स्वास्थ्य बीमा एक यस्तो कार्यक्रम हो, जसको प्रत्यक्ष रुपमा लाभ नागरिकले उठाईराख्नु भएको छ। त्यसैले यो सारा नेपालीको आवश्यकता भईसकेको छ। जहाँको नागरिक स्वस्थ हुन्छन त्यही देशले प्रगति गर्छ। किनभने स्वस्थ नभएसम्म प्रगतिको पथ सिमिततातर्फ जान सक्छ।
स्वास्थ्य बीमा सबैको सरोकारको विषय भएको हुनाले यसलाई दिगो बनाउन सरकार एवं स्वास्थ्य बीमा बोर्डले निम्नुसारको कदम चाल्न सके अझै उपयोगी हुन्थ्यो
१ स्वास्थ्य बीमाको कारणले राज्यमाथि थपिएको आर्थिक भर कम गर्न, स्वास्थ्य बीमा कार्याक्रमलाई स्थायित्व प्रदान गर्दै अनिवार्य गर्ने।
२ आम्दानीको स्रोतको आधारमा नागरिकहरुबाट प्रिमियम तिराउने एवं तलब प्राप्त गर्ने बैङ्क वा नियमित कारोबार गर्नै बैङ्कसँग बीमितिको बीमा नम्बर खातामा जोडी सिधै बीमा चक्र अनरुप योगदान रकम काटिने ब्यवस्था मिलाउने।
३ नेपालमा स्थापित वैदेशिक संघ संस्थामा कार्यरत सम्पूर्ण पदाधिकारी वा कर्मचारीहरुलाई थप अनिवार्य रकम तिराई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य समावेश गराउने।
४ चिकित्साको हरेक पद्धतिलाई प्रोत्साहन गर्दै आयुर्वेदिक एवं होमियोप्याथिक उपचार समेत स्वास्थ्य बीमामा आवद्ध गर्ने।
५ आधारभुत तहको कक्षा ७ एवं ९ को पाठ्यक्रममा स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता दिने।
६ स्वास्थ्य बीमा बोर्डलाई विशुद्ध आत्मनिर्भर एवं स्वायत्त बनाउने।
७ बीमितहरुलाई असहजता नहोस् भनि स्वास्थ्य बीमाबाट प्राप्त हुने औषधि एवं जाँचको दायरा अभिवृद्धि गर्नुको साथै स्वास्थ्य बीमामा सुचिकृत औषधि सुचिकृत स्वास्थ्य संस्थाहरुले अनिवार्य भण्डारण गरी बीमितहरुलाई वितरण गर्ने।
८ स्वास्थ्य बीमा बोर्डलाई समय सापेक्ष व्यवस्थित गर्नको लागि तल्लो तहदेखि माथिल्लो तहसम्मको लागि सुझाव सङ्कलनको नियमित व्यवस्था मिलाउने एवं हाल कार्यरत अनुभवी मानव स्रोतलाई स्थायित्व प्रदान गर्ने।
९ स्वास्थ्य बीमा बोर्डले सार्वजनिक अनुदान वा सहयोग प्राप्त गर्नको लागि स्वास्थ्य बीमा बोर्डको बैङ्क खाता सार्वजनिक गर्ने कोष स्वरुप
१० राज्यद्वारा स्वास्थ्य शिर्षकमा प्रदान गर्ने बिभिन्न सहयोगहरु एकतावद्ध गर्दै स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने।
११ भ्रष्टाचार नियन्त्रण वा नियमनको गर्नको लागि, सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले झुठो रकम दाबी गरेको प्रमाणित भएमा सम्बन्धित संस्थालाई दाबी गरेको सम्पूर्ण रकमको दोब्बर रकम चल तथा अचल सम्पतिबाट असुलउपर गर्ने एवं स्वास्थ्य संस्थाहरुले बीमितलाई सेवामा ढिलाई गरेमा, सेवा नदिएको खण्डमा प्राप्त हुन आएको निवेदनमाथि अनिवार्य कारबाहीको प्रक्रिया अगाडि बढाई सार्वजनिक सूचना टाँसको व्यवस्था मिलाउने।
१२ नेपालमा स्थापित सम्पूर्ण उद्योग धन्दा, कल कारखाना, सार्वजनिक वा निजी संस्थाहरुमा कार्यरत कर्मचारीको सम्बन्धित संस्थाले नै अनिवार्य स्वास्थ्य बीमा गराई जिल्ला स्वास्थ्य बीमा बोर्डको कार्यालयलाई नियमित विवरण पठाउने व्यवस्था मिलाउने।
१३ सहयोग गर्न चाहने वैदेशिक संस्थाहरुले पनि स्वास्थ्य बीमा बोर्डलाई सिधै बिना सर्त दिगो विकासको लक्ष्य पुरा गर्नको लागि सहयोग गर्न सक्ने व्यवस्था मिलाउने।
१३ स्वास्थ्य बीमा कार्यक्रममा सुचिकृत निजि वा सामुदायिक अस्पतालहरुलाई प्रोत्साहन स्वरुप करको मात्रामा मन्त्रीपरिषदको निर्णय अनुसार घटाउन सक्ने।
१३ स्वास्थ्य बीमा बोर्ड वा मातहतका कार्यालयहरुबाट स्वास्थ्य संस्थाहरुमाथि कारबाहीको लागि आएको सिफारिस बाध्यकारी हुने गरी कार्यान्वयन गर्ने।
१४ नेपाली सेना, सशस्त्र प्रहरी एवं नेपाल प्रहरीको अस्पताललाई पनि स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्ने।
स्वास्थ्य बीमा राज्यले नागरिकको लागि दिएको वरदान हो तसर्थ यसबाट कोही पनि वञ्चित हुनुहुँदैन। स्वास्थ्य बीमालाई दिगो एवं व्यवस्थित बनाउनु सबैको सरोकार हो।
(तिवारी स्वास्थ्य बीमा बोर्ड कपिलवस्तुका दर्ता अधिकारी हुन्।)