काठमाडौं- 'पुतली बाजे' भनेर चिनिने ८५ वर्षीय कलिन स्मिथको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। पिसाबमा समस्या आएपछि उनको अहिले इन्टरनेशनल नेपाल फेलोशिप (आइएनएफ) द्वारा पोखराको हरियोखर्कमा संचालित अस्पतालमा उपचार भैराखेको छ।
उनी लामो समयदेखि बिरामी रहेको पोखरामै बसोबास गर्ने ऐतिहासिक फोटो तथा चलचित्र संकलक सुनिल उलकले बताए। कलिन पोखरा महानगरपालिकाको वडा नं. १८ ग्यारजातिमा बस्दै आएका छन्। उनले नेपाल सरकारबाट २०७६ सालमा मानार्थ नेपाली नागरिकता पाएका थिए।
को हुन् पुतली बाजे?
बेलायतमा जन्मिएका पुतली बाजेको खास नाम भने कलिन स्मिथ हो। उनी नेपालमा निकै लामो समयदेखि बस्दै आएका छन्। पुतलीको संरक्षणमा लागेको हुनाले उनी ‘पुतली बाजे’ को नामबाट चर्चित छन्।
१९९३ मंसिर ९ गते लण्डन नजिकै जन्मिएका कलिन फिलिप स्मिथले टलिङ्गटन ग्रामर स्कुल, मस्वेल हिल, लण्डनमा विद्यालय शिक्षा पूरा गरेका हुन्। २०१५ असोजमा युनिवर्सिटी कलेज, लण्डनबाट गणित विषयमा एमएस्सी गरेका कलिनले पढाइ पूरा गरेपछि ग्लास्गो युनिवर्सिटीमा पढाउन थाले। उनले पछि मिशनरीहरूद्वारा संचालित कलेजहरूमा पनि पढाए। यसरी मिशनरीको नजिक पुगेका उनलाई 'युनाइटेड मिशन टु नेपाल'ले पोखरामा खोल्न लागेको स्कुलमा पढाउन निमन्त्रणा गर्यो।
२०२२ माघमा पहिलो पटक पोखरा आएका कलिनले केही महिना स्कुल स्थापनाको तयारीमा सहयोग गरे। नेपाली आदर्श विद्यालय (हाल गण्डकी बोर्डिङ स्कुल) सुरुमा पानीट्यांकी नजिकै खोल्न खोजिएको थियो। यूएमएनका प्रतिनिधिले ठाउँ साँघुरो भएको बताएपछि लामाचौरमा खोलियो।
उनी नेपाली आदर्श विद्यालयमा गणित र विज्ञान विषय पढाउनको लागी चुनिएका थिए। ३–४ महिनाको बसाइपछि अन्तत: जेठ २९, २०२३ मा ४५ विद्यार्थी छात्रावासमा बस्ने र स्थानीयको सहयोगमा १२ विद्यार्थीलाई निशुल्क पढाउने गरी विद्यालय उद्घाटन भयो।
श्रीमती मार्था मुखिया प्रिन्सिपल बनिन् भने कलिनले शिक्षकको रूपमा पढाउन थाले। स्कुल सञ्चालनको लागि स्थानीय समुदाय, साइनिङ हस्पिटल तथा युनाइटेड मिशन टु नेपालबीच समन्वय भएको थियो। मार्थाका साथ दुई वर्ष उनले नेपाली आदर्श स्कुलमा पढाए।
पछि उनी र यूएमएनबीच सम्बन्धमा व्यवधान आयो। यूएमएनले उनलाई पढाइ मात्र होइन धर्म प्रचार गर्न पनि अनुरोध गर्यो। तर, यो कुरा अस्वीकार गर्दै उनले 'म आफ्नो धर्म परिवर्तन गर्दिन अरूलाई पनि धर्म परिवर्तन गर्न लगाउँदिन’ भनेपछि यूएमएनले उनको भिसा थप्न सहयोग गरेन। जसले गर्दा बाध्य भएर उनी बेलायत फर्किए।
लण्डन फर्किएको करिव ६ महिनापछि पुन: यूएमएनले नै गोरखाको लुइँटेलमा खुलेको अमरज्योति स्कुलमा उनलाई पठायो। त्यहाँ चार वर्ष जति पढाए। यही स्कुलमा उनका विद्यार्थी थिए, डा. बाबुराम भट्टराइ र डा. उपेन्द्र देवकोटालगायत। कलिनले उनीहरूलाई कक्षा ९ मा पढाएका थिए। त्यसपछि कलिन पढाउनका लागि काठमाडौंको आनन्दकुटी पुगे। आनन्दकुटीमा केही समय पढाएपछि उनको शिक्षण पेशामा अचानक ब्रेक लाग्यो।
उनका काका अर्नाल्ड टर्नर पुतली संग्रह गर्दै हिंड्थे। सानै हुँदा उनले आफ्ना काकाको पुतलीको संग्रह भएको दराज देखेका थिए। रङ्गीबिरङ्गी पुतली देखेर उनी निकै खुशी भएका थिए। १३ वर्षको हुँदा स्काउट सदस्यको रुपमा जंगल घुम्न जाँदा जंगलमा धेरै पुतली देखेपछि पुतलीसँग उनको प्रेम बस्यो। उनले पहिलो पटक काकालाई भनेर पुतली जम्मा गरे।
यसपछि पढाइले गर्दा आफ्नो सौख पूरा गर्न पाएनन्। पोखरामा रहँदा उनको भेट 'पिस कर भोलन्टियर' डोरोथी मिरोसँग भयो। डोरोथी म्यूजियम बनाउने धुनमा थिए, दुइ जनाको कुरा मिल्य। पुतली बाजेले डोरोथीको म्यूजियममा पुतली संग्रह गरेर राखिदिने काम गरे। यसरी उनले पोखरामा भेटिएका केही पुतली संग्रह गर्न थाले ।
पुतली बाजे गोरखा पुगे, फेरि काठमाडौ स्वयम्भूमा रहेको आनन्दकुटीमा फर्के। त्यहीँ रहँदा पुतली बाजेको सौखको चर्चा सायद त्रिभुवन विश्वविद्यालयमा पुगेको थियो होला। त्यसैले जीव विज्ञानका प्राध्यापक डीआर उप्रेतीले एक दिन आफ्नो कार्यालय कीर्तिपुरमा बोलाएर निकट भविष्यमा बन्न लागेको प्राकृतिक विज्ञान संग्रहालय अन्तर्गत किट विज्ञान संग्रहालय बनाउन उनलाई आग्रह गरे।
नेपालका गाँउ गाँउ घुमेर पुतली संकलन
उनी पढाउन छोडेर त्रिभुवन विश्वविद्यालयसँग ६ वर्षे सम्झौता गरी नेपालका गाँउगाँउ घुम्दै पुतली जम्मा गर्न थाले। यो एउटा चुनौतीपूर्ण काम थियो र उनको रहर पनि। नभन्दै उनले ४० जिल्लाको भ्रमणपछि करिब २५ हजार पुतली संग्रह गरे। छुट्ट्याएर हरेकलाइ नामकरण गरे। नेपालमा पाइने ६६० प्रजातिका पुतलीमध्ये उनले करिव ५५० प्रजाति भेट्टाए। यसरी उनले ६ वर्षभित्रै पुतली संकलनका साथ त्यसलाई सुरक्षित रुपमा प्राकृतिक विज्ञान संग्रहालयलाई हस्तान्तरण गरे।
यसपछि आफ्ना बुबा बिरामी भएको खबर पाएपछि उनी स्वदेश फर्कनु पर्यो। बिरामी बुबाको निधन भयो, आमा एक्लो भइन्। त्यसैले उनको हेरचाह गर्न उनी बेलायतमै बसे। बेलायतमा नै उनले पाँच वर्ष बिताए।
त्यसपछि फेरि फर्केर पोखरामा डोरोथी मिरोको संग्रहालयको लागि काम गर्न थाले। यसैबीच २०४२ माघमा उनकी आमाको पनि निधन भयो। तर पनि उनले पोखराको अन्नपूर्ण संग्रहालयको काम रोकेनन्। निरन्तर लागिरहे, अन्तत: २०५२ सालमा सम्पूर्ण पुतलीलाई व्यवस्थित गराएर संग्रहालयमा सजाए। आज यो संग्रहालयलाई दर्शकहरू माझ ‘पुतली संग्रहालय’ भनेर परिचित छ।
विश्वमा पाइने १७ हजार ५०० प्रजातीका पुतलीमध्ये नेपालमा ६६० प्रजातिका पुतली भेटिएका छन्। नेपालका पुतली सम्बन्धी जति जानकारी पुतली बाजेलाई छ, सायद अरु कसैलाई पनि छैन। त्यसैले होला, अर्का किटविज्ञ डब्लुडब्लुएफ भुटानमा सल्लाहकारको रूपमा कार्यरत कलिनका मित्र पिट भान डेर पोयलले उनको जीवनी नै लेखेका छन्।
नेपालमै करिब पाँच दशक बिताइसकेका पुतली बाजेको नेपालमै अन्तिम सास फेर्ने धोको रहेको उलक बताउँछन्।
निस्वार्थ रुपमा नेपालको जैविक विविधताको खोजी र संरक्षण गर्न उनले पुर्याएको योगदान अतुलनीय रहेको संरक्षणविद्हरु बताउँछन्। तर, अस्पतालको बेडमा एक्लै रहेका 'पुतली बाजे'को बारेमा न त स्थानीय सरकारले चासो राखेको छ, न त प्रदेश वा संघीय सरकारले नै। स्वास्थ्य लाभको कामना पुतली बाजे।