काठमाडौं- बलिउडका सुपरस्टार सलमान खानले हालै आफ्नो मस्तिष्कमा एनोरिज्म र ट्राइजेमिनल न्युराल्जिया भन्ने गम्भीर रोगसँगको संघर्षबारे खुलासा गरेका छन्। ट्राइजेमिनल न्युराल्जिया एक दुर्लभ र पीडादायी स्नायु रोग हो जसलाई 'आत्महत्या रोग' पनि भनिन्छ, किनभने यसले अनुहारमा अत्यधिक पीडा, बिजुलीको झट्काजस्तो अनुभूति गराउँछ।
उनी भन्छन्, 'ट्राइजेमिनल न्युराल्जियासँगै काम गरिरहेका छौं। दिमागमा एन्युरिज़्म छ, तर अझै पनि काम गरिरहेका छौं। एभी मालफर्मेसन (रक्तनलीको असामान्य संरचना) छ, त्यसको बाबजुद पनि चलिरहेका छौं। म एक्शन गर्छु। हिंड्न सक्दिन, तर नाचिरहेछु। यही सबै चलिरहेको छ मेरो जीवनमा।'
यो रोगले सामान्य दिनचर्याका गतिविधिहरू, बोल्न, चपाउन, वा हल्का हावाले अनुहार छोएको जस्ता कार्यहरूमा पनि पीडा उत्पन्न गर्न सक्छ। यस्तो पीडा सेकेन्डदेखि मिनेटसम्म रहन सक्छ र जीवनलाई अत्यन्त कठिन बनाउँछ।
सलमान खानले यो रोगबारे खुलेर बोलेपछि यसबारे चेतना फैलिएको छ, जुन प्राय: गलत बुझाइ वा निदान नपाएको रोग मानिन्छ। डाक्टरहरूका अनुसार, ट्राइजेमिनल न्युराल्जिया विभिन्न कारणले हुन सक्छः स्तै स्नायुमा रक्तनलीको दबाब, चोटपटक, बुढ्यौली वा मल्टिपल स्क्लेरोसिसजस्ता अन्य रोगहरू।
यस रोगको लक्षण अचानक आउने अत्यधिक पीडा हो, जुन छोटो समयका लागि भए तापनि गहिरो असर पार्ने खालको हुने चिकित्सक बताउँछन्। यसका कारण बिरामीमा डिप्रेशन, चिन्ता र कहिलेकाहीँ आत्महत्याको भावना समेत देखिन सक्छ।
सलमान खानको यो साहसिक खुलासाले ट्राइजेमिनल न्युराल्जियाबारे समाजमा चेतना फैलाउने र अन्य बिरामीहरूलाई हौसला दिने काम गरेको चिकित्सकहरु बताउँछन्।