नेपालमा ओसिएमसी कार्यक्रम लागू भएको दश वर्ष पुगेको छ। लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र अर्थात् ओसिएमसी कार्यक्रम सञ्चालन गरेको थियो। २०६९ सालदेखि सुरु भएको यो कार्यक्रम हाल ७७ जिल्लाको ८८ वटा अस्पतालमा विस्तार भइसकेको छ। सुरुवाती वर्षमै कार्यक्रम सुरु गर्ने अस्पतालहरुमध्ये एक हो, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल।
२०६९ सालदेखि नै यो अस्पतालमा ओसिएमसी कार्यक्रम लागू भयो। सुरुवाती वर्षमा कार्यक्रम सञ्चालन गर्न चुनौतीपूर्ण भएपनि हाल व्यवस्थित बन्दै गएको छ। डा सपना अमात्य वैद्य प्रसूति गृहमा ओसिएमसी कार्यक्रम सुरु भएदेखि नै आवद्ध छिन्। हाल उनी प्रसूति गृहकी ओसिएमसी प्रमुखकी रुपमा पनि छिन्। विगत दश वर्षमा ओसिएमसी कार्यक्रम सञ्चालन गर्दाको अनुभव र चुनौती उनले भोगेकी छिन्। डा वैद्यसँग स्वास्थ्यखबरकी कमला गुरुङले ओसिएमसी कार्यक्रम, यसको अवस्था र हाल सेवा सञ्चालनका क्रममा भोग्नु परेको समस्याबारे कुराकानी गरेकी छिन्। प्रस्तुत छ उनीसँग गरिएको कुराकानीः
प्रसूति गृहमा ओसिएमसी कार्यक्रम कसरी सञ्चालन भइरहेको छ?
ओसिएमसी भनेको अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र हो। लैङ्गिक हिंसामा परेका व्यक्ति अस्पताल आएपछि उनीहरुलाई चाहिने सबै सेवाहरु एकद्धार प्रणालीबाट उपलब्ध गराइन्छ। उपचार तथा परामर्शसम्बन्धी अधिकांस सेवा यहाँ छ।
यहाँ उपलब्ध नभएका सेवाहरुका लागि भने अन्यत्र अस्पतालमा रिफर गर्नुपर्ने हुन्छ। यस प्रसूति गृह अस्पतालमा मानसिक परामर्श सम्बन्धी सेवा छैन। मानसिक उपचारको आवश्यक पर्ने व्यक्तिलाई भने हामीले मानसिक अस्पतालमा रिफर गर्ने गर्छौं। सकेसम्म हामीले सरकारी अस्पताल नै रिफर गर्छौं।
मेजर सर्जिकल डिपार्टमेन्ट हामीसँग छैन। कुनै केसलाई सर्जरीको आवश्यक पर्यो भने त्रिवि शिक्षण अस्पताल वा वीर अस्पतालमा पठाउँछौँ। हामीबाट संभव नभएका बालबालिकाहरुलाई कान्ति बाल अस्पतालमा रिफर गर्छौँ।
प्रसूति गृहमा कहाँ–कहाँबाट ओसिएमसी अन्तर्गतको सेवा लिन आउँछन्?
६५ प्रतिशतभन्दा धेरै केसहरु नेपाल प्रहरीबाट आउँछन्। आफूले जानेर आउनेहरु पनि छन्। विभिन्न सेवा केन्द्र, सेभ हाउस, संघ संस्थाहरु, स्थानीय निकाय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट पनि आउँछन्। सबै महिलाहरु म पीडित हो भनेर पनि आउँदैनन्। कोही महिलाहरु अस्पतालमा उपचार गर्न आउनु हुन्छ। त्यो बेला हामीले परामर्श र सोधपुछ गर्ने क्रममा पनि हिंसा पीडित भएको भनेर थाहा पाउँछौँ। हाम्रो यो आधिकारिक सेवा पाउने ठाउँ भएकाले यहाँ अन्य अस्पतालहरुबाट रिफर भएर पनि आउँछन्।
यो अस्पतालमा सबैभन्दा धेरै आइरहने पीडित कुन घटनाका हुन्छन्?
सबैभन्दा धेरै यौनजन्य हिंसाका घटनाहरु हुन्छन्। बलात्कार र बलात्कार प्रयासका घटनाहरु धेरै छन्। यौनजन्य घटना एक वर्षमा चार सयदेखि पाँच सयको हाराहारीमा छ। शारीरिक हिंसा, घरेलु हिंसा, मानसिक हिंसा पनि छन्। मानसिक हिंसाका घटना पनि छन्। यहाँ जिल्लागत रुपमा भन्दा पनि कुन निकायबाट पीडितहरु आउनु हुन्छ भन्ने बारे हामीले अभिलेख राख्छौं। गत वर्ष सिविन नेपाल, साथी, माइती नेपाल, सेफ हाउस, बाल हेल्प लाइन गरी २१ वटा गैरसरकारी संस्था र विभिन्न ११ स्वास्थ्य संस्थाबाट र महिला आयोगबाट दुई जना रिफर भएर आएका थिए। पहिले ओसिएमसी कार्यक्रम धेरै स्वास्थ्य संस्थामा लागू भएको थिएन। तर अहिले धेरै स्वास्थ्य संस्थामा लागू भएकाले पनि पीडितलाई त्यही सेवा लिन सहज भएको छ।
यौनजन्य हिंसामा परेकाहरुमध्ये अस्पतालमा आएकाहरु आफ्नै घरपरिवारबाट पीडित भएका धेरै हुन्छन् या बाहिरका व्यक्तिबाट?
राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा हेर्नुभयो भने आफ्नै श्रीमानबाट यौनजन्य हिंसा हुने धेरै छन्। आफ्नै परिवारका सदस्यबाट हिंसा हुने पनि धेरै छन्। यहाँ आउने प्राय पीडितहरु पनि यस्तै समस्याका हुन्छन्। श्रीमानबाट हुने बलात्कारजन्य हिंसा भनेर आएका हुँदैनन्। शारीरिक हिंसा भएको भनी आएको हुन्छ। परामर्श गर्दै जाँदा परिवारकै सदस्यबाट पीडित भएका हुन्छन्। आफ्नै काका, मामा, दाई, छिमेकीबाट यौनजन्य हिंसा भएर आउनेहरु धेरै छन्।
तपाईं आफैँले परामर्श र उपचार गर्नु भएको कुनै यौनजन्य हिंसाको घटनालाई सम्झनु हुन्छ?
सम्झन्छु। सन् २०११ तिरको घटनाको हो। म त्यो बेला रजिष्ट्रार थिए। राति भइसकेको थियो। एक जना बोल्न नसक्ने महिला छिन्नभिन्न अवस्थामा अस्पताल ल्याइएको थियो। उहाँको श्रीमानको दुई वटा श्रीमती। उहाँ जेठी हुनु हुन्थ्यो। एकदिन माइत जाने भन्दै उहाँ बिहान आठ बजेतिर घरबाट निस्कनु भएछ। समयमै घर नर्फिएपछि उनको खोजतलाश हुन थाल्यो। उनको श्रीमानले प्रहरीमा रिपोर्ट पनि गरे। प्रहरीले खोज्दै जाँदा ती महिलालाई १२ जनाले सामूहिक बलात्कार गरेर छिन्नभिन्न अवस्थामा पारेको भेटाएका थिए। उनको शरीरमा कपडा पनि थिएन। एकदमै जटिल अवस्थामा उहाँलाई अस्पताल ल्याइएको थियो। उहाँको मलद्धार समेत च्यातिएको थियो। हाम्रोमा त्यस्तो केसको उपचार गर्ने सर्जिकल सेवा नभएका कारण त्रिवि शिक्षण अस्पतालमा पठाउनु परेको थियो। सुरुमा त बोल्न नसक्ने भएकाले उहाँको हिस्ट्रि लिन नै गाह्रो भयो। पछि उहाँको उपचार भयो। चारवर्ष देखि ६/७ वर्षको बालिका पनि बलात्कृत भएर आएका थुप्रै घटनाहरु छन्। कतिको त यहाँ उपचार संभव नभएर हामीले कान्ति बाल अस्पतालमा समेत पठाउनु परेको छ।
सुरुवाती दिनमा ओसिएमसी कार्यक्रमको अवस्था कस्तो थियो? अहिले दश वर्ष भइसक्यो कार्यक्रम लागू भएको समय र अहिले के फरक पाउनु भएको छ?
अहिले ओसिएमसी कार्यक्रम एकदम व्यवस्थित छ। मैले सन् २००९ मा यहाँ काम सुरु गरें। अहिले स्वास्थ्यकर्मीहरुलाई लैङ्गिकतामा आधारित तालिम, अभिमुखिकरणको सुविधा छ। हामी एमबीबीएस पढ्नेहरुलाई लैङ्गिकतामा आधारित हिंसा बारे केही आधारभूत ज्ञान जानकारी त हुन्छ। तर यो सम्बन्धी छुट्टै तालिम पाएका थिएनांै। मैले बंगलादेशबाट एमबीबीएस गरेकी हुँ। त्यतिखेर ओसिएमसीको कार्यक्रम सुरु हुँदा हामीले आफुसँग भएको आधारभूत ज्ञानको आधारमा काम गर्यौँ। दश वर्ष अघि र अहिले तुलना गर्ने हो भने धेरै नै परिवर्तन छ। गोपनियता कायम, सेवा सुविधा, उपचार, अभिलेख रेकर्ड सबै कामहरु हामीले अहिले प्रणालीगत रुपमा राख्न सक्छौँ। तर दश वर्षअघि यस्तो सहज अवस्था थिएन।
सुरुमा त एउटा कोठा मात्र थियो। परार्मश, उपचार सबै त्यही एउटै कोठामा गर्नुपर्ने बाध्यता थियो। तर अहिले ओसिएमसीको लागि मात्र चार वटा कोठा छन्। उनीहरुलाई भर्ना गरेर राख्नुपर्ने भए भर्नाका लागि शय्याको व्यवस्था पनि गरिएको छ। स्टाफ नर्सहरु ओसिएमसीमै बस्नुहुन्छ।
अहिले समस्या भनेको एउटै छ, जो २४ घण्टा ड्युटीमा खटिएको चिकित्सक हुन्छ, त्यहि चिकित्सकले ओसिएमसीमा आउने बिरामीलाई हेर्नुपर्छ। हाल पनि दैनिक एकदेखि ४/५ जना आउँछन्। २४ घण्टामा ड्युटीमा पनि खटिनुपर्छ अनि ओसिएमसीमा आउने बिरामीलाई पनि हेर्नुपर्दा चिकित्सक र नर्सलाई अलि गाह्रो हुन्छ। हुन त ओसिएमसीका लागि भनेर छुट्टै जनशक्ति पनि छ। तर यो पर्याप्त छैन।
यहाँको ओसिएमसीमा आउने पीडितले कस्तो–कस्तो उपचार सेवाहरु पाउँछन्?
प्रसूति गृहको ओसिएमसीमा आउनेहरुलाई सबैभन्दा पहिले मनोविज्ञान परामर्श गर्छौं। परामर्शपछि उहाँहरुको विभिन्न स्वास्थ्य परीक्षण हुन्छ। कानूनी प्रमाणका लागि आवश्यक पर्ने संकलन गरेर पठाउने, आवश्यक भए उपचार सेवा दिने गर्छौ। कुन अवस्थामा आएको छ? उमेर कति छ? स्वास्थ्य अवस्था कस्तो छ? यो सबै हेरेर उनीहरुको आवश्यकताको आधारमा हामीले उपचार सेवा दिन्छौ। घर जान सक्ने वातावरण छैन भने उनीहरुका लागि पुर्नस्थापना केन्द्रमा समन्वय गरेर पठाउँछौ। मानसिक उपचारको खाँचो भएकाहरुलाई पाटन मानसिक अस्पतालमा रिफर पनि गर्छौ। सकेसम्म हामीले सबै किसिमको उपचार सेवा यही उपलब्ध गराउँछौ। यहाँ नहुने सेवाहरुका लागि मात्र अन्य अस्पतालहरुमा रिफर गर्ने गर्छौ। ओसिएमसी सेवा यहाँ चौबिसै घण्टा सेवा उपलब्ध छ। अझै पनि पर्याप्त जनशक्ति छैन। तर जति हुनुहुन्छ, उहाँहरुले सक्दो गरिरहनु भएको छ।
प्रसूति गृहको ओसिएमसीमा सेवा लिन आउनेहरुको संख्या वर्षेनी घट्दो या बढ्दो के छ?
बढ्दो छ। अहिले मानिसहरु आफु माथि हुने हिंसाप्रति सचेत पनि हुन थालेका छन्। गत पाँच वर्षमा १ हजार ८९९ जनाले ओसिएमसी मार्फत विभिन्न उपचार सेवा लिएका छन्। आर्थिक वर्ष २०७३/७४ मा २१५, ७४/७५ मा २९५, ७५/७६ मा ५८१, ७६/७७ मा ३०८ र ७७/७८ मा ५०० जनाले ओसिएमसीमा सेवा लिएको तथ्यांक छ। ७३/७४ बाट बढ्न थालेको घटना ७६/७७ मा कोरोना र लकडाउनका कारण केही घटेको पाईन्छ। तापनि उक्त अवधिमा ३०८ जनाले ओसिएमसीमा सेवा लिएका छन्। कोरोना महामारीपछि भने ओसिएमसीमा सेवा लिन आउनेको संख्या पुनः बढेको देखिन्छ। २०७८/७९ को असारमा ३७, भाद्रमा ३३, असोजमा २७, कार्तिकमा ४४, मंसिरमा २४, पुषमा ३२, माघमा २३, फागुनमा ३३, चैतमा ३४, वैशाखमा २६ र जेठमा ५१ जनाले उपचार सेवा लिएका छन्।
ओसिएमसी सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन यहाँहरुको योजना के छन्?
पहिले ओसिएमसीको सेवा लिन घण्टौ कुर्नुपर्ने अवस्था पनि थियो। तालिमप्राप्त जनशक्ति थिएनन्। तर अहिले हामीले सक्दो सेवा दिएका छौँ। व्यवस्थित बनाउँदै लगेका छौँ। पहिलेभन्दा छिटोछरितो सेवा दिएपनि अझ यसमा सुधार गर्नुपर्ने आवश्यकता छ। यसका लागि जनशक्ति बढाउनुपर्ने आवश्यकता छ।
हामीले टोल फ्रि नम्बर राख्न पाएका छैनौ। टोल फ्रि नम्बर राख्ने हाम्रो योजना हो। तर यसको लागि आवश्यक पर्ने जनशक्ति हामीसँँग छैन। टोल फ्रि नम्बर राखेपछि त्यहाँ आउने फोनमा परामर्श र कुरा गर्नका लागि थप जनशक्ति आवश्यक पर्छ। आठ/आठ घण्टाको ड्युटी गरेपनि कम्तीमा ६ जना जनशक्ति यसको लागि नै चाहिन्छ। आज मात्र यो सेवा सुरु गरेर हुँदैन। यसलाई निरन्तरता पनि दिन सक्नुपर्छ। त्यसैले भविष्यमा यो सेवा पनि सुरु गर्ने हाम्रो योजना छ।