जब आफैं उभिएर ऐना हेरी दाँत माझ्नु पनि एउटा ठूलो उपलब्धि लाग्छ, तब थाहा हुन्छ कोरोना के हो। यस कान्ति बाल अस्पताललाई शुरुमा कोरोनाको लागि विशेष अस्पतालको रुपमा पहिचान गरिएको थिएन। तर पनि सतर्कतापूर्वक काम भइरहेको थियो।
जहिले कोभिड–१९ का बिरामीहरु बढ्न थाले हाम्रो अस्पतालमा पनि अलग वार्ड र आइसियु छुट्टाई ती शंकास्पद तथा पोजिटिभ बिरामी भर्ना गरेर राखियो।
कहिले आकस्मिक, कहिले वार्ड र आइसियु ड्युटी परिह्यो। यतिकैमा सहकर्मी साथीहरुको कोभिड जाँच पोजिटिभ देखियो अनि आफूलाई अझ सतर्क बनाई कामलाई निरन्तरता दिँदै गएँ। तर त्यसको केही समयपछि आफूलाई थाकेको महसुस भयो।
साथै खानाको स्वाद पनि आएन। निकै गाह्रो भएर त्यस दिन चाँडै घर गए। आफू परिवारबाट भने टाढैं बसें। किनकी मलाई शंका थियो कोभिडको।
त्यही दिन बेलुकी ज्वरो आयो। भोलिपल्ट जाँच गराएँ। रिपोर्ट आउनै तीनदिन लाग्यो। आखिर चौथो दिन रिपोर्ट पोजिटिभ आयो। त्यतिन्जेल सम्म निकै गाह्रो भइसकेको थियो। म पूर्णरुपले खटियामा थला परिसकेको थिएँ। जिउ गलेर दुखेको सहन सकिरहेको थिइनँ। ज्वरो पनि कम भइरहेको थिएन।
खाना पनि पटक्कै रुचिरहेको थिएन। शरीरमा केही तागत नै नभएको जस्तो लागिरहेको थियो भने स्वास पनि फुलेजस्तो लागिरहेको थियो।
आफ्नो अक्सिजन मात्रा जाँच गरिराखें। कोभिडका बिरामीको उपचारमा संलग्न साथीहरुलाई सम्पर्क गरिराखें। तिनै साथीको सल्लाह अनुरुप आफू घरमै बसेर उपचार गराएँ। सँगै परिवारलाई पनि जाँच गराएँ। सानी ६ महिनाकी छोरी र श्रीमतीको पनि पोजिटिभ आयो। श्रीमतीलाई त केही दिन ज्वरो र रुघाखोकी मात्र थियो तर छोरीको साह्रै चिन्ता लाग्यो। के हुने हो निक्कै अन्योल भयो। बच्चाहरुमा गम्भीर किसिमको समस्या देखिन्छ भन्ने बुझेर झन् मन अत्तालियो। ईश्वरको कृपाले छोरीलाई रुघा र खोकी मात्र देखियो, ज्वरो र अरु समस्या देखिएन।
आफू चाँही ओछ्यानबाट उठ्न पनि सकिरहेको थिइन। शरीर यति दुख्ने गल्ने भएपनि अक्सिजनको मात्रा भने धेरै कम भएको थिएन।
एकजना साथीले त अस्पताल भर्ना हुने सल्लाह दिए। तर दशैंको समय अनि अस्पतालमा बेडको समस्या हुने बेला भएर अलमल्ल परेँ। समस्या बढेपछि केही आशाका साथ आफ्नो अस्पतालमा सम्पर्क गरेँ, तर एक जिम्मेवार व्यक्तिले आफ्नो व्यवस्था आफैँ गर्नु बेड तथा अरु चिज मिलाउन गाह्रो छ भनी पन्छिदिँदा निक्कै नरमाइलो लाग्यो।
