स्थानीय तहमा जनताहरुले ठूलो भरोसाका साथ आफ्नो मत र स्थानीय सरोकारका समस्याहरुको ठूलो भारी बोकाएर आगामी पाँच वर्षका लागि आफ्नो भाग्य र भविष्यको फैसला गर्नें अधिकारसहित नयाँ जनप्रतिनिधिहरुलाई नेतृत्वदायी भूमिकामा पठाएका छन। हरेक उम्मेदवार वा पार्टीको चुनावी प्रचार प्रसार होस् या चुनावी घोषणापत्र त्यसमा सबै भन्दा बढी लेखिने र बोलिने शब्द हो 'स्वास्थ्य' तर निर्वाचित भैसकेका अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरुसँग आगामी पाँच वर्षभित्र स्वास्थ्य क्षेत्रमा के गर्ने कसरी गर्ने भन्ने स्पष्ट भिजन र कार्ययोजना देखिँदैन।
नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको पहुँच र आधारभूत स्वास्थ्य सेवाको निशुल्क प्राप्तिको सुनिस्चिततालाई मौलिक हक (धारा ३५)को रुपमा स्थापित गरेकोछ। साथै संविधानको अनुसूची ८ (स्थानीय तहको अधिकार सूची)मा आधारभूत स्वास्थ्य र सरसफाइको पूर्ण अधिकार स्थानीय तहलाई दीएको छ। स्थानीय सरकार संचालन ऐन २०७४ परिच्छेद ३(११झ) मा आधारभूत स्वास्थ्य र सरसफाइ सम्बन्धी स्थानीय तहको काम कर्तव्य र अधिकार स्पष्ट उल्लेख छ।
तर अझै पनि कतिपय स्थानीय जनप्रतिनिधिहरुलाई आधारभूत स्वास्थ्य सेवा संघ र प्रदेशकै दायित्वको विषय हो कि भन्ने भ्रम रहेको पाइन्छ। स्थानीय जनप्रतिनिधिहरुले संविधान र कानूनले स्वास्थ्य सम्बन्धी दिएको न्युनतम अधिकार मात्रै प्रयोग गरेर आफ्नो कर्तव्य पालना गर्ने हो भने पनि न्युन लगानीमा अधिकतम प्रतिफल हासिल गर्ने सकिने धेरै आधारहरु छन्। कतिपय समुदाय स्तरका स्वास्थ्यका कार्यक्रमहरुलाई पैसाको भन्दा पनी सक्षम नेतृत्व, स्पष्ट नीति, वैज्ञानिक कार्ययोजना , उचित नियमन, उत्प्रेरणा र पुनर्ताजकीको खाँचो छ। जो शुन्य आर्थिक लगानीमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सहयोगी हुनेछन् र कतिपय कार्यक्रमहरु न्यून लगानीमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने खालका कार्यक्रमहरु छन्।
विकासका अरु क्षेत्र भन्दा स्वास्थ्य क्षेत्र संवेदनशील र प्रत्यक्ष जनताको जीवनसँग जोडिएको विषय भएको हुँदा यस सम्बन्धमा आम जनसमुदायको बढी अपेक्षा , चासो र गुनासो हुनु स्वाभाविक हो। तसर्थ जनभावना र अपेक्षालाई समेटेर यो पाँच वर्षको अन्तरालमा स्वास्थ्य क्षेत्रमा कम्तिमा पनि तल उल्ल्नेखित कामहरु गर्न सके महत्वपूर्ण सुचकहरु हाँसिल हुनुका साथै हरेक जनप्रतिनिधिको आफ्नो कार्यकालको उत्कृष्ट कार्यसम्पादनको दस्तावेज तयार हुनेछ। साथै जनताको मन मस्तिष्कमा बस्न सफल भईनेछ।
१.स्थानीय तहको पाँच वर्षे स्वास्थ्य क्षेत्र रणनीतिक योजना
कुनै पनि उदेश्य हासिल गर्नका लागि योजना एक महत्वपूर्ण हतियार हो। झन् स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको लागि त योजनाको अति नै महत्व हुन्छ। योजना निर्माणका लागि सबभन्दा पहिले वर्तमान अवस्थाको वैज्ञानिक मुल्यांकन गर्न जरुरी छ। यसले हाम्रो हालको अवस्था वा धरातलको प्रष्ट तस्बिर दिन्छ। स्वास्थ्यका समग्र सूचकहरुलाई समेटिने गरी तथ्यांक संकलन र प्रशोधन गरेर एक रिपोर्ट तयार गरी सोको आधारमा लगानीको अनुमानसहित आगामी पाँच वर्षमा संचालन गर्नुपर्ने कार्यक्रम, सम्पादन गर्नुपर्ने काम, जिम्मेवारी र कर्तव्यसहित वार्षिकरुपमा हासिल गर्नुपर्ने उपलब्धि (सूचक) समावेश गरेर रणनीतिक योजना तयार गरी प्रभावकारी कार्यान्वन गर्ने/गराउने।
नियमित अनुगमन र वार्षिक प्रगति समिक्षालाई थप प्रभावकारी बनाउँने। यसले गर्दा तथ्यमा आधारित स्वास्थ्य सेवा प्रदान गर्न थप सहज हुनेछ। (यो रणनीतिक योजना निर्माणको लागि सम्भव भएसम्म कम्तिमा पनि जनस्वास्थ्यमा स्नातक गरेको व्यक्तिको नेतृत्वमा गराउने)
२.स्वास्थ्यकर्मी व्यवस्थापन
समुचित मानव संसाधनको प्रयोग बिना प्रभावकरीरुपमा कार्यसम्पादन गराउन सकिदैन। त्यसैले अनावाश्य कर्मचारी भर्ना भन्दा स्वास्थ्य सेवाले मागेको र आवश्यकताका आधारमा दक्ष जनशक्तिको दीर्घकालीन र आवधिक व्यवस्थापन गर्ने।
३.स्थानीय आधारभूत स्वास्थ्य र सरसफाइ नीति
नेपालको संवधान, संघीय कानून, रास्ट्रिय स्वास्थ्य नीति र स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै आफ्नो मौलिक आधारभूत स्वास्थ्य र सरसफाई नीति तयार गर्ने र कार्यान्वन गर्ने।
४.स्वास्थ्य सरोकारका कानून निर्माण र कार्यान्वन
संविधान र प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी स्वास्थ्य सम्बन्धी आवश्यक पर्ने ऐन नियमहरु निर्माण गरी प्रभावकारी कार्यान्वयन गराउने। जसले गर्दा स्थानीय स्वास्थ्य सेवा र सरसफाईको नियमित अनुगमन मुल्यांकन, कार्यक्रमहरुको प्रभावकारी कार्यान्वन र गुणस्तर कायम गर्न टेवा पुग्नेछ।
जस्तै:
-स्थानीय फोहिरमैला व्यवस्थापन ऐन
-खानेपानी तथा खाध्यपदार्थको गुणस्तर नियमन ऐन
-स्वास्थ्य संस्था संचानल, व्यवस्थापन तथा नियमन ऐन इत्यादी
५.नसर्ने रोग रोकथाम तथा नियन्त्रण
नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै गइरहेको अवस्था छ। विश्व स्वास्थ्य संगठनका अनुसर नसर्ने रोगले हाल कुल मृत्युको ७१ प्रतिशत हिस्सा ओगटेको छ। समयमै कदम नचालिने हो भने नसर्ने रोगले थप बिकराल रुप लिने निश्चित छ। त्यसैले हरेक तहका सरकारबाट समयमै प्रभावकारी कदमको आवश्यकता छ।
यस सम्बन्धमा स्थानीय तहहरुले निम्न काम गर्न सक्नेछन:
-विद्यार्थीहरुमा स्वस्थकर जिवनशैलिको विकास गर्न विद्यालय स्तरको पाठ्यक्रममा स्वस्थकर जीवनशैलि र योग शिक्षा समावेश गर्ने
-हरेक स्वास्थ्य संस्थामा नसर्ने रोग सम्बन्धी परामर्श कक्ष स्थापना गर्ने र स्वास्थ्यकर्मीहरुलाई उचित तालिम दिई कम्तिमा दुईजना स्वास्थ्यकर्मीलाई परामर्शकर्ताको जिम्मेवारी दिने
-समयमै रोगको निदान गर्नको लागि समुदाय स्तरमै कम्तिमा पनि ६/६ महिनाको फरकमा उच्च रक्तचाप, मधुमेह, किड्नी फङ्सन टेस्ट(युरिन एल्बुमिन), पाठेघरको क्यान्सर र स्तन क्यान्सर सम्बन्धी स्क्रिनिंङ क्याम्प संचालन गर्ने
-स्वस्थ जीवनशैली प्रबर्द्धन गर्न योग केन्द्र, व्यायाम केन्द्र, ध्यान केन्द्र आदि निर्माण गरेर संचालनमा ल्याउने
६.स्वास्थ्य बीमा
हरेक नागरिकको आर्थिक भाररहित आधारभूत स्वास्थ्य सेवा उपभोग गर्न पाउनुपर्ने हकलाई सुरक्षित गर्नका लागी सम्पूर्ण नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने र पहिलो सेवा बिन्दु स्थानीयस्तरकै स्वास्थ्य संस्था बनाउन पहल गर्ने।
७.आकस्मिक स्वास्थ्य सेवा
मौजुदा जनशक्ति वा जनशक्ति थप गरेर स्वास्थ्य चौकीहरुबाट समेत आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नसके आकस्मिक स्वास्थ्य सेवाबाट कुनैपनि नागरिकले बन्चित हुनुपर्ने थिएन।
८.एकीकृत स्वास्थ्य शिविर
सेवाको पहुँचबाट टाढा रहेका समुदायमा कम्तिमा पनि वर्षको दुइपटक विशेषज्ञ चिकित्शकसहितको एकीकृत स्वास्थ्य शिविर संचालन गर्नसके समयमै रोगको निदान, उपचार, प्रेषणभै रोगका कारणबाट हुने सामाजिक, आर्थिक र मानवीय क्षतिलाई समयमै न्यूनीकरण गर्न सकिन्छ।
९.समुदाय स्तरका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वन
-खोप सेवा, गाउँघर क्लिनिक सेवालाई थप प्रभावकारी बनाउने, आवश्यकताको आधारमा खोप क्लिनिक/गाउँघर क्लिनिक निर्माण गर्ने।
-आमा समूहको बैठकमा स्वास्थ्यकर्मीको अनिवार्य उपस्थितिको सुनिश्चितता गर्ने र स्वास्थ्य प्रवर्द्धका कार्यक्रमहरु संचालन गर्ने।
-क्षयरोग लगाएत अन्य सरुवा रोगहरुको नियमित खोजपड्ताल गर्ने प्रभावकारी व्यवस्था मिलाउने।
१०.स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुलाई कार्यसम्पादनमा आधारित प्रोत्साहनको व्यवस्था गर्ने
११.विद्यालय स्वास्थ्य कार्यक्रम
माध्यमिक विद्यालय हुँदै हरेक विद्यालयमा स्वास्थ्य प्रवर्द्धनका लागि एक/एक जना स्वास्थ्यकर्मीको व्यवस्था गर्ने
१२.राष्ट्रिय स्वास्थ्य कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्ने
१३.स्थानीय स्वास्थ्य, सरोकार र समस्याका विषयहरुलाई समेटेर स्थानीय भाषामा स्वास्थ्य सूचना सामग्री उत्पादन, वितरण र प्रसारण गर्ने
१४.आकस्मिक सेवाका लागि आकस्मिक उपचार सहायता कोष र निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्ने
१५.स्वास्थ्य क्षेत्र लोकप्रिय कार्यक्रम घोषणा र कार्यान्वयन
स्थानीय स्तरको स्वास्थ्य सेवा र समस्यालाई मध्यनजर गरेर मेयर/अध्यक्ष स्वास्थ्य कार्यक्रम, उपमेयर/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम, वडाध्यक्ष स्वास्थ्य कार्यक्रम घोषणा र कार्यान्वयन गर्ने। जस्तैः मेयर जेष्ठ नागरिक कार्यक्रम, उपमेयर महिला स्वास्थ्य कार्यक्रम आदि। यसले गर्दा स्वास्थ्य सेवामा सहयोग पुग्छ नै। साथसाथै जनताहरुको जनप्रतिनिधिहरुप्रतिको विश्वास र लोकप्रियता थप उचाईमा पुग्नेछ।
(जनस्वास्थ्यकर्मी अवस्थी पुर्चौडी नगरपालिका,बैतडीमा कार्यरत छन्।)