीले तिर्ने शुल्कको ० प्रतिशत पारिश्रमिक पाउँछ।
अब कुरा के भयो भने प्राइभेट अस्पतालले चिकित्सक/स्वास्थ्यकर्मीलाई पारिश्रमिक दिएर मनग्य नाफा लिन सक्ने तर सरकारी अस्पतालले चिकित्सक/स्वास्थ्यकर्मीलाई सोही अनुसारको पारिश्रमिक दिन नसक्ने? त्यो पनि सोही प्रयोजनको लागि स्थापित 'विस्तारित अस्पताल सेवा' कार्यक्रममा। तसर्थ 'विस्तारित अस्पताल सेवा अन्तर्गत' सेवा जतिसुकै सस्तो भएपनि सेवाग्राहीबाट उठ्ने आम्दानीको अनुपातिक विभाजन जबसम्म प्राइभेट सरह हुँदैन कोहि चिकित्सक प्राइभेट छाडेर पुर्णकालिन रुपमा सरकारीमा समर्पित हुन सक्दैनन्।