त्यसपछि टेकुमा रहेको साथीलाई फेरि सम्पर्क गरेँ। उसले आइसियुलाई समस्या भए पनि भर्ना बेड चाहीँ जसरी पनि मिलाउने कुराको विश्वास दिलाए र डेक्सामेथासोन भन्ने औषधि शुरु गर्ने सल्लाह दिए। त्यही सल्लाह अनुसार औषधि सुरु गर्ने निर्णय गरें। समस्या फेरि औषधि कसले ल्याउने भन्ने भयो। एकजना बहिनी नर्सलाई सबै औषधि र परेको बेला अरु सहयोग गर्न बोलाएँ।
तिनले गहभरी आँसु लिएर औषधि र अरु समान ल्याइदिइन्। मेरो अवस्था देखेर बुबा र आमाको मलिन अनुहारले झन् छटपटी हुन्थ्यो। औषधि सुरु गरेपछि ज्वरो त कम भयो फेरि खोकी बढ्न थाल्यो। यतिसम्म भयो कि म केही बोल्न पनि सक्दिन थिएँ।
बोल्न खोज्दा स्वास फुल्ने र खोकी लाग्ने गर्थ्यो। ट्वाइलेट जाँदासम्म पनि स्वास बढेर निकै गाह्रो हुन्थ्यो। खाना पनि पटक्कै रुच्दैनथ्यो। साथीभाइहरुले हालचाल बुझ्न फोन गर्थे तर म बोल्न नसकेर म्यासेज मात्र लेखेर कुरा गर्थें।
स्वाँस्वाँ कम नभएपछि साथीसँग टेकु गएँ। एक्सरे गराएँ। धन्न ठूलो निमोनिया त्यस्तो केही रहेनछ। नियमित अक्सिजन नचाहिने भएपछि एक दिनको बसाइँपछि साथीकै जिम्मामा घरमै बाफ (नेबुलाईज) गर्ने र आवश्यकता अनुरुप अक्सिजन लिने गरी फर्किएँ। सौभाग्य भनूँ, त्यहाँबाट फर्केपछि अक्सिजन ९४ प्रतिशत भन्दा कम भएन। खोकीले भने धेरै सतायो। म पल्टिएर सुत्न सक्दिन थिएँ, खोकी बढ्ने गर्थ्यो। रातभर भित्तामा अडेस लगाई तकिया च्यापेर सुत्न खोज्थ्येँ। तर निदाउन भने सक्दिनथें। यसको केही दिनपछि खोकी कम हुँदै गयो तर बाडुलीले सतायो। केही गर्दापनि कम भएन। बाडुलीले तीनदिन त न दिनमा केही गर्न सक्ने न रातमा निदाउन सक्ने भयो। पोजिटिभ देखिएको ३ हप्तापछि बल्ल आफैँ उभिएर दाँत माझ्न सक्ने भएँ। स्वाँस्वाँ र खोकी त थियो, जीउ दुखाई केही कम हुँदै थियो तर अब भने सन्चो हुन्छु जस्तो लाग्न थाल्यो।
दशैं र तिहार सबै कोरोनाकै उपचारमा बित्यो। करिब एक महिनापछि रिपोर्ट नेगेटिभ आयो। रिपोर्ट जे भए नि उकालो र सिँढी चढ्दा स्वास बढ्ने र थकान चाहीँ ४–५ हप्ता अझै रह्यो। अझै ४ महिनापछि पनि अलि बढी जोड पर्ने काम वा फटाफट हिँड्न खोज्दा स्वास बढेजस्तो हुन्छ। सायद पोस्ट कोभिड हो कि?
यो अवस्थामा साथीहरुले निकै हौसला दिए। बेला–बेलामा फोन र म्यासेन्जरमा कुरा गरेर मनोबल बढाए, एक्लिएको आभाष हुन दिएनन्। सबै साथ दिनुहुने साथीहरुको गुण कहिलै बिर्सने छैन। अनि सबैलाई यसैमार्फत धन्यवाद पनि भन्न चाहन्छु। कोभिडलाई हेलचेक्र्याई नगरौं। नयाँ–नयाँ किसिमका भेरियन्ट देखिइरहेका छन्। सतर्क रहौं, सुरक्षित बनौं।
-(डा सिपाई कान्ति बाल अस्पतालमा कार्यरत छन्।)