काठमाण्डौ– नेपालमा पहिलो पटक 'अफ्रिकन स्वाइन फिभर' नामक भाइरस देखा परेको छ। काठमाण्डौको विभिन्न ठाउँको सुँगुरको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर नामक भाइरस फेला परेको पशु सेवा विभागका महानिर्देशक डा रामनन्दन तिवारीले जानकारी दिए।
उनका अनुसार काठमाण्डौको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी नगरपालिका १२ र भक्तपुरको चाँगुनारायण क्षेत्रमा फैलिएको सङ्क्रमणका कारण अहिलेसम्म एक हजार १९ वटा सुँगुर मरिसकेका छन्। एक हजार चार सय २६ वटा शङ्कास्पद र एक हजार तीन सय ६४ वटा सुँगुर बिरामी परेका छन्।
'बर्ड फ्लुु' जस्तै प्रकृतिको यो भाइरस घरपालुवा सुँगुर, बङ्गुर र जङ्गली बँदेल प्रजातिमा देखा पर्ने भाइरस हो। यो रोग पशुबाट मानिसमा भने सर्दैन। यो रोगबाट संक्रमण भएमा सुँगुरमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखा पर्छ।
विभागका अनुसार यो उच्च मृत्यु दर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग हो। महानिर्देशक तिवारीले यो रोगविरुद्ध अहिलेसम्म कुनै खोप उपलब्ध नभएकाले सर्तकता नअपनाइएमा ठूला आर्थिक क्षति गराउने सक्ने बताए।
काठमाण्डौ जिल्लाको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरी, टोखा र दक्षिणकाली क्षेत्र, ललितपुर जिल्लाको गोदावरी क्षेत्र र भक्तपुर जिल्लाको चाँगुनारायण क्षेत्रमा संक्रमण फैलिएको र यसबाट हालसम्म १०१९ सुँगुर तथा बङ्गुर मरेको विभागले जनाएको छ ।
यो संक्रमण हुँदा सुँगुर प्रजातिमा उच्च ज्वरो आउने (१०४ देखि १०७ डिग्री फारेनहाईट), कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, चाल धरमराउने, तुहिने जस्ता लक्षण सहित बथानमा एकै पटक ठूलो संख्यामा सुँगुर, बङ्गुर तथा बँदेल मर्ने गर्दछन्।