बालकृष्ण श्रेष्ठ सफ्टवेयर इन्जिनियर हुन्। नेपालमा स्नातक तहमा इन्जिनियरिङ अध्ययन पश्चात उनी सन् २००७ मा थप अध्ययनका लागि फिनल्याण्ड गए। स्नातकोत्तर तह अध्ययन पुरा गरेपछि हाल उतै एक कम्पनीमा सिनियर इन्जिनियरको रुपमा कार्यरत छन्। उनी फिनल्याण्डको गैरआवासीय नेपाली संघ (एनआरएनए)को पूर्व अध्यक्ष पनि हुन्। उनलाई नेपालमा केहि गर्नु पर्छ भन्ने हुट हुटिले कहिले के त कहिले केमा लागि रहन्थे। उनले नेपालमै हुँदा पनि सफ्टवेयर कम्पनी खोलेर चलाएका थिए। संयोगकै कुरा यही स्वास्थ्य सेवालाई डिजिटल सिस्टममा लैजाने विषयमा सोच राखेर टिम खोज्दै हिडेको साथी आइटी कन्सल्टेन्ट सरद अधिकारी भेट भयो। अर्का साथी सफ्टवेयर इन्जिनियर आशिष भट्टराई मिलेर सुरु गरे ओखती सफ्टवेयर सिस्टमको यात्रा। अहिले फिनल्याण्डमा रहेपनि उनको टिमले नेपालका स्वास्थ्य संस्थामा उपयोगी सफ्टवेयर बनाएर सेवा दिइरहेका छन्। श्रेष्ठसँग नेपालका स्वास्थ्य संस्थामा सफ्टवेयरको प्रयोग, अवस्था, ओखतीको विषेशता लगायतका विषयमा स्वास्थ्यखबरले गरेको कुराकानीः
नेपालका अस्पताल तथा संस्थासंस्थामा सफ्टोयरको प्रयोगको अवस्था के छ?
नेपालमा सफ्टवेयरको प्रयोग हेर्ने हो भने ठूला सरकारी र निजी अस्पतालहरुमा बिलिङ (पैसा तिरेको बिल बनाउने) को कामका लागि प्रयोग भएको देखिन्छ। यसका साथै प्रयोगशालाको रिपोर्टमा पनि पछिल्लो समय सफ्टवेयरको प्रयोग गरिएको पाइन्छ। डिजिटलाइज भनेको बिलिङ र ल्याब रिपोर्टमा देखिन्छ। बिरामीको रेकर्डहरु चाँही डिजिटलाइज भएको देखिँदैन। बिरामीहरु केका लागि अस्पताल आउनुभयो? के औषधि खानुभयो? अब फलोअपमा कहिले अस्पताल आउने जस्ता कुराहरु डिजिटलाइज गर्न सकिन्छ तर त्यो किसिमको पूर्ण डिजिटल प्रणाली भने केही सिमित अस्पतालमा मात्र छ। प्राय अस्पतालहरु फुल डिजिटल सिस्टममा छैनन्। भनेको केहि अस्पतालमा ल्याब रिपोर्ट, टिकटको व्यवस्था अनलाइन छ। बिरामीको रेकर्ड सिस्टममा राख्ने बिषयमा भने नेपालका स्वास्थ्य संस्था धेरै पछाडि छन्।
अस्पतालहरु पूर्ण रुपमा डिजिटलाइज हुन कस्ता कुराहरु अनिवार्य हुनुपर्छ?
अस्पताललाई पूर्ण रुपमा डिजिटलाइज गर्न बिलिङको कामसँगै अस्पतालमा आउने बिरामीको सम्पूर्ण रेकर्ड डिजिटलाइज हुनुपर्छ। उहाँहरु पछि आउँदा पहिलाको हिस्ट्री बताउन ठूलो फाइल बोकेर आउन नपरोस्। बिरामीको परिचय नम्बर भएपछि त्यो बिरामीको रेकर्ड अस्पतालको सिस्टममा हुनुपर्छ। त्यो भयो भने पूर्ण डिजिटलाइज भन्न सकिन्छ। अस्पतालहरुमा बुकिङ पनि डिजिटलाइज हुनुपर्छ। डाक्टरसँगको समय लिँदा पनि सिस्टमअनुसार कुन समयमा बोलाउने भन्ने हुनपर्छ। विद्युतीय रुपमा वा अनलाइन सिस्टमबाट अपोइन्मेन्ट लिने र आफ्नो पालो आउने समयमा जाने सिस्टम हुँदा अस्पतालमा अनावश्यक भीड हुँदैन। तर हाम्रोमा त डिजिटलाइज भनेर टोकन सिस्टम मात्र बनाइएको छ। टोकन लिन फेरि बिहानैदेखि लाइन लाग्नुपर्ने अवस्था छ। त्यसले अस्पतालमा बिरामीको भिड देखिने भयो। बिरामीको समय पनि खेर जाने भयो। अस्पताल पूर्ण रुपमा डिजिटलाइज भएमा बिरामीलाई पनि समयमा उपचार दिन सकिन्छ। बिरामीले पालो कुर्नुपर्ने अवस्था आउँदैन। सानो कुराले धेरै ठूलो प्रभाव पार्न सकिन्छ।
नेपालमै रहेका र विभिन्न अस्पतालमा प्रयोग भइरहेका सफ्टवेयरहरु अस्पताललाई पूर्ण डिजिटलाइज गर्न कत्तिको सक्षम छन् जस्तो लाग्छ?
एकदम सक्षम छन्। तर समय र दक्ष जनशक्तिको सही उपयोग हुन जरुरी छ। पछिल्लो समयमा अस्पताल तथा स्वास्थ्य संस्थामा सूचना प्रविधिका विषयमा जानकारी बढेको देखिन्छ। धेरै स्वास्थ्य संस्थाले यस विषयमा चासो पनि दिइरहेका छन्। लामो समयदेखि यही क्षेत्रमा काम गरिरहेको कम्पनीहरु पनि छन्। उनीहरुले बिलिङ र ल्याब रिपोर्ट एकहद सम्म डिजिटलाइज गराएका छन्। पछिल्लो ३,४ वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमै काम गर्ने धेरै सफ्टोयर कम्पनीहरु सञ्चालनमा आएका छन्। ओखती सफ्टोयर पछिल्लो समयमा धेरै क्लिनिक र हस्पिटलहरुको पहिलो रोजेको सफ्टवेयर बन्दै गएको छ।
नेपालमा स्वास्थ्य क्षेत्रमै प्रयोग गर्न कतिजति सफ्टोयर कम्पनी छन्?
फार्मेसी, क्लिनिक, ल्याब, अस्पतालका लागि सबै ठाउँमा उपयुक्त हुने सफ्टवेयर हामीसँग छ। आफ्नो सफ्टवेयर मार्फत काम गरिरहँदा विभिन्न सफ्टवेयर कम्पनीसँग ठोकिन्छ। कोही बिलिङ मात्र बनाउने, कोही फार्मेसीका लागि मात्र, कोही ल्याब मात्र गर्ने पनि हुनुहुन्छ। नेपालमा स्वास्थ्य क्षेत्रमै प्रयोगमा आएका ८,१० वटा सफ्टवेयर कम्पनीहरु छन्।
नेपालका अस्पतालहरुमा नेपालमै बनेर वा विदेशमा बनेका कतिजति सफ्टवेयरहरु प्रयोगमा आइरहेका छन्?
अहिले काठमाडौं, ललितपुर र भक्तपुरका करिब २५-३० प्रतिशत स्वास्थ्य सस्थाहरुहरुमा कुनै न कुनै किसिमको सफ्टवेयरहरु प्रयोगमा छन्। काठमाडौं उपत्यका बाहिर सफ्टवेयरको प्रयोग अझ कम छ। सरकारी स्वास्थ्य संस्थाहरुहरुमा नगन्य छ। तर पूर्ण इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) भने एकाध अस्पताल र क्लिनिक बाहेक अरुमा छैन।
यसमा हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्यौं। हाम्रो सफ्टवेयर तराई, पहाड र हिमाली जिल्लामा पनि प्रयोग भइरहेको छ। यसैको मार्केटिङको क्रममा धेरै हदसम्म थाहा भयो कि अहिलेसम्म पनि भारतिय सफ्टवेयर धेरै ठाउँमा प्रयोग भइरहेको रहेछ। कतै प्याकेजमा किन्ने र इन्स्टल गर्ने र बिग्रियो भने मर्मत नहुने गरेको पनि भेट्यौं। यस्तै कतिपय क्लिनिकहरुले आफैंले लाखौं खर्च गरेर आफैंले सफ्टवेयर बनाएको पनि देख्यौं।
नेपालमा भएका सफ्टवेयर कम्पनीले सबै स्वास्थ्य संस्था धान्न सक्लान्?
सक्छन्। त्यसैका लागि यसमा लागीरहेका छौं। कुनै पनि समाधानका लागि हामी तयार छौं। अरु सफ्टवेयर कम्पनीहरु पनि छन्। नेपालमा यथेष्ट जनशक्ति छ। त्यही जनशक्ति प्रयोग गरेर सजिलै सँग सबै अस्पताल, क्लिनिकहरुमा सफ्टवेयर उपलब्ध गर्न सक्छौं। नेपालीले नेपालको लागि बनाएको सफ्टवेयर प्रयोग गर्नु नि सबैलाई आग्रह गर्दछु। नेपाली सफ्टवेयरहरु भरपर्दो गुणस्तरीय छन्। यी सफ्टवेयरमा सबै किसिमका आवश्यकता पूरा गर्न सक्छन् भन्ने विश्वास दिलाउन हामी रातदिन नभनी काम गरिरहेका छौं।
नेपालका अस्पतालहरुमा कस्ता किसिमका सफ्टोयर प्रयोगमा आइरहेका छन्?
बिलिङ, ल्याब रिपोर्ट, फार्मेसीको स्टक जस्ता कुराहरुमा सफ्टवेयरको प्रयोग बढी देखियो। पूर्ण इएमआर, सबै सिस्टम भएको ‘इआरपी’ भने कम अस्पतालमा मात्र प्रयोग भइरहेको छ। इआरपी भनेको इन्टरप्राइज रिसोर्स प्लानिङ हो। त्यसले ओभरल जुनकुनै विजनेस प्रोसिजरलाई डिजिटलाइज गर्नु हो। यसमा अस्पतालको बिलिङ, स्टक, इन्टरनल केयर, एकाउन्ट, कर्मचारीको तलब, बिदाको व्यवस्थापन, बेड म्यानेजमेन्ट लगायत अस्पतालबाट प्रवाह हुने सबै कुरा डिजिटलाइज गर्नु हो।
अस्पतालहरु सबै पूर्ण डिजिटलाइज हुँदा अस्पताल र बिरामीलाई के–के फाइदा हुन्छ?
यसमा म त फाइदा मात्र देख्छु। दुवै पक्षकालाई सरल, सहज हुन्छ। अस्पतालमा बिरामीको भिडभाड कम हुन्छ। बिरामीको अवस्थामा यताबाट उता, उताबाट यता, यो बाट त्यो अनि यसो गर उसो गर भनेर झन् पीडा माथि पीडा थप्ने काम कम हुन्छ। छिटो र गुणस्तरीय सेवा प्रवाह हुन्छ।
अर्को कुरा भनेको अस्पतालमा एकभन्दा धेरै सेयर होल्डर, म्यानेजर तथा विभागीय प्रमुख हुनसक्छन्। उहाँहरुलाई अस्पतालको आम्दानी, स्टकमा अभाव भएका कुरा, अस्पतालमा के कुरा किनिहाल्नुपर्ने छ? स्टाफहरुको परिचालन लगायताका कुराहरु डिजिटलाइज हुँदा सहजै थाहा हुने भयो। अर्को डाक्टरलाई हुने फाइदा कुनै बिरामी आउदा पहिला पनि आएको छ भने उसको हिस्ट्री सहजै थाहा पाउन सकिन्छ र डिजिटल्ली म्यानेज गरी उपचार गर्न सहज हुन्छ। झुक्किएर पनि गलत उपचार हुन पाउदैन। जस्तोः कुनै बिरामीलाई कुनै औषधिले एलर्जी छ डाक्टरले त्यही औषधि सिफारिस गर्न लागेका छन् भने डिजिटलाइज सिस्टममा वार्निङ आउछ। यसले गलत डिसिजन हुनबाट रोक्न सकिन्छ। डिजिटलाइज भएपछि डाक्टरले सबै कुरा सम्झिरहन पर्दैन। अहिले त डाक्टरको दिमागमा जेजे जानकारी छ त्यही अनुसार गर्ने हो। कागजपत्रमा भेटिएको जति हेर्ने हो। बिरामीले पनि सबै कामगज फेला नपारेको हुनसक्छ त्यसले डाक्टर र बिरामी दुवैलाई धेरै गाह्रो हुन्छ। तर डिजिटल हुँदा यी झन्झट हुँदैन। जस्तो कुनै बिरामी अस्पताल बारम्बार गइरहँदा ढड्डामा बारम्बार नाम, ठेगाना, नम्बर लगायत सबै कुरा लेखिरहन पर्यो । तर डिजिटलाइज छ भने सिस्टमले पहिला नै बिरामीको रेकर्ड देखाउँछ। डिजिटलाइज हुँदा बिरामीले अस्पतालमा गएर डाक्टर कुरेर बस्नु पर्दैन। पुरानो कुराहरु फाइल बोकेर हिड्न परेन। यसले बिरामी, डाक्टर र अस्पतालको म्यानेजमेन्ट सबैलाई फाइदा छ।
तपाईंहरुको सफ्टवेयर ओखती कहाँ–कहाँ प्रयोगमा आइरहेको छ? कसरी चलिरहेको छ?
ओखती सफ्टवेयरको पूर्वको कोशी अस्पतालदेखि पश्चिमको डोटी अनि कर्णाली अस्पतालसम्म प्रयोगमा छ। काठमाडौँ उपत्यकाका टेकु अस्पताल, निजी अस्पताल लगायत, क्लिनिक वान, आवरण क्लिनिक लगायत धेरै अस्पताल, क्लिनिक, प्रयोगशाला तथा औषधि पसलहरुमा प्रयोगमा छन्। राजधानी बाहेक विराटनगर, जनकपुर, चितवन, बुटवल, पोखरा लागयत धेरै सहरका स्वास्थ्य संस्थामा प्रयोगमा आइरहेको छ। दैनिकनै प्रयोगकर्ताले चाहना अनुरुपका सुबिधाहरु थपिरहेका छौं। उहाँहरुको प्रतिक्रया सुनेर खुशी छौं।
धेरै सफ्टवेयर कम्पनीहरुको भिडमा ओखती के फरक छ?
ओखती सफ्टवेयर विभिन्न किसिमका स्वास्थ्य संस्था जस्तै पोलिक्लिनिक, नर्सिङ होम, फार्मेसी, ल्याब र डाइग्नोस्टिक सेन्टर तथा अस्पतालको लागि सुहाउँदो सिस्टम छ। हाम्रो विशेषता भनेको सबै मोड्यूलहरु एक्लै चलाउन नि मिल्ने र इन्टिग्रेटेड रुपमा चलाउन मिल्ने किसिमको छ। अहिले हाम्रो सिस्टम ल्याब र क्लिनिकको क्षेत्रमा हाम्रो सफ्टवेयर अधिक रुचाइएको छ। अर्को कुरा भनेको हाम्रो संस्थापक टिम फिनल्यान्डमा बसेर अनुभव हासिल गरेकाहरु छन्। यस क्षेत्रको स्वास्थ्य प्रणालीलाई लामो समय अध्ययन अनुसन्धान गरेर नेपालको माटो सुहाउँदो र नेपालकै लागि बनाइएको छ।
ओखती सफ्टवेयर नै किन चलाउने भन्ने अस्पताललाई के भन्न चाहनुहुन्छ?
पहिलो कुरा भनेको ओखती सफ्टवेयर चलाउन एकदम सजिलो छ। हाम्रो सिस्टम डिजाइन आधुनिक छ र क्लिनिक, ल्याब, अस्पतालको वर्क फ्लो अनुसार बनाएको छ। आधुनिक प्रविधि र सिस्टम विकास गरिएको छ। ओखती सफ्टवेयरका मोड्यूलहरु इन्टिग्रेटेड छ अनि कस्टुमाइजेसन र इन्टिग्रेसन नि चाहिए अनुसार गर्छौं। मूल्य पनि चलाए अनुसार नै तिर्न सक्नुहुन्छ जसले गर्दा सुरुमा धेरै लगानी गर्नु पर्दैन। सिस्टम भित्रै लाइभ सपोर्ट पाउनुहुन्छ। हाम्रो सिस्टमको एभाइलबिलिटी ९९ दशमलव ९८ छ। यसको अर्थ कुनैदिन पनि सफ्टवेयर डाउन भएर चलाउन नपाउने भन्ने हुँदैन। मेरो विचारमा स्वास्थ्य संस्थालाई चाहिने भनेको नै यही कुरा हो।
निजी सफ्टवेयर कम्पनीहरुमा बिरामीको गोपनियताको कुरा कसरी मेन्टेन गरिन्छ?
हेल्थको रेकर्ड भनेको एकदमै सेन्सेटिभ कुरा हो। त्यसमा हामी एकदमै सचेत छौं। हाम्रो सिस्टममा रहेका डाटाहरु गोप्य र सुरक्षित रहन्छ।
कुनै संस्थाले सफ्टवेयरको प्रयोग पहिलो पटक गर्ने योजनामा छन् उनीहरुलाई कस्तो सफ्टवेयर प्रयोग गर्न सुझाव दिनुहुन्छ?
धेरैले अस्पतालमा सफ्टवेयर राख्नका लागि खर्च बढ्छ, कर्मचारी थप्नुपर्छ भन्ने सोच राख्नुहुन्छ। तर त्यो होइन। सफ्टवेयरले मान्छे घटाउँछ, बढाउने होइन। सुरुमा चलाउन सिकाउने मान्छे चाहन्छि। तर चलाउन थालेपछि सामाजिक संजाल फेसबुक चलाएजस्तै सहज हुन्छ। युजटू भएपछि थोरै जनशक्तिले धेरै काम गर्न सक्छन्। सफ्टोयर प्रयोग गर्ने सोच गर्दै हुनुहुन्छ भने ध्यान दिनुपर्ने कुरा भनेको सफ्टवेयर सफ्टवेयर चलाउन सहज छ कि छैन, आफ्नो आबश्यकता पुरागर्ने खालको छकि छैन हेर्नु पर्छ । कति सुरक्षित छ? डाटाहरु कहाँ स्टोरेज हुन्छ? कस्तो टिमले सिस्टम बनाएको छ? सफ्टवेयर कम्पनी दिगो छ वा छैन हेर्नुपर्छ।
अन्त्यमा, ओखतीमा कतिजनाको टिम छ? आगामी योजना के छ?
धेरै क्षेत्रको विशेषज्ञ सहितको देश विदेशमा विशिस्ट अनुभव प्राप्त गरेको टिम छ। टिममा दश वर्ष भन्दा बढी समयको अनुभव प्राप्त डाक्टर, सफ्टवेयर इन्जिनियर, चार्टर अकाउन्टेट, नर्स गरी फिनल्याण्ड र नेपालमा २१ जनाको टिम छ। अस्पताल तथा क्लिनिक तथा ल्याबहरु सहित हाम्रो करिब १६० ग्राहक हुनुहुन्छ।
यो बीचमा हामीले नेपालमा देखेको कुरा के छ भने कुनै पनि सर्भिस किन्नुपर्यो भने कहाँ जाने? कसरी बुक गर्ने? घरबाटै पैसा तिरेर घरमै रिपोर्ट लिन्छु भन्ने भरपर्दो सिस्टम देखिएको छैन। हामीले हाम्रो सिस्टम प्रयोग गर्ने उपभोक्ताहरु तथा ल्याबहरुले हाम्रो वेबसाइड मार्फत नै बुक गर्न मिल्ने, ल्याब टेस्टहरुको सर्भिस बारे जानकारी दिने सिस्टम बनाउछौं। आउदो दशैं तिहारको बिचमा लन्च गर्ने छौं